सीधै सामग्रीमा जाने

वास्तवमा यो संसारलाई कसले शासन गर्छ?

वास्तवमा यो संसारलाई कसले शासन गर्छ?

वास्तवमा यो संसारलाई कसले शासन गर्छ?

धेरै मानिसहरूले माथि उल्लिखित प्रश्‍नको जवाफ एकै शब्दमा दिनेछन्‌—परमेश्‍वर। तर महत्त्वपूर्ण कुरा के हो भने, बाइबलमा कतै पनि येशू ख्रीष्ट वा उहाँको पिता यस संसारको वास्तविक शासकहरू हुन्‌ भनी उल्लेख गरिएको छैन। बरु यसको विपरीत येशूले यसो भन्‍नुभयो: “यस संसारको मालिक बाहिर फालिनेछ।” त्यसपछि उहाँले यो कुरा पनि थप्नुभयो: “किनभने संसारको शासक आउँछ, औ त्यसको मसँग केही छैन।”—यूहन्‍ना १२:३१; १४:३०; १६:११.

अतः यस संसारको शासक येशूको विरुद्धमा छ। त्यसोभए त्यो को हुनसक्छ त?

संसारका परिस्थितिहरूबाट पत्ता लगाउनु

असल अभिप्राय भएका मानिसहरूको अथक प्रयासको बावजूद पनि इतिहासभरि यो संसारले डरलाग्दो दुःख-कष्ट भोग्नु परेको छ। यो देखेर विचारशील मानिसहरू छक्क पर्छन्‌। उदाहरणका लागि, मरिसकेका एकजना सम्पादक डेभिड लरेन्सले आफ्नो आश्‍चर्य यी शब्दहरूमा प्रकट गरे: “प्रायः सबैजना नै ‘पृथ्वीमा शान्ति’ चाहन्छन्‌। संसारका सबै मानिसहरू एकअर्काका ‘शुभेच्छक’ हुन्‌। र पनि यस्तो किन हुन्छ? किन मानिसहरूको आन्तरिक चाहनाको बावजूद पनि युद्धको धम्की दिइन्छ?”

यो एउटा विरोधाभास कुरा झैं देखिन्छ, होइन त? मानिसको स्वभाविक चाहना शान्तिमय जीवन बिताउने हुँदा हुँदै पनि तिनीहरू प्रायः एक-अर्कालाई घृणा गर्छन्‌ र निर्ममताका साथ एक-अर्काको ज्यान लिन्छन्‌। नृशंसतापूर्वक गरिएका ती विकराल अमानवीय व्यवहारहरूलाई विचार गर्नुहोस्‌। मानिसहरूले एक-अर्कालाई सताउन र संहार गर्न ग्यास च्याम्बर, यातना शिविरहरू, अग्निवर्षक यन्त्रहरू, नेपाम बमहरू र अन्य अति नै क्रूर तरिकाहरू चलाएका छन्‌।

शान्ति र आनन्दको चाहना गर्ने ती मानिसहरूले स्वयं अरूहरूको विरुद्धमा यस्ता घोर दुष्ट कामहरू गर्न सक्छन्‌ भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? यस्ता घृणित कामहरू गर्न मानिसहरूलाई कुन शक्‍तिले सुऱ्‍याउँछ अथवा कुन शक्‍तिले तिनीहरूलाई त्यस्तो परिस्थितिमा पार्छ जहाँ तिनीहरू क्रूर कामहरू गर्न बाध्य हुन्छन्‌? कतै कुनै दुष्ट, अदृश्‍य शक्‍तिले पो मानिसहरूलाई यस्तो हिंसात्मक कामहरू गर्न प्रेरित गरिरहेको छैन? के तपाईंले कहिल्यै यसबारे विचार गर्नु भएको छ?

संसारका शासकहरूको पर्दाफास

यस विषयमा कुनै अड्‌कल काटिरहने जरुरत छैन किनभने एकजना चतुर, अदृश्‍य शक्‍तिले मानिसहरू र राष्ट्रहरू, दुवैलाई आफ्नो वशमा राखेको छ भनेर बाइबलले स्पष्टसँग देखाउँछ। बाइबल भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” र त्यस व्यक्‍तिलाई बाइबलले यसो भनेर चिनाएको छ: “दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने।”—१ यूहन्‍ना ५:१९; प्रकाश १२:९.

“दुष्टात्माबाट परीक्षा [मा]” पर्नु हुँदा येशूले यस संसारको शासक शैतान हो कि होइन भनेर शंका प्रकट गर्नु भएन। त्यसबेला भएको घटनाको विवरण बाइबलले यसरी दिन्छ: “दुष्टात्माले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर जगत्‌को सबै राज्य र तिनको गौरव उहाँलाई देखायो। र उहाँलाई भन्यो, ‘तपाईंले घोप्टेर मलाई दण्डवत्‌ गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।’ तब येशूले त्यसलाई भन्‍नुभयो ‘ए शैतान हटी जा!’”—मत्ती ४:१, ८-१०.

यसबारे एकछिन विचार गर्नुहोस्‌ त। “जगतको सबै राज्य” दिन्छु भनेर शैतानले येशूलाई प्रलोभनमा पार्न खोजेको थियो। तर शैतान साँच्चै नै ती सारा राज्यहरूका शासक नभएको भए के शैतानले दिन्छु भनेको कुरा वास्तविक प्रलोभन हुनसक्थ्यो र? कदापि हुन सक्दैन थियो। र यस कुरालाई पनि ध्यान दिनुहोस्‌। ती सबै सांसारिक सरकारहरू शैतानकै हुन्‌ भनी येशूले इन्कार गर्नु भएन। यदि तिनीहरूमाथि शैतानको आधिपत्य नहुँदो हो त, येशूले अवश्‍य त्यसो गर्नु हुनेथियो। अतः वास्तवमा शैतान अर्थात्‌ दियाबल नै यस संसारको अदृश्‍य शासक हो! वास्तवमा, बाइबलले त्यसलाई “यस संसारको देव” भनेर सम्बोधन गरेको छ। (२ कोरिन्थी ४:४) तर त्यस्तो दुष्ट व्यक्‍ति यस्तो शक्‍तिशाली ओहोदामा पुग्यो कसरी?

शैतान हुन पुगेको त्यो व्यक्‍ति वास्तवमा परमेश्‍वरले सृष्टि गर्नु भएको एकजना स्वर्गदूत थियो। तर त्यसले परमेश्‍वरको ओहोदाको डाह गऱ्‍यो। शासन गर्ने परमेश्‍वरको औचित्यपूर्ण अधिकारलाई त्यसले चुनौती दियो। परमेश्‍वरलाई चुनौती दिन त्यसले एउटा सर्पलाई प्रवक्‍ताको रूपमा चलाएर प्रथम स्त्री हव्वालाई बहकायो र तिनी र तिनको पति आदमलाई परमेश्‍वरको सट्टा आफ्नो आज्ञाहरू पालन गराउन त्यो सफल भयो। (उत्पत्ति ३:१-६; २ कोरिन्थी ११:३) आदम र हव्वाबाट जन्मिने सबै सन्तानहरूलाई परमेश्‍वरदेखि टाढा लैजान सक्छु भनेर पनि त्यसले दाबा गऱ्‍यो। अतः त्यसको दाबीलाई प्रमाणित गर्न परमेश्‍वरले शैतानलाई समय दिनुभयो तर शैतान सफल हुन सकेन।—अय्यूब १:६-१२; २:१-१०.

महत्त्वपूर्ण कुरा के हो भने, शैतान आफू एक्लैले पृथ्वीमाथि आफ्नो शासनाधिकारलाई चलाइरहेको छैन। आफूसँगसँगै परमेश्‍वरको विद्रोह गर्न अरू स्वर्गदूतहरूलाई उक्साउन पनि त्यो सफल भयो। ती स्वर्गदूतहरू प्रेतहरू हुन पुगे र शैतानसँगसँगै अपराधको भागीदार भए। मसीहीहरूलाई सल्लाह दिंदा बाइबलले तिनीहरूको विषयमा यसो भन्छ: “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा [होऊ] . . . किनकि हाम्रो यो लडन्त मानिसहरूको विरुद्धमा होइन तर . . . यस अन्धकारका सांसारिक शासकहरू र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।”—एफिसी ६:११, १२.

दुष्टात्माहरूको विरोध गर्नुहोस्‌

परमेश्‍वरको साँचो उपासनाबाट टाढा लगेर सबै मानवजातिलाई गलत मार्गमा लैजान संसारका अदृश्‍य दुष्ट शासकहरू दृढ संकल्पित छन्‌। यसो गर्न तिनीहरूले अपनाएको एउटा तरिका मृत्यु पश्‍चात्‌ पनि जीवन हुन्छ भन्‍ने शिक्षालाई फैलाउनु पनि हो। तर मृत व्यक्‍तिहरू अचेत अवस्थामा छन्‌ भनेर बाइबलले स्पष्टसँग देखाउँछ। (उत्पत्ति २:१७; ३:१९; इजकिएल १८:४; भजनसंग्रह १४६:३, ४; उपदेशक ९:५, १०) तसर्थ एकजना मृतक मानिसको आवाज नक्कल गर्दै दुष्टात्माले त्यसका नातेदारहरू वा मित्रहरूसँग कुरा गर्न सक्छ। यसो गर्न त्यसले या त आत्मा खेलाउनेहरूलाई चलाउँछ वा अदृश्‍य संसारबाट “आवाज” निकाल्छ। सुन्‍नमा त्यो “आवाज” मरिसकेको ती मानिसको जस्तै हुनसक्छ तर त्यो वास्तवमा प्रेतबाट आएको हो!

त्यसकारण यदि तपाईंले त्यसप्रकारका कुनै “आवाज” सुन्‍नु भयो भने भ्रममा नपर्नुहोस्‌। त्यसले जे सुकै भने तापनि त्यसलाई ध्यान नदिनुहोस्‌ र येशूका यी शब्दहरूलाई दोहोऱ्‍याउनुहोस्‌: “ए शैतान हटी जा!” (मत्ती ४:१०; याकूब ४:७) प्रेतलोकसँग सम्बन्धित कुराहरूप्रति जिज्ञासा बढाउँदै तपाईं दुष्टात्माहरूको फन्दामा नपर्नुहोस्‌। यस्ता काममा संलग्न हुनुलाई प्रेतवाद भनिन्छ र त्यससँग सम्बन्धित कुनै पनि कामहरूमा नलाग्न परमेश्‍वरले आफ्ना उपासकहरूलाई चेतावनी दिनुभएको छ। “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने, अथवा बिजुवा, झाँक्री” जस्ता कुराहरूको बाइबलले विरोध गर्छ।—व्यवस्था १८:१०-१२; गलाती ५:१९-२१; प्रकाश २१:८.

प्रेतवादले मानिसलाई प्रेतहरूको वशमा पार्दछ। यसकारण त्यससित सम्बन्धित क्रियाकलापहरू जति नै रमाइलो वा रोमाञ्चकारी देखिए तापनि, ती कुराहरूको विरोध गर्नुहोस्‌। काँचको गोलामा नियालेर हेर्ने, ओइजा बोर्ड, इएसपी अर्थात्‌ मानिसले साधारणतया बुझ्न सक्नेभन्दा बढी कुराहरू बुझ्ने क्षमता, हस्त-रेखा हेर्ने र ज्योतिष-विद्या जस्ता कुराहरू प्रेतवादसित सम्बन्धित छन्‌। आफूले अड्डा जमाएका घरहरूमा पनि प्रेतहरूले अनौठा आवाजहरू र तमासाहरू गर्छन्‌।

यसबाहेक दुष्टात्माहरूले मानिसहरूमा हुने पापी झुकावहरूको पनि फाइदा उठाउँछन्‌। यसो गर्न तिनीहरूले अनैतिक र अप्राकृतिक लैंगिक कामहरूले भरिएका साहित्यहरू, फिल्महरू र टेलिभिजनका कार्यक्रमहरूलाई प्रचार-प्रसार गर्छन्‌। यस्ता खराब विचारहरूलाई मनबाट नहटाएमा त्यसले अमेट प्रभावहरू पार्न सक्छ र यसले गर्दा मानिसहरूले पनि प्रेतहरूले झैं अनैतिक व्यवहार गर्न थाल्छन्‌ भनेर प्रेतहरूलाई राम्ररी थाहा छ।—उत्पत्ति ६:१, २; १ थिस्सलोनिकी ४:३-८; यहूदा ६.

हो, यो संसारलाई दुष्टात्माहरूले शासन गरिरहेको छ भन्‍ने कुरालाई धेरै मानिसहरूले ठट्टामा उडाउन सक्छन्‌। तर तिनीहरूले प्रकट गरेको अविश्‍वास कुनै छक्कलाग्दो कुरा होइन किनभने “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ” भनेर बाइबलले भन्छ। (२ कोरिन्थी ११:१४) वास्तवमा शैतान र शैतानका प्रेतहरूको अस्तित्व छैन भन्‍ने कुरामा धेरैलाई विश्‍वास गराउनु नै त्यसको सबैभन्दा धूर्त चाल साबित भएको छ। तर तपाईं भ्रममा नपर्नुहोस्‌! दियाबल र त्यसका प्रेतहरू वास्तविक हुन्‌ र तपाईंले निरन्तर तिनीहरूको विरोध गरिरहनु आवश्‍यक छ।—१ पत्रुस ५:८, ९.

खुसीको कुरा के हो भने, चाँडै नै शैतान र त्यसका सह-सेनाहरू हुने छैनन्‌! “संसार [प्रेत शासकहरू सहित] बितेर जान्छ तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” भनेर बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (१ यूहन्‍ना २:१७) त्यो दुष्ट प्रभावबाट छुटकारा पाउनु कस्तो आरामदायी हुनेछ! त्यसकारण आउनुहोस्‌, हामी परमेश्‍वरको इच्छा गर्ने र उहाँको धार्मिक नयाँ संसारमा अनन्त जीवनको आनन्द उठाउनेहरू मध्येका होऔं।—भजनसंग्रह ३७:९-११, २९; २ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्सेस्‌-बाट उद्धृत गरिएका हुन्‌।

[पृष्ठ ४-मा भएको चित्र]

यी सबै सरकारहरू शैतानको नहुँदो हो त के त्यसले येशूलाई ती सबै दिन्छु भन्‍न सक्थ्यो र?