सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

यहोवाले मलाई सही बाटो देखाउनुभयो

यहोवाले मलाई सही बाटो देखाउनुभयो

किशोर छँदा मैले आफूलाई एकदमै मन पर्ने करिअर रोजेँ। तर यहोवाले मलाई अर्कै बाटो देखाउनुभयो। मानौँ उहाँले मलाई यसो भनिरहनुभएको थियो: “म तिमीलाई समझ दिनेछु र तिमी हिँड्‌नुपर्ने बाटोमा तिमीलाई डोऱ्‍याउनेछु।” (भज. ३२:८) यहोवाले देखाउनुभएको सही बाटोमा हिँड्‌दा मैले अफ्रिकामा ५२ वर्ष सेवा गर्ने सुअवसरलगायत अन्य थुप्रै आशिष्‌ पाएँ।

इङ्‌गल्यान्डदेखि अफ्रिकासम्म

मेरो जन्म १९३५ मा इङ्‌गल्यान्डको ‘ब्ल्याक कन्ट्री’ भन्‍ने ठाउँको डार्लास्टनमा भयो। म जन्मेको ठाउँमा थुप्रै कलकारखाना थिए र त्यसबाट आकाशै ढाकिनेगरि कालो धुवाँको मुस्लो निस्कने भएकोले त्यस ठाउँको नाम ‘ब्ल्याक कन्ट्री’ रहन गयो। म चार वर्षजतिको हुँदा आमाबुबाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्नुभयो। म १४/१५ वर्षको हुँदा आफूले सिकिरहेको कुरा नै सत्य हो भन्‍ने कुरामा विश्‍वस्त भएँ र १९५२ मा १६ वर्षको उमेरमा बप्तिस्मा गरेँ।

यही समयतिर मैले एउटा ठूलो फ्याक्ट्रीमा कम्पनी सेक्रेटरीको तालिम लिन थालेँ। त्यस फ्याक्ट्रीमा हाते औजारहरू र गाडीका पार्टपुर्जाहरू बनाइन्थ्यो। मलाई आफ्नो काम असाध्यै मन पर्थ्यो।

एक जना परिभ्रमण निरीक्षकले मलाई विलेनहलको हाम्रो मण्डलीमा मण्डली पुस्तक अध्ययन सञ्चालन गर्न आग्रह गर्नुभयो। तर म दुबिधामा परेँ किनभने त्यतिबेला म दुइटा मण्डलीसित सङ्‌गत गर्दै थिएँ। मध्यहप्तामा म ब्रुम्स्‌ग्रोभमा अफिसनजिकै पर्ने मण्डलीमा जान्थेँ। ब्रुम्स्‌ग्रोभ मेरो घरबाट झन्डै ३२ किलोमिटर टाढा थियो। अनि सप्ताहन्तमा घर फर्कँदा म आमाबुबासँगै विलेनहलको मण्डलीमा जान्थेँ।

म यहोवाको सङ्‌गठनको निर्देशनअनुसार चल्न चाहन्थेँ। त्यसैले मैले परिभ्रमण निरीक्षकको आग्रह स्विकारेँ। यसको लागि मैले आफूलाई एकदमै मन पर्ने कम्पनी सेक्रेटरीको काम छोडेँ। यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌ने निर्णय गरेकोमा कहिल्यै पछुताउनुपरेन बरु म आनन्दित हुन सकेको छु।

ब्रुम्स्‌ग्रोभ मण्डलीमा आन बहिनीसित मेरो भेट भयो। उनी राम्री र आध्यात्मिक रूपमा बलियो थिइन्‌। हामीले १९५७ मा विवाह गऱ्‍यौँ र सँगै नियमित अग्रगामी, विशेष अग्रगामी, परिभ्रमण कार्य र बेथेल सेवा गऱ्‍यौँ। आनले मेरो जीवनमा खुसीको बहार ल्याएकी छिन्‌।

सन्‌ १९६६ मा हामीले गिलियडको ४२ औँ कक्षामा उपस्थित हुने निम्तो पाउँदा हामी धेरै खुसी भयौँ। स्कुलपछि हामीलाई मलावी खटाइयो। मलावीका मानिसहरू दयालु र मित्रैलो भएकोले यो देश ‘अफ्रिकाको न्यानो हृदय’ भनेर चिनिन्छ। तर यहाँको बसाइँ छोटो हुनेछ भनेर हामीले सोचेकै थिएनौँ।

मलावीमा अप्रत्याशित घटनाहरूबीच सेवा गर्दै

मलावीमा हामीले परिभ्रमण कार्यको लागि प्रयोग गरेको काइजर जिप

हामी मलावी फेब्रुअरी १, १९६७ मा पुग्यौँ। पूरै एक महिना भाषा सिकेपछि हामीले जिल्ला निरीक्षकको रूपमा सेवा सुरु गऱ्‍यौँ। हामी काइजर जिप चलाउँथ्यौँ र मानिसहरू यो जिप एकदमै बलियो छ, नदी पनि पार गर्न सक्छ भन्थे। तर हामीले यो जिप गहिरो नदीहरूमा त लग्न सकेनौँ। कहिलेकाहीँ हामी झुप्रोमा बस्थ्यौँ अनि बर्खा याममा पानी नचुहियोस्‌ भनेर छानामुनि त्रिपाल टाँग्ने गर्थ्यौँ। हाम्रो मिसनरी सेवाको सुरुवात निकै तनावपूर्ण थियो। तैपनि हामीलाई यो असाइनमेन्ट धेरै मन पर्थ्यो।

सोही वर्षको अप्रिलमा मैले रेडियोमा मलावीका राष्ट्रपति डा. हेस्टिङ्‌स बान्डाको भाषण सुनेँ। तिनको भाषण सुनेपछि हाम्रो काममा अवरोध आइपर्न सक्छ जस्तो मलाई लाग्यो। तिनले यहोवाका साक्षीहरू कर तिर्दैनन्‌ र राजनीतिमा हस्तक्षेप गर्छन्‌ भन्‍ने झूटो आरोप लगाए। वास्तवमा सरकारलाई चित्त नबुझेको कुरा भनेको हाम्रो तटस्थता थियो। हामीले राजनैतिक पार्टीको सदस्यता कार्ड किन्‍न इन्कार गरेको सरकारलाई पटक्कै मन परेको थिएन।

सेप्टेम्बर महिनाको एउटा अखबारमा राष्ट्रपतिले यहोवाका साक्षीहरूमाथि लगाएको झूटो आरोप छापिएको थियो। तिनले साक्षीहरूले जताजतै समस्या निम्त्याइरहेका छन्‌ भन्‍ने आरोप लगाएका थिए। तिनले एउटा राजनैतिक भेलामा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाउन तुरुन्तै कदम चाल्ने घोषणा गरे। अनि हाम्रो काममाथि अक्टोबर २०, १९६७ मा प्रतिबन्ध लगाइयो। त्यसको केही समयपछि नै प्रहरीहरू र अध्यागमन अफिसरहरू हाम्रो शाखा बन्द गराउन र मिसनरीहरूलाई देशनिकाला गर्न शाखा कार्यालयमा आए।

सन्‌ १९६७ मा मलावीमा हामी र हाम्रा मिसनरी साथीहरू ज्याक र लिन्डा जोहान्सनलाई पक्राउ गरियो र देशनिकाला गरियो

झ्यालखानामा तीन दिन थुनेपछि हामीलाई बेलायतको अधीनमा रहेको मरिसस पठाइयो। तर हामीले त्यहाँ मिसनरीको रूपमा बस्ने अनुमति पाएनौँ। त्यसैले हामीलाई रोडेसिया (अहिले जिम्बावे) खटाइयो। त्यहाँको अध्यागमन अफिसर एकदमै रिसाहा स्वभावका थिए। तिनले हामीलाई देशभित्र छिर्न दिएनन्‌ र यसो भने: “तिमीहरूलाई मलावीबाट देशनिकाला गरियो अनि मरिससमा पनि बस्न पाएनौ। अनि यहाँचाहिँ सजिलै छिर्न पाउँछौँ भनेर आ’को!” यो सुनेर आन रुन थालिन्‌। हामी त यता न उताका भयौँ। त्यतिबेला मलाई यस्तो झमेलामा पर्नुभन्दा इङ्‌गल्यान्ड नै फर्कनु बेस जस्तो लाग्यो। तर पछि अध्यागमनले हामीलाई शाखा कार्यालयमा एक रात बिताउने अनुमति दियो। तर एउटा सर्त थियो, हामी भोलिपल्ट तिनीहरूको मुख्य कार्यालयमा हाजिर हुनुपर्ने थियो। हामी एकदमै थाकिसकेका थियौँ तर यहोवामा भर पर्न हामीले कहिल्यै छोडेनौँ। त्यसको भोलिपल्ट दिउँसोसम्ममा हामीले सोच्दै नसोचेको कुरा भयो। हामीले जिम्बावेमै पर्यटकको रूपमा बस्ने अनुमति पायौँ। म त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ। यहोवाले हामीलाई सही बाटोमा डोऱ्‍याउँदै हुनुहुन्छ भनेर म विश्‍वस्त भएँ।

जिम्बावेमा बसेर मलावीको सेवा गर्दै

आनसँगै जिम्बावे बेथेलमा, १९६८

जिम्बावे शाखा कार्यालयमा मलाई सेवा विभागमा खटाइयो अनि मलावी र मोजाम्बिकको कामको निरीक्षण गर्ने जिम्मेवारी दिइयो। मलावीका भाइबहिनीले एकदमै खेदो भोगिरहनुभएको थियो। मैले मलावीका क्षेत्रीय निरीक्षकहरूले पठाएका रिपोर्टहरू पनि अनुवाद गर्नुपर्थ्यो। एकदिन एउटा रिपोर्ट सिद्ध्याउन म अबेरसम्म काम गर्दै थिएँ। हाम्रा भाइबहिनीले कुन हदसम्म हिंस्रक व्यवहारको सामना गरिरहनुभएको छ भनेर पढ्‌दा मैले आँसु थाम्नै सकिनँ। * तर ती भाइबहिनीको वफादारी, विश्‍वास र सहनशीलताबाट प्रोत्साहन पनि पाएँ।—२ कोरि. ६:४, ५.

हामीले मलावीमै भएका अनि हिंसाको कारण मोजाम्बिकमा भागेका भाइबहिनीको लागि बाइबल साहित्यहरू पुऱ्‍याउन सक्दो कोसिस गऱ्‍यौँ। मलावीमा सबैभन्दा धेरै बोलिने चिचेवा भाषाको अनुवाद टोली जिम्बावेमा एक जना भाइको ठूलो फार्ममा सऱ्‍यो। उहाँले तिनीहरूको निम्ति बस्ने ठाउँ र अफिस बनाइदिनुभयो अनि तिनीहरूले बाइबल साहित्यहरू अनुवाद गर्ने काम त्यहीँबाट गर्न थाले।

हामीले जिम्बावेमा प्रत्येक वर्ष आयोजना गरिने चिचेवा भाषाको अधिवेशनमा मलावीका क्षेत्रीय निरीक्षकहरूलाई पनि बोलाउने प्रबन्ध मिलाउँथ्यौँ। अधिवेशनमा आउँदा उहाँहरूलाई भाषणका रूपरेखाहरू दिइन्थ्यो। यसले गर्दा मलावी फर्केपछि उहाँहरूले सिकेका कुराहरू भाइबहिनीलाई बाँड्‌न सक्नुहुन्थ्यो। मलावीका ती साहसी क्षेत्रीय निरीक्षकहरू जिम्बावे आउँदा उहाँहरूको प्रोत्साहनको लागि एकचोटि हामीले राज्य सेवा स्कुलको पनि आयोजना गऱ्‍यौँ।

जिम्बावेको चिचेवा/शोना अधिवेशनमा चिचेवा भाषामा भाषण दिँदै

फेब्रुअरी १९७५ मा म मलावीबाट भागेका भाइबहिनीलाई भेट्‌न मोजाम्बिक गएँ। ती भाइबहिनीहरू शिविरहरूमा बस्नुहुन्थ्यो। त्यहाँ भाइहरूले यहोवाको सङ्‌गठनबाट आएका सबै निर्देशन लागू गरिरहनुभएको थियो, जस्तै: एल्डरहरूले निकायको रूपमा काम गर्ने नयाँ प्रबन्ध। नयाँ एल्डरहरूले थुप्रै आध्यात्मिक गतिविधिको आयोजना गर्नुहुन्थ्यो, जस्तै: जनभाषण दिने, दैनिक पद र प्रहरीधरहरा छलफल गर्ने। उहाँहरू सम्मेलनहरू पनि आयोजना गर्नुहुन्थ्यो। उहाँहरूले शिविरलाई अधिवेशनजस्तै व्यवस्थित पार्नुभएको थियो। त्यहाँ सरसफाइ, खाद्यान्‍न वितरण र सुरक्षाको निम्ति विभागहरू थिए। ती वफादार भाइहरूले यहोवाको साथ पाएर थुप्रै काम गरिरहनुभएको थियो। यी सब देखेर मैले धेरै प्रोत्साहन पाएँ।

सन्‌ १९७९ तिर मलावीको काम हेरविचार गर्ने जिम्मा जाम्बिया शाखा कार्यालयलाई दिइयो। तैपनि म मलावीका भाइबहिनीबारे सोच्ने गर्थेँ र उहाँहरूको लागि प्रार्थना गर्थेँ। अरू थुप्रै भाइबहिनीले पनि त्यसै गरिरहनुभएको थियो। मैले थुप्रै चोटि जिम्बावे शाखा समितिको सदस्यको रूपमा मलावी, दक्षिण अफ्रिका र जाम्बियाका जिम्मेवार भाइहरूसँगै मुख्यालयका प्रतिनिधिहरूलाई भेटेँ। हामी प्रत्येक चोटि “मलावीका भाइबहिनीको लागि अझै के गर्न सक्छौँ” भनेर सोध्ने गर्थ्यौँ।

समय बित्दै जाँदा खेदो कम हुँदै गयो। मलावीमै रहेका भाइबहिनीलाई पनि केही हदसम्म सजिलो हुँदै थियो र अर्को देशमा भागेका भाइबहिनी पनि बिस्तारै मलावी फर्कन थाल्नुभएको थियो। छिमेकी देशहरूले पनि यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दिन थाले र प्रतिबन्ध हटाउन थाले। मोजाम्बिकले पनि १९९१ मा प्रतिबन्ध हटायो। तर ‘मलावीका साक्षीहरू कहिले स्वतन्त्र हुने हुन्‌’ भनेर हामी सोच्ने गर्थ्यौँ।

मलावी फर्कियौँ

मलावीको राजनैतिक अवस्था परिवर्तन भयो र १९९३ मा यहोवाका साक्षीहरूमाथि लगाइएको प्रतिबन्ध सरकारले हटायो। त्यसको केही समयपछि एक जना मिसनरीले मलाई “अब तपाईँ मलावी फर्कनुहुन्छ” भनेर सोध्नुभयो। मैले यस्तो जवाफ दिएँ: “म धेरै बूढो भइसकेँ! अब फर्कन्‍नँ!” त्यतिबेला म ५९ वर्षको भइसकेको थिएँ। तर त्यही दिन मैले मलावी फर्कनेबारे परिचालक निकायबाट एउटा फ्याक्स पाएँ।

हामीलाई जिम्बावेको सेवा रमाइलो लागिरहेको थियो। त्यसैले जिम्बावे छोड्‌ने निर्णय गर्न सजिलो थिएन। हामीले जिम्बावेलाई नै आफ्नो घर ठानिसकेका थियौँ र थुप्रै माया गर्ने साथीहरू पनि बनाएका थियौँ। परिचालक निकायले यो निर्णय हाम्रै हातमा छोडिदिएको थियो। त्यसैले हामीले सजिलो बाटो रोजेर जिम्बावेमै बस्ने निर्णय गर्न सक्थ्यौँ। तर मैले अब्राहाम र साराबारे सोचेँ। तिनीहरूले बुढेसकालमा यहोवाको निर्देशन पालन गर्दै आफ्नो आरामदायी घर त्यागेका थिए।—उत्प. १२:१-५.

हामीले यहोवाको सङ्‌गठनबाट आएको निर्देशन पालन गर्ने निर्णय गऱ्‍यौँ अनि फेब्रुअरी १, १९९५ मा मलावी फर्कियौँ। हामी २८ वर्षअघि ठ्याक्कै यही मितिमा पहिलो चोटि मलावी आइपुगेका थियौँ। मलावीमा शाखा समिति गठन गरियो। त्यसमा म र अर्को दुई जना भाइ थियौँ। त्यसपछि हामी मलावीको आध्यात्मिक गतिविधि अघि बढाउने काममा व्यस्त हुन थाल्यौँ।

यहोवाले नै वृद्धि गराउनुभयो

यहोवाले मलावीमा वृद्धि गराउनुभएको हेर्न पाउनु ठूलो आशिष्‌को कुरा हो। सन्‌ १९९३ मा त्यहाँ प्रकाशकहरूको सङ्‌ख्या लगभग ३० हजार थियो र १९९८ सम्ममा ४२ हजारभन्दा धेरै पुगिसकेको थियो। * क्षेत्रको वृद्धिसँगै हाम्रो काम पनि बढ्यो। त्यसैले परिचालक निकायले नयाँ शाखा कार्यालय निर्माण गर्न अनुमति दियो। हामीले लिलोङ्‌वेमा ३० एकड (२३५.८८ रोपनी) जग्गा किन्यौँ। मलाई निर्माण समितिमा सेवा गर्न नियुक्‍त गरियो।

मे २००१ मा नयाँ शाखा कार्यालयको समर्पण भाषणको लागि परिचालक निकायका भाइ गाइ पियर्स आउनुभयो। त्यस अवसरमा २,००० भन्दा धेरै स्थानीय साक्षी आउनुभएको थियो र उहाँहरूमध्ये धेरैले बप्तिस्मा गरेको ४० वर्षभन्दा धेरै भइसकेको थियो। यी वफादार भाइबहिनीले वर्षौँसम्म चरम यातना भोग्नुभएको थियो। उहाँहरू भौतिक रूपमा गरिब भए पनि आध्यात्मिक रूपमा भने धेरै धनी हुनुहुन्थ्यो। नयाँ बेथेल हेर्न पाउँदा उहाँहरू धेरै खुसी हुनुहुन्थ्यो। त्यो दिन बेथेलमा जताजतै अफ्रिकी शैलीका राज्यगीतहरू गुन्जिरहेको थियो। यो मेरो लागि एकदमै विशेष अनुभव थियो। वफादार भई परीक्षाहरू सहनेलाई यहोवा परमेश्‍वरले प्रशस्त आशिष्‌ दिनुहुन्छ भन्‍ने कुराको यो एउटा जीवन्त प्रमाण हो।

शाखा कार्यालयको निर्माण सकिएपछि मैले सभाभवनहरूको समर्पण कार्यक्रमसम्बन्धी असाइनमेन्टहरू पाउन थालेँ। मलावीमा सीमित स्रोतसाधन भएका मुलुकहरूमा सभाभवन बनाउने प्रबन्धअन्तर्गत सभाभवनहरू निर्माण हुँदै थिए। यसअघि केही मण्डलीले मसलाको रूखबाट टहराहरू बनाउने गर्थे। छानोको निम्ति नर्कट प्रयोग गर्थे अनि बेन्चचाहिँ माटोको बनाउने गर्थे। पछि भाइहरूले आफैले बनाएका भट्टाहरूमा इँटा पोलेर सुन्दर सभाभवनहरू बनाउन थाल्नुभयो। तर उहाँहरू सभाभवनमा मेचभन्दा बेन्च नै राख्न रुचाउनुहुन्थ्यो। उहाँहरू बेन्चमा अर्को एक जनाको लागि पनि ठाउँ अट्‌छ भन्‍ने गर्नुहुन्थ्यो!

यहोवाले भाइबहिनीलाई आध्यात्मिक रूपमा परिपक्व हुन मदत गर्नुभएको देख्दा मलाई खुसी लाग्छ। म विशेषगरि जवान भाइहरूदेखि प्रभावित भएको छु। उहाँहरूले राजीखुसीले यहोवाको सेवामा आफूलाई अर्पण गर्नुभएको छ र यहोवाको सङ्‌गठनले प्रबन्ध गरेका तालिमहरूबाट सिकेका कुराहरू लागू गर्नुभएको छ। उहाँहरूले बेथेलमा र मण्डलीमा थुप्रै जिम्मेवारी सम्हालिरहनुभएको छ। भर्खरै नियुक्‍त स्थानीय क्षेत्रीय निरीक्षकहरूको मदतले गर्दा मण्डलीहरू अझै बलियो भएको छ। उहाँहरूमध्ये धेरै जना विवाहित हुनुहुन्छ। यहोवाको सेवामा अझ धेरै गर्न उहाँहरूले समाज र परिवारको दबाबको बाबजुद छोराछोरी नजन्माउने निर्णय गर्नुभएको छ।

म आफ्ना निर्णयहरूमा सन्तुष्ट छु

आनसँगै बेलायत बेथेलमा

अफ्रिकामा ५२ वर्ष सेवा गरेपछि ममा केही स्वास्थ्य समस्या देखा पर्न थाले। त्यसैले हामीलाई फेरि बेलायतमै खटाउने शाखा समितिको सिफारिसलाई परिचालक निकायले अनुमति दियो। आफूलाई एकदमै मन पर्ने असाइनमेन्ट छोड्‌नुपर्दा हामी दुःखी थियौँ तर बेलायतको बेथेल परिवारले हामी बूढाबूढीको राम्ररी हेरविचार गरिरहेको छ।

यहोवाले देखाउनुभएको सही बाटोमा हिँड्‌ने निर्णय मेरो जीवनको सबैभन्दा उत्तम निर्णय थियो भनेर म विश्‍वस्त भएको छु। आफ्नै बुद्धिमा भर परेर सांसारिक करिअरको पछि लागेको भए अहिले म कहाँ हुन्थेँ होला! यहोवाले मलाई “सही बाटो” देखाउनुभयो। (हितो. ३:५, ६) जवान छँदा ठूलो कम्पनी कसरी सञ्चालन गरिन्छ भनेर सिक्न पाउँदा म एकदमै प्रभावित भएको थिएँ। तर यहोवाको विश्‍वव्यापी सङ्‌गठनको भाग भएर मैले जे-जति गरेँ र अहिले जे गर्दै छु, त्यसमा एकदमै सन्तुष्ट छु।

^ मलावीको ईश्‍वरतान्त्रिक इतिहास यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९९, (अङ्‌ग्रेजी) पृष्ठ १४८-२२३ मा प्रकाशित भएको छ।

^ अहिले मलावीमा प्रकाशकहरूको सङ्‌ख्या १ लाखभन्दा धेरै छ।