सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हनोक अभक्‍त संसारमा परमेश्‍वरसित हिंडे

हनोक अभक्‍त संसारमा परमेश्‍वरसित हिंडे

हनोक अभक्‍त संसारमा परमेश्‍वरसित हिंडे

सम्पूर्ण मानवजातिलाई नै परमेश्‍वरबाट टाढा गराउनसक्छु भन्‍ने दियाबलको दाबी छ र कहिलेकाहीं त त्यो यस विषयमा सफल भएजस्तो पनि देखिएको छ। हाबिलको मृत्यु भएको झन्डै पाँच शताब्दीपछि, कसैले पनि आफूलाई यहोवाका एक विश्‍वासी सेवकको रूपमा चिनाएनन्‌। बरु, पापी र अभक्‍त आचरणहरू सामान्य हुन थालिसकेका थिए।

आध्यात्मिकता खस्कँदै गइरहेको यस्तो समयमा हनोक यस पृथ्वीमा थिए। बाइबल कालक्रमअनुसार तिनी सा.यु.पू. ३४०४ मा जन्मेका थिए। तिनका समकालीनहरू परमेश्‍वरसामु ग्रहणयोग्य थिएनन्‌ तर हनोकलाई भने परमेश्‍वरले ग्रहणयोग्य ठान्‍नुभएको थियो। प्रेरित पावलले तिनलाई मसीहीहरूले अनुकरण गर्नसक्ने विश्‍वास भएको उदाहरणीय यहोवाका सेवकहरूको सूचीमा राखे। हनोक को थिए? तिनले के-कस्ता चुनौतीहरू सामना गर्नु परेको थियो? तिनले ती चुनौतीहरूको कसरी सामना गरे? अनि तिनको निष्ठाको हामीसित के सम्बन्ध छ?

हनोकभन्दा चार शताब्दीअघिका एनोशको समयदेखि “मानिसले परमप्रभुको नाउँको पुकारा गर्न शुरू गरे।” (उत्पत्ति ४:२६) यसरी मानव इतिहासको सुरुदेखि नै ईश्‍वरीय नाउँ प्रयोग गर्न थालिएको थियो। तथापि, प्राप्त प्रमाणअनुसार एनोश जीवित छँदा यहोवामाथिको विश्‍वास र शुद्ध उपासनाले गर्दा उहाँको नाउँ पुकार्न थालिएको थिएन। केही हिब्रू शास्त्रज्ञहरूले उत्पत्ति ४:२६ मा “अनादर गर्दै पुकारा गर्न सुरु गरे” अथवा “त्यसबेलादेखि अनादर गर्न सुरु भयो” भन्‍न खोजिएको हुनुपर्छ भन्‍ने धारणा राखेका छन्‌। मानिसहरूले आफ्नै नाउँ राख्न अथवा यहोवाको उपासना गर्न मदत गर्छ भनी विश्‍वास गरिएका मानिसहरूलाई सम्बोधन गर्न यहोवा नाउँ चलाएको हुनसक्छ। अन्यथा, मूर्तिहरूलाई नै यहोवा नाउँ दिएका हुनसक्छन्‌।

‘हनोक साँचो परमेश्‍वरका साथ हिंडे’

अधर्मीहरूबीच भए तापनि हनोक ‘साँचो परमेश्‍वर’ यहोवासित ‘हिंडिरहे।’ तिनका पुर्खाहरू सेत, एनोश, केनान, महलेल र येरेद परमेश्‍वरसित हिंडे भनिएको छैन। हिंडे पनि होलान्‌ तर कमसे कम तिनीहरू हनोकजस्तै परमेश्‍वरसित हिंडेनन्‌। आफ्नो जीवनशैलीले हनोकलाई अरूभन्दा भिन्‍न बनाएको थियो।—उत्पत्ति ५:३-२७.

परमेश्‍वरसित हिंड्‌नुले परमेश्‍वरसित घनिष्ठ र आत्मीय हुनु भन्‍ने बुझाउँछ। हनोकले आफ्नो जीवन परमेश्‍वरको इच्छाअनुसार बिताएकोले सो सम्भव हुनसक्यो। यहोवाले हनोकको भक्‍ति ग्रहण गर्नुभयो। वास्तवमा, युनानी सेप्टुआजिन्ट-ले बताएअनुसार “हनोक” परमेश्‍वरलाई “अत्यन्तै मनपर्दा थिए” र यही अभिव्यक्‍ति प्रेरित पावलले पनि व्यक्‍त गरे।—उत्पत्ति ५:२२, हिब्रू ११:५.

यहोवासित हनोकको राम्रो सम्बन्ध हुनुको कारक तत्त्व तिनको विश्‍वास थियो। तिनले परमेश्‍वरको “स्त्रीको” “सन्तान[माथि]” पक्कै विश्‍वास गरेको हुनुपर्छ। यदि तिनले व्यक्‍तिगत तवरमा आदमलाई चिनेको भए, परमेश्‍वरले अदनको बगैंचामा प्रथम मानव दम्पतिसित गर्नुभएको व्यवहारबारे हनोकले केही जानकारी प्राप्त गरेको हुनुपर्छ। परमेश्‍वरको ज्ञानले हनोकलाई “उहाँलाई खोज्न” प्रेरित गऱ्‍यो।—उत्पत्ति ३:१५; हिब्रू ११:६, १३.

हनोकको अनि हाम्रो सन्दर्भमा कुरा गर्ने हो भने, यहोवासित राम्रो सम्बन्ध गाँस्न परमेश्‍वरबारे ज्ञान भएर मात्र पुग्दैन। कुनै व्यक्‍तिसितको घनिष्ठ सम्बन्धको कदर गर्छौं भने, हामी हाम्रा विचार तथा काम तिनको दृष्टिकोणद्वारा प्रभावित हुन दिन्छौं नि, होइन र? यस्तो मित्रतालाई बिगार्ने कुनै पनि कुरा बोल्न वा काम गर्नदेखि हामी परै बस्छौं। अनि यदि हामी आफ्नो परिस्थितिमा केही काँटछाँट गर्ने विचार गर्छौं भने, यसले हाम्रो सम्बन्धमा कस्तो प्रभाव पार्छ भनेर के हामी सोच्दैनौं र?

त्यस्तै गरी परमेश्‍वरसित घनिष्ठ सम्बन्ध कायम गर्ने इच्छाले हामी जे गर्छौं, त्यसलाई प्रभाव पार्छ। त्यसका लागि, उहाँ के ग्रहण गर्नुहुन्छ र के ग्रहण गर्नुहुन्‍न, त्यसबारे सही ज्ञान हुनु नै प्रमुख आवश्‍यकता हो। त्यसपछि हामी त्यही ज्ञानअनुसार चल्नु र आफ्ना विचार तथा कामद्वारा उहाँलाई प्रसन्‍न पार्ने कोसिस गर्नु आवश्‍यक छ।

हो, परमेश्‍वरसित हिंड्‌न हामीले उहाँलाई प्रसन्‍न पार्नैपर्छ। हनोकले सयौं वर्षसम्म त्यसै गरे। वास्तवमा, हनोक परमेश्‍वरसित “हिंड्‌थे” भनेर संकेत गर्ने हिब्रू क्रियाले निरन्तरताको भावलाई बुझाउँछ। ‘परमेश्‍वरसित हिंड्‌ने’ अर्का विश्‍वासी पुरुष नूह थिए।—उत्पत्ति ६:९.

हनोक जहान परिवार भएका पुरुष थिए र तिनकी एक पत्नी तथा “छोरा-छोरीहरू” थिए। तिनका छोराहरूमध्ये एक जना मतूशेलह थिए। (उत्पत्ति ५:२१, २२) आफ्नो परिवारको राम्रो पालन पोषण गर्न हनोकले सकेजति सब थोक गरेको हुनुपर्छ। तथापि, वरपरका अभक्‍त मानिसहरूले गर्दा परमेश्‍वरको सेवा गर्न तिनलाई सजिलो भएन। तिनको समयमा यहोवामाथि भरोसा गर्ने अर्का व्यक्‍ति, तिनकै बुबा लेमेक मात्र हुन सक्छन्‌। (उत्पत्ति ५:२८, २९) तैपनि, हनोक निर्भयतासाथ साँचो उपासनामा लागिरहे।

परमेश्‍वरप्रति वफादार भइरहन हनोकलाई केले मदत गऱ्‍यो? निस्सन्देह, तिनले यहोवाको नाउँको अपमान गर्नेहरूसित वा यहोवाका उपासकहरूले मित्रता गाँस्न नसुहाउने व्यक्‍तिहरूसित संगत गरेनन्‌। प्रार्थनाद्वारा यहोवासित मदत मागेर पनि हनोकले आफ्नो सृष्टिकर्तालाई रुष्ट पार्ने कुनै पनि काम गर्नदेखि टाढै रहने निर्णय गर्न बल पाएको हुनैपर्छ।

अभक्‍तहरू विरुद्ध भविष्यवाणी

हामीलाई अभक्‍त मानिसहरूबीच उच्च स्तर कायम गर्नु निकै गाह्रो हुन्छ। तर हनोकले कुनै सम्झौता नगरीकनै दुष्टहरू विरुद्ध सन्देश सुनाए। परमेश्‍वरको आत्माको निर्देशनमा हनोकले भविष्यसूचक ढंगमा यस्तो घोषणा गरे: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।”—यहूदा १४, १५.

भ्रष्ट अविश्‍वासीहरूमाथि यो सन्देशले कस्तो प्रभाव पाऱ्‍यो होला? हनोकको यस्तो घोच्ने बोलीले तिनी अलोकप्रिय, गिल्लाको पात्र, उपहास र धम्कीको सिकार हुनुपऱ्‍यो भनेर अनुमान लाउनु तार्किक छ। कसैकसैले त तिनलाई मार्नसमेत खोजे होलान्‌। तथापि, हनोक डराएनन्‌। धर्मी हाबिललाई के भएको थियो त्यसबारे तिनलाई राम्ररी थाह थियो। तथापि, हनोक हाबिलजस्तै परमेश्‍वरको सेवा गर्न दृढ थिए।

“परमेश्‍वरले तिनलाई उठाइलानुभयो”

“परमेश्‍वरले तिनलाई उठाइलानु” हुँदा हनोकमाथि पक्कै घातक हमला आइपर्न लागेको हुनुपर्छ। (उत्पत्ति ५:२४) यहोवाले आफ्नो विश्‍वासी अगमवक्‍तालाई क्रुद्ध शत्रुहरूको हातबाट दुःख भोग्न दिनुहुने थिएन। प्रेरित पावलले बताएअनुसार “विश्‍वासद्वारा मृत्यु नचाखी हनोक . . . उठाइलगिए।” (हिब्रू ११:५, नयाँ संशोधित संस्करण) थुप्रैले हनोक मरेका छैनन्‌ तर परमेश्‍वरले तिनलाई स्वर्गमा उठाइ लानुभयो र त्यहाँ तिनी अझै जीवितै छन्‌ भन्छन्‌। तथापि, येशूले स्पष्टसित यसो भन्‍नुभयो: “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लिगएको छैन।” अतः स्वर्ग जानेहरूको “अगुवा” येशू नै हुनुहुन्थ्यो।—यूहन्‍ना ३:१३; हिब्रू ६:१९, २०.

त्यसोभए, हनोकलाई के भयो त? ‘मृत्यु नचाखी उठाइलगिनुको’ अर्थ हो, परमेश्‍वरले तिनलाई भविष्यसूचक दर्शनमा मग्न हुन लाउनुभयो र त्यसपछि त्यही अवस्थामा परमेश्‍वरले तिनको जीवन अन्त गर्नुभयो। यस्तो अवस्थामा हनोकले मृत्युको पीडा भोग्नु परेन। त्यसपछि “तिनी फेला परेनन्‌” किनकि पक्कै पनि यहोवाले मोशाको शरीरजस्तै तिनको शरीर पनि लुकाउनुभयो।—व्यवस्था ३४:५, ६.

हनोक ३६५ वर्ष अर्थात्‌ तिनका समकालीनहरूभन्दा कम बाँचे। तर यहोवालाई माया गर्नेहरूका लागि महत्त्वपूर्ण कुरा त आखिरी घडीसम्मै विश्‍वासी भई उहाँको सेवा गर्नु हो। हनोकले त्यसै गरे भनेर हामीलाई थाह छ किनकि “तिनी उठाइलगिनुभन्दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्टि भएको थियो।” परमेश्‍वरले हनोकसित यस विषयमा कसरी कुरा गर्नुभयो त्यसबारे धर्मशास्त्रले केही बताएको छैन। तथापि, आफू मर्नुअघि हनोकले, परमेश्‍वरले तिनलाई ग्रहण गर्नुभएको छ भन्‍ने आश्‍वासन पाएका थिए र पुनरुत्थान गर्नुहुँदा यहोवाले तिनलाई अवश्‍यै सम्झनुहुनेछ भनेर हामी पक्का हुन सक्छौं।

हनोकको विश्‍वासको अनुकरण गर्नुहोस्‌

परमेश्‍वरप्रति समर्पित व्यक्‍तिको विश्‍वास अनुकरण गर्दा हामीले राम्रै गर्नेछौं। (हिब्रू १३:७) विश्‍वासकै कारण हनोकले परमेश्‍वरको प्रथम विश्‍वासी अगमवक्‍ताको रूपमा सेवा गरे। हनोकको समय आज हाम्रो समयजस्तै हिंसा, भ्रष्ट र अभक्‍तहरूले भरिएको थियो। तथापि, हनोक एकदमै फरक थिए। तिनीसित साँचो विश्‍वास थियो र तिनको ईश्‍वरीय भक्‍ति उदाहरणीय थियो। हो, यहोवा परमेश्‍वरले तिनलाई न्यायको सन्देश घोषणा गर्ने गहन जिम्मेवारी दिनुभयो तर उहाँले तिनलाई यो सन्देश घोषणा गर्ने बल पनि दिनुभयो। हनोकले साहसी भई आफूले पाएको काम पूरा गरे र शत्रुहरूले विरोध गर्दा परमेश्‍वरले तिनको ख्याल गर्नुभयो।

यदि हामीले पनि हनोकले जस्तै विश्‍वास गऱ्‍यौं भने यहोवाले हामीलाई पनि यस आखिरी दिनमा उहाँको सन्देश घोषणा गर्न बल दिनुहुनेछ। उहाँले हामीलाई साहसी भई सतावटको सामना गर्न मदत गर्नुहुनेछ र हाम्रो ईश्‍वरीय भक्‍तिले हामीलाई अभक्‍तहरूभन्दा धेरै भिन्‍न बनाउनेछ। विश्‍वासले हामीलाई परमेश्‍वरसित हिंड्‌न र उहाँको हृदयलाई प्रसन्‍न पार्ने तरिकामा चल्न मदत गर्नेछ। (हितोपदेश २७:११) विश्‍वासले गर्दा नै धर्मी हनोक अभक्‍त संसारमा यहोवासित हिंड्‌न सके भने हामी पनि सक्छौं।

[पृष्ठ ३०-मा भएको पेटी]

के बाइबलले हनोकको पुस्तकबाट उद्धरण गरेको छ?

हनोकको पुस्तक अप्रमाणिक अनि शंकास्पद लेख हो। यसका लेखक हनोक थिए भनेर मानिसहरूले गलत नाउँ दिएका हुन्‌। सा.यु.पू. दोस्रो र प्रथम शताब्दीतिर तयार पारिएको भनी अनुमान गरिएको यो पुस्तक बढाइचढाइ गरिएका कुराहरू र गैर-ऐतिहासिक यहूदी मिथ्याहरूको संग्रह हो। यस पुस्तकमा, उत्पत्तिको पुस्तकमा हनोकबारे दिइएको संक्षिप्त जानकारीलाई बढाइचढाइ गरेर व्याख्या गरिएको छ। परमेश्‍वरको प्रेरित वचनलाई माया गर्नेहरूले हनोकको पुस्तकलाई नजाँच्न यो तथ्य नै पर्याप्त छ।

बाइबलमा यहूदाको पुस्तकमा मात्रै हनोकका भविष्यसूचक शब्दहरू छन्‌: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।” (यहूदा १४, १५) आफ्ना अभक्‍त समकालीनहरू विरुद्ध हनोकले गरेको यो भविष्यवाणी सीधै हनोकको पुस्तकबाट उद्धरण गरिएको हो भनी थुप्रै शास्त्रज्ञ दाबी गर्छन्‌। के यहूदाले भर पर्न नसकिने अप्रमाणिक पुस्तक चलाएको हुनसक्छ?

यहूदाले कसरी हनोकले गरेको भविष्यवाणी थाह पाए, जबकि त्यसबारे धर्मशास्त्रमा प्रकाश पारिएकै छैन। तिनले चिरपरिचित स्रोत अर्थात्‌ परापूर्वकालदेखि चलिआएको भरपर्दो परम्परालाई आफ्नो स्रोतको रूपमा लिएको हुनसक्छ। फिरऊनको चोकमा मोशाको विरोध गर्ने बेनामी जादुगर जेन्‍नस र जेम्ब्रस थिए भनी उल्लेख गर्दा पावलले पनि यस्तै स्रोतबाट उल्लेख गरेको हुनसक्छ। हनोकको पुस्तकको लेखकसित यस्तो पुरातन स्रोत थियो भने, यहूदासित चाहिं थिएन भनेर हामी कसरी पो दाबी गर्न सक्छौं र? aप्रस्थान ७:११, २२; २ तिमोथी ३:८.

हनोकले अभक्‍तहरूलाई सुनाएको सन्देशबारे यहूदाले कसरी जानकारी पाए, त्यो ठूलो कुरा होइन। यहूदाले ईश्‍वरीय प्रेरणा पाएर ती लेखेका हुनाले यसबाट यसको विश्‍वसनीयता प्रमाणित हुन्छ। (२ तिमोथी ३:१६) परमेश्‍वरको पवित्र आत्माले तिनलाई कुनै पनि असत्य कुरा गर्नबाट जोगाए।

[फुटनोट]

a चेला स्तिफनसले पनि हिब्रू धर्मशास्त्रमा कतै नभेटिएको जानकारी दिएको छ। तिनले, मोशाले हासिल गरेको मिस्री शिक्षा, ४० वर्षको छँदा मिस्रबाट भागेको, मिद्यानमा ४० वर्षसम्म बसेको र मोशालाई दिइएको व्यवस्थामा स्वर्गदूतको भूमिकासित सम्बन्धित कुरा गरे।—प्रेरित ७:२२, २३, ३०, ३८.

[पृष्ठ ३१-मा भएको चित्र]

हनोकले साहसी भई यहोवाको सन्देश घोषणा गरे