सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो हाम्रो आध्यात्मिक सम्पदा हो

यो हाम्रो आध्यात्मिक सम्पदा हो

“यो यहोवाका सेवकहरूको सम्पदा हो।”—यशै. ५४:१७, बाइङ्टन।

१. मानिसजातिका लागि यहोवाले के सुरक्षित राख्नुभएको छ?

“जीवित र अनन्त परमेश्वर” यहोवाले मानिसजातिका लागि जीवनदायी सन्देश सुरक्षित राख्नुभएको छ। यो सन्देश कहिल्यै परिवर्तन हुँदैन किनकि “यहोवाको वचन . . . सधैंभरि रहिरहन्छ।” (१ पत्रु. १:२३-२५) यहोवाले यस्तो महत्त्वपूर्ण जानकारी आफ्नो लिखित वचन बाइबलमा सुरक्षित राख्नुभएकोमा हामी असाध्यै कृतज्ञ छौं!

२. मानिसहरूले प्रयोग गरून्‌ भनेर परमेश्वरले बाइबलमा के सुरक्षित राख्नुभएको छ?

मानिसहरूले प्रयोग गरून्‌ भनेर परमेश्वरले बाइबलमा आफ्नो नाम सुरक्षित राख्नुभएको छ। उहाँले “आकाश र पृथ्वी सृष्टि गर्नुभएको” विवरणमा “परमप्रभु [“यहोवा,” NW] परमेश्वर”-को नाम पहिलो चोटि प्रयोग गरिएको छ। (उत्प. २:४) परमेश्वरले चमत्कारपूर्ण ढङ्गमा दस आज्ञा दिनुभयो। ती आज्ञा भएको ढुङ्गाको पाटीमा उहाँको नाम थुप्रै चोटि कुँदिएको थियो। जस्तै, पहिलो आज्ञाको सुरुमा यहोवाले यसो भन्नुभयो: “म तेरा परमेश्वर [“यहोवा,” NW] हुँ।” (प्रस्थ. २०:१-१७) हामीले परमेश्वर र उहाँको नामबारे थाह नपाओस् भनेर सैतानले बाइबल नामेट पार्न भरमग्दुर प्रयास गरेको छ। तर यहोवाले त्यस्तो हुन दिनुभएको छैन।

३. आध्यात्मिक अन्धकार छाएको संसारमा परमेश्वरले के सुरक्षित राख्नुभएको छ?

यहोवाले बाइबलमा सत्य पनि सुरक्षित राख्नुभएको छ। आध्यात्मिक अन्धकार छाएको संसारमा परमेश्वरले हामीलाई आध्यात्मिक ज्योति र सत्य दिनुभएकोमा उहाँप्रति हामी कत्ति कृतज्ञ छौं! (भजन ४३:३, ४ पढ्नुहोस्) संसारका मानिसहरू अन्धकारमा हिंडिरहेका छन्‌ तर हामी भने परमेश्वरले दिनुभएको आध्यात्मिक ज्योतिमा आनन्दित भई हिंडिरहेका छौं।—१ यूह. १:६, ७.

हामीसित भएको विशेष सम्पदा

४, ५. सन्‌ १९३१ मा हामीले कस्तो विशेष सम्मान पायौं?

एउटै इलाकामा बस्ने मानिसहरूको स्वभाव, परम्परा, रहनसहन उस्तै किसिमको हुन सक्छ। यी कुराहरू एउटा पुस्ताले अर्को  पुस्तालाई हस्तान्तरण गर्दै जान्छ। यसरी हस्तान्तरण हुँदै जाने कुराहरूलाई सम्पदा भन्न सकिन्छ। ख्रीष्टियनको रूपमा हामीसित विशेष किसिमको सम्पदा छ। हामीसित बाइबलको सही ज्ञान छ अनि परमेश्वर र उहाँका उद्देश्यहरूबारे हामीलाई राम्ररी थाह छ। यो हामीसित भएको आध्यात्मिक सम्पदा हो। यसमा परमेश्वरको नामद्वारा चिनिन पाएको सुअवसर पनि समावेश छ।

सन्‌ १९३१ मा आयोजित अधिवेशनमा यहोवाका साक्षीहरू भन्ने नाम ग्रहण गर्न पाउँदा हामी औधी रमायौं

हामीले यो सुअवसर सन्‌ १९३१ मा अमेरिकाको ओहायो, कोलम्बसमा आयोजना गरिएको अधिवेशनमा पायौं। अधिवेशनको कार्यक्रम पर्चीमा “जे डब्ल्यू” (JW) भन्ने अक्षर छापिएको थियो। एक जना बहिनीले यसो भनिन्‌: “‘जे डब्ल्यू’-को अर्थ के होला भनेर सबै जना अड्कल काट्दै थिए। कसैले ‘जस्ट वेट’ (पर्खनुहोस्), कसैले ‘जस्ट वाच’ (हेर्नुहोस्) भनेर अनुमान लगाएका थिए भने कतिले चाहिं सही अनुमानसमेत लगाएका थिए।” हामीलाई बाइबल विद्यार्थी भनेर चिनिन्थ्यो तर जुलाई २६, १९३१, आइतबार एउटा प्रस्तावना पारित गरिएदेखि यता यहोवाका साक्षीहरू भन्ने नामद्वारा चिनिन थालियो। बाइबलआधारित त्यो नाम वहन गर्न पाउनु असाध्यै रोमाञ्चक कुरा थियो। (यशैया ४३:१२ पढ्नुहोस्) एक जना भाइले यसो भने: “अधिवेशनस्थलमा सुनिएको खुसीको चर्को आवाज र तालीको गडगडाहट म कहिल्यै बिर्सन सक्दिनँ।” संसारको कुनै पनि धार्मिक सम्प्रदाय परमेश्वरको नामद्वारा चिनिन चाहेन तर हामी ८० वर्षभन्दा पहिलेदेखि त्यस नामद्वारा चिनिएका छौं। हाम्रो लागि कत्ति ठूलो सम्मान!

६. हाम्रा आध्यात्मिक सम्पदामा कस्तो जानकारी पनि समावेश छ?

परमेश्वरका विगतका सेवकहरूबारे हामीसित भएको सही र महत्त्वपूर्ण जानकारी पनि हाम्रा आध्यात्मिक सम्पदा हुन्‌। जस्तै: अब्राहाम, इसहाक र याकूबबारे विचार गर्नुहोस्। यी कुलपिता तथा तिनीहरूका परिवारले यहोवालाई खुसी पार्ने तरिकाबारे कुराकानी गरेको हुनुपर्छ। यस्तो कुराकानीले यूसुफलाई यौन अनैतिकतामा लागेर ‘परमेश्वरको विरुद्धमा पाप गर्नदेखि’ जोगाएको हुनुपर्छ। (उत्प. ३९:७-९) प्रथम शताब्दीका ख्रीष्टियनहरू परमेश्वरबारे आफूसित भएको जानकारी आपसमा बाँड्थे। येशूले प्रभुको साँझको भोजबारे बताउनुभएको कुरा पावलले मण्डलीसित बाँडे। (१ कोरि. ११:२, २३) यी सबै कुरा बाइबलमा लिपिबद्ध गरिएकोले हामी “पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम” परमेश्वरको उपासना गर्न सक्छौं। (यूहन्ना ४:२३, २४ पढ्नुहोस्) बाइबलले सम्पूर्ण मानिसजातिलाई मदत गर्न सक्छ। तर यहोवाका सेवकहरूको रूपमा विशेषगरि हामीले यसको मोल गर्नुपर्छ।

७. हाम्रो सम्पदामा कुन प्रतिज्ञा समावेश छ?

आज पनि यहोवा आफ्ना सेवकहरूलाई मदत गर्नुहुन्छ। (भज. ११८:७) तिनीहरूलाई सुरक्षा दिन उहाँ के गर्दै हुनुहुन्छ भनेर हाम्रा प्रकाशनहरूमा पढ्न सक्छौं। यहोवा हामीतर्फ हुनुहुन्छ भनेर थाह पाउँदा सतावट भोग्दासमेत सुरक्षित महसुस गर्छौं। हाम्रो आध्यात्मिक सम्पदाबारे बाइबल हामीलाई यस्तो प्रतिज्ञा गर्छ: “‘तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई  दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिं परमप्रभुका दासहरूको सम्पदाको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो’ परमप्रभु घोषणा गर्नुहुन्छ।” (यशै. ५४:१७, NRV) सैतानको कुनै पनि हतियारले हामीलाई स्थायी हानि गर्न सक्दैन।

८. यो र यसपछिको लेखमा हामी के छलफल गर्नेछौं?

सैतानले बाइबललाई नामेट पार्ने, परमेश्वरको नाम हटाउने र सत्य लुकाउने प्रयास गरेको छ। तर त्यसको प्रयास व्यर्थै भएको छ। यो र यसपछिको लेखमा हामी यी प्रश्नहरूबारे छलफल गर्नेछौं: (१) परमेश्वरले बाइबललाई कसरी सुरक्षित राख्नुभएको छ? (२) यहोवाले आफ्नो नाम नामेट हुन नदिन के गर्नुभएको छ? (३) हामीले बाइबल सत्य थाह पाओस् भनेर परमेश्वरले के गर्नुभएको छ?

यहोवाले बाइबल सुरक्षित राख्नुभएको छ

९-११. बाइबलमाथि थुप्रै हमला भए तापनि यसलाई यहोवाले सुरक्षित राख्नुभएको छ भनेर के-कस्ता उदाहरणले देखाउँछ?

बाइबल नामेट पार्न थुप्रै दुष्प्रयास गरिए तापनि यहोवाले त्यस्ता प्रयासलाई असफल तुल्याइदिनुभएको छ। एउटा क्याथोलिक विश्वकोश यसो भन्छ: “सन्‌ १२२९ मा टुलुज परिषद्ले अल्बाइजेन्सेस र वाल्डेन्सेस विरुद्धको युद्धको नाममा सर्वसाधारणलाई [मातृभाषाको] बाइबल प्रयोग गर्न रोक लगायो। . . . सन्‌ १२३४ मा जेम्स प्रथमले स्पेनको टारागोनामा आयोजना गरेको सम्मेलनमा पनि यस्तै किसिमको निषेधाज्ञा जारी गरियो। . . . पल चौथोले निकालेको प्रतिबन्धित किताबहरूको सूचीमा रोमी क्याथोलिक अदालतको अनुमतिविना मातृभाषाको बाइबल छाप्न अनि साथमा राख्न रोक लगाइएको थियो। तर विशपहरूको उच्च निकायले सन्‌ १५५९ मा पहिलो चोटि यस मामिलामा हस्तक्षेप गऱ्यो।”

१० बाइबलमाथि थुप्रै हमला भए तापनि यो अहिलेसम्म सुरक्षित छ। सन्‌ १३८२ तिर जोन विक्लिफ र तिनका साथीहरूले अङ्ग्रेजी भाषाको बाइबल पहिलो चोटि निकाले। अर्का बाइबल अनुवादक विलियम टिन्डेल थिए, जसलाई सन्‌ १५३६ मा मृत्युदण्ड दिइयो। खम्बामा झुन्ड्याइएको बेला तिनी यसरी कराए, “हे प्रभु, बेलायतका राजाको आँखा खोलिदिनुस्।” त्यसपछि डोरीले तिनको घाँटी कसियो र तिनलाई जलाइयो।

११ सन्‌ १५३५ मा माइल्स कभर्डेलले पनि अङ्ग्रेजी भाषाको बाइबल निकाले। तिनले आफ्नो अनुवादमा टिन्डेलको “नयाँ नियम” र “पुरानो नियम” (उत्पत्तिदेखि इतिहाससम्म) प्रयोग गरे। तिनले बाइबलका अन्य किताबहरू भने ल्याटिन भाषाबाट र मार्टिन लुथरको जर्मनी बाइबलबाट अनुवाद गरे। आज हामीसित पवित्र बाइबल—नयाँ संसार अनुवाद छ। यो बाइबल पाएकोमा हामी खुसी छौं किनभने यो स्पष्ट र सही छ अनि प्रचारकार्यमा चलाउन पनि सजिलो छ। बाइबललाई न त सैतानले न कुनै मानिसले नामेट पार्न सक्छ।

यहोवा आफ्नो नाम नामेट हुन दिनुहुन्न

टिन्डेलजस्ता मानिसहरूले बाइबलको खातिर आफ्नो ज्यान अर्पण गरे

१२. परमेश्वरको नाम नामेट हुन नदिन नयाँ संसार अनुवाद-ले कस्तो भूमिका खेलेको छ?

१२ यहोवाले बाइबलबाट आफ्नो नाम नामेट हुन दिनुभएको छैन। यससन्दर्भमा नयाँ संसार  अनुवाद-ले मुख्य भूमिका खेलिरहेको छ। यस बाइबलको परिचयको भागमा अनुवाद समितिले यस्तो लेखेको छ: “यस अनुवादको सबैभन्दा महत्त्वपूर्ण पक्ष परमेश्वरको नाम जहाँ-जहाँ हुनुपर्ने हो, अङ्ग्रेजी अनुवादमा त्यहाँ-त्यहाँ नै पुनर्स्थापना गरिएको छ। चलनचल्तीमा भएको ‘जेहोभा’ भन्ने अङ्ग्रेजी शब्द हिब्रू धर्मशास्त्रमा ६,९७३ पटक र ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा २३७ पटक प्रयोग गरिएको छ।” अहिले नयाँ संसार अनुवाद पूर्ण वा आंशिक रूपमा ११६ भन्दा धेरै भाषामा उपलब्ध छ र १७,८५,४५,८६२ भन्दा धेरै प्रति छापिएको छ।

१३. मानव सृष्टिको सुरुदेखि नै मानिसहरूलाई परमेश्वरको नाम थाह थियो भनेर हामी किन भन्न सक्छौं?

१३ प्रथम मानव दम्पती आदम र हव्वालाई परमेश्वरको नाम थाह थियो। तिनीहरूले उहाँको नाम प्रयोग पनि गरे। जलप्रलयपछि हामले आफ्नो बुबा नूहको अनादर गरे। त्यसबेला नूहले यसो भने: “शेमका परमप्रभु [“यहोवा,” NW] धन्यका होऊन्‌, [हामका छोरा] कनान त्यसको दास होस्।” (उत्प. ४:१; ९:२६) परमेश्वर स्वयम्ले यसो भन्नुभयो: “म परमप्रभु [“यहोवा,” NW] हुँ, मेरो नाउँ त्यही हो। औ मेरो महिमा म अरूलाई दिनेछैनँ।” उहाँले यसो पनि भन्नुभयो: “म परमप्रभु [“यहोवा,” NW] हुँ, औ मबाहेक अरू कोही छैन। मसिवाय अरू कोही परमेश्वर छैन।” (यशै. ४२:८; ४५:५) यहोवाले आफ्नो नाम नामेट हुन दिनुभएको छैन र पृथ्वीभरिका मानिसहरूलाई आफ्नो नाम थाह दिनुभएको छ। परमेश्वरको नाम प्रयोग गर्न पाउनु र उहाँको साक्षीको रूपमा सेवा गर्न पाउनु कत्ति ठूलो सम्मान! फलस्वरूप हामी यसरी कराउँछौं: “हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डाहरू खडा गर्नेछौं।”—भज. २०:५.

१४. बाइबलबाहेक अरू कहाँ पनि परमेश्वरको नाम पाउन सकिन्छ?

१४ परमेश्वरको नाम बाइबलमा मात्र पाइने होइन। मृत सागरदेखि २१ किलोमिटर पूर्वमा पर्ने धिबान (डिबोन) भन्ने ठाउँमा फेला परेको मोआबी शिलालाई विचार गर्नुहोस्। त्यस शिलामा इस्राएलका राजा ओम्रीको नाम र इस्राएलविरुद्धको युद्धबारे मोआबी राजा मेशाले भनेको कुरा कुँदिएको छ। (१ राजा १६:२८; २ राजा १:१; ३:४, ५) त्यति मात्र होइन, त्यस मोआबी शिलामा टेट्राग्रामटन (चारवटा हिब्रू अक्षरमा लेखिएको परमेश्वरको नाम) उल्लेख गरिएको छ। साथै इस्राएलमा फेला परेका माटाका भाँडाका टुक्राहरूमा पनि थुप्रै पटक टेट्राग्रामटन उल्लेख गरिएको छ।

१५. सेप्टुआजिन्ट भनेको के हो र त्यो किन चाहियो?

१५ सुरु-सुरुका बाइबल अनुवादकहरूले परमेश्वरको नाम नामेट हुन नदिन महत्त्वपूर्ण भूमिका खेले। यहूदीहरूले ईसापूर्व ६०७ देखि ईसापूर्व ५३७ सम्म बेबिलोनमा निर्वासित जीवन बिताए। त्यसपछि पनि तिनीहरूमध्ये धेरै जना यहूदा र इस्राएल फर्केनन्‌। ईसापूर्व तेस्रो शताब्दीसम्ममा त थुप्रै यहूदी मिश्रको अलेक्जेन्ड्रियामा सरिसकेका थिए। त्यहाँका मानिसहरूले ग्रीक भाषा बोल्ने भएकोले ती यहूदीहरूलाई हिब्रू धर्मशास्त्रको ग्रीक अनुवाद चाहियो। त्यसैले ईसापूर्व दोस्रो शताब्दीमा ग्रीक संस्करण अनुवाद गरिसिध्याइयो, जुन संस्करणलाई सेप्टुआजिन्ट भनिन्छ। सेप्टुआजिन्ट-को कुनै-कुनै प्रतिमा परमेश्वरको नाम हिब्रू भाषामा लेखिएको छ।

१६. सन्‌ १६४० मा पहिलो पटक प्रकाशित किताबमा परमेश्वरको नाम प्रयोग गरिएको उदाहरण दिनुहोस्।

१६ अमेरिकी उपनिवेशहरूमा पहिलो पटक (सन्‌ १६४०) प्रकाशित किताब भजनको किताबको अनुवाद हो। हिब्रूबाट अङ्ग्रेजीमा अनुवादित उक्त किताबमा परमेश्वरको नाम उल्लेख गरिएको छ। ‘बे साम बुक’ भनिने उक्त किताबमा परमेश्वरको नाम उल्लेख गरिएको एउटा ठाउँ भजन १:१, २ हो। त्यहाँ यसो भनिएको छ, “धन्य मानिस” दुष्टको सल्लाहमा हिंड्दैन बरु उसले “इहोवाको व्यवस्थाको चाह गर्छ।” परमेश्वरको नामबारे थप जानकारीको लागि सदासर्वदा रहिरहने परमेश्वरको नाम (अङ्ग्रेजी) भन्ने पुस्तिका हेर्नुहोस्।

यहोवा सत्यको रक्षा गर्नुहुन्छ

१७, १८. (क) “सत्य” भनेको के हो? (ख) “सुसमाचारको सत्य”-मा के समावेश छ?

१७ हामी आनन्दित भई “सत्यका परमेश्वर” यहोवाको सेवा गर्छौं। (भज. ३१:५, NRV)  नेपाली बृहत्‌ शब्दकोश-ले सत्यको परिभाषा यसरी दिएको छ: “जस्तो हुनुपर्छ त्यस्तै वा सन्देह नभएको; साँचो; सच्चा; वास्तविक; यथार्थ।” बाइबलमा “सत्य” भनी अनुवाद गरिएको हिब्रू शब्दले यथार्थ, भरपर्दो, विश्वासिलो वा वास्तविक भन्ने अर्थ दिन्छ। त्यसैगरि “सत्य” भनी अनुवाद गरिएको ग्रीक शब्दले वास्तविकतासँग मेल खाने वा सही र उचित कुरालाई बुझाउँछ।

१८ यहोवाले सत्यको रक्षा गर्नुभएको छ। उहाँ हामीलाई सत्यबारे अझ धेरै कुरा सिक्न मदत गर्दै हुनुहुन्छ। (२ यूह. १, २) बाइबल सत्यबारे हाम्रो बुझाइ झन्‌-झन्‌ स्पष्ट हुँदै गइरहेको छ किनभने हितोपदेश ४:१८ यसो भन्छ, “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्छ।” येशूले प्रार्थनामा भन्नुभएको यस कुरासित हामी पूर्णतया सहमत छौं, “तपाईंको वचन सत्य हो।” (यूह. १७:१७) बाइबलमा “सुसमाचारको सत्य” पाइन्छ। यस सत्यमा बाइबलका सम्पूर्ण शिक्षा समावेश छ। (गला. २:१४) यस शिक्षामा परमेश्वरको नाम, उहाँको सार्वभौमिकता, येशूको फिरौती, पुनर्जीवन र परमेश्वरको राज्यसम्बन्धी यथार्थ कुरा समावेश छ। सैतानले सत्य लुकाउन खोजे तापनि परमेश्वरले सत्य कसरी सुरक्षित राख्नुभएको छ, विचार गरौं।

सत्य लुकाउन गरिएको प्रयासलाई यहोवा विफल तुल्याउनुहुन्छ

१९, २०. निम्रोद को थियो र उसको कुन प्रयास विफल भयो?

१९ जलप्रलयपछि यस्तो आहान चलेको थियो: “निम्रोदजस्तै यहोवाको विरुद्धमा शक्तिशाली शिकारी।” (उत्प. १०:९, NW) यहोवा परमेश्वरको विरोध गरेर निम्रोदले वास्तवमा सैतानको उपासना गरिरहेको थियो। ऊ येशूको विरोध गर्ने मानिसहरूजस्तै थियो। ती मानिसहरूलाई उहाँले यसो भन्नुभयो: “तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ। . . . त्यो सत्यमा अडिग रहेन।”—यूह. ८:४४.

२० निम्रोदले बाबेलमा र टाइग्रिस नदीदेखि युफ्रेटिस नदीसम्मका सहरहरूमा शासन गर्थ्यो। (उत्प. १०:१०) ईसापूर्व २२६९ मा बाबेल र यसको धरहराको निर्माणकार्य सायद उसकै निर्देशनमा सुरु भएको थियो। यहोवाको उद्देश्य मानिसहरू पृथ्वीभरि छरिएर बसून्‌ भन्ने थियो। तर निर्माणमा जुटेकाहरूले यसो भने: “लौ, हामी आफ्ना निम्ति एउटा शहर र टुप्पा स्वर्गैसम्म भएको एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौं, नत्रता हामीलाई पृथ्वीभरि जताततै छरिनुपर्नेछ।” तर परमेश्वरले ‘पृथ्वीभरिका भाषा खलबल पारिदिनुभयो।’ त्यसैले तिनीहरूले निर्माणकार्य सिध्याउन पाएनन्‌। तिनीहरू बाबेलबाट तितरबितर भए। (उत्प. ११:१-४, ८, ९) सैतान साँचो उपासना नामेट भएको र सबैले उसकै उपासना गरेको चाहन्थ्यो। तर यहोवाले साँचो उपासनाको रक्षा गर्नुभयो। साँचो उपासना गर्ने मानिसहरू अहिले हरेक दिन थपिंदै छन्‌।

२१, २२. (क) साँचो उपासना वास्तवमा कहिल्यै खतरामा परेको छैन, किन? (ख) अर्को लेखमा के छलफल गर्नेछौं?

२१ साँचो उपासना वास्तवमा कहिल्यै खतरामा परेको छैन। किन? किनभने हाम्रा महान्‌ शिक्षक यहोवाले आफ्नो वचन बाइबल सुरक्षित राख्नुभएको छ, मानिसहरूलाई उहाँको नाम थाह दिनुभएको छ र सत्य प्रकट गर्नुभएको छ। (यशै. ३०:२०, २१) सत्यबमोजिमै परमेश्वरको उपासना गर्दा हामी आनन्दित हुन सक्छौं। तर यसको लागि यहोवामा पूरा भर पर्नुका साथै पवित्र शक्तिको डोऱ्याइ पछयाउँदै आध्यात्मिक रूपमा जागा बस्नुपर्छ।

२२ अर्को लेखमा हामी केही झूटा शिक्षाको सुरुवातबारे छलफल गर्नेछौं। बाइबलले त्यस्ता गलत शिक्षा सिकाउँदैन भनेर बुझ्नेछौं। अनि आध्यात्मिक सम्पदाको रूपमा मोल गर्नुपर्ने साँचो शिक्षा यहोवाले हामीलाई कसरी सिकाउनुभएको छ भनेर पनि थाह पाउनेछौं।