सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्

सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्

“युद्धको दिनमा लडाइँ गरेझैं परमप्रभु निस्केर ती जातिहरूसित लडाइँ गर्नुहुनेछ।”—जक. १४:३.

१, २. चाँडै कस्तो घटना हुनेछ र त्यस युद्धमा परमेश्वरका सेवकहरूले के गर्नुपर्ने छैन?

सन्‌ १९३८, अक्टोबर ३० का दिन अमेरिकाका लाखौं मानिस लोकप्रिय रेडियो कार्यक्रम सुन्दै थिए। त्यस कार्यक्रममा संसारको युद्ध (अङ्ग्रेजी) शीर्षकको विज्ञान कथामा आधारित उपन्यास नाटकीय ढङ्गमा प्रस्तुत गरिंदै थियो। समाचार संवाददाताको भूमिका खेलिरहेका पात्रहरूले मङ्गल ग्रहबाट आएका प्राणीहरूले पृथ्वी ध्वस्त पार्नेछन्‌ भनेर बताए। उक्त कार्यक्रम नाटक मात्र हो भनेर बताइएको भए तापनि थुप्रैले त्यसलाई वास्तविक ठानेर डराए। कतिपयले त ती काल्पनिक प्राणीहरूबाट बच्न कदमसमेत चाले।

चाँडै एउटा साँच्चैको युद्ध हुनै लागेको छ। तर मानिसहरू त्यसको लागि तयार छैनन्‌। त्यस युद्धबारे विज्ञानमा आधारित उपन्यासमा होइन, परमेश्वरद्वारा प्रेरित वचन बाइबलमा भविष्यवाणी गरिएको छ। त्यसलाई आरमागेडोनको युद्ध भनिन्छ, जुन दुष्ट युगविरुद्ध परमेश्वरको युद्ध हो। (प्रका. १६:१४-१६) त्यस युद्धमा पृथ्वीमा रहेका परमेश्वरका सेवकहरूले लडाइँ गर्नुपर्ने छैन। तर त्यतिबेला हुने अचम्मका घटनाहरू अनि परमेश्वरको अथाह शक्ति देखेर तिनीहरू चकित हुनेछन्‌।

३. हामी कुन भविष्यवाणी विचार गर्नेछौं र यो भविष्यवाणी आज हाम्रो लागि किन अर्थपूर्ण छ?

आरमागेडोनको युद्धबारे जकरिया अध्याय १४ मा थुप्रै कुरा बताइएको छ। ती कुराहरू लगभग २,५०० वर्षअघि लेखिएका भए तापनि आज हाम्रो लागि अर्थपूर्ण छ। (रोमी १५:४) सन्‌ १९१४ मा ख्रीष्टको शासन सुरु भएदेखि यता परमेश्वरका सेवकहरूले सामना गरेका परिस्थितिहरूबारे उक्त अध्यायमा बताइएको छ। साथै चाँडै हुन लागेका रोमाञ्चक घटनाहरूबारे पनि बताइएको छ। त्यस  अध्यायमा “एउटा ठूलो खोल्चा” र “जिउँदो पानी”-बारे पनि लेखिएको छ। (जक. १४:४, ८) यस खोल्चाले यहोवाका उपासकहरूलाई सुरक्षा दिन्छ। जिउँदो पानीको महत्त्व बुझ्दा हामी त्यो पानी पिउनुपर्ने आवश्यकता मात्र महसुस गर्दैनौं बरु त्यो पिउन अति इच्छुक हुन्छौं। त्यसैले आउनुहोस्, जकरियाको भविष्यवाणीमा ध्यान दिऔं।—२ पत्रु. १:१९, २०.

‘परमप्रभुको दिन’ सुरु हुन्छ

४. (क) ‘परमप्रभुको दिन’ कहिले सुरु भयो? (ख) यहोवाका उपासकहरूले सन्‌ १९१४ भन्दा दशकौंअघिदेखि के विषयमा प्रचार गरिरहेका थिए र संसारका नेताहरूले कस्तो प्रतिक्रिया देखाए?

जकरिया अध्याय १४ यसरी सुरु हुन्छ: ‘परमप्रभुको दिन आउँदैछ।’ (जकरिया १४:१, २ पढ्नुहोस्) त्यस दिनले केलाई बुझाउँछ? “संसारको राज्य” “परमेश्वरको अनि उहाँको ख्रीष्टको राज्य” हुँदा सुरु भएको “प्रभुको दिन”-लाई। (प्रका. १:१०; ११:१५) सन्‌ १९१४ मा येशू परमेश्वरको राज्यको राजा हुँदा त्यो दिन सुरु भयो। यहोवाका उपासकहरूले “राष्ट्रहरूलाई दिइएको समय” सन्‌ १९१४ मा अन्त हुनेछ र संसारको अवस्था झन्‌-झनै बिग्रँदै जानेछ भनेर दशकौंअघिदेखि प्रचारप्रसार गरेका थिए। (लूका २१:२४) के “ती राष्ट्रहरूले” त्यस चेतावनीलाई ध्यान दिए? चेतावनीलाई ध्यान दिनुको साटो राजनैतिक तथा धार्मिक नेताहरूले ती जोसिला अभिषिक्त ख्रीष्टियनहरूलाई हाँसोमा उडाए र खेदो गरे। वास्तवमा उनीहरूले सर्वशक्तिमान्‌ परमेश्वरलाई हाँसोमा उडाइरहेका थिए किनभने अभिषिक्त राजदूतहरू “स्वर्गको यरूशलेम” अर्थात्‌ मसीही राज्यका प्रतिनिधि हुन्‌।—हिब्रू १२:२२, २८.

५, ६. (क) भविष्यवाणीअनुरूपै “शहर” र त्यसका ‘नागरिकहरूविरुद्ध’ शत्रुहरूले के गरे? (ख) “बाँकी रहेका मानिसहरू” को थिए?

शत्रुहरूले चाल्ने कदमबारे जकरियाले यस्तो भविष्यवाणी गरे: “[यरूशलेम] शहर लिइनेछ।” “यो शहर”-ले मसीही राज्यलाई बुझाउँछ। शेष अभिषिक्त ख्रीष्टियनहरू पृथ्वीमा यस राज्यको प्रतिनिधित्व गर्ने ‘नागरिकहरू’ हुन्‌। (फिलि. ३:२०) प्रथम विश्वयुद्धको दौडान यहोवाको पार्थिव सङ्गठनका जिम्मेवार सदस्यहरूलाई पक्राउ गरियो र अमेरिकाको जर्जियास्थित एटलान्टाको झ्यालखानामा हालियो। भविष्यवाणीअनुसारै ‘त्यो शहर लिइयो’ अर्थात्‌ कब्जा गरियो। शत्रुहरूले ती भाइहरूलगायत अरू वफादार ख्रीष्टियनहरूमाथि क्रूर र अन्यायी व्यवहार गरे। तिनीहरूको साहित्यमाथि प्रतिबन्ध लगाए र प्रचारकार्यलाई पनि रोके। यसप्रकार प्रतीकात्मक अर्थमा शहरका ‘घरहरू लुटिए।’

शत्रुहरूले परमेश्वरका सेवकहरूलाई सताए, तिनीहरूबारे झूटा कुरा फैलाए। तैपनि साँचो उपासनालाई नामेट पार्न सकेनन्‌। थुप्रै अभिषिक्त ख्रीष्टियन वफादार रहिरहे। जकरियाको भविष्यवाणीअनुसार तिनीहरू नै ‘शहरबाट अलग हुन’ इन्कार गर्ने “बाँकी रहेका मानिसहरू” थिए।

७. अभिषिक्त ख्रीष्टियनहरूले हाम्रो लागि कस्तो उदाहरण बसालेका छन्‌?

के शत्रुहरूले प्रथम विश्वयुद्धपछि परमेश्वरका सेवकहरूलाई खेदो गर्न छोडे? छोडेनन्‌। शत्रुहरूले शेष अभिषिक्त जन तथा पृथ्वीमा बस्ने आशा राखेका वफादार सेवकहरूलाई झनै सताउन थाले। (प्रका. १२:१७) जस्तै:- दोस्रो विश्वयुद्धताका हाम्रा भाइबहिनीलाई निकै सताइयो। सत्यनिष्ठा कायम राखेका अभिषिक्त ख्रीष्टियनहरूको उदाहरणले आज हामीलाई जस्तोसुकै परीक्षा आइपरे तापनि सहने बल दिन्छ। सच्चाइमा नभएका नातेदार वा सहकर्मीले हामीलाई विरोध गर्न सक्छन्‌ अथवा स्कूलका साथीहरूले हाम्रो  विश्वासलाई हाँसोमा उडाउन सक्छन्‌। (१ पत्रु. १:६, ७) हामी जहाँसुकै भए तापनि ‘विरोधीहरूसित रत्तीभर नडराई’ “एउटै सोचाइ” राख्न दृढ छौं। (फिलि. १:२७, २८) त्यसोभए हामीलाई घृणा गर्ने संसारमा कहाँ सुरक्षा पाउन सक्छौं?—यूह. १५:१७-१९.

यहोवा “ठूलो खोल्चा” बनाउनुहुन्छ

८. (क) बाइबलमा पर्वत शब्दले कहिलेकाहीं केलाई बुझाउँछ? (ख) “जैतून पर्वत”-ले केलाई बुझाउँछ?

“शहर” अर्थात्‌ यरूशलेमले परमेश्वरको राज्यलाई चित्रण गर्ने भएकोले ‘यरूशलेमको सामने भएको जैतून पर्वतको’ पनि प्रतीकात्मक अर्थ हुनुपर्छ। यस पर्वतले केलाई बुझाउँछ? यो पर्वत ‘बीचमा धाँदो फाटेर’ कसरी दुइटा हुनेछ? यहोवाले ती पर्वतहरूलाई किन “मेरा पर्वतहरू” भन्नुभयो? (जकरिया १४:३-५ पढ्नुहोस्) राज्य वा सरकारलाई बुझाउन बाइबलमा कहिलेकाहीं पर्वत शब्द प्रयोग गरिएको छ। साथै परमेश्वरको पर्वतमा आशिष्‌ अनि सुरक्षा पाइन्छ भनेर पनि बाइबलमा बताइएको छ। (भज. ७२:३; यशै. २५:६, ७) त्यसैले यरूशलेमको पूर्वतिर भएको जैतून पर्वतले यहोवाको सार्वभौमिकता अर्थात्‌ शासन गर्ने अधिकारलाई बुझाउँछ।

९. “जैतून पर्वत” दुई भाग हुनुले केलाई सङ्केत गर्छ?

जैतून पर्वत दुई भाग हुनुले केलाई सङ्केत गर्छ? यसले यहोवाले अर्को शासन पनि सुरु गर्नुभएको कुरालाई सङ्केत गर्छ। यो येशूको हातमा सुम्पिइएको मसीही राज्य हो। दुवै शासन यहोवाकै भएकोले उहाँले दुवै पर्वतलाई “मेरा पर्वतहरू” भन्नुभयो।—जक. १४:४.

१०. दुई पर्वतबीचको “ठूलो खोल्चा”-ले केलाई बुझाउँछ?

१० प्रतीकात्मक पर्वत फाटेर आधा उत्तरतिर र आधा दक्षिणतिर विभाजित हुँदा यहोवाको खुट्टा भने दुवै पर्वतमा रहिरहन्छ। यसरी विभाजित हुँदा यहोवाको खुट्टामुनि “ठूलो खोल्चा” बन्छ। यस प्रतीकात्मक खोल्चाले यहोवाले दिनुहुने सुरक्षालाई बुझाउँछ। यहोवा र उहाँको छोराको शासनमुनि उहाँका सेवकहरू सुरक्षित छन्‌। यहोवाले साँचो उपासनालाई कहिल्यै नामेट हुन दिनुहुनेछैन। जैतून पर्वत कहिले विभाजित भयो? सन्‌ १९१४ मा अन्यजातिको समय अन्त भएर मसीही राज्य स्थापना हुँदा त्यो पर्वत विभाजित भयो। साँचो उपासकहरू कहिलेदेखि यस प्रतीकात्मक खोल्चातिर भाग्न सुरु गरे?

खोल्चातिर भाग्न सुरु हुन्छ!

११, १२. (क) यहोवाका सेवकहरू प्रतीकात्मक खोल्चातिर कहिलेदेखि भाग्न थाले? (ख) यहोवा आफ्ना सेवकहरूलाई सुरक्षा दिनुहुन्छ भनेर केले देखाउँछ?

११ येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “मेरा चेला भएकाले तिमीहरू सबै जातिहरूमाझ घृणाको पात्र हुनेछौ।” (मत्ती २४:९) सन्‌ १९१४ मा अन्तको दिन सुरु भएदेखि यता येशूका चेलाहरूलाई झनै घृणा गर्न थालिएको छ। प्रथम विश्वयुद्धको दौडान शत्रुहरूले शेष अभिषिक्त जनमाथि क्रूर सतावट ल्याए तापनि साँचो उपासनालाई नामेट पार्न सकेनन्‌। सन्‌ १९१९ मा तिनीहरू झूटो धर्मको विश्व सम्राज्य महान्‌ बेबिलोनको बन्धनबाट मुक्त भए। (प्रका. ११:११, १२) * त्यही समयदेखि यहोवाका सेवकहरू प्रतीकात्मक खोल्चातिर भाग्न थाले।

१२ सन्‌ १९१९ देखि संसारभरका यहोवाका उपासकहरूले उहाँको खोल्चामा सुरक्षा पाइरहेका छन्‌। वर्षौंदेखि विभिन्न देशको सरकारले यहोवाका साक्षीहरूको प्रचारकार्यमा र तिनीहरूको साहित्यमा प्रतिबन्ध लगाएको छ। कुनै-कुनै देशमा अझै पनि त्यस्तो प्रतिबन्ध छ। तर जति नै कोसिस गरे तापनि उनीहरूले साँचो  उपासनालाई नामेट पार्न सक्नेछैनन्‌। यहोवाले आफ्ना सेवकहरूलाई सधैं सुरक्षा दिनुहुनेछ।—व्यव. ११:२.

१३. हामी कसरी यहोवाको खोल्चामा बस्छौं? यहोवाको खोल्चामा बस्नु अहिले किन झनै महत्त्वपूर्ण छ?

१३ यहोवाप्रति वफादार रहिरह्यौं भने हामी उहाँको खोल्चामा बसिरहेका हुन्छौं। यहोवा र येशू ख्रीष्टले हामीलाई सुरक्षा दिनुहुनेछ। यहोवाले हामीलाई उहाँको “हातबाट खोसेर लैजान” कसैलाई दिनुहुनेछैन। (यूह. १०:२८, २९) यहोवालाई ब्रह्माण्डको सार्वभौम मानेर उहाँप्रति आज्ञाकारी भइरहन सकोस् र मसीही राज्यको वफादार प्रजा रहिरहन सकोस् भनेर उहाँ हामीलाई जस्तोसुकै मदत दिन तयार हुनुहुन्छ। नजिकिंदै गइरहेको महासङ्कष्टमा हामीलाई उहाँको सुरक्षा अझ धेरै चाहिनेछ। त्यसकारण यहोवाको खोल्चामा बस्नु अहिले झनै महत्त्वपूर्ण छ।

“युद्धको दिन” सुरु हुन्छ

१४, १५. परमेश्वरले आफ्ना शत्रुहरूविरुद्ध लड्नुहुने “युद्धको दिनमा” खोल्चाबाहिर बस्नेहरूको हविगत कस्तो हुनेछ?

१४ यस युगको अन्त नजिकिंदै जाँदा सैतानले यहोवाका सेवकहरूमाथि अझ तीव्र आक्रमण गर्नेछ। अनि त्यसले चाँडै परमेश्वरका सेवकहरूविरुद्ध अन्तिम आक्रमण गर्नेछ। तर यहोवा आफ्ना शत्रुहरूविरुद्ध लड्नुहुनेछ र सबैलाई नाश गर्नुहुनेछ। त्यो नै जकरियाले भविष्यवाणी गरेको “युद्धको दिन” हुनेछ। त्यस दिन ब्रह्माण्डका सार्वभौम यहोवाले आफूलाई पहिला-पहिलाको “लडाइँ”-मा भन्दा झनै महिमित योद्धाको रूपमा चिनाउनुहुनेछ।—जक. १४:३.

१५ परमेश्वरको युद्धको दिनमा, सुरक्षा पाइने “ठूलो खोल्चा”-बाहिर बस्नेहरूको हविगत कस्तो हुनेछ? तिनीहरूसित ‘उज्यालो हुनेछैन।’ यसको अर्थ तिनीहरूले परमेश्वरको अनुमोदन पाउनेछैनन्‌। युद्धको त्यस दिनमा “घोडाहरू, खच्चरहरू, ऊँटहरू, गधाहरू र . . . जम्मै पशुहरू” मर्नेछन्‌। यी जनावरहरूले राष्ट्रहरूले प्रयोग गर्ने हातहतियारलाई बुझाउँछ। यस्ता हातहतियारलाई “ठन्डा” पारिनेछ अर्थात्‌ बेकामको तुल्याइनेछ। यहोवाले आफ्ना शत्रुहरूविरुद्ध रुढी र “महामारी” पनि ल्याउनुहुनेछ। त्यस दिन “तिनीहरूका आँखा . . . र तिनीहरूका जिब्रा . . . कुहिजानेछन्‌।” यहोवाले साँच्चै महामारी ल्याउनुहुन्छ कि हुन्न, त्यो त हामीलाई थाह छैन। तर यति थाह छ, ती शत्रुहरूले हामीलाई हानि गर्न सक्नेछैनन्‌ र तिनीहरू परमेश्वरविरुद्ध बोल्न सक्नेछैनन्‌। (जक. १४:६, ७, १२, १५, NRV) युद्धमा सैतानको पक्ष लिने सेना प्रशस्त हुनेछ। तर तिनीहरू पृथ्वीको जुनसुकै ठाउँमा भए पनि विनाशदेखि बच्न सक्नेछैनन्‌। (प्रका. १९:१९-२१) “त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌।”—यर्मि. २५:३२, ३३.

१६. परमेश्वरको युद्धको दिन नजिकिंदै गएको कुरा विचार गर्दा हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ? महासङ्कष्टको बेला हामीले के गर्नुपर्नेछ?

१६ युद्धले सधैं दुःख निम्त्याउँछ। युद्ध जित्नेहरूले समेत दुःख भोग्नुपर्ने हुन्छ। खानेकुराको अभाव हुन सक्छ। धनजनको क्षति हुन सक्छ। जीवनस्तर खस्कन सक्छ। स्वतन्त्रता हनन हुन सक्छ। यस्ता कठिनाइ भोग्नुपऱ्यो भने हामी कस्तो प्रतिक्रिया देखाउनेछौं? के हामी आत्तिनेछौं? के हामी आफ्नो विश्वास त्याग्नेछौं? के हामी हरेस खानेछौं? महासङ्कष्टको बेला यहोवाको बचाउने शक्तिमा भर पर्दै सुरक्षा पाइने उहाँको खोल्चामा बसिरहनु अत्यावश्यक छ।हबकूक ३:१७, १८ पढ्नुहोस्।

 “जिउँदो पानी फुटेर निस्कनेछ”

१७, १८. (क) “जिउँदो पानी”-ले केलाई बुझाउँछ? (ख) “पूर्वको समुद्र” र “पश्‍चिमको समुद्र”-ले केलाई बुझाउँछ? (ग) तपाईंले कस्तो सङ्कल्प गर्नुभएको छ?

१७ आरमागेडोनपछि मसीही राज्यबाट “जिउँदो पानी” निरन्तर बग्नेछ। “जिउँदो पानी”-ले हामी सधैंभरि बाँचोस् भनेर यहोवाले गर्नुभएका प्रबन्धहरूलाई बुझाउँछ। “पूर्वको समुद्र”-ले मृत सागरलाई बुझाउँछ भने “पश्‍चिमको समुद्र”-ले चाहिं भूमध्य सागरलाई। यी दुवै समुद्र मानिसहरूलाई बुझाउन प्रयोग गरिएको छ। मृत सागरले चिहानमा भएका मानिसहरूलाई बुझाउँछ। भूमध्य सागर जीवित प्राणीहरूले भरिभराउ भएकोले यसले जिउँदै आरमागेडोन पार गर्ने “ठूलो भीड”-लाई बुझाउँछ। (जकरिया १४:८, ९ पढ्नुहोस्; प्रका. ७:९-१५) यी दुवै समूहका मानिसहरूले “जीवन दिने पानीको नदी”-बाट आफ्नो तिर्खा मेटाउनेछन्‌। परिणामस्वरूप आदमले निम्त्याएको मृत्युको असरबाट सबै मानिस मुक्त हुनेछन्‌।—प्रका. २२:१, २.

सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहने सङ्कल्प गर्नुहोस्

१८ यो दुष्ट युग विनाश गर्दा परमेश्वरले हामीलाई सुरक्षित राख्नुहुनेछ र हामी नयाँ संसारमा प्रवेश गर्नेछौं। सबै मानिसको घृणाको पात्र हुनुपरे तापनि परमेश्वरको राज्यको वफादार प्रजा भइरहने र सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहने सङ्कल्प गरौं।

^ अनु. 11 प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको पृष्ठ १६९-१७० हेर्नुहोस्।