सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन”

“लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन”

“लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन”

डब्ल्यु . ग्लेन हाउको वृत्तान्तमा आधारित

विगत छ दशकको दौडान यहोवाका साक्षीहरूले क्यानाडामा थुप्रै मुद्दा लडेका छन्‌। कानुनजगत्‌ले तिनीहरूको विजयलाई मान्यता दिएका छन्‌। ती मुद्दाहरूमध्ये केहीमा मैले निर्वाह गरेको भूमिकाको निम्ति हालै अमेरिकन कलेज अफ ट्रायल लयर्सले मलाई अवर्ड फर करेजियस एड्‌भोकेसी पुरस्कार प्रदान गऱ्‍यो। पुरस्कार वितरण समारोहमा भनिएको थियो, यहोवाका साक्षीहरूसँग सम्बन्धित मुद्दाहरू “राज्यको अत्याचार विरुद्ध महत्त्वपूर्ण खुड्‌किला हो . . . किनभने तिनीहरूले कानुनी तवरमै मानव अधिकार विधेयकको सहारा लिएका छन्‌ र यसले क्यानाडाको प्रत्येक व्यक्‍तिको स्वतन्त्रता सुरक्षित र सुनिश्‍चित गर्छ।” म कसरी यहोवाका साक्षीहरूसित सम्बन्धित कानुनमा संलग्न हुन पुगें, तपाईंहरूलाई बताउन चाहन्छु।

सन्‌ १९२४ को कुरा हो, त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनिने यहोवाका साक्षी जर्ज रिक्सले मेरा आमाबाबुलाई क्यानाडाको टोरोन्टोमा भेट्‌नुभयो। सानो कद भएकी मेरी आमा बेस्सी हाउले उहाँलाई छलफलको निम्ति भित्र बोलाउनुभयो। त्यतिबेला म पाँच र मेरो भाइ जो तीन वर्षको थियो।

आमाले चाँडै टोरोन्टोमा बाइबल स्टुडेन्ट्‌सका सभाहरू धाउन थाल्नुभयो। सन्‌ १९२९ मा उहाँ अग्रगामी अथवा पूर्ण-समय सेवक हुनुभयो र १९६९ मा उहाँको पार्थिव जीनवको अन्त नहोउञ्जेल यसै काममा लागिरहनुभयो। उहाँको कटिबद्धता, अथक सेवकाई हाम्रोनिम्ति असल नमुना साबित भयो र अन्य थुप्रैलाई बाइबलको सत्य ज्ञान हासिल गर्न मदत गऱ्‍यो।

मेरो बुबा फ्रान्क हाउ धेरै कुरा नगर्ने स्वभावको हुनुहुन्थ्यो र उहाँले सुरुमा आमाको धार्मिक गतिविधिको विरोध गर्नुभयो। तथापि, आमाले बुद्धिमानीपूर्वक जर्ज यंगजस्ता परिभ्रमण निरीक्षकहरूलाई बुबासित कुरा गर्न घरमा बोलाउनुहुन्थ्यो। समय बित्दै जाँदा बुबाको विरोध कम भयो। बाइबल सत्यले परिवारमा पारेका लाभदायक असरहरू देखेपछि बुबा आफू यहोवाका साक्षी नहुनु भए तापनि परिवारको एकदमै राम्रोसँग लालनपालन गर्नुभयो।

परमेश्‍वरलाई सेवा गर्ने निर्णय

सन्‌ १९३६ मा मेरो स्कूलको पढाइ सिद्धियो। किशोर छँदा आध्यात्मिक कुराहरूमा मलाई त्यति चासो थिएन। महामन्दीको समय भएकोले जागिर पाउन एकदमै गाह्रो थियो। त्यसैले म टोरोन्टो विश्‍वविद्यालयमा भर्ना भएँ। सन्‌ १९४० मा मैले कानुन विषय पढ्‌ने निर्णय गरें। मेरो यस निर्णयबाट आमा छक्क पर्नुभएन। म सानो छँदा उहाँ रिसको झोंकमा अक्सर यसो भन्‍ने गर्नुहुन्थ्यो: “यो बदमास जे कुरामा पनि सवालजवाफ गर्छ! यो त पक्कै वकिल नै हुन्छ होला!”

जुलाई ४, १९४० मा मैले कानुन पढ्‌न थाल्नुभन्दा केही समयअघि क्यानाडा सरकारले यहोवाका साक्षीहरूमाथि कुनै पूर्वसूचनाबिनै प्रतिबन्ध लगायो। यसपछि मेरो जीवनले अर्कै मोड लियो। जब सरकारले आफ्नो पूरा शक्‍तिले त्यस सानो, निर्दोष तथा नम्र व्यक्‍तिहरूको समूहलाई तारो बनायो तब मलाई यहोवाका साक्षीहरू नै येशूका साँचो अनुयायीहरू हुन्‌ भनेर पक्का भयो। येशूले भविष्यवाणी गर्नुभएझैं “[उहाँको] नाउँको खातिर सबै जातिमध्ये [तिनीहरू] घृणित” भए। (मत्ती २४:९) यस संगठन सञ्चालन गर्नुहुने ईश्‍वरीय शक्‍तिको सेवा गर्ने मैले निर्णय गरें। फेब्रुअरी १०, १९४१ मा मैले पानीको बप्तिस्माद्वारा यहोवा परमेश्‍वरप्रति आफ्नो समर्पण व्यक्‍त गरें।

म लगत्तै अग्रगामी कार्यमा लाग्न चाहन्थें। तथापि, त्यतिबेला क्यानाडाको प्रचार कार्यमा नेतृत्व लिइरहेका ज्याक नेथनले मलाई कानुन विषयमा मेरो पढाइ सिध्याउन प्रोत्साहन दिनुभयो। मैले त्यसै गरें र मे १९४३ मा स्नातक भएपछि अग्रगामी गर्न थालें। अगस्तमा मलाई वाच टावर सोसाइटीको टोरोन्टोस्थित शाखा कार्यालयमा काम गर्न बोलाइयो र यहोवाका साक्षीहरूले सामना गरिरहेका कानुनी समस्याहरूमा सहयोग गर्न थालें। त्यसको अर्को महिना मलाई क्यानाडाको ओन्टारियोको बार एसोसिएसनमा सदस्यता दिइयो।

कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने

दोस्रो विश्‍वयुद्ध चर्किरहेको थियो र क्यानाडामा साक्षीहरूमाथि अझै प्रतिबन्ध लगाइएको थियो। यहोवाका साक्षी भएको कारणले मात्रै थुप्रै पुरुष तथा स्त्रीहरू पक्राउमा परिरहेका थिए। केटाकेटीलाई स्कूलबाट निकालिरहेका थिए र अझ कतिलाई त बालगृहहरूमा पठाइयो। कारण? तिनीहरूले झण्डा सलामी वा राष्ट्रिय गान गाउनेजस्ता देशभक्‍ति झल्काउने कामहरू गर्न मानेनन्‌। स्टेट एण्ड साल्भेसन: द जेहोभाज्‌ विट्‌नेसेज एण्ड देर फाइट फर सिभिल राइट्‌स नामक पुस्तकका लेखेक प्राध्यापक विलियम काप्लानले यसो भने: “साक्षीहरूको सार्वजनिक रूपमा निन्दा गरियो अनि असहिष्णु सरकार र युद्धको कारण राष्ट्रभक्‍तिको डम्फू बजाउने वैरभावी नागरिकहरूका साथै राज्यको आक्रमण खप्नुपऱ्‍यो।”

साक्षीहरूले प्रतिबन्ध हटाउने प्रयास त गरिरहेका थिए तर सफल हुन भने सकिरहेका थिएनन्‌। अकस्मात्‌ अक्टोबर १४, १९४३ मा प्रतिबन्ध हटाइयो। तैपनि, साक्षीहरू अझै झ्यालखाना तथा श्रम शिविरहरूमै थिए, केटाकेटीले सरकारी स्कूलमा भर्ना पाउँदैनथे र वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी र टोरोन्टोमा जग्गाधनी संस्था, इन्टरनेसनल बाइबल स्टुडेन्ट्‌स एसोसिएसनमाथि अझै प्रतिबन्ध लगाइएको थियो।

सन्‌ १९४३ को अन्ततिर क्यानाडाका शाखा निरीक्षक पर्सी च्यापम्यान र म, वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष नेथन नोर र सोसाइटीका उपाध्यक्ष तथा कानुनी सल्लाहकार हेडन कभिंगटनलाई भेट्‌न न्यु योर्क गयौं। भाइ कभिंगटन कानुन क्षेत्रमा निकै अनुभवी हुनुहुन्थ्यो। उहाँले संयुक्‍त राज्य अमेरिकाको सर्वोच्च अदालतमा जम्मा ४५ अपिलहरूमध्ये ३६ वटा जित्नुभयो।

क्यानाडाका साक्षीहरूको दुःख बिस्तार बिस्तारै कम हुन थाल्यो। सन्‌ १९४४ मा टोरोन्टो शाखा कार्यालयको जग्गा अनि घर फिर्ता दिइयो र प्रतिबन्ध अघि त्यहाँ काम गरिरहेकाहरू फेरि फर्कन पाए। सन्‌ १९४५ मा ओन्टारियोको उच्च अदालतले केटाकेटीको विश्‍वास विपरीत कुनै गतिविधिमा भाग लिन जबरजस्ती गर्न पाइँदैन भनेर आदेश पारित गऱ्‍यो। स्कूलबाट निकालिएका छात्रछात्राहरूलाई फेरि भर्ना लिन आदेश दिइयो। सन्‌ १९४६ मा बल्ल क्यानाडा सरकारले सबै साक्षीहरूलाई श्रम शिविरहरूबाट मुक्‍त गऱ्‍यो। भाइ कभिंगटनको निर्देशन अनि यहोवामाथि भरोसा राख्दै मैले यस्ता मुद्दाहरू साहस र कटिबद्धतासाथ लड्‌न सिकें।

क्युबेकको मुद्दा

क्यानाडाका प्रायजसो भागमा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध हटाइए तापनि एउटा ठाउँ अर्थात्‌ फ्रान्सेली क्याथोलिकहरूको बाहुल्य भएको क्युबेकमा भने अझै समस्या यथावतै थियो। यो प्रान्त ३०० वर्षभन्दा लामो समयदेखि रोमन क्याथोलिक चर्चको अधीनमा थियो। स्कूल, अस्पताल र थुप्रै सार्वजनिक सेवाहरू या त पादरीहरूले सञ्चालन गर्थे वा तिनीहरूकै नियन्त्रणमा हुन्थ्यो। क्युबेक विधानसभामा सभामुखसँगै क्याथोलिक कार्डिनलको निम्ति अलग्गै सिंहासनसमेत राखिएको हुन्थ्यो!

क्युबेकको प्रधानमन्त्री तथा महान्यायधिवक्‍ता मोरिस डुप्लेसिस तानाशाही थिए। क्युबेकका इतिहासकार जेराड पेलिटियरका अनुसार तिनको “बीस वर्ष लामो शासनमा झूट, अन्याय, भ्रष्टाचार, शक्‍तिको दुरुपयोग, संकुचित विचारधाराको प्रभुत्व र मूर्खताको विजय भयो।” डुप्लेसिसले रोमन क्याथोलिक कार्डिनल भिलेनभसँग हात मिलाएर आफ्नो स्थान झनै बलियो बनाए।

सन्‌ १९४० दशकको सुरुतिर क्युबेकमा ३०० साक्षीहरू थिए। मेरो भाइ जो र अरू थुप्रै अग्रगामीहरू क्यानाडाको अन्य भागबाट आएका थिए। क्युबेकमा प्रचारकार्यसम्बन्धी गतिविधि बढ्‌दै जाँदा पादरीको दबाउमा स्थानीय प्रहरीले साक्षीहरूलाई पटक पटक गिरफ्तार गरेर सताउन थाले र व्यवसायिक उपनियमहरू हाम्रो धार्मिक गतिविधिमा गलत ढंगमा लागू गरियो।

म टोरोन्टो र क्युबेक तारन्तार ओहरदोहर गरिरहनुपर्थ्यो, त्यसैले मलाई पछि क्युबेकमै बसेर हाम्रा मसीही भाइबहिनीहरूको पक्षमा वकालत गर्ने गैरसाक्षी वकिलहरूलाई सघाउन अह्राइयो। दिनदिनै मैले अघिल्लो दिन कति जना साक्षीहरू पक्राउमा परेका रहेछन्‌ भनी पत्ता लगाएर स्थानीय अदालतमा जमानतको प्रबन्ध मिलाउनुपर्थ्यो। खुसीको कुरा एक धनी साक्षी फ्रान्क रनकारेलीले धेरै चोटि जमानतको निम्ति पैसा दिए।

सन्‌ १९४४ देखि १९४६ सम्ममा उपनियम उल्लंघन गरेको अभियोगमा पक्राउ पर्नेहरूको संख्या ४० बाट ८०० पुग्यो! जन अधिकारीहरूले साक्षीहरूलाई पक्रेर हैरान गरिरहेका मात्र थिएन तर क्याथोलिक पादरीहरूद्वारा उक्साइएको विद्रोही हूलहरूले आक्रमणसमेत गरिरहेका थिए।

नोभेम्बर २ र ३, १९४६ मा यस समस्याबारे जाँचबुझ गर्न मोन्ट्रियलमा विशेष सभा आयोजना गरियो। भाइ नोरले दिनुभएको अन्तिम भाषणको विषय यस्तो थियो, “अब हामीले के गर्ने?” उपस्थित सबै उहाँको जवाफ सुनेर खुसी भए। उहाँले क्युबेकस्‌ बर्निङ हेट फर गड एण्ड क्राइस्ट एण्ड फ्रिडम इज द शेम अफ अल क्यानाडा पढेर सुनाउनुभयो र यो अब ऐतिहासिक कागजात भएको छ। यो उत्साहवर्धक चार पृष्ठे पर्चा थियो। यसमा पादरीहरूद्वारा उक्साएको हूलदंगाको नाउँ, तारिख र ठाउँ, यहोवाका साक्षीहरू विरुद्ध प्रहरी अत्याचार, पक्राउ र क्युबेकमा हिंस्रक हूलहरूले गरेको आक्रमण सबै पर्दाफास गरिएको थियो। यसको १२ दिनपछि क्यानाडाभरि यो पर्चा वितरण गर्न थालियो।

केही दिनमै डुप्लेसिसले यहोवाका साक्षीहरू विरुद्ध “भीषण आक्रमण” गर्ने आमघोषणा गऱ्‍यो। तर अनजानमा तिनले हाम्रो पक्षमा काम गरे। कसरी? क्युबेकस्‌ बर्निङ हेट वितरण गर्ने जोसुकै भए पनि त्यसलाई देशद्रोहको अभियोगमा पक्रने आदेश दिइएका थियो र यो गम्भीर अपराध ठहर गराई यस्ता मुद्दाहरू क्युबेकको अदालतले क्यानाडाको सर्वोच्च अदालतसमक्ष प्रस्तुत गर्थ्यो। रिसको झोंकमा डुप्लेसिसले यस्ता नतिजाहरूको वास्तै गरेनन्‌। त्यसपछि, तिनी आफैले हाम्रो जमानत दिने मुख्य स्रोत फ्रान्क रनकारेलीको रक्सी बेच्ने अनुमति रद्द गर्ने आदेश दिए। रक्सी उपलब्ध नभएपछि भाइ रनकारेलीको मोन्ट्रियलको राम्ररी चलिरहेको रेष्टुराँ केही महिनाभित्रै बन्द भयो र आर्थिक तवरमा तिनी खत्तम भए।

झन्‌ धेरै पक्राउ हुन थाल्यो। आठ सय होइन, अब पक्राउ पर्नेहरूको संख्या १,६०० पुग्यो। थुप्रै वकिल तथा न्यायाधीशहरूले यहोवाका साक्षीहरूको मुद्दाले गर्दा क्युबेक अदालतमा काम रोकियो भनेर उजुर गरे। यसको प्रतिउत्तरमा हामीले एउटा सजिलो उपाय बतायौं: प्रहरीले मसीहीहरूको सट्टा अपराधीहरूलाई पक्रोस्‌। अनि समस्याको हल भइहाल्छ!

मोन्ट्रियलका ए. एल. स्टाइन र क्युबेकका साम एस. बार्ड नाउँ गरेका दुई साहसिला यहूदी वकिलहरूले विशेष गरी मलाई १९४९ मा क्युबेकको बार एसोसिएसनमा भर्ना नलिउञ्जेल हाम्रोलागि मुद्दाहरू लडे। पछि क्यानाडाका प्रधानमन्त्री भएका पियर इलियट ट्रडियले क्युबेकमा यहोवाका साक्षीहरू “हाम्रो सम्पूर्ण समाजको गिल्लाको पात्र हुनुका साथै तिनीहरूलाई सतावट र घृणा गरिएको छ तर तिनीहरू कानुनमार्फत चर्च, सरकार, राष्ट्र, प्रहरी र सार्वजनिक विचारधारासित लड्‌न सफल भए” भनी लेखे।

क्युबेक अदालतको मनोवृत्ति मेरो भाइ जोलाई गरेको व्यवहारबाट स्पष्ट भयो। तिनीमाथि शान्ति भंग गरेको अभियोग लगाइएको थियो। न्यायाधीश झाँ मर्सियाले जोलाई ६० दिन जेलको अधिकतम सजाय दिए। अनि रिस वशमा राख्न नसकेर, आफूले सक्ने भए जोलाई प्राणदण्ड दिनेछु भनेर आफ्नो न्यायासनबाट कराए!

एउटा अखबारअनुसार मर्सियाले क्युबेक प्रहरीलाई “साक्षीहरू वा कोही साक्षी भएको शंका मात्र लागे पनि पक्रिहाल्ने” आदेश दिए। त्यस्तो आचरणले क्युबेकस्‌ बर्निङ हेट-मा उल्लेख गरिएका अभियोगहरू साँचो साबित भयो। क्यानाडाका अन्य ठाउँहरूमा प्रकाशित अखबारहरूको केही शीर्षकहरू यसप्रकार थिए: “क्युबेकमा पुनः अन्धकार युग” (द टोरोन्टो स्टार), “फेरि धार्मिक युद्ध” (द ग्लोब एण्ड मेल, टोरोन्टो), “फ्यासिज्मको दुर्गन्ध” (द ग्याजेट, ग्लेस बे, नोभा स्कटिया)।

देशद्रोह अभियोगको विरुद्ध लड्‌दै

सन्‌ १९४७ मा मैले देशद्रोह विरुद्ध श्री स्टाइनलाई सघाएको पहिलो मुद्दा, एमा बाउचरको थियो। एमाले आफ्नो छरछिमेकमा केही पर्चाहरू वितरण गरेका थिए। एमाको मुद्दामा हामीले क्युबेकस्‌ बर्निङ हेट-मा कुनै झूटा कुराहरू छैनन्‌ तर यहोवाका साक्षीहरू विरुद्ध भइरहेको अत्याचार विरुद्ध कडा शब्दहरू मात्र चलाइएका छन्‌ भनेर प्रमाणित गऱ्‍यौं। हामीले यस्ता अत्याचार गर्ने मानिसहरू विरुद्ध कहिल्यै कुनै अभियोग नलगाइएको बतायौं। एमाले केवल त्यो प्रचारप्रसार गरेको कारण दोषी ठहऱ्‍याइएको थियो। सरकारी पक्षको निश्‍कर्ष त यस्तो भयो: सत्य बोल्नु अपराध हो!

क्युबेकका अदालतहरूले “देशद्रोह”-बारे ३५० वर्ष पुरानो अस्पष्ट परिभाषालाई आफ्नो आधार बनाएका थिए। यसअनुसार सरकारको आलोचना गर्ने कसैमाथि पनि अपराधको अभियोग लाग्नसक्थ्यो। आफ्नो शासन विरुद्ध आलोचना दमन गर्न डुप्लेसिसले पनि यही व्याख्याको सहारा लियो। तर १९५० मा क्यानाडाको सर्वोच्च अदालतले आधुनिक प्रजातन्त्रमा “देशद्रोह” हुन सरकार विरुद्ध हिंस्रक विद्रोह हुनुपर्छ भन्‍ने हाम्रो पेसी स्वीकाऱ्‍यो। क्युबेकस्‌ बर्निङ हेट-मा त्यस्तो केही गर्न उक्साइएको थिएन। अतः कानुनअनुसार वाक स्वतन्त्रता मात्र प्रयोग गरिएको थियो। यस उल्लेखनीय निर्णयले गर्दा देशद्रोहसम्बन्धी १२३ वटै मुद्दाहरू सामसुम भए! यहोवाले कसरी विजय दिनुहुन्छ भनेर मैले आफ्नै आँखाले देखें।

सेन्सर विरुद्ध मुद्दा

क्युबेक शहरको एउटा उपनियमले प्रहरी महानिरीक्षकको अनुमतिबिनै साहित्यहरू वितरण गर्न नपाउने प्रतिबन्ध लगाएको थियो। यस सेन्सरले धार्मिक स्वतन्त्रताको अधिकार हनन गऱ्‍यो। त्यतिबेला परिभ्रमण निरीक्षकको रूपमा सेवारत लोर्या सामर यसै उपनियमको आधारमा तीन महिना जेलमा परेका थिए र तिनीमाथि अन्य अभियोगहरू पनि लगाइएको थियो।

सन्‌ १९४७ मा भाइ सामरको नाउँमा क्युबेक शहर विरुद्ध यहोवाका साक्षीहरू विरुद्ध उपनियम लागू नगर्न निजामति मुद्दा दायर गरियो। तर क्युबेक अदालतले हाम्रो विरुद्ध निर्णय गऱ्‍यो र हामीले फेरि क्यानाडाको सर्वोच्च अदालतमा अपिल गऱ्‍यौं। त्यस अदालतका सबै नौ न्यायाधीशहरूसामु सात दिनसम्म सुनुवाइ भएपछि अक्टोबर १९५३ मा बल्ल हाम्रो पेसी स्वीकार गरियो। अदालतले बाइबल शिक्षासम्बन्धित पत्रिका वितरण गर्नु यहोवाका साक्षीहरूको मसीही उपासनाको आधारभूत भाग हो र त्यसलाई संविधानले पनि अनुमति दिएकोले सेन्सर गर्न मिल्दैन भनेर मानि लियो।

तसर्थ, बाउचर मुद्दाले यहोवाका साक्षीहरूले भनिरहेका कुरा कानुनी हो भनेर निर्णय गऱ्‍यो भने सामर-को निर्णयले चाहिं यो कहाँकसरी भन्‍न सकिन्छ भनेर तय गऱ्‍यो। सामर मुद्दाको विजयले क्युबेकमा अन्य १,१०० उपनियम अभियोगहरू खारेज गरियो। मोन्ट्रियलमा पनि ५०० भन्दा बढी अभियोगहरू अपर्याप्त प्रमाणको कारण रद्द गरियो। चाँडै सबै मुद्दाहरू खारेज भए र अब क्युबेकमा मुद्दाको कचिंगल केही रहेन!

डुप्लेसिसको अन्तिम आक्रमण

यहोवाका साक्षीहरू विरुद्ध चलाउने कुनै नियम नभएपछि १९५४ जनवरी महिनाको सुरुतिर डुप्लेसिसले विधानसभामा नयाँ विधेयक न. ३८ निकाले। यस विधेयकलाई आमसञ्चार माध्यमले ‘यहोवाका साक्षीहरू विरुद्ध नियम’ भन्‍ने गर्थे। यस विधेयक अन्तर्गत कुनै व्यक्‍तिले “दुर्वचन वा अपमानजनक” वक्‍तव्य बोल्न लागेको शंका मात्र लागेमा पनि कुनै प्रमाणबिना उजुर गर्न सकिन्थ्यो। अनि डुप्लेसिसले महान्यायाधिवक्‍ताको हैसियतमा अभियुक्‍तलाई कुनै सार्वजनिक वक्‍तव्य दिन निषेध गर्ने पेसी दिनसक्थ्यो। कसैको विरुद्धमा यस्तो पेसी गरेपछि, त्यस व्यक्‍तिको चर्चका सबै सदस्यलाई पनि बोल्न मनाही गरिन्थ्यो। यसबाहेक, त्यस चर्चको बाइबल साथै सबै साहित्यहरू जफत गरेर नाश गरिन्थ्यो र मुद्दा छिनफान नभएसम्म उपासना थलोहरू तालाबन्दी गरिन्थ्यो। अनि यस्तो मुद्दा छिनफान हुन वर्षौं पनि लाग्न सक्थ्यो।

विधेयक न. ३८, १५ औं शताब्दीमा टर्कमेडाको स्पेनी इनक्विजिसनको नियमजस्तै थियो। अभियुक्‍त र तिनका सबै सँगीहरूले गल्ती गरेको प्रमाण नभेटे तापनि तिनीहरूको सबै नागरिक अधिकार खोसिन्थ्यो। विधेयक न. ३८ को सन्दर्भमा प्रेसले प्रान्तीय प्रहरीलाई यहोवाका साक्षीहरूको सबै राज्यभवन बन्द गर्न र तिनीहरूको बाइबल तथा अन्य साहित्यहरू जफत गरेर नाश गर्न निर्देशन दिएको घोषणा गऱ्‍यो। यस्तो जोखिमपूर्ण खतराको कारण यहोवाका साक्षीहरूले आफ्ना सबै धार्मिक प्रकाशनहरू त्यस प्रान्तबाट अन्यत्र सारे। तथापि, तिनीहरूसित प्रचार गर्न बाइबल मात्र भए तापनि तिनीहरूले घरघर प्रचार गर्न छाडेनन्‌।

यो विधेयक जनवरी २८, १९५४ मा कानुन भयो। डुप्लेसिसले यो नियम लागू गर्नुभन्दा अघि क्युबेकका सबै यहोवाका साक्षीहरूको खातिर यस नियमलाई रोक्न जनवरी २९ का दिन म बिहान ९ बजे नै अदालत पुगिसकेको थिएँ। न्यायाधीशले अस्थायी पेसी मञ्जुर गरेनन्‌ किनभने विधेयक न. ३८ लागू भइसकेको थिएन। तर यदि सरकारले लागू गर्न खोज्यो भने सुरक्षाको निम्ति तिनीकहाँ आउनु भने। तसर्थ, त्यो अस्थायी पेसी जत्तिकै भयो किनभने डुप्लेसिसले त्यो कानुन लागू गर्ने कोसिस मात्र गर्दा पनि तिनलाई रोकिने थियो!

अर्को हप्ता हामीले प्रहरीले यस नयाँ नियमअनुसार केही कारबाही गर्ला कि नगर्ला भनेर पर्ख्यौं। तर केही भएन! यसको कारण पत्ता लगाउन मैले एउटा परीक्षा गरें। दुई जना अग्रगामी भिक्टोरिया डुग्लुक (पछि स्टिल) र हेलेन डुग्लुकलाई (पछि सिमकक्स) डुप्लेसिसको इलाका, ट्रोइन-रिभेयरेमा साहित्यहरू लिएर घरघर प्रचार गर्न पठायौं। फेरि केही भएन। यी बहिनीहरू प्रचारकार्यमा व्यस्त थिए र मैले लोर्यो सामरलाई प्रान्तीय प्रहरीकहाँ फोन गर्न लगाएँ। आफ्नो परिचय नदिई तिनले यहोवाका साक्षीहरूले प्रचार गरिरहेका छन्‌ र प्रहरीले डुप्लेसिसको नयाँ कानुन लागू गरिरहेको छैन भनेर उजुर गरे।

अप्ठ्यारो मान्दै ड्युटिमा भएका प्रहरीले यसो भने: “हो, हामीलाई यो नियम पारित भएको छ भनेर थाह छ। तर यो नियम पारित भएको भोलिपल्ट नै यहोवाका साक्षीहरूले हामी विरुद्ध राखेको पेसी मन्जुर भयो, त्यसकारण हामी केही गर्न सक्दैनौं।” तुरुन्तै हामीले यस प्रान्तमा साहित्यहरू ल्यायौं र मुद्दा छिन्‍न लागेको दस वर्षसम्म हाम्रो प्रचारकार्यमा कुनै अवरोध खडा भएन।

यस पेसीबाहेक, हामीले विधेयक न. ३८ असंवैधानिक घोषणा गर्ने निर्णय गऱ्‍यौं। यस नियमले यहोवाका साक्षीहरूलाई मात्र तारो बनाएको थियो भनेर प्रमाणित गर्न हामीले एउटा साहसिलो कदम चाल्ने निर्णय गऱ्‍यौं। हामीले डुप्लेसिसलाई नै अदालतमा बयान दिन हाजिर हुन पूर्जी पठायौं। मैले तिनलाई साढे दुई घण्टासम्म केरकार गरें। मैले तिनलाई बारम्बार “यहोवाका साक्षीहरू विरुद्ध भीषण आक्रमण” भनेर सार्वजनिक घोषणा गरेको र विधेयक न. ३८ ले क्युबेकमा यहोवाका साक्षीहरूको नामोनिसान मेटाउनेछ भन्‍ने तिनको वक्‍तव्यबारे सोधें। रिसले चूर हुँदै तिनले मलाई व्यक्‍तिगत रूपमा आक्रमण गर्दै यसो भने: “तिमी असाध्यै अशिष्ट रहेछौ!”

मैले उत्तरमा यसो भने: “श्रीमान्‌ डुप्लेसिस, व्यक्‍तित्वबारे कुरा गर्ने हो भने, म पनि तपाईंबारे केही टिप्पणी गर्नसक्छु। तर हाम्रो काम अर्कै भएकोले कृपया अदालतलाई मेरो प्रश्‍नको जवाफ नदिनुको कारण के हो बताउनुहुन्छ कि?”

सन्‌ १९६४ मा मैले विधेयक न. ३८ विरुद्ध क्यानाडाको सर्वोच्च अदालतमा बहस गरें। तर तिनीहरूले यस विधेयक असंवैधानिक भनेर घोषणा गर्न अस्वीकार गरे किनभने यो कानुन लागू नै भएन। तथापि, त्यतिबेलासम्म डुप्लेसिसको मृत्यु भइसकेको थियो र कसैलाई पनि विधेयक न. ३८ को मतलब थिएन। यो यहोवाका साक्षीहरू वा अरू कसैको विरुद्ध कहिल्यै लागू भएन।

डुप्लेसिसको मृत्यु हुनुभन्दा केही समयअघि १९५९ मा क्यानाडाको सर्वोच्च अदालतले तिनलाई भाइ रनकारेलीको रक्सी बेच्ने अनुमति गैरकानुनी ढंगमा खारेज गरेको कारण त्यसको क्षतिपूर्ति गर्ने आदेश दियो। त्यतिबेलादेखि क्युबेकका अधिकांश मानिसहरू मित्रैलो हुन थालेका थिए। सरकारी तथ्यांकअनुसार साक्षीहरूको संख्या त्यहाँ १९४३ मा ३०० थियो भने अहिले ३३,००० भन्दा बढी छन्‌। अहिले यहोवाका साक्षीहरू त्यस प्रान्तको चौथो सबैभन्दा ठूलो धार्मिक समूह भएका छन्‌। यहोवाका साक्षीहरूका यी कानुनी विजयहरू वा सेवकाईमा पाएको सफलतालाई म कुनै मानव उपलब्धि ठान्दिनँ। बरु, यहोवाले विजय दिनुहुन्छ भनेर प्रमाणित भएको छ किनभने लडाइँ परमप्रभुको हातमा छ, हाम्रो हातमा होइन।—२ इतिहास २०:१५.

परिस्थितिमा परिवर्तन

मैले १९५४ मा इंगल्याण्डकी राम्री अग्रगामी, मार्गेट बिगेलसित बिहे गरें र हामी सँगै अग्रगामी गर्न थाल्यौं। मैले यहोवाका साक्षीहरूको निम्ति क्यानाडा र संयुक्‍त राज्य दुवैमा मुद्दाहरू पनि लडिरहें र युरोप तथा अस्ट्रेलियामा केही मुद्दाहरूमा सल्लाहकारको रूपमा सेवा गरें। मार्गेट मेरो सक्रेटरी भइन्‌ र निकै वर्षसम्म अमूल्य सहयोग प्रदान गरिन्‌। सन्‌ १९८४ मा मार्गेट र म क्यानाडा शाखा कार्यालय फर्क्यौं र त्यहाँ कानुन विभाग स्थापना गर्न मदत गऱ्‍यौं। दुःखको कुरा, १९८७ मा मार्गेटको क्यान्सरको कारण मृत्यु भयो।

सन्‌ १९६९ मा मेरी आमाको मृत्युपछि वाचटावर बाइबल स्कूल अफ गिलियडको नवौं कक्षामा मिसनरीको रूपमा प्रशिक्षण पाएका मेरो भाइ जो र बुहारी एल्सीले बुबाको मृत्यु नहोञ्जेल १६ वर्षसम्म उहाँको देखभाल गरे। उनीहरूको यस्तो आत्मत्यागी मनोभावको कारण मैले पूर्ण-समय सेवकको रूपमा सेवा गरिरहन पाएँ र यसको लागि म सदैव आभारी रहनेछु।

थप मुद्दाहरू

वर्षौंको दौडान यहोवाका साक्षीहरूको मुद्दाको प्रकार फरक भएका छन्‌। थुप्रै मुद्दाहरू जग्गा प्राप्त गर्ने र राज्यभवन तथा सम्मेलन भवनहरू बनाउन अनुमति प्राप्त गर्ने जस्ता छन्‌। अरूचाहिं गैरसाक्षी आमाबाबुले धर्मको कारण बच्चाको जिम्मा लिने वा साक्षी आमा या बुबाले बच्चालाई आफ्नो विश्‍वास र चलनबारे बताउन नपाउने प्रतिबन्ध विरुद्ध मुद्दाहरू छन्‌।

सन्‌ १९८९ मा अमेरिकी वकिल लिन्डा म्यानिङ क्यानाडा शाखा कार्यालयमा केही समयको लागि कानुनी मदत दिन आएकी थिइन्‌। त्यही सालको नोभेम्बर महिनामा हामीले बिहे गऱ्‍यौं र त्यसबेलादेखि हामीसँगै खुसीसाथ सेवा गर्दैछौं।

सन्‌ १९९० को दशकमा क्यानाडा शाखा कार्यालयका सँगी वकिल जोन बर्न्स र म जापानमा थियौं। त्यहाँ हामीले मार्शल आर्टमा भाग लिनैपर्ने स्कूलको नियम विरुद्ध मुद्दा लड्‌न हाम्रा मसीही भाइहरूलाई मदत गऱ्‍यौं। वयस्क व्यक्‍तिले रक्‍तक्षेपण गर्न इन्कार गर्नसक्ने अधिकारसम्बन्धी मुद्दा पनि जित्यौं।

अनि १९९५ र १९९६ मा लिन्डा र मैले सिंगापुरमा पाँच महिना बिताउने सुअवसर पायौं किनभने त्यहाँ यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको थियो र यसको कारण थुप्रै मुद्दाहरू लड्‌नु पऱ्‍यो। मैले ६४ पुरुष, स्त्री तथा युवायुवतीहरूको प्रतिनिधित्व गरें। मसीही सभाहरू धाएको र बाइबल तथा धार्मिक साहित्यहरू राखेको कारण तिनीहरू सबैमाथि अपराधी अभियोग लगाइएको थियो। हामीले यीमध्ये कुनै पनि मुद्दा जितेनौं तर यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई कसरी निष्ठा तथा आनन्दसाथ सहन मदत गर्नुहुन्छ भनेर देख्यौं।

भाग लिन पाएकोमा आभारी

अहिले ८० वर्षको उमेरमा पनि मेरो स्वास्थ्य राम्रै छ र यहोवाका जनहरूको निम्ति कानुनी मुद्दाहरू अझै लड्‌दैछु। म अहिले पनि अदालत गएर सही कुराको लागि अडान लिन तत्पर छु। क्यानाडामा यहोवाका साक्षीहरूको संख्या १९४० मा ४,००० बाट बढेर अहिले १,११,००० पुगेको देख्न पाउनु मेरोलागि आनन्दको कुरा हो। थरिथरिका मानिसहरू आउँछन्‌ जान्छन्‌ अनि घटनाहरू भइरहन्छन्‌ तर यहोवाले आफ्ना जनहरूलाई अगाडि बढाइरहनुहुन्छ र तिनीहरू आध्यात्मिक तवरमा फस्टाइरहून्‌ भनेर सुनिश्‍चित गर्नुहुन्छ।

के अझै समस्याहरू छन्‌? छन्‌, तर यहोवाको वचनले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌।” (यशैया ५४:१७) पूर्ण-समय सेवा गरेको ५६ वर्षभन्दा लामो समयको दौडान ‘सुसमाचारको कानुनी तवरमा रक्षा र समर्थन’ गर्दा यशैयाका ती भविष्यवाणी कत्ति सत्य छन्‌ भनेर म पुष्टि गर्नसक्छु!—फिलिप्पी १:७.

[पृष्ठ १७-मा भएको चित्र]

मेरो भाइ र आमाबुबासँग

[पृष्ठ १७-मा भएको चित्र]

हेडन कभिंगटन, कानुनी सल्लाहाकार

[पृष्ठ १७-मा भएको चित्र]

नेथन नोरसँग

[पृष्ठ १८-मा भएको चित्र]

कार्डिनल भिलेनभसमक्ष डुप्लेसिस घुँडा टेकिरहेका

[स्रोत]

Photo by W. R. Edwards

[पृष्ठ १८-मा भएको चित्र]

फ्रान्क रनकारेली

[स्रोत]

Courtesy Canada Wide

[पृष्ठ १९-मा भएको चित्र]

एमा बाउचर

[पृष्ठ २२-मा भएको चित्र]

सँगी वकिलहरू जोन बर्न्स र मेरी पत्नी लिन्डासँग