सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“मेरो मनमा थुप्रै प्रश्‍न खेलिरहेका थिए”—राउडेल रोड्रिगेज रोड्रिगेज

जन्म मिति: सन्‌ १९५९

जन्म स्थान: क्युबा

विगतमा: राजनैतिक विद्रोही

मेरो विगत: मेरो जन्म क्युबाको हवानामा भएको थियो। हामी बस्ने ठाउँका मानिसहरू गरिब थिए। अनि सडकमा होहल्ला गर्नु, झगडा गर्नु सामान्य थियो। हुर्कँदै जाँदा मलाई जुडो र त्यस्तै अन्य खेलकुद मन पर्न थाल्यो।

मेरो पढाइ राम्रो भएकोले बुबाआमाले मलाई विश्‍वविद्यालय पठाउनुभयो। विश्‍वविद्यालयमा हुँदा मलाई देशको राजनैतिक व्यवस्थामा परिवर्तन ल्याउनुपर्छ जस्तो लाग्यो। त्यसैले मैले विद्रोह गर्ने निर्णय गरेँ। एक चोटि म र मेरो साथीले एक जना पुलिसको बन्दुक खोस्न तिनीमाथि आक्रमण गऱ्‍यौँ। त्यतिबेला तिनी गम्भीर घाइते भए। यसरी पुलिसलाई आक्रमण गरेकोले म र मेरो साथीलाई जेलमा हालियो अनि हामीलाई गोली हानेर मृत्युदण्ड दिने सजाय सुनाइयो। त्यतिबेला म २० वर्षको मात्र थिएँ।

मृत्युदण्ड दिइने बेला म आफू डराएको कुरा देखाउन चाहन्‍नथेँ। त्यसैले जेलमा एक्लै हुँदा म आफूलाई तयार पार्दै थिएँ। तर त्यति नै बेला मेरो मनमा थुप्रै प्रश्‍न खेलिरहेका थिए। जस्तै: ‘यो संसारमा यति धेरै अन्याय किन छ? के जीवनको कुनै उद्देश्‍य छ?’

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो? पछि हामीलाई मृत्युदण्डको सट्टा ३० वर्षको जेल सजाय दिइयो। त्यति नै बेला मैले केही यहोवाका साक्षीलाई भेटेँ, जो आफ्नो धार्मिक विश्‍वासको कारण जेलमा परेका थिए। तिनीहरूमाथि अन्याय भएको थियो तैपनि तिनीहरू रिसले मुरमुरिएका थिएनन्‌। तिनीहरूको साहस र शान्तिप्रिय व्यवहार देखेर म प्रभावित भएको थिएँ।

ती साक्षीहरूले परमेश्‍वरले मानिसहरूको लागि राख्नुभएको उद्देश्‍यबारे मलाई बताए। उहाँले पृथ्वीलाई सुन्दर बगैँचा बनाउनुहुनेछ अनि अपराध र अन्याय हुनेछैन भनेर बाइबलबाट देखाए। साथै पृथ्वी असल मानिसहरूले भरिनेछ र तिनीहरूले कुनै दुःखकष्टविना सधैँभरि बाँच्ने मौका पाउनेछन्‌ भन्‍ने कुरा पनि सिकाए।—भजन ३७:२९.

यहोवाका साक्षीहरूले सिकाएको कुरा मलाई मन पऱ्‍यो। तर म कहिले पनि तिनीहरूजस्तै हुन सक्छु जस्तो लागेन। म राजनैतिक रूपमा तटस्थ रहन अनि शान्तिप्रिय हुन सक्छु जस्तो लागेन। त्यसैले मैले आफै बाइबल पढ्‌ने निर्णय गरेँ। मैले पूरै बाइबल पढिसिद्ध्याएपछि यहोवाका साक्षीहरू मात्र सुरु-सुरुका ख्रिष्टियनहरूजस्तै व्यवहार गर्छन्‌ भन्‍ने कुरा बुझेँ।

बाइबल पढ्‌दै जाँदा मैले आफूमा ठूलठूला परिवर्तनहरू गर्नुपर्छ भन्‍ने कुरा बुझेँ। जस्तै: मेरो गालीगलौज गर्ने बानी थियो। त्यसैले मैले बोली सुधार्नुपर्थ्यो। मैले चुरोट खान पनि छोड्‌नुपर्थ्यो अनि राजनैतिक मामिलाहरूमा तटस्थ रहनुपर्थ्यो। यी सबै परिवर्तन गर्न सजिलो थिएन तर यहोवाको मदतले म सफल भएँ।

परिवर्तन गर्न गाह्रो भएको अर्को कुरा भनेको आफ्नो रिसलाई काबुमा राख्नु थियो। म अहिले पनि रिसलाई काबुमा राख्न यहोवालाई निरन्तर प्रार्थना गर्छु। मलाई हितोपदेश १६:३२ जस्ता शास्त्रपदहरूले निकै मदत गरेको छ। जहाँ यस्तो लेखिएको छ: “हतपती नरिसाउने मानिस वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।”

सन्‌ १९९१ मा बप्तिस्मा गरेर म यहोवाको साक्षी बनेँ। जेलमै भएकोले मैले ड्रममा बप्तिस्मा गरेँ। त्यसको अर्को वर्ष मलगायत अरू केही कैदीहरूलाई रिहा गरियो अनि स्पेन पठाइयो। त्यहाँ म यहोवाका साक्षीहरूको सभामा गएँ। त्यहाँका भाइबहिनीहरूले मलाई वर्षौँदेखि चिनेजस्तै न्यानो स्वागत गर्नुभयो अनि स्पेनमा नयाँ जीवन सुरु गर्न पनि मदत गर्नुभयो।

मैले कस्तो लाभ उठाएको छु? अहिले म आनन्दित छु। मेरी पत्नी अनि दुई छोरीसँग यहोवाको सेवा गर्न पाएकोमा म खुसी छु। अरू मानिसहरूलाई पनि बाइबलको कुरा सिक्न मदत दिन म सकेजति गर्दै छु। कहिलेकाहीँ म आफ्नो विगतबारे सम्झिने गर्छु। म जवानै थिएँ अनि मलाई मृत्युदण्ड दिइन लागेको थियो। तर त्यसदेखि यता मैले थुप्रै कुराहरू पाएको छु अनि त्यसको लागि म निकै कृतज्ञ छु। अहिले मेरो जीवन अर्थपूर्ण भएको छ किनकि मैले साँचो आशा पाएको छु। म पृथ्वी सुन्दर बगैँचा हुने दिनको प्रतिक्षा गर्दै छु, जहाँ अन्याय अनि “मृत्यु हुनेछैन।”—प्रकाश २१:३, ४.