सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहाडले समुद्रलाई छुन खोज्दा

पहाडले समुद्रलाई छुन खोज्दा

पहाडले समुद्रलाई छुन खोज्दा

भेनेज्वेलाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

भेनेज्वेलाको राजधानी, काराकास र समुद्रबीच २,००० मिटर अग्लो एल एबेला नाउँको पहाड छ। उत्तर दिशामा समुद्री किनारा हुँदो साँघुरो घना बस्ती छ। भेनेज्वेलाको प्रमुख विमानस्थल त्यहीं छ अनि विमानस्थलबाट काराकाससम्म पुग्न पर्यटकहरू यो पहाडमनि बनाइएको सुरुङबाट यात्रा गर्नुपर्छ।

गत डिसेम्बरको मुसलधारे वर्षा एल एबेलाले थाम्न सकेन। माथिबाट झरेको हजारौं क्युबिक पानीको छालले गर्दा एल एबेलाका छेउहरू फुट्‌न थाले। एक जना व्यक्‍तिले भनेझैं पहाडले समुद्रलाई छुन खोजेको जस्तो देखिन्थ्यो। झुपडीदेखि लिएर ठूलठूला महलहरू पानी, माटो, चट्टान र रूखहरूले छोपिए। पलंग, फ्रिज, टेलिभिजन र मानिसहरू सबै बगायो। एक जना वृद्धले त संसारको अन्त हुन लाग्यो भन्ठाने।

केही समयपछि पानी रोकियो र पानी कम हुन थाल्यो। एउटा अनुमानअनुसार सालाखाला ५०,००० मानिस मरे अनि ४,००,००० घरबारविहीन भए। त्यसैले, यसलाई “भेनेज्वेलाको इतिहासमा सबैभन्दा भयावह प्राकृतिक प्रकोप” भन्‍नु एकदमै उचित छ।

झन्डै ज्यान गएको

डिसेम्बर १५ का दिन युआन कार्लोस लोरेन्सो र तिनका बुबा, दुवै जना दुइटा उर्लंदो नदीको बीचमा फसे। तिनीहरूले आफ्नो गाडी छोडेर अरू ३५ जना मानिसहरू ओत लागेको एउटा भवनमा शरण लिए। तथापि, पानी दर्किन थाल्यो अनि छिनभरमै घरभित्र पानी छिरेर माथि माथिसम्म पुग्यो। जसोतसो सबै जना छतमा चढे। ठूलठूला ढुंगा र रूखका हाँगाहरू यो भवनमा बज्रिन पुगे। त्यसको लगत्तै पहिलो र दोस्रो तलाका भित्ताहरू भत्किए अनि खाँबा र छाना मात्र बाँकी रह्‍यो। यसरी धमाधम बज्रिएपछि भवन डगमगाउन थाल्यो।

एउटा हेलिकप्टर देखापऱ्‍यो तर यस्तो कमजोर भवनमाथि अवतरण गर्न सकेन। यो हेलिकप्टर अर्कै दिशातिर लाग्दा युआन कार्लोस लोरेन्सो र तिनका बुबाले गहभरि आँसु पारेर एकअर्कालाई बिदा गरे किनभने अब बाँच्ने कुनै उपाय छैन भनी दुवैलाई यकिन भयो। त्यसपछि दुइटा हेलिकप्टर आइपुग्यो। पाइलटहरूले बढो निपुणतासाथ माथि आकाशमा फन्को लगाउँदै छानामा भएका सबैलाई एक एक जना गरेर उचालेर सुरक्षित स्थानमा पुऱ्‍याए। यी हेलिकप्टरहरू जाने बित्तिकै त्यो मुसलधारे पानीमा भवन गर्ल्यामगुर्लुम भत्कियो। धन्‍न, तिनीहरूको ज्यान गएन!

साना हवाईजहाज, समुद्र किनारामा अवतरण गर्ने सैन्य पानीजहाज वा स्थलमार्गद्वारा हजारौं मानिसहरूको उद्धार गरियो। समुद्र किनारामा उभिएका मानिसहरूको लामो पंक्‍तिलाई डोरीको सहायताले डुंगासम्म पुऱ्‍याइयो र कोही कोहीले केटाकेटीलाई काँधमा बोकेका थिए। कसै कसैले दुई चारवटा सामान बचाउन सके पनि धेरै जसोसित एकसरो लुगा मात्र थियो।

उद्धार कार्य

यहोवाका साक्षीहरूको भेनेज्वेला शाखा कार्यालयमा यो प्रकोपको खबर पुग्ने बित्तिकै उद्धार कार्य सुरु भयो। तथापि, सडकमा ढुंगामुडाको थुप्रो थियो भने कतै सडकै बगाएको थियो। केही दिनपछि आपत्‌कालीन प्रयोगको लागि प्रमुख राजमार्गको एउटा भाग खुला गरियो अनि चिकित्सा औषधी र दक्ष कार्यकर्ताहरू ओसारपसार गर्ने यहोवाका साक्षीहरूको गाडीलाई जान दिइयो। एक जना अधिकृतले पछि यसो भने: “सबैभन्दा पहिले आइपुगेर मानिसहरूलाई त्यहाँबाट अर्को ठाउँमा लैजाने यहोवाका साक्षीहरू नै हुन्‌ भनेर सरकारलाई राम्ररी थाह छ।”

मदत चाहिएकाहरूलाई खोज्न साक्षीहरूले खोज टोलीको व्यवस्था मिलाए। यसरी उद्धार गरिएकाहरूलाई काराकास पुऱ्‍याउन यातायातको प्रबन्ध मिलाइयो तर तिनीहरूसित केही पनि थिएन। खाँचोमा परेका मानिसहरूलाई भोजन, लुगाफाटा र औषधी वितरण गर्न ठाउँ ठाउँमा संकलन केन्द्रहरू स्थापना गरियो। तर प्रायजसोलाई खाना र लुगाफाटाभन्दा अर्कै कुराको आवश्‍यकता खट्‌किरहेको थियो। तिनीहरूको बस्ने ठाउँ थिएन। मसीही भाइहरूले खुसीसाथ तिनीहरूलाई आ-आफ्नो घरमा राखे।

यो विपत्ति भएको धेरैपछि पनि साथीभाइ र नातेदारहरूको लागि बस्ने ठाउँको प्रबन्ध भइसकेको थिएन। पोर्टो काबेलोका साक्षीहरू होयल र एल्साको सानो डेरा छ। यो आँधीबेहरी आएको एक महिनापछि पनि तिनीहरूको घरमा १६ जना मानिस थिए। थुप्रैले आफ्नो घर मात्र होइन जागिर पनि गुमाएका थिए। तिनीहरू काम गर्ने ठाउँको नामोनिसानै थिएन।

दुःखको कुरा, कुनै समयको व्यस्त ठाउँ र समुद्र किनाराका शहरहरू चिन्‍नै नसकिने भएका थिए। कुनै कुनै गाडीहरू माटोले डम्मै पुरिएर सानो टुक्रा मात्र देखिन्थ्यो, कुनैचाहिं भित्तामा टाँसिएका थिए, खाँबाले थिचिएका वा झ्यालढोकाले चेपिएका थिए। कुनै कुनै ठाउँमा तीन मिटरसम्म थुप्रिएको कडा माटोले गर्दा बटुवाहरूले सडकमा उभेर वरपरका भवनहरूको एक तलामाथि वा छानासम्म देख्न सक्थे!

भेनेज्वेलाका कतिपय मानिसहरूले यो विपत्तिबाट आफूले एउटा महत्त्वपूर्ण पाठ सिकेको टिप्पणी गरे। त्यो हो, भौतिक धनसम्पत्तिमा भरोसा नराख्नू। (लूका १२:२९-३१) थुप्रैले येशू ख्रीष्टको यो सल्लाहको महत्त्व बुझे: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्‌। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन। कारण जहाँ तिम्रो सम्पत्ति हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।”—मत्ती ६:१९-२१.

[पृष्ठ १७-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

भेनेज्वेला

काराकास

पीडित क्षेत्र

कोलम्बिया

[पृष्ठ १७-मा भएको चित्र]

रुबेन सेरानो र तिनको भत्किएको घर

[पृष्ठ १८-मा भएको चित्र]

१. स्वयम्‌सेवकहरूले काराकासमा उद्धार सामग्रीहरू जम्मा गरे

२, ३. माकेसिया मण्डलीले आफ्नो राज्य भवनमा जम्मा भएको दुई मिटर कडा माटो निकाले

४. यी साक्षीहरूले आफ्नो घर गुमाए अनि आफू र अरूको लागि घर निर्माण गर्न स्वयम्‌सेवा गरे

५. सान सेबास्टियन डे लोस रेयसमा निर्माणकार्य पूरा हुनै लागेको घर