सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्था निष्पक्ष र न्यायोचित थियो?

के परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्था निष्पक्ष र न्यायोचित थियो?

केही समयअघिको कुरा हो, एउटा पश्‍चिमी मुलुकको अदालतमा दुई जना व्यक्तिलाई हत्याको अभियोगमा दोषी ठहराइयो र मृत्युदण्ड सुनाइयो। तर उनीहरूको विरुद्धमा अदालतमा पेस गरिएको प्रमाण झूटो रहेछ भनेर पछि पत्ता लाग्यो। तुरुन्तै वकिलहरू एक जना अभियुक्तलाई छुटाउन लागिपरे र तिनीहरू सफल पनि भए। तर सबैभन्दा राम्रो वकिलले पनि अर्को अभियुक्तलाई भने छुटाउन सकेन किनभने तिनलाई मृत्युदण्ड दिइसकेको थियो।

संसारको कुनै पनि कानुनी व्यवस्थामा यस्ता त्रुटिहरू हुन सक्ने भएकोले बाइबलमा यस्तो आज्ञा दिइएको छ: “न्यायलाई पछ्याओ, न्यायलाई मात्र।” (व्यवस्था १६:२०, NRV) न्यायाधीशहरूले यो आज्ञा मानेको खण्डमा नागरिकहरूले थुप्रै लाभ उठाउन सक्छन्‌। परमेश्वरले दिनुभएको व्यवस्थाले पुरातन इस्राएलमा निष्पक्ष र न्यायोचित कानुनी व्यवस्था बनाउन मदत गरेको थियो। “[परमेश्वरका] सबै काम न्यायसंगत छन्‌” भनी बाइबलले बताएको कुरा कत्तिको साँचो छ भनेर बुझ्न आउनुहोस्, उहाँले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्था जाँचेर हेरौं।—व्यवस्था ३२:४.

“बुद्धिमान्‌, समझदार र अनुभवी” न्यायाधीशहरू

न्यायाधीशहरू दक्ष र निष्पक्ष हुँदा अनि भ्रष्टाचारबाट अलग रहँदा मानिसहरूले न्याय पाउँछन्‌। परमेश्वरले इस्राएललाई दिनुभएको व्यवस्थामा न्यायाधीशहरू यस्तै हुनुपर्छ भनेर जोड दिइएको थियो। इस्राएलीहरूले उजाडस्थानको यात्रा थालेको समयतिर परमेश्वरले मोशालाई ‘परमेश्वरको भय मान्ने, योग्य, अनुचित फाइदा घिनाउने इमानदार व्यक्तिहरूलाई’ न्यायाधीशको रूपमा नियुक्त गर्न निर्देशन दिनुभयो। (प्रस्थान १८:२१, २२, NRV) चालीस वर्षपछि पनि परमेश्वरले न्यायाधीशहरू “बुद्धिमान्‌, समझदार र अनुभवी मानिसहरू” हुनुपर्छ भन्ने कुरामा पुनः जोड दिनुभयो।—व्यवस्था १:१३-१७, NRV.

सयौं वर्षपछि यहूदाका राजा यहोशापातले * न्यायाधीशहरूलाई यस्तो आदेश दिए: “तिमीहरू जे गर्छौ त्यसमा सतर्क होऊ। तिमीहरूले न्यायको फैसला सुनाउँदा मानिसहरूलाई होइन तर तिमीहरूसित हुनुहुने परमप्रभुलाई खुसी तुल्याउन तिमीहरू त्यहाँ न्यायकर्ता नियुक्त भएका छौ। यसकारण परमप्रभुको भय तिमीहरूमा रहोस्। तिमीहरू जे गर्छौ त्यसमा सतर्क होऊ। किनभने परमप्रभु हाम्रा परमेश्वर अन्याय, पक्षपात र घूस लिएको सहनुहुन्न।” (२ इतिहास १९:६, ७) लोभ वा पक्षपातको कारण न्यायाधीशहरूले गलत फैसला गरेमा त्यसले पुऱ्याउने हानिनोक्सानीको लागि परमेश्वरले तिनीहरूलाई नै जिम्मेवार ठहराउनुहुनेछ भनेर राजा यहोशापातले सम्झाए।

इस्राएलका न्यायाधीशहरूले यस्ता उच्च स्तरहरू अनुसार चल्दा इस्राएल राष्ट्रले सुरक्षित महसुस गरेको थियो। परमेश्वरको व्यवस्थामा पाइने सिद्धान्तहरूले न्यायाधीशहरूलाई कठिन अवस्थामा पनि सही फैसला सुनाउन मदत गरेको थियो। तीमध्ये केही सिद्धान्तहरू केलाऔं।

सही फैसला सुनाउन मदत गर्ने सिद्धान्तहरू

न्यायाधीशको रूपमा काम गर्नका लागि योग्य र बुद्धिमान्‌ मानिसहरू छानिएका भए तापनि आफ्नै क्षमतामा भर परेर न्याय गर्ने छुट तिनीहरूलाई दिइएको थिएन। तिनीहरूले सही निर्णय गर्न सकून्‌ भनेर यहोवा परमेश्वरले थुप्रै निर्देशन र सिद्धान्त दिनुभएको थियो। अब हामी इस्राएलका न्यायाधीशहरूलाई दिइएका केही निर्देशनहरू विचार गरौं।

राम्ररी जाँच गर्नू। परमेश्वरले मोशाद्वारा इस्राएलीहरूलाई यो निर्देशन दिनुभएको थियो: “तिमीहरूका भाइहरूका बीच भएका झगडा सुन र ठीक-ठीक न्याय गर।” (व्यवस्था १:१६, NRV) कुनै पनि मुद्दाको सबै तथ्य थाह भएपछि मात्र न्यायाधीशहरूले  सही फैसला सुनाउन सक्छन्‌। त्यसैकारण न्यायिक मामिला सँभाल्नेहरूलाई परमेश्वरले यस्तो निर्देशन दिनुभयो: “सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू।” साथै अदालतमा न्यायाधीशहरूले फैसला सुनाउनु अघि अपराधी विरुद्ध लगाइएको अभियोगको कुनै ‘प्रमाण’ छ कि छैन भनेर पक्का गर्नुपर्थ्यो।—व्यवस्था १३:१४; १७:४.

साक्षीहरूको बयान सुन्नू। मुद्दाको छानबिन गर्नका लागि साक्षीहरूको बयान निकै महत्त्वपूर्ण थियो। त्यसैले परमेश्वरले दिनुभएको व्यवस्थामा यस्तो लेखिएको पाउँछौं: “कसैको दोष वा अपराधमा एउटा मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ।” (व्यवस्था १९:१५, NRV) अनि बयान दिने साक्षीहरूलाई परमेश्वरको व्यवस्थामा यस्तो निर्देशन दिइएको पाउँछौं: “झूटा साक्षी नदे। दुष्टको साथ लागेर त्यसको निम्ति झूटो नबोल्।”—प्रस्थान २३:१.

बयान दिने साक्षीहरूबाट इमानदारीको माग गर्नू। अदालतमा झूटो बयान दिनेहरूलाई यस्तो कडा चेतावनी दिइएको थियो: “तब न्यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने, त्यसले आफ्नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्यसलाई त्यसै गर्नू। तिमीहरूले आफ्नो मध्यबाट खराबीलाई हटाउनुपर्छ।” (व्यवस्था १९:१८, १९, NRV) अरूको सम्पत्ति हडप्ने उद्देश्यले कसैले अदालतमा झूटो बयान दिएमा आफूले हडप्न चाहेको सम्पत्ति बराबरको जरिबाना त्यस व्यक्तिले तिर्नु पर्थ्यो। कुनै व्यक्ति निर्दोष छ भनेर थाह हुँदाहुँदै पनि उसलाई मृत्युदण्ड दिनको लागि कसैले झूट बोलेमा तिनले आफ्नै जीवन गुमाउनु पर्ने हुन्थ्यो। साँच्चै! यस्तो कडा निर्देशनले बयान दिने साक्षीहरूलाई सत्य बोल्न बाध्य बनाउँथ्यो।

निष्पक्ष भई न्याय गर्नू। सम्पूर्ण प्रमाणहरू जम्मा गरेपछि न्यायाधीशहरूले फैसला सुनाउनु अघि होसियारीसाथ सोचविचार गर्नुपर्थ्यो। यतिखेर न्यायाधीशहरूले परमेश्वरको व्यवस्थामा दिइएको यो उत्कृष्ट निर्देशन पालन गर्नुपर्थ्यो: “ठूलो होस् वा सानो होस्, मान्छे हेरेर होइन, तर सबै मान्छेको उचित न्याय गर।” (लेवी १९:१५) सबै मुद्दा मामिलामा न्यायाधीशले बाहिरी रूप  वा सामाजिक प्रतिष्ठा हेरेर नभई सत्यको आधारमा फैसला गर्नुपर्थ्यो।

परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाका यी सिद्धान्तहरू सयौं वर्ष पुराना भए तापनि अहिलेका अदालतहरूमा पनि यी सिद्धान्तहरू उपयोगी छन्‌। यी सिद्धान्तहरू अनुसारै चल्ने हो भने न्याय प्रणालीमा हुने त्रुटिहरूलाई रोक्न सकिन्छ।

परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा भएका सिद्धान्तहरू अनुसारै चल्ने हो भने न्याय प्रणालीमा हुने त्रुटिहरूलाई रोक्न सकिन्छ

सही न्यायबाट लाभ उठाएका मानिसहरू

मोशाले इस्राएलीहरूलाई यो प्रश्न सोधे: “मैले तिमीहरूलाई दिएको सारा व्यवस्थामा जस्तै ठीक-ठीक विधि-विधान भएको अरू कुनचाहिं यति महान्‌ जाति छ?” (व्यवस्था ४:८) हो, परमेश्वरले दिनुभएको व्यवस्थाबाट इस्राएल राष्ट्रले जे-जस्ता लाभहरू उठाएको थियो, त्यस्ता लाभहरू त अरू कुनै पनि राष्ट्रले उठाएको थिएन। राजा सुलेमानले जवान छँदादेखि नै यहोवा परमेश्वरको व्यवस्था पालन गर्न खोजे। त्यसैले तिनको शासनकालभरि नै इस्राएलमा शान्ति र समृद्धि छाएको थियो। अनि मानिसहरूले पनि ‘सुरक्षित’ महसुस गरे। तिनीहरू “खान्थे, पिउँथे र सुखसित रहन्थे” भनी बाइबल बताउँछ।—१ राजा ४:२०, २५.

तर दुःखको कुरा पछि गएर इस्राएलीहरूले परमेश्वरको व्यवस्थालाई तिरस्कार गरे। अनि भविष्यवक्ता यर्मियाद्वारा परमेश्वरले यस्तो घोषणा गर्नुभयो: “हेर, तिनीहरूले परमप्रभुको वचनलाई इन्कार गरे, तिनीहरूमा कस्तो बुद्धि छ?” (यर्मिया ८:९) इस्राएलीहरूले परमेश्वरको व्यवस्थालाई तिरस्कार गर्दा परिणाम के भयो? यरूशलेम सहर “घिनलाग्दा कामहरू”-ले भरिएको एउटा “खूनी शहर” बन्यो। अन्तमा यरूशलेम सहर विनाश भयो र ७० वर्षसम्म त्यो निर्जन अनि उजाड अवस्थामा रह्यो।—इजकिएल २२:२; यर्मिया २५:११.

भविष्यवक्ता यशैयाको जीवनकालमा इस्राएलमा थुप्रै समस्याहरू आए। बितेको समयलाई सम्झँदा तिनी यहोवा परमेश्वर र उहाँको व्यवस्थाबारे यस्तो सत्य कुरा बताउन उत्प्रेरित भए: “जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन्‌।”—यशैया २६:९, NRV.

परमेश्वरले यशैयालाई मसीही राजा येशू ख्रीष्टको शासनबारे यो भविष्यवाणी गर्न लगाउनुभयो: “आँखाले देखेर उहाँले इन्साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। तर खाँचोमा परेकाहरूको न्याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्वीका गरीबहरूका लागि उहाँले न्यायसित फैसला गरिदिनुहुनेछ।” (यशैया ११:३, ४, NRV) परमेश्वरको राज्य अन्तर्गत मसीही राजाको अधीनमा बस्नेहरूका लागि कत्ति राम्रो आशा!—मत्ती ६:१०.

^ अनु. 6 यहोशापात नाउँको अर्थ “यहोवा न्यायाधीश हुनुहुन्छ” भन्ने हो।