परमेश्वरले मात्र अन्याय हटाउन सक्नुहुन्छ भनेर बल्ल बुझेँ
परमेश्वरले मात्र अन्याय हटाउन सक्नुहुन्छ भनेर बल्ल बुझेँ
उर्सुला मेनेको वृत्तान्तमा आधारित
म सानैदेखि मानिसहरूलाई समान र न्यायपूर्ण व्यवहार गरिएको हेर्न चाहन्थेँ। मेरो यही इच्छाले गर्दा म कम्युनिस्ट पूर्व जर्मनीको जेल पनि जानु पऱ्यो। अनि त्यहाँ मैले अन्यायबारे आफ्नो मनमा उठेका प्रश्नहरूको जवाफ पाएँ। तर म कसरी त्यहाँ पुगेँ?
मेरो जन्म १९२२ मा जर्मनीको हाले भन्ने सहरमा भएको थियो। यो सहरको इतिहास १,२०० वर्षभन्दा पुरानो छ। बर्लिनबाट २०० किलोमिटर दक्षिण-पश्चिमतिर पर्ने यस सहरमा सुरु-सुरुका प्रोटेस्टेन्टहरूले बलियो पकड जमाएका थिए। मेरी बहिनी केथको जन्म १९२३ मा भयो। हाम्रो बुबा सेनामा काम गर्नुहुन्थ्यो अनि आमा थिएटरमा गीत गाउनुहुन्थ्यो।
ममा अन्यायविरुद्ध लड्ने इच्छा बुबाबाट आएको थियो। उहाँले सेनाको काम छोडेपछि एउटा पसल किन्नुभयो। उहाँका प्रायजसो ग्राहक गरिब भएकाले दयालु हुँदै उहाँले तिनीहरूलाई धेरै सामान उधारोमा दिनुहुन्थ्यो। त्यसकारण उहाँको व्यापार डुब्यो। उहाँको अनुभवबाट मैले भेदभाव र अन्यायविरुद्ध लड्न सोचेजस्तो सजिलो छैन भनेर बुझ्नुपर्थ्यो। तर त्यतिबेला मैले त्यो कुरा बुझ्न सकिनँ।
ममा कलाप्रतिको रुचि आमाबाट सरेको थियो। उहाँले केथ र मलाई गीतसङ्गीत र नृत्य सिकाउनुभयो। म सानी छँदा निकै फुर्तिलो थिएँ अनि केथ र मेरो जीवन एकदमै रमाइलो थियो। तर १९३९ मा सबै कुरा परिवर्तन भयो।
डरलाग्दो समय सुरु हुन्छ
स्कुलको पढाइ सिद्धिएपछि म ब्याले स्कुल गएँ। त्यहाँ मैले म्यारी विग्मनले सिकाएको भावनृत्य पनि सिकेँ। तिनी भावनृत्यलाई प्रख्यात बनाउनेहरूमध्ये एक थिइन्। भावनृत्यमा कलाकारले आफ्ना भावनाहरू नृत्यमा झल्काउनुपर्छ। मैले चित्रहरू पनि बनाउन थालेँ। त्यसैले मेरो किशोरावस्था हाँसीखुसी, रमाउँदै अनि नयाँ कुरा सिक्दै बित्यो। तर पछि १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो। साथै १९४१ मा अर्को पीडादायी घटना घट्यो। क्षयरोगले गर्दा मेरो बुबाको मृत्यु भयो।
युद्धको समय साँच्चै डरलाग्दो हुन्छ। दोस्रो विश्वयुद्ध सुरु हुँदा म १७ वर्षकी मात्र थिएँ, तैपनि मानिसहरू किन यत्ति धेरै आक्रोशित भएका होलान् जस्तो लाग्यो। त्यतिबेलासम्म राम्ररी सोचविचार गरिरहेका थुप्रै मानिसले अचानक नाजीहरूको समर्थन गर्न थाले। त्यसपछि अभाव, मृत्यु र विनाश सुरु भयो। बम विस्फोट हुँदा हाम्रो घरमा ठूलो क्षति पुग्यो। साथै युद्धको दौडान मेरो परिवारका धेरै सदस्य मारिए।
सन् १९४५ मा युद्ध रोकिँदा आमा, म अनि केथ हालेमै बस्दै थियौँ। यतिबेलासम्म मेरो विवाह भइसकेको थियो र हाम्री एउटी छोरी पनि थिइन्। तर हाम्रो वैवाहिक जीवन तनावपूर्ण थियो। त्यसैले हामी छुट्टिएर बस्न थाल्यौँ। अनि मैले आफ्नो र छोरीको आवश्यकता पूरा गर्न नृत्य र चित्रकलासम्बन्धी काम गर्न थालेँ।
युद्धपछि जर्मनी चार वटा क्षेत्रमा विभाजित भयो। हामी बसिरहेको सहर सोभियत सङ्घले शासन गरेको क्षेत्रमा पऱ्यो। त्यसैले हामी सबै जना कम्युनिस्ट शासनको अधीनमा बस्न बाध्य भयौँ। सन् १९४९ मा हामी बसिरहेको जर्मनीको क्षेत्र, जसलाई पूर्व जर्मनी पनि भनिन्थ्यो, त्यो जर्मन प्रजातान्त्रिक गणतन्त्र भयो।
कम्युनिस्ट शासनको अधीनमा हाम्रो जीवन
त्यतिबेला आमा धेरै बिरामी हुनुभयो अनि मैले उहाँको पनि ख्याल राख्नुपऱ्यो। त्यसैले मैले स्थानीय सरकारी कार्यालयमा जागिर खान थालेँ। त्यति नै बेला आफूमाथि भइरहेको अन्यायमा सरकारको ध्यान खिच्न विरोध गरिरहेका विद्यार्थीहरूसित मेरो भेट भयो। जस्तै: एक युवकको बुबा पहिला नाजी पार्टीको सदस्य भएकोले तिनलाई विश्वविद्यालयमा भर्ना हुन दिइएन। म तिनलाई राम्ररी चिन्थेँ किनकि अक्सर तिनीसित मेरो भेट भइरहन्थ्यो। बुबाको कारणले तिनले किन समस्या भोग्नुपर्ने भनेर मैले सोचेँ। मैले उनीहरूको गतिविधिमा साथ दिन थालेँ अनि जनआन्दोलनमा पनि सामेल हुने निर्णय गरेँ। एकचोटि मैले स्थानीय अदालतबाहिर हाम्रा पर्चाहरूसमेत टासेँ।
म न्याय भएको हेर्न चाहन्थेँ। तर सेक्रेटरीको रूपमा मैले शान्ति कायम गर्ने क्षेत्रीय समितिको लागि टाइप गर्ने चिठीहरू मेरो विचारधारासँग मिल्दैनथ्यो। एकचोटिको कुरा हो, समितिले पश्चिम जर्मनीमा बस्ने एक जना वृद्ध व्यक्तिलाई कम्युनिस्ट पार्टीको प्रवर्धन गर्ने सामग्री पठाउने योजना बनायो। उनीहरू पश्चिम जर्मनीको सरकारले तिनीमाथि शङ्का गरेको चाहन्थे। ती व्यक्तिप्रतिको यस्तो अन्यायी व्यवहार देखेर मलाई असाध्यै रिस उठ्यो। त्यसैले मैले त्यो पार्सल अफिसमै लुकाएँ, जसले गर्दा त्यो पार्सल ती व्यक्तिकहाँ कहिल्यै पठाइएन।
‘त्यस कोठामा भएको सबैभन्दा खराब व्यक्तिबाट’ मैले आशा पाएँ
जून १९५१ मा दुई जना मानिस मेरो अफिसमा आए अनि ‘हामी तपाईँलाई गिरफ्तार गर्न आएका हौँ’ भने। तिनीहरूले मलाई रोटर अक्से वा रेड अक्स भनिने जेलमा लगे। त्यसको एक वर्षपछि मलाई राज्यको विरोध गरेको आरोप लगाइयो। एक जना विद्यार्थीले मलाई धोका दिएर स्टासी भनिने खुफिया प्रहरीलाई मैले पहिला पर्चा टाँसेर गरेको विरोधबारे खबर गरेका रहेछन्। मलाई फसाइएको थियो। त्यसैले कसैले पनि मेरो कुरा सुनेन। मलाई छ वर्षको जेल सजाय सुनाइयो। त्यही समयतिर म बिरामी परेँ र मलाई जेलको अस्पतालमा लगभग ४० जना अरू स्त्रीहरूसँगै एउटै कोठामा राखियो। सबै जना असाध्यै दुःखी देखिन्थे, जसले गर्दा म आत्तिएँ। म दौडँदै ढोकातिर गएँ र मुड्कीले ढोकामा हान्न थालेँ।
गार्डले मलाई सोधेँ “तिमीलाई के चाहियो?”
मैले कराउँदै यसो भने: “म यहाँ बस्नै सक्दिनँ। मलाई एकल कारावासमा राखे पनि हुन्छ तर यहाँबाट चाहिँ निकाल्नुहोस्।” तिनले मेरो कुराको वास्तै गरेनन्। त्यसको केहि बेरपछि मैले एउटी स्त्रीलाई याद गरेँ। तिनी अरूभन्दा भिन्नै देखिन्थिन्। तिनी शान्त मनोभावकी देखिन्थिन् त्यसैले म तिनीसितै गएर बसेँ।
अचम्मको कुरा, तिनले यसो भनिन्: “मेरो छेउमा बस्ने भए होसियार हुनुहोस्। म यहोवाको साक्षी भएकोले अरूको विचारमा यस कोठामा भएको सबैभन्दा खराब व्यक्ति मै हुँ।”
त्यतिबेलासम्म मलाई कम्युनिस्ट राष्ट्रले यहोवाका साक्षीहरूलाई शत्रु ठान्छ भनेर थाह थिएन। तर मलाई के थाह थियो भने म सानी छँदा दुई जना बाइबल विद्यार्थी (यहोवाका साक्षीहरूलाई त्यतिबेला यही नामले चिनिन्थ्यो) बुबालाई भेट्न आइरहन्थे। बुबा यसो भन्नुहुन्थ्यो: “बाइबल विद्यार्थीहरूको कुरा सही हो!”
बेर्टा ब्रुगेमायर नाम गरेकी ती मायालु स्त्रीलाई भेटेपछि मैले साँच्चै ढुक्क महसुस गरेँ। मैले तिनलाई भनेँ: “मलाई यहोवाबारे बताउनुहोस्।” त्यसपछिदेखि हामीले एकअर्कासित प्रशस्त समय बिताउन थाल्यौँ। हामी अक्सर बाइबलबारे कुरा गर्थ्यौँ। मैले साँचो परमेश्वर यहोवा प्रेम, न्याय अनि शान्तिका परमेश्वर हुनुहुन्छ भनेर सिकेँ। साथै उहाँले दुष्ट अनि अत्याचारी मानिसहरूले पुऱ्याएको सबै हानिलाई सच्याउनुहुनेछ भनेर पनि सिकेँ। भजन ३७:१०, ११ यसो भन्छ: “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ . . . बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्अनि अपार शान्तिको आनन्द उठाउनेछन्।”
म जेलबाट मुक्त भएँ र पश्चिममा बसाइँ सरेँ
पाँच वर्षपछि १९५६ मा म जेलबाट मुक्त भएँ। त्यसको पाँच दिनपछि म पूर्व जर्मनीबाट भागेर पश्चिम जर्मनी गएँ। मैले आफ्ना दुई छोरीहरू हानीलोरे र सबिनेलाई आफूसँगै लगेँ। त्यहाँ मेरो श्रीमान्सँग सम्बन्धविच्छेद भयो अनि मैले फेरि साक्षीहरूलाई भेटेँ। बाइबल अध्ययन गर्दै जाँदा यहोवाको स्तरअनुसार जीवन बिताउन मैले थुप्रै परिवर्तन गर्नुपर्छ भनेर थाह पाएँ। मैले ती परिवर्तनहरू गरेँ अनि १९५८ मा बप्तिस्मा गरेँ।
पछि मैले क्लाउस मेने नाम गरेका साक्षीसँग विवाह गरेँ। क्लाउस र मेरो वैवाहिक जीवन रमाइलो थियो अनि हाम्रा दुई छोराछोरी पनि जन्मिए: बेन्जामिन र ताबिया। दुःखको कुरा, लगभग २० वर्षअघि दुर्घटनामा परेर क्लाउसको मृत्यु भयो र म विधवा भएँ। तर मरिसकेका मानिसहरू पृथ्वी प्रमोदवनमा परिणत हुँदा फेरि जीवित हुनेछन् भन्ने आशाबाट मैले सान्त्वना पाएकी छु। (लुका २३:४३; प्रेषित २४:१५) साथै मेरा चारै जना छोराछोरीले यहोवाको सेवा गरिरहेको देखेर पनि म खुसी छु।
मैले बाइबल अध्ययन गरेर यहोवाले मात्र सही तरिकामा न्याय गर्न सक्नुहुन्छ भनेर सिकेँ। मानिसहरूले अक्सर अरूको परिस्थिति र पृष्ठभूमिबारे सबै कुरा बुझ्न सक्दैनन् तर यहोवाले भने ती कुराहरूबारे राम्ररी विचार गरेर न्याय गर्नुहुन्छ। बाइबलबाट पाएको यस्तो ज्ञानले गर्दा म शान्त रहन सकेकी छु, विशेषगरि अन्याय भएको देख्दा वा आफैले अन्याय भोग्नुपर्दा। उपदेशक ५:८ यसो भन्छ: “यदि तैंले कुनै प्रान्तमा गरीबको अत्याचार भएको औ त्यसको अधिकारी र न्याय इन्कार भएको देखिस् भने जे भइरहेको छ त्यसमा अचम्म नमान्, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएका हुन्छन्, र सबैभन्दा ठूला अधिकारीले तिनीहरू सबैमाथि हेरविचार गर्छन्।” (संशोधित संस्करण) “सबैभन्दा ठूला अधिकारी” पक्कै पनि हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। हिब्रू ४:१३ यसो भन्छ: “जसलाई हामीले लेखा दिनुपर्छ, उहाँको नजरमा सबै कुरा खुला र उदाङ्ग छन्।”
बितेका लगभग ९० वर्षलाई फर्केर हेर्दा
नाजी र कम्युनिस्ट शासनको अधीनमा जीवन कस्तो थियो भनेर मानिसहरू कहिलेकाहीँ मलाई सोध्ने गर्छन्। दुवै शासनको अधीनमा जीवन सजिलो थिएन। ती दुवै सरकारले, अझ भन्ने हो भने सबै मानव सरकारले एउटा कुराको स्पष्ट प्रमाण दिन्छन् र त्यो हो, मानिसहरूले एकअर्कामाथि शासन गर्न सक्दैनन्। बाइबलमा स्पष्टसित यस्तो सत्य कुरा बताइएको छ: “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्याइरहेको मात्रै मैले देखेँ।”—उपदेशक ८:९.
जवान छँदा मैले न्यायको लागि मानव सरकारहरूमाथि विश्वास गर्ने मूर्ख निर्णय गरेँ। अहिले मलाई हाम्रो सृष्टिकर्ताले मात्र संसारमा पूर्णतया न्याय स्थापना गर्न सक्नुहुन्छ भन्ने कुरा राम्ररी थाह छ। उहाँले सबै दुष्टतालाई हटाएर अनि पृथ्वीमाथि शासन गर्ने अधिकार आफ्नो छोरा येसु ख्रिष्टलाई दिएर त्यसो गर्नुहुनेछ। येसु ख्रिष्ट आफ्नो होइन तर सधैँ अरूको फाइदा खोज्नुहुन्छ। उहाँबारे बाइबल यसो भन्छ: “तिमी धार्मिकतालाई प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ।” (हिब्रू १:९) परमेश्वरले मलाई यस्तो असल अनि न्यायी राजातर्फ खिच्नुभएकोमा म उहाँप्रति कृतज्ञ छु अनि येसुले शासन गर्नुहुँदा सधैँभरि बाँच्ने आशा राखेकी छु।
[चित्र]
पश्चिम जर्मनी पुगेपछि मेरा छोरीहरू हानीलोरे र सबिनेसँग
[चित्र]
अहिले मेरो छोरा बेन्जामीन र तिनकी श्रीमती स्यान्ड्रासँग