“अन्तको दिन” वा “अन्तको समय”-को चिन्ह के हो?
बाइबलको जवाफ
“यस युगको आखिरी समय” वा “संसारको अन्त”-लाई चिनाउने थुप्रै घटना तथा अवस्थाबारे बाइबलमा बताइएको छ। (मत्ती २४:३; किङ जेम्स भर्सन) बाइबलमा यस समयावधिलाई “अन्तको दिन” र “अन्तको समय” भनेको छ। (२ तिमोथी ३:१; दानियल ८:१९ NRV) अन्तको दिन वा अन्तको समयबारे गरिएका भविष्यवाणीहरूको उल्लेखनीय पक्षहरू तल दिइएका छन्:
ठूलठूला युद्धहरू।—मत्ती २४:७; प्रकाश ६:४.
अनिकाल।—मत्ती २४:७; प्रकाश ६:५, ६.
ठूलठूला भूकम्प।—लूका २१:११.
महामारी वा “डरलाग्दा रोगहरू।”—लूका २१:११, कन्टेम्पररी इंग्लिश भर्सन।
दुष्टता बढ्ने।—मत्ती २४:१२.
मानिसहरूद्वारा पृथ्वीको विनाश।—प्रकाश ११:१८.
मानिसहरूको खराब मनोवृत्ति। जस्तै: “कृतघ्न, विश्वासघाती, . . . कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने।”—२ तिमोथी ३:१-४.
परिवारमा बेमेल, “स्वाभाविक स्नेह नभएका” मानिसहरू र “आमाबाबुको आज्ञा पालन नगर्ने” छोराछोरीहरू।—२ तिमोथी ३:२, ३.
परमेश्वरप्रति धेरै जनाको प्रेम सेलाएर जाने।—मत्ती २४:१२.
परमेश्वरको भक्ति गरेको ढोंग गर्ने।—२ तिमोथी ३:५.
बाइबलका भविष्यवाणीहरू अझ राम्ररी बुझ्नु, जसमा अन्तिम दिनसँग सम्बन्धित भविष्यवाणीहरू पनि पर्छन्।—दानियल १२:४.
विश्वभरि परमेश्वरको राज्यको सुसमाचार प्रचार।—मत्ती २४:१४.
अन्तको दिनको चिन्हलाई बेवास्ता र खिसी गर्ने।—मत्ती २४:३७-३९; २ पत्रुस ३:३, ४.
एउटा दुइटा मात्र होइन बाइबलको सबै भविष्यवाणीहरू एकसाथ पूरा हुनु।—मत्ती २४:३३.
के हामी “अन्तको दिन”-मा बाँचिरहेका छौं?
हो, हामी अन्तको दिनमा बाँचिरहेका छौं। संसारको अवस्था र बाइबल घटनाहरूको कालक्रमले देखाएअनुसार सन् १९१४ मा अन्तको दिन सुरु भयो। त्यतिबेलादेखि परमेश्वरको राज्यले स्वर्गमा शासन गर्न थाल्यो। त्यस राज्यले सैतान अर्थात् दियाबल र त्यसका दूतहरूलाई तल पृथ्वीमा फ्याँक्यो। फलस्वरूप तिनीहरूको गतिविधि यसै पृथ्वीमा सीमित भयो। (प्रकाश १२:७-१२) त्यसैले मानिसहरूको खराब मनोवृत्ति र गतिविधिमा सैतानको प्रभाव स्पष्ट झल्किन्छ। यसले गर्दा ‘अन्तको दिन असाध्यै कठिन’ भएको छ।—२ तिमोथी ३:१.