सीधै सामग्रीमा जाने

जीवनमा यति धेरै समस्याहरू किन?

जीवनमा यति धेरै समस्याहरू किन?

राज्य समाचार न. ३४

जीवनमा यति धेरै समस्याहरू किन?

के समस्यामुक्‍त प्रमोदवन सम्भवछ?

गम्भीर समस्याहरू झन्‌ झन्‌ बिग्रन्छन्‌—किन?

मानिसहरू कहिल्यै समस्यामुक्‍त भएका छैनन्‌। आधुनिक प्रविधिले ती समस्याहरू समाधान गर्न सक्लान्‌ भन्‍ने सोचाइ धेरैको थियो तर गम्भीर समस्याहरू झन्‌ झन्‌ बिग्रँदैछन्‌।

अपराध: सडकमा हिंड्‌दा वा आफ्नै घरमा बस्दासमेत कमै मानिसहरू सुरक्षित महसुस गर्छन्‌। एक युरोपेली मुलुकमा हालसालै ३ मध्ये झण्डै १ अपराधको शिकार भएको थियो।

वातावरण: जल, थल र वायु प्रदूषण झन्‌ झन्‌ व्यापक भइरहेको छ। विकासोन्मुख राष्ट्रहरूमा एक चौथाइ मानिसहरूले स्वच्छ पानी उपभोग गर्न पाउँदैनन्‌।

गरिबी: अहिलेजति गरिब र भोका मानिसहरू पहिले कहिल्यै थिएनन्‌। केही मुलुकहरूमा ९० प्रतिशतभन्दा बढी मानिसहरू गरिब छन्‌; लगभग ८० करोड अर्थात्‌ विश्‍वको ३० प्रतिशत श्रम-शक्‍ति बेरोजगार वा कम तलब लिएर काम गरिरहेका छन्‌—र यो संख्या बढ्‌दो छ।

भोक: तपाईंसित खान यथेष्ट होला तर लाखौं मानिसहरूसित छैन। अल्पविकसित देशहरूमा प्रतिवर्ष कम्तिमा १.३ करोड मानिसहरू भोकको कारण मर्छन्‌ र त्यसमध्ये प्रायजसो केटाकेटीहरू हुन्‌।

युद्ध: हालै जातीय हिंसामा लाखौं मानिसहरू मारिएका छन्‌। अनि यस २० औं शताब्दीमा दश करोडभन्दा बढी मानिसहरू युद्धमा मारिए।

अन्य समस्याहरू: उपरोक्‍त समस्याहरूको अलावा टुक्रिएका परिवारहरूमा वृद्धि, थुप्रै अविवाहित आमाहरू, बढ्‌दो संख्यामा घरबारविहीन मानिसहरू, लागू पदार्थको दुर्व्यसनमा व्यापकता, अनैतिकताको बिगबिगी इत्यादि छन्‌। सं.रा. को मन्त्रिमण्डलका एक भूतपूर्व सदस्यले सत्यतापूर्वक यसो भने: “नैतिक तथा सामाजिक तवरमा सभ्यता खस्किरहेको . . . थुप्रै प्रमाणहरू देखिएका छन्‌।” हालै ३० वर्षभित्र सं.रा. को जनसंख्यामा ४१ प्रतिशत वृद्धि भयो तर हिंसात्मक अपराध ५६० प्रतिशत, अवैध जन्म ४०० प्रतिशत, पारपाचुके ३०० प्रतिशत, किशोर-किशोरीहरूको आत्महत्या दर २०० प्रतिशतभन्दा बढी द्रुत गतिमा वृद्धि भयो। अरू राष्ट्रहरूमा पनि परिस्थिति यस्तै छ।

समस्याहरू किन झन्‌ झन्‌ बिग्रेको?

हाम्रो सृष्टिकर्ताले यसको जवाफ दिनुहुन्छ। उहाँको वचनले यो समस्याग्रस्त समयलाई “आखिरी दिन[को] डरलाग्दो समय” भनी बताउँछ। (२ तिमोथी ३:१) कुन कुराको आखिरी दिन? भनौं भने, बाइबलले “जगत्‌को अन्त[बारे]” बताउँछ।—मत्ती २४:३.

यस रीतिरिवाजलगायत दुष्टता र त्यसको जिम्मेवार व्यक्‍तिहरूको अन्त नजिकै छ भन्‍ने स्पष्ट प्रमाण आजका बढ्‌दो समस्याहरू हुन्‌। (मत्ती २४:३-१४; २ तिमोथी ३:१-५; प्रकाश १२:७-१२) परमेश्‍वरले चाँडै हस्तक्षेप गर्नुको साथै आजका सम्पूर्ण समस्याहरू निश्‍चित रूपमा पूर्णतया समाधान गर्नुहुनेछ।—यर्मिया २५:३१-३३; प्रकाश १९:११-२१.

यस संसारका धर्महरू असफल भएका छन्‌

आजका समस्याहरू समाधान गर्न मदत दिनुको साटो यस संसारका धार्मिक प्रणालीहरूले समस्यामाथि समस्या थपेका छन्‌। युद्धहरू हुँदा लाखौंको संख्यामा क्याथोलिकहरूले क्याथोलिकहरूलाई र प्रोटेस्टेन्टहरूले प्रोटेस्टेन्टहरूलाई मार्छन्‌। अधिकांश मानिसहरू क्याथोलिक भएको रूवाण्डामा केही समयअघि लाखौंको संख्यामा मानिसहरूले एकअर्कालाई मारे! (बाँया चित्र हेर्नुहोस्‌।)

आफ्ना चेलाहरूको राष्ट्रियता आफ्नोभन्दा बेग्लै भएको कारण के तिनीहरूलाई मार्न येशू राइफल वा खुकुरी लिएर युद्ध गर्न जानुहुन्थ्यो? पक्कै जानुहुन्‍नथियो! बाइबल भन्छ, “परमेश्‍वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्‌।” (१ यूहन्‍ना ४:२०, २१) त्यसो गर्न यस संसारका धर्महरू असफल भएका छन्‌। “तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्‌ भनी तिनीहरू भनी टोपल्छन्‌, तर तिनीहरू . . . आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्‌।”—तितस १:१६.

यसबाहेक, नैतिकतासम्बन्धी बाइबलका स्तरहरू यथार्थतः पालन नगरेर संसारभरि निन्दनीय नैतिक अवस्था ल्याउन यस संसारका धर्महरूले योगदान पुऱ्‍याएका छन्‌।

झूटो धर्म ‘त्यसको फल’ अर्थात्‌ त्यसका सदस्यहरूले गर्ने कामबाट चिन्‍न सकिन्छ भनी येशूले भन्‍नुभयो। उहाँले यसो पनि भन्‍नुभयो: “बढ़िया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।” (मत्ती ७:१५-२०) खराब फल फलाउने र फलतः विनाश भोग्ने धर्मबाट निस्कन परमेश्‍वरको वचनले हामीलाई आग्रह गर्छ।—प्रकाश १८:४.

साँचो धर्म असफल भएको छैन

साँचो धर्मले “बढ़िया फल” विशेषगरि प्रेम फलाउँछ। (मत्ती ७:१७; यूहन्‍ना १३:३४, ३५) अन्तर्राष्ट्रिय भ्रातृत्वमा एकताबद्ध मसीहीहरूको कुन समूहले त्यस्तो प्रेम व्यवहारमा ल्याउँछ? आफ्नै वा अरू धर्मको व्यक्‍तिलाई मार्न कसले इन्कार गर्छ?—१ यूहन्‍ना ३:१०-१२.

यहोवाका साक्षीहरूले त्यस्तो “बढ़िया फल” फलाउने नाउँ कमाएका छन्‌। विश्‍वभरि २३० भन्दा बढी मुलुकहरूमा ‘तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली बनाएका छन्‌।’ (यशैया २:४) परमेश्‍वरको राज्यको “सुसमाचार” सारा संसारभरि प्रचार गर्ने ख्रीष्टको आज्ञा पालन गरेर पनि तिनीहरू मानिसहरूप्रति आफ्नो प्रेम देखाउँछन्‌। (मत्ती २४:१४) तिनीहरू बाइबलमा सिकाइएका उच्च नैतिक स्तरहरू व्यवहारमा ल्याउँछन्‌ र त्यसको समर्थन पनि गर्छन्‌।—१ कोरिन्थी ६:९-११.

साँचो धर्म असफल भएको छैन। मानवजातिका समस्याहरू समाधान गर्न सक्ने एक मात्र योग्य व्यक्‍तितर्फ यसले मानिसहरूलाई डोऱ्‍याउँछ। चाँडै त्यस व्यक्‍तिले पूर्णतया नयाँ संसार ल्याउनेछ। त्यो व्यक्‍ति को हो? (कृपया पछिल्लो पृष्ठ हेर्नुहोस्‌।)

समस्यामुक्‍त प्रमोदवन निश्‍चित छ

तपाईंले सक्नुहुने भए के मानवजातिलाई पिरोल्ने सबै समस्याहरू समाधान गर्नुहुनेथिएन र? निस्सन्देह गर्नुहुनेथियो! मानवजातिका समस्याहरू समाधान गर्न सक्ने शक्‍ति र स्रोत भएको एक मात्र व्यक्‍ति, हाम्रो मायालु सृष्टिकर्ताले त्यसो गर्नु नहोला भनी सोच्नु मिल्छ र?

येशू ख्रीष्टको नेतृत्वमा उहाँको स्वर्गीय सरकार मार्फत परमेश्‍वरले मानव गतिविधिहरूमा हस्तक्षेप गर्नुहुनेछ भनी बाइबलले प्रकट गर्छ। यसले पृथ्वीका भ्रष्ट सरकारहरूलाई “चक्नाचूर” पार्नेछ। (दानियल २:४४: मत्ती ६:९, १०) तर किन? परमेश्‍वरलाई सम्बोधन गर्दै भजनरचयिता यस्तो जवाफ दिन्छन्‌: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [यहोवा, न्युव] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—भजनसंग्रह ८३:१८.

यो संसारको अन्त हुँदा के कोही बच्नेछन्‌? बाइबल यसो भन्छ, “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) यी बच्नेहरू सधैंभरि कहाँ बाँच्नेछन्‌? बाइबल जवाफ दिन्छ, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजनसंग्रह ३७:९-११, २९; हितोपदेश २:२१, २२.

परमेश्‍वरको नयाँ संसारमा “मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।” (प्रकाश २१:४) अपराध, गरिबी, भोक, बिमारी, दुःख वा मृत्यु फेरि हुनेछैन! भनौं भने, मरिसकेका मानिसहरू समेत पुनः जीवित हुनेछन्‌! “पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) अनि पृथ्वी साँच्चैको प्रमोदवनमा परिवर्तन हुनेछ।—यशैया ३५:१, २; लूका २३:४३.

परमेश्‍वरको नयाँ संसारमा जीवनको आनन्द उठाउन हामीले के गर्नुपर्छ? येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) संसारभरि इमान्दार हृदय भएका लाखौं मानिसहरूले त्यो ज्ञान लिइरहेका छन्‌। यसले आज तिनीहरूलाई थुप्रै व्यक्‍तिगत समस्याहरू सामना गर्न मदत दिन्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो क्षमताभन्दा बाहिरका समस्याहरू परमेश्‍वरको नयाँ संसारमा पूर्णतया निवारण हुनेछन्‌ भनी तिनीहरूलाई निर्धक्क बनाउँछ।

[Picture Credit Line on page 2]

WHO photo by P. Almasy

[Picture Credit Line on page 3]

Jerden Bouman/Sipa Press