सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

टिभी समाचार—यसमा कत्तिको सत्यता हुन्छ?

टिभी समाचार—यसमा कत्तिको सत्यता हुन्छ?

टिभी समाचार—यसमा कत्तिको सत्यता हुन्छ?

संयुक्‍त राज्य अमेरिकाको ५२ वटा महानगरपालिकाका १०२ वटा स्थानीय टिभी स्टेसनहरूमा प्रसारण गरिने समाचारहरू विश्‍लेषण गर्दा ४१.३ प्रतिशत मात्र समाचारमूलक भएको कुरा मिडिया वच ग्रुपले पत्ता लगाए। बाँकी समाचार के हो त?

स्थानीय टिभी समाचार कार्यक्रमहरूमा सालाखाला ३०.४ प्रतिशत त विज्ञापनहरू मात्रै हुन्छन्‌। वास्तवमा, सर्वेक्षण गरिएको कुनै कुनै स्टेसनले समाचारलाई भन्दा विज्ञापनलाई धेरै समय दिन्थ्यो। यसबाहेक, समाचार प्रसारणमा प्रायजसो फ्लफ अर्थात्‌ बेकारका कुराहरू हुन्छन्‌ भनी उक्‍त अध्ययनको निचोडमा बताइयो। a “फ्लफ” शीर्षक अन्तर्गत यस्तो रिपोर्ट गरिएको थियो: “प्रसारण समयमा कार्यक्रमको अधिकांश समय प्रस्तोताहरूबीचको गफ, विज्ञापन, शीघ्र प्रसारण हुने कथाहरूको झलक, सनसनीपूर्ण समाचारहरू र प्रख्यात व्यक्‍तित्वहरूबारे टीकाटिप्पणी मात्र गरिन्छ।” त्यस्तै बेकारका फ्लफ समाचारहरूको केही उदाहरण: “पुरुषहरूमध्ये सबैभन्दा नराम्रो स्वरको प्रतियोगिता,” “एक जना पत्रकारको रोलर कोस्टरमा ‘भयानक, अविश्‍वसनीय, गजबको’ चढाइ” र “सुपरमार्केटमा धेरै मानिसहरूले स्याण्डवीच स्प्रेड किन्‍न थालेका छन्‌।”

कस्ता समाचारहरू प्रमुख समाचार हुन्छन्‌? अपराधका घटनाहरूले प्राथमिकता पाउँछन्‌, २६.९ प्रतिशत समाचार त अपराधिक गतिविधिबारे हुन्छ। “ ‘कतै रक्‍तपात भयो भने समाचारमा आइहाल्छ’ . . . संयुक्‍त राज्य अमेरिकाभरि अपराधको संख्या गत वर्षको तुलनामा कम भए होलान्‌ तर स्थानीय टिभी समाचारहरूमा यथावतै छन्‌।” किन? यस अध्ययनका लेखकहरूअनुसार “अपराधिक घटनाहरू नाटकीय हुन्छन्‌ र यसले मानिसको ध्यान खिंच्छ।”

अपराधिक घटनापछि विपत्तिहरू जस्तै: आगलागी, मोटर दुर्घटना, बाढी र विस्फोटन (१२.२ प्रतिशत समाचार) र खेलकुद समाचारहरू (११.४ प्रतिशत) हुन्छन्‌। त्यसपछि, स्वास्थ्य (१०.१ प्रतिशत), सरकार (८.७ प्रतिशत) र अर्थतन्त्रका (८.५ प्रतिशत) समाचार हुन्छन्‌। शिक्षा, वातावरण, कला र विज्ञापनजस्ता विषयहरूले कम महत्त्व पाउँछन्‌ (१.३ प्रतिशतदेखि ३.६ प्रतिशत)। अर्कोतर्फ, मौसम जानकारीले सबै समाचारहरूमा सरदर १० प्रतिशत समय पाएको हुन्छ। “सबैलाई मौसमबारे कुरा गर्न मन लाग्छ र टिभी समाचारमा पनि यसको कुनै कमी पाउँदैनौं” भनी अनुसन्धानकर्ताहरू टिप्पणी गर्छन्‌। तिनीहरू अझ यसो भन्छन्‌: “राम्रो नराम्रो, गर्मी जाडो, घाम पानी, जस्तोसुकै मौसम भए तापनि टिभीमा विस्तृत समाचार दिइन्छ।”

एउटा सकारात्मक कुरा के छ भने, पत्रकार तथा दर्शकहरूको बढ्‌दो संख्याले समाचार प्रणालीमा परिवर्तनको आवश्‍यकता देखेका छन्‌। तथापि, अध्ययनले त्यस्तो परिवर्तन सजिलै हुन सक्दैन भनेर स्वीकार्छ किनभने “अर्थव्यवस्था र लोभले उन्‍नत पत्रकारितामा” सदैव बाधा पुऱ्‍याउँछ।

[फुटनोट]

a नट इन द पब्लिक इन्टरेस्ट—लोकल टिभी न्युज इन अमेरिका नामक रिपोर्ट समाचारका विषयवस्तु केलाउने चौथो वार्षिक सर्वेक्षण हो। यो रक्की माउन्टेन मिडिया वचका डा. पल क्लाइट, डा. रबर्ट ए. बार्डवेल र जेसन साल्जमानद्वारा संकलित हो।