सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

मैले स्त्रीहरूलाई र आफैलाई आदर गर्न सिकेँ

मैले स्त्रीहरूलाई र आफैलाई आदर गर्न सिकेँ
  • जन्म मिति: सन्‌ १९६०

  • जन्म स्थान: फ्रान्स

  • विगतमा: लागूऔषधको कुलतमा फसेका, स्त्रीहरूको अनादर गर्ने हिंस्रक व्यक्‍ति

मेरो विगत:

म उत्तरपूर्वी फ्रान्सको मूलहाउसमा जन्मिएँ। यस ठाउँमा निम्न आयस्रोत भएका मानिसहरू बस्थे र यो हिंसाले भरिएको ठाउँ भनेर पनि चिनिन्थ्यो। मैले सानैदेखि त्यस ठाउँमा पारिवारिक हिंसा र झैझगडा भएको देख्थेँ। हाम्रो परिवारमा पनि स्त्रीहरूलाई खासै महत्त्व दिइँदैनथ्यो। मलाई स्त्रीहरूको काम भनेको भान्छा सम्हाल्ने अनि आफ्नो पति र छोराछोरीको ख्याल राख्ने मात्र हो भनेर सिकाइएको थियो।

मेरो बाल्यकाल सजिलो थिएन। म दस वर्षको छँदा मेरो बुबाको अत्यधिक मद्यपानले गर्दा मृत्यु भयो। त्यसको पाँच वर्षपछि, मेरो एक जना दाइले आत्महत्या गर्नुभयो। त्यही वर्ष मेरो परिवारमा झगडा हुँदा एक जना व्यक्‍तिको हत्या भएको पनि मैले प्रत्यक्ष देखेँ। यो घटनाले मलाई निकै असर गऱ्‍यो। मेरो परिवारका सदस्यहरूले मलाई आवश्‍यक परेमा चक्कु र बन्दुक कसरी चलाउने भनेर सिकाएका थिए। सानैदेखि यस्तो वातावरणमा हुर्केकोले मैले पनि रक्सी पिउन थालेँ र शरीरभरि ट्याटु खोपेँ।

सोह्र वर्षको हुँदासम्म त मैले हरेक दिन १० देखि १५ बोतल बियर पिउने गर्थेँ। त्यसको केही समयमै मैले लागूपदार्थ पनि सेवन गर्न थालेँ। त्यसको लागि खर्च उठाउन मैले फलामका टुक्राटाक्री बेच्थेँ र चोरीसमेत गर्थेँ। सत्र वर्षको उमेरमा मैले जेलको हावा पनि खाइसकेको थिएँ। मैले चोरी र मारपिट गरेकोले जम्माजम्मी १८ पटक सजाय पाएँ।

म २०-२२ वर्षको हुँदा मेरो हालत झन्‌ खराब भइसकेको थियो। मैले दिनकै २० वटा जति गाँजा तान्थेँ र अरू ड्रग्स पनि लिन्थेँ। अत्यधिक लागूपदार्थ सेवन गरेकोले थुप्रै पटक मेरो ज्यानै खतरामा परेको थियो। त्यति मात्र होइन, मैले ड्रग्स पनि बेच्न थालेँ। त्यसैले म आफूसित सधैँ चक्कु र बन्दुक राख्थेँ। एक पटक मैले एक जना व्यक्‍तिमाथि गोली चलाएँ तर धन्‍न त्यो गोली तिनको पेटीमा लाग्यो र तिनी बचे। चौबीस वर्षको छँदा मेरी आमा बित्नुभयो र म झनै हिंस्रक भएँ। बाटोमा हिँड्‌ने मानिसहरू मलाई देखेर डराउँथे र अर्कै बाटो लाग्थेँ। मारपिट गरेकोले मैले कहिले जेलमा त कहिले उपचारको लागि अस्पतालमा रात बिताउनुपऱ्‍यो।

अठ्ठाइस वर्षको उमेरमा मैले विवाह गरेँ। मैले आफ्नो श्रीमतीलाई कहिल्यै आदरपूर्वक व्यवहार गरिनँ। मैले उनलाई मारपिट र गालीगलौज गर्थेँ। हामीले कहिल्यै पनि सँगै मिलेर काम गरेनौँ। मैले उनलाई चोरीको गहना लगेर दिन्थेँ र यति गरे त पुगिहाल्छ नि भनेर सोच्थेँ। एकदिन मैले सोच्दै नसोचेको कुरा भयो। मेरी श्रीमतीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। त्यसपछि उनले चुरोट पिउन छोडिन्‌, चोरीको पैसा लिन इन्कार गरिन्‌ र गरगहना पनि फिर्ता गरिन्‌। यो देखेर म रिसले चुर भएँ र उनलाई विरोध गर्न थालेँ। म उनको मुखैमा चुरोटको धुवाँ उडाइदिन्थेँ र टोल छिमेकमा उनको बेइज्जत पनि गर्थेँ।

एक रात रक्सीको तालमा मैले आफ्नो घरमा आगो लगाइदिएँ। मेरी श्रीमतीले मलाई र हाम्रो पाँच वर्षको छोरीलाई बचाइन्‌। मलाई होस आएपछि निकै पछुतो लाग्यो। मैले “के परमेश्‍वरले मलाई कहिल्यै क्षमा दिनुहोला र?” भनेर सोच्न थालेँ। एक पादरीले दुष्टहरू नरकमा जान्छन्‌ भनेको कुरा मलाई याद थियो। मेरो मनोचिकित्सकले पनि यसो भनेका थिए: “अब तिम्रो केही हुनेवाला छैन। तिम्रो लागि कुनै आशा छैन!”

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

घरमा आगो लागेकोले हामी मेरी श्रीमतीको आमाबुबाको घरमा बस्न थाल्यौँ। साक्षीहरू उनको अध्ययनमा आउँदा मैले तिनीहरूलाई “के परमेश्‍वरले मेरो सबै पाप क्षमा गर्न सक्नुहुन्छ?” भनेर सोधेँ। तिनीहरूले मलाई बाइबलबाट १ कोरिन्थी ६:९-११ देखाए। त्यस पदमा परमेश्‍वरले घृणा गर्नुहुने कुराको सूची थियो। तर त्यहाँ यसो पनि लेखिएको थियो: “तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ।” यो कुरा सुनेपछि म पनि परिवर्तन हुन सक्छु जस्तो लाग्यो। तिनीहरूले परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्छ भनेर आश्‍वासन दिए अनि १ युहन्‍ना ४:८ पढेर सुनाए। तिनीहरूको कुरा सुनेपछि मैले निकै हौसला पाएँ र हप्ताको दुई पटक अध्ययन गर्न चाहन्छु भनेँ। त्यसपछि म निरन्तर सभाहरूमा उपस्थित भएँ अनि यहोवालाई नियमित रूपमा प्रार्थना पनि गर्न थालेँ।

त्यसको एक महिना भित्रै मैले लागूपदार्थ र रक्सी छोड्‌ने निर्णय गरेँ। तर त्यसो गर्न मलाई निकै गाह्रो भयो। डरलाग्दा सपनाहरू आउन थालेँ, टाउको दुख्न अनि शरीर पनि गल्न थाल्योँ। यस्तै अरू थुप्रै समस्याले मलाई सतायो। तर यी सब कुराको दौडान मैले यहोवाले मेरो हात थाम्नुभएको र मलाई बल दिनुभएको कुरा महसुस गरेँ। मेरो भावना प्रेषित पावलको जस्तै थियो। तिनले पनि परमेश्‍वरको मदत पाए र यसो लेखे: “किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३) केही समयपछि मैले चुरोट पनि छोड्‌न सकेँ।​—२ कोरिन्थी ७:१.

बाइबलले मेरो जीवनमा मात्र होइन मेरो पूरै परिवारमा खुसीयाली ल्यायो। श्रीमतीप्रतिको मेरो दृष्टिकोण पनि परिवर्तन भयो। मैले उनलाई आदरपूर्वक व्यवहार गर्न थालेँ अनि ऊसित कुरा गर्दा “धन्यवाद”-जस्ता मायालु शब्दहरू प्रयोग गरेँ। मैले छोरीलाई पनि एक असल बुबाले झैँ माया गरेँ। एक वर्षसम्म अध्ययन गरेपछि मैले पनि श्रीमतीले जस्तै यहोवालाई आफ्नो जीवन समर्पण गरेँ अनि बप्तिस्मा गरेँ।

मैले कसरी लाभ उठाएको छु?

बाइबलका सिद्धान्तहरूले गर्दा नै मेरो जीवन जोगिएको हो भन्‍ने कुरामा म ढुक्क छु। सत्यमा नभएका मेरा परिवारका सदस्यहरूले समेत यो कुरा मानिलिन्छन्‌। सत्य नसिकेको भए अत्यधिक लागूपदार्थ सेवन वा झगडाको कारणले अहिलेसम्म मेरो मृत्यु भइसकेको हुने थियो।

बाइबल सत्यले मेरो जीवनलाई पूरै परिवर्तन गऱ्‍यो। मैले एक पति र बुबाको हैसियतमा आफ्नो जिम्मेवारी थाह पाउन सकेँ। (एफिसी ५:२५; ६:४) हामीले परिवारको रूपमा मिलेर काम गर्न थाल्यौँ। अहिले म आफ्नो श्रीमतीले भान्छाको काम मात्र गर्नुपर्छ भन्‍ने सोचाइ राख्दिनँ। बरु उनलाई पूर्ण समय सेवामा लाग्न साथ दिन्छु। अनि उनले पनि मलाई एल्डरको रूपमा मण्डलीको काम गर्न पूरापूर साथ दिन्छिन्‌।

यहोवाले देखाउनुभएको दया र मायाले मेरो जीवनमा गहिरो छाप पारेको छ। मेरो मनैदेखिको इच्छा भनेको आशाविहीन मानिसहरूलाई यहोवाका गुणहरूबारे बताउनु हो किनकि कुनै समय म पनि त्यस्तै अवस्थामा थिए। बाइबलले सफा र उद्देश्‍यपूर्ण जीवन बिताउन चाहने जोसुकैलाई मदत गर्न सक्छ। बाइबलले मलाई पुरुष स्त्री दुवैलाई प्रेम अनि आदर गर्न सिकाएको छ। त्यति मात्र नभई बाइबलबाट मैले आफैलाई आदर गर्न पनि सिकेको छु।