सीधै सामग्रीमा जाने

भाग ५

जादुगरी, टुनामुना र बोक्सीविद्याबारे साँचो कुरा

जादुगरी, टुनामुना र बोक्सीविद्याबारे साँचो कुरा

१. जादुगरी, टुनामुना र बोक्सीविद्यामा कतिले विश्‍वास गर्छन्‌?

अफ्रिकाको धर्मसम्बन्धी एउटा किताबमा यस्तो लेखिएको छ: “अफ्रिकाका मानिसहरूलाई बोक्सीको अस्तित्व छ कि छैन भनेर सोध्नुको कुनै अर्थ छैन। यहाँ प्रायः सबैले बोक्सीहरू छन्‌ भन्‍ने कुरामा विश्‍वास गर्छन्‌।” अनपढ होऊन्‌ वा पढेलेखेका, दुवै किसिमका मानिसहरू जादुगरी, टुनामुना र बोक्सीविद्यामा विश्‍वास गर्छन्‌। साथै इस्लाम धर्म र चर्चजगत्‌का धर्मगुरुहरूले समेत यस्ता कुराहरूमा विश्‍वास गर्छन्‌।

२. धेरैजसो मानिसको विश्‍वास अनुसार अलौकिक र अदृश्‍य शक्‍तिलाई कसले नियन्त्रण गर्छन्‌?

अफ्रिकाका धेरैजसो मानिसले अलौकिक र अदृश्‍य शक्‍ति छ अनि यसलाई ईश्‍वरले नियन्त्रण गर्छन्‌ भनेर विश्‍वास गर्छन्‌। साथै तिनीहरूले भूतप्रेत र पितापुर्खाले पनि यो शक्‍ति चलाउन सक्छन्‌ भन्‍ने धारणा राख्छन्‌। कतिपय मानिसले यो शक्‍ति चलाएर कसैलाई हानि पुऱ्‍याउन वा जोगाउन सकिन्छ भनेर पनि विश्‍वास गर्छन्‌।

३. टुनामुना भनेको हो र मानिसहरूको विचारमा टुनामुना गर्नेहरूले के गर्न सक्छन्‌?

टुनामुना गर्नु भनेको शत्रुहरूलाई हानि पुऱ्‍याउने उद्देश्‍यले अलौकिक शक्‍ति प्रयोग गर्नु हो। टुनामुना गर्नेहरूले अरूलाई आक्रमण गर्न चमेरो, चराचुरुङ्‌गी र किराफट्याङ्‌ग्रा जस्ता कुराहरू प्रयोग गर्छन्‌ भन्‍ने विश्‍वास व्याप्त छ। टुनामुना गरेर मानिसहरूबीच झगडा गराउन, कसैलाई बाँझो बनाउन, बिरामी पार्न वा ज्यानसमेत लिन सकिन्छ भनेर पनि थुप्रैले विश्‍वास गर्छन्‌।

४. बोक्सीहरूबारे धेरैजसो मानिसको धारणा कस्तो छ र पहिला बोक्सीविद्यामा लागेकाहरूले के भनेका छन्‌?

बोक्सीविद्या टुनामुनासित सम्बन्धित छ। मानिसहरूको धारणाअनुसार बोक्सीहरू राती सुतिरहेको बेला आफ्नो शरीर छोडेर अरू बोक्सीहरूसित भेट्‌न वा शत्रुहरूको ज्यान लिन जान्छन्‌। यस्ता धारणाहरू अक्सर विगतमा बोक्सीविद्यामा लागेका मानिसहरूले बताउने कुरामा आधारित छन्‌। उदाहरणको लागि, एउटा अफ्रिकी पत्रिकाअनुसार बोक्सीविद्या छोडेका किशोरीहरूले यसो भने: “मैले गाडी दुर्घटना गराएर १५० जना मानिसलाई मारेँ।” “मैले पाँच जना केटाकेटीको रगत चुसेर उनीहरूको ज्यान लिएँ।” “मैले आफ्ना तीन जना प्रेमीहरूलाई मारेँ किनभने तिनीहरूले मलाई धोका दिएका थिए।”

५. अलौकिक शक्‍तिले के गर्न सक्छ भन्‍ने धारणा व्याप्त छ र यसको लागि मानिसहरूले के-के गर्छन्‌?

अलौकिक शक्‍तिले दुष्टबाट जोगाउन सक्छ भनेर मानिसहरूले विश्‍वास गर्छन्‌। तिनीहरूले दुष्टबाट जोगिनको लागि खास किसिमका औँठी अथवा चुराहरू लगाउने गर्छन्‌ र ती कुराहरूमा अलौकिक शक्‍ति हुन्छ भनेर विश्‍वास गर्छन्‌। साथै तिनीहरूले औषधी पिउने वा शरीरमा दल्ने गर्छन्‌। तिनीहरू दुष्ट शक्‍तिहरूदेखि सुरक्षित हुन आफ्नो घरमा अथवा जमिनमुनि विभिन्‍न चिजबिज लुकाएर राख्छन्‌। तिनीहरू बाइबल वा कुरानमा भएका कुराहरू लेखेर बनाइएका जन्तरहरू पनि लगाउने गर्छन्‌।

झूट र छलकपट

६. सैतान र त्यसका प्रेतहरूले विगतमा के गरेका थिए र तिनीहरूको शक्‍तिबारे हामीले कुन कुरा मनमा राख्नुपर्छ?

सैतान र त्यसका प्रेतहरू मानिसहरूका खतरनाक शत्रुहरू हुन्‌। तिनीहरूले मानिसहरूको सोचाइ र जीवनमा प्रभाव पार्न सक्छन्‌। विगतमा तिनीहरूले मानिस र जनावरहरूभित्र पसेर उनीहरूलाई नियन्त्रण समेत गरेका थिए। (मत्ति १२:४३-४५) तर हामी तिनीहरू असाध्यै शक्‍तिशाली छन्‌ भनेर डराउनु हुँदैन र तिनीहरूसित शक्‍ति नै छैन भनेर सोच्नु पनि हुँदैन।

७. हामीले के विश्‍वास गरेको सैतान चाहन्छ र यो कुरा हामी कुन उदाहरणबाट बुझ्न सक्छौँ?

सैतान असाध्यै छली छ। त्यसले आफू असाध्यै शक्‍तिशाली भएको भान पार्न खोज्छ। यो कुरा हामी एउटा उदाहरणबाट बुझ्न सक्छौँ। एउटा अफ्रिकी मुलुकमा सैनिकहरूले शत्रुहरूलाई आक्रमण गर्नुअघि उनीहरूलाई तर्साउन तोप र बन्दुक पड्‌केको आवाजको रेकर्डिङ घन्काए। शक्‍तिशाली सेनाले आक्रमण गर्न आउँदै छन्‌ भनेर शत्रुहरू तर्सिएको तिनीहरू चाहन्थे। त्यसैगरि सैतान पनि त्यो असाध्यै शक्‍तिशाली छ भनेर मानिसहरूले सोचेको चाहन्छ। त्यसले मानिसहरू डराएर परमेश्‍वरको नभई त्यसको इच्छाअनुसार चलेको चाहन्छ। अब हामी सैतानले फैलाएका तीन वटा झूटबारे विचार गर्नेछौ।

८. सैतानले फैलाएको एउटा झूट के हो?

सैतानको एउटा झूट हो: सबै खराब कुरा कि मानिसले गर्दा हुन्छ, कि त अलौकिक र अदृश्‍य शक्‍तिले गर्दा। मानिलिनुहोस्‌, औलो लागेर कुनै बच्चाको मृत्यु भयो। उसको आमालाई लामखुट्टेले गर्दा औलो लागेको हो भनेर थाह भए तापनि उनले त्यो लामखुट्टेलाई कुनै बोक्सीले पठाएको हो भनेर पनि सोच्न सक्छिन्‌।

कहिलेकाहीँ संयोगवश चिताउँदै नचिताएका नराम्रा कुराहरू हुन्छन्‌

९. सबै समस्याको कारण सैतान होइन भनेर बाइबलले कसरी देखाउँछ?

सैतानसित केही शक्‍ति भएकोले त्यसले केही समस्या त ल्याउन सक्छ तर सबै समस्याको कारण सैतान होइन। बाइबल भन्छ: “वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।” (उपदेशक ९:११) दौड प्रतियोगितामा कुनै धावक अरू धावकहरूभन्दा छिटो दौडन सक्छ। तर उसले दौड नजित्न पनि सक्छ। किनभने “चिताउँदै नचिताएको घटना” घटेकोले ऊ दौड हार्न सक्छ। सायद ऊ ठेस खाएर लड्‌न सक्छ, ऊ बिरामी पर्न सक्छ अथवा उसको खुट्टा मर्किन सक्छ। यस्ता कुराहरू जोकोहीलाई पनि हुन सक्छ। त्यसैले सबै समस्याको कारण सैतान वा बोक्सीविद्या हो भनेर सोच्नु हुँदैन।

१०. बोक्सीहरूबारे कस्तो धारणा व्याप्त छ र हामी किन यो झूट हो भन्‍न सक्छौँ?

१० सैतानको दोस्रो झूट हो: राती बोक्सीले आफ्नो शरीर छोडेर अरू बोक्सीलाई भेट्‌न वा आफ्नो शत्रुको ज्यान लिन जान्छ। आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘के मानिसबाट कुनै अंश निस्केर जान सम्भव छ?’ परमेश्‍वरले मानिसलाई त्यसरी सृष्टि गर्नुभएकै होइन। त्यसैले मानिसको शरीरको कुनै अंश निस्केर अन्त कतै जान सक्दैन।

बोक्सीहरू आफ्नो शरीर छोडेर कतै जान सक्दैनन्‌

११. हामी किन बोक्सीहरूले आफ्नो शरीर छोड्‌न सक्दैनन्‌ भन्‍न सक्छौँ र के तपाईँ यो कुरामा विश्‍वस्त हुनुहुन्छ?

११ मानिसको शरीरको कुनै अंश निस्केर अन्त कतै जान अनि कसैलाई मदत गर्न वा हानि पुऱ्‍याउन सक्दैन। त्यसैले बोक्सीहरूले पनि आफ्नो शरीर छोड्‌न सक्दैनन्‌। तिनीहरूले जे गरेको छु वा जे गर्न सक्छु भनेर गरेको दाबी सत्य होइन।

१२. सैतानले कसरी मानिसहरूलाई तिनीहरूले कहिल्यै नगरेको काम गरेको भान पारिदिन सक्छ?

१२ बोक्सीविद्यामा लागेकाहरूले गरेका दाबीहरूको वास्तविकता के हो? मानिसहरूले कहिल्यै अनुभव नगरेको कुरा साँच्चै अनुभव गरेका छन्‌ भनेर सैतानले भान पारिदिन्छ। त्यसले मानिसहरूले कहिल्यै नदेखेको कुरा देखेको, नसुनेको कुरा सुनेको र नगरेको काम गरेको भान पारिदिन सक्छ। यसरी सैतानले मानिसहरूलाई यहोवाबाट टाढा बनाउन र बाइबल सही होइन भनेर साबित गर्न खोज्छ।

१३. (क) के अलौकिक शक्‍तिले हामीलाई जोगाउँछ? (ख) जादुगरीबारे बाइबल के भन्छ?

१३ सैतानको तेस्रो झूट हो: अलौकिक शक्‍तिले मानिसहरूलाई टुनामुनाबाट जोगाउँछ। बाइबलमा अलौकिक शक्‍ति र टुनामुना दुवैबाट अलग रहनुपर्छ भनिएको छ किनभने यी दुवै जादुगरीमा पर्छन्‌। जादुगरी र जादु गर्ने मानिसहरूको विषयमा यहोवाले इस्राएलीहरूलाई दिनुभएका नियमहरू विचार गर्नुहोस्‌:

  • “तिमीहरूले . . . जादुगरी नगर्नू।”—लेवी १९:२६.

  • “भूतप्रेत खेलाउने वा भावी बताउने पुरुष वा स्त्रीलाई मार्नै पर्छ।”—लेवी २०:२७.

  • “तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌ . . . जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित वा भावी बताउने व्यक्‍तिसित सल्लाह लिने।”—व्यवस्था १८:१०-१४.

१४. यहोवाले किन जादुगरीबाट अलग रहन नियमहरू दिनुभयो?

१४ यी नियमहरूबाट के स्पष्ट हुन्छ भने परमेश्‍वरले आफ्ना उपासकहरूले जादुगरी गरेको चाहनुहुन्‍नथ्यो। यहोवाले तिनीहरूलाई यस्ता नियमहरू दिनुभयो किनभने उहाँ तिनीहरूलाई माया गर्नुहुन्थ्यो अनि तिनीहरूलाई डर र अन्धविश्‍वासको पासोबाट जोगाउन चाहनुहुन्थ्यो। उहाँ तिनीहरूलाई प्रेतहरूबाट पनि जोगाउन चाहनुहुन्थ्यो।

१५. बाइबलले यहोवा सैतानभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ भनेर कसरी देखाउँछ?

१५ बाइबलमा प्रेतहरूले गर्न सक्ने र नसक्ने कुराहरूबारे विस्तृत रूपमा बताइएको छैन। तर यसमा सैतान र त्यसका प्रेतहरूभन्दा यहोवा परमेश्‍वर धेरै शक्‍तिशाली हुनुहुन्छ भनेर चाहिँ बताइएको छ। यहोवाले सैतानलाई स्वर्गबाट निकालिदिनुभयो। (प्रकाश १२:९) यो कुरा पनि विचार गर्नुहोस्‌, सैतानले अय्युबको परीक्षा लिन यहोवासित अनुमति माग्नुपरेको थियो अनि उहाँले अय्युबको ज्यान नलिनू भनेर दिनुभएको आज्ञा पालन गर्नुपरेको थियो।—अय्युब २:४-६.

१६. हामी सुरक्षाको लागि कसमा भर पर्नुपर्छ?

१६ हितोपदेश १८:१० यसो भन्छ: “यहोवाको नाम बलियो धरहरा हो; धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।” त्यसैले हामी सुरक्षाको लागि यहोवामा भर पर्नुपर्छ। हामी सैतान र त्यसका प्रेतहरूबाट जोगिन जन्तर लगाउँदैनौँ वा औषधी प्रयोग गर्दैनौँ अनि टुनामुना गर्नेहरूले हामीलाई केही हानि पुऱ्‍याउला कि भनेर पनि डराउँदैनौँ। तर हामी बाइबलमा लेखिएको यो कुरामा विश्‍वास गर्छौँ: “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌, तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।”—२ इतिहास १६:९.

१७. याकुब ४:७ ले हामीलाई कुन कुरामा ढुक्क बनाउँछ र त्यसको लागि हामीले के गर्नुपर्छ?

१७ यहोवाको सेवा गर्नुभयो भने तपाईँ पनि ढुक्क हुन सक्नुहुन्छ। याकुब ४:७ यसो भन्छ: “त्यसकारण आफूलाई परमेश्‍वरको अधीनमा राख र दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ।” यदि तपाईँ साँचो परमेश्‍वरको सेवा गर्नुहुन्छ र उहाँको अधीनमा बस्नुहुन्छ भने तपाईँलाई उहाँले सैतानबाट जोगाउनुहुन्छ भन्‍ने कुरामा पक्का हुन सक्नुहुन्छ।