पाठकहरूको प्रश्न
पाठकहरूको प्रश्न
चियर्स गर्नु हुन्छ कि हुन्न भनेर बाइबलमा नबताइएको भए तापनि यहोवाका साक्षीहरू किन चियर्स गर्दैनन्?
वाइनको (वा अरू कुनै पेयपदार्थको) गिलास प्रयोग गरेर चियर्स गर्नु लामो समयदेखि चलिआएको एउटा प्रथा हो अनि थुप्रै ठाउँका मानिसहरू यसो गर्ने गर्छन्। तर ठाउँअनुसार चियर्स गर्ने तरिका फरक-फरक हुन सक्छ। कहिलेकाहीँ चियर्स गर्नेहरूले आफ्नो गिलास बिस्तारै ठोक्काउने गर्छन्। कसैको खुसी, सुस्वास्थ्य, दीर्घायु वा यस्तै अन्य कुराको कामना गर्दै मानिसहरू चियर्स गर्ने गर्छन्। अरूले भने कुनै सम्झौता गरेपछि आफ्नो सहमति जनाउन गिलास माथि उठाएर चियर्स गर्छन् अनि वाइन पिउँछन्। धेरैलाई चियर्स गर्नु भनेको कुनै हानिकारक कुरा नभई शिष्टता झल्काउने एउटा तरिका जस्तो लाग्छ। तर यहोवाका साक्षीहरूले यसमा भाग नलिनुको पछाडि ठोस कारणहरू छन्।
ख्रिष्टियनहरूले त्यसो नगर्नुको कारण कसैको खुसी वा सुस्वास्थ्य नचाहेकोले होइन। प्रथम शताब्दीको परिचालक निकायले मण्डलीहरूलाई पठाएको एउटा पत्रको अन्तमा प्रयोग गरिएको शब्दलाई “तपाईँहरूको भलो होस्,” “तपाईँहरूको सुस्वास्थ्यको कामना गर्दछौँ” वा “बिदा” भनेर अनुवाद गर्न सकिन्छ। (प्रेषित १५:२९) साथै केही साँचो उपासकहरूले मानव राजाहरूलाई यसो पनि भने: “मेरा प्रभु . . . दीर्घायु होऊन्!” वा “राजा दीर्घायु रहून्!”—१ राजा १:३१; नहेम्याह २:३.
चियर्स गर्ने चलनको सुरुवात कसरी भयो? जनवरी १, १९६८ को प्रहरीधरहरा-मा दी इन्साइक्लोपीडिया ब्रिटानिका (१९१०), खण्ड १३, पृष्ठ १२१ मा भएको कुरा उद्धृत गरिएको थियो: “वाइन भएको गिलास प्रयोग गरेर सुस्वास्थ्यको कामना गर्ने प्रथा सम्भवतः प्राचीन समयमा देवीदेवताहरूलाई वा मरेकाहरूलाई चढाएको कुरा पिउने धार्मिक प्रथाबाट आएको हुन सक्छ। ग्रीक अनि रोमीहरू खाना खान बसेको बेला देवीदेवतालाई मद्य चढाउने गर्थे। तिनीहरू ती देवीदेवता र मरेकाहरूको सम्मानमा चियर्स गर्ने गर्थे।” त्यस किताबमा यस्तो पनि लेखिएको छ: “तिनीहरूले मद्य चढाउँदा मानिसहरूको सुस्वास्थ्यको कामना गर्दै मद्य पिउने गरेको पनि हुन सक्छ।”
के यो कुरा अहिले पनि लागू हुन्छ? सन् १९९५ मा प्रकाशित इन्टरनेस्नल ह्यान्डबुक अन अलकोहल एण्ड कल्चर किताब यसो भन्छ: “[चियर्स] गर्ने चलन पुरातन समयमा देवीदेवतालाई तरल पदार्थ भेटीको रूपमा चढाउने प्रथासित सायद सम्बन्धित छ। त्यस प्रथाअनुसार पवित्र मानिएको तरल पदार्थ, जस्तै: रगत वा वाइन देवतासामु चढाइन्थ्यो र त्यसको साटो आफ्नो मनोरथ पूरा होस् भन्ने वरदान मागिन्थ्यो। तिनीहरूले वरदान माग्दा यस्तो बिन्ती चढाउँथे, ‘धेरै वर्ष बाँच्न सकौँ!’ अथवा ‘सुस्वास्थ्य दिनुहोस्!’”
तर कुनै वस्तु वा प्रथा प्राचीन समयको झूटो धार्मिक प्रथासित मेल खान्छ भने ख्रिष्टियनहरूको लागि त्यस्तो कुरा सधैँ नै अस्वीकार्य हुन्छ भन्ने चाहिँ होइन। अनारबारे विचार गर्नुहोस्। एउटा प्रचलित विश्वकोशले बताएअनुसार प्राचीन समयका झूटा धर्महरूमा उपासनाको लागि अनार प्रयोग गरिन्थ्यो। तर परमेश्वरले पनि प्रधानपुजारीको अलखाको फेरमा अनारका फुर्काहरू र सुलेमानको मन्दिरको तामाका खम्बाहरूमा अनारका आकृतिहरू बनाउन लगाउनुभयो। (प्रस्थान २८:३३; २ राजा २५:१७) अर्को उदाहरण पनि विचार गर्नुहोस्। विवाहको औँठीको विषयमा भन्ने हो भने यो पनि कुनै समय धार्मिक प्रचलनसित सम्बन्धित थियो। तर अहिले धेरै मानिसलाई यो कुरा थाह छैन बरु त्यो औँठीले उक्त व्यक्ति विवाहित छ भन्ने सङ्केत मात्रै दिन्छ।
त्यसोभए मद्य प्रयोग गरेर परमेश्वरको उपासना गर्ने सम्दर्भमा बाइबल के भन्छ? उदाहरणको लागि, एकचोटिको कुरा हो, सकेमका बाआल उपासकहरू “आफ्नो देवताको मन्दिरमा गए र त्यहाँ खानपिन गरेर अबिमेलेकलाई सराप्न थाले”, जो गिदोनको छोरा थिए। (न्यायकर्ता ९:२२-२८) के यहोवाको कुनै वफादार सेवकले मद्य पिउँदै अबिमेलेकले सजाय पाओस् भनेर बाआललाई आग्रह गर्थे होलान् र? इस्राएलमा धेरैले यहोवाको विद्रोह गरेको समयबारे बताउँदै आमोसले यस्तो लेखे: “[तिनीहरू] प्रत्येक वेदीअगाडि . . . पस्रिन्छन्। अनि अरूलाई जरिमाना तिराएको पैसाबाट तिनीहरू आफ्ना देवताहरूका मन्दिरहरूमा रक्सी पिउँछन्।” (आमोस २:८) के साँचो उपासकहरूले देवीदेवताको लागि मद्य चढाउँथे वा तिनीहरूको सम्मान गर्न त्यो पिउँथे होलान् र? (यर्मिया ७:१८) अनि के साँचो उपासकहरूले वाइनको गिलास माथि उचालेर आफ्नो लागि वा अरूको लागि परमेश्वरसित आशिष् माग्छन् होला र?
रोचक कुरा, यहोवाका उपासकहरूले कहिलेकाहीँ आफ्नो हात माथि उचालेर साँचो परमेश्वरलाई आशिष्को लागि बिन्ती गर्थे। बाइबलमा यस्तो लेखिएको छ: “सुलेमान . . . यहोवा परमेश्वरको वेदीअगाडि उभिए र तिनले आफ्नो हात आकाशतिर फैलाए। अनि यसो भने: ‘हे इस्राएलका परमेश्वर यहोवा, . . . तपाईँजस्तो परमेश्वर अरू कोही छैन। . . . तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्। उनीहरूको बिन्ती सुन्नुहोस् र उनीहरूलाई क्षमा गरिदिनुहोस्।’” (१ राजा ८:२२, २३, ३०) साथै एज्राले पनि “यहोवाको प्रशंसा गरे। तब सबै मानिसले आफ्नो हात उठाएर यसो भने, ‘आमिन! आमिन!’ त्यसपछि तिनीहरू यहोवा परमेश्वरलाई दण्डवत् गर्न घुँडा टेकेर भुईँमा घोप्टो परे।” (नहेम्याह ८:६; १ तिमोथि २:८) पक्कै पनि ती वफादार मानिसहरूले आफ्नो हात स्वर्गतिर उचालेर कुनै सौभाग्य देवतासित आशिष् मागिरहेका थिएनन्।—यसैया ६५:११.
आज धेरै मानिस चियर्स गर्दा कुनै देवीदेवतासित आशिष् मागिरहेको छु भनेर त सोच्दैनन् होला तर आफूले त्यसरी वाइनको गिलास मास्तिर उचाल्नुको कारण पनि बताउन सक्दैनन्। तिनीहरूले कारणै नबुझी त्यसो गरिरहेका छन् भन्दैमा हामीले पनि तिनीहरूले जस्तै गर्नुपर्छ भन्ने छैन।
हामीलाई थाह छ, यहोवाका साक्षीहरू मानिसहरूले सामान्यतया मान्दै आएका अरू प्रचलनमा पनि भाग लिँदैनन्। उदाहरणको लागि, थुप्रै मानिसहरू झन्डा सलामी गर्नु अनि देश भक्ति झल्किने अरू गतिविधिमा भाग लिनुलाई उपासनाको रूपमा हेर्दैनन्। साँचो ख्रिष्टियनहरू यसको विरोध त गर्दैनन् तर तिनीहरू यस्ता गतिविधिमा भाग पनि लिँदैनन्। यस्ता अवसरहरूमा तिनीहरू अरूलाई ठेस नपुऱ्याउन पनि सुझबुझ चलाएर कदम चाल्छन्। तिनीहरू त्यस्ता अवसरहरूमा सकेसम्म उपस्थित नहुने कोसिस गर्छन् तर उपस्थित हुनुपऱ्यो भने पनि देशभक्ति झल्किने गतिविधिहरूमा भने तिनीहरू भाग लिँदैनन् किनभने यो बाइबलमा दिइएको स्तरसित मेल खाँदैन। (प्रस्थान २०:४, ५; १ युहन्ना ५:२१) आज धेरै मानिस चियर्स गर्नुलाई धार्मिक प्रचलन ठान्दैनन् तैपनि ख्रिष्टियनहरूले चियर्स नगर्नुका ठोस कारणहरू छन्। यो झूटो धार्मिक प्रथाबाट सुरु भएको हो र यसो गर्नुलाई ‘स्वर्गबाट’ आशिष् पाउन वा कुनै अलौकिक शक्तिबाट मदत पाउनको लागि गरिएको बिन्तीको रूपमा हेर्न सकिन्छ।—प्रस्थान २३:२.