सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रूममेटसँग बस्न किन यति गाह्रो?

रूममेटसँग बस्न किन यति गाह्रो?

युवा जनहरू सोध्छन्‌ . . .

रूममेटसँग बस्न किन यति गाह्रो?

“म सफा, हो एकदमै सफा छु। तर म घर फर्कंदा मेरो रूममेट भुइँमा लम्पसार परेर टिभी हेरिरहेको हुन्छ र जताततै कागजको टुक्राटाक्री तथा मकैको फूलको धूलो छरेको हुन्छ। हरेक पटक घर आउँदा म यस्तै दृश्‍यको कल्पना गर्छु र मनमनै यसो भन्‍ने गर्छु, ‘म कोठाभित्र पस्नै चाहन्‍नँ।’ ”— डेभिड।

“मेरो रूममेट एकदमै पुलपुलिएकी थिइन्‌। मेरो विचारमा त तिनी हाम्रो नोकरचाकर छ जस्तै गर्थिन्‌। र तिनी साह्रै जिद्दीवाल पनि थिइन्‌।— रेने। a

“अपरिचित व्यक्‍तिको अनौठो स्वभाव सहन सिक्दा . . . लचकता र समझदारीको कला सिक्न सकिन्छ” भनी यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-को एउटा लेखले बतायो। “तर यो सिक्ने प्रक्रिया भने प्रायजसो दुःखदायी हुन्छ।” रूममेट अर्थात्‌ अर्को व्यक्‍तिसँग एउटै कोठामा बसिसकेकाहरू यस भनाइसित सहमत होलान्‌।

पढाइ खर्च बचाउनका लागि विश्‍वविद्यालयमा अध्ययनरत थुप्रै विद्यार्थीहरू रूममेटसँग बस्छन्‌। अरू कतिपय युवाहरू भने आफ्ना आमाबाबुबाट स्वतन्त्र हुनको लागि रूममेटसँग बस्छन्‌। थुप्रै जवान मसीहीहरू आध्यात्मिक लक्ष्यहरू पूरा गर्न रूममेटसँग बसेका छन्‌। (मत्ती ६:३३) तिनीहरूले दैनिक खर्च आफैले मात्र बेहोर्न नपरेको कारण पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्न तिनीहरूलाई धेरै सजिलो भएको छ। कहिलेकाहीं मिसनरी जीवन र यहोवाका साक्षीहरूको शाखा कार्यालयमा गरिने सेवामा पनि रूममेटसँग बस्नुपर्ने हुन्छ। b

ब्यूँझनुहोस्‌!-ले रूममेटहरूसँग बसेका थुप्रै जवानहरूसँग कुरा गऱ्‍यो। रूममेट भनेको कोठा भाडा तिर्न सहयोग गर्ने मात्र होइन तर साँचो मित्रताको स्रोत, कुरा गर्ने र केही काम सँगै गर्न सकिने व्यक्‍ति पनि हो भनेर सबै नै सहमत भए। “हामी जागा बस्थ्यौं र केटीहरूलाई कुरा गर्न मन पर्ने विषयहरूमा कुरा गर्थ्यौं वा टिभीमा चलचित्र हेर्थ्यौं” भनेर लिन सम्झन्छिन्‌। रेने यसो भन्छिन्‌, “रूममेटले तपाईंलाई प्रोत्साहन पनि दिन सक्छ। कहिलेकाहीं तपाईं जागिर खानुहुँदा, सबै खर्च आफै धान्‍न साथै प्रचार कार्यमा व्यस्त हुनुहुँदा तपाईंलाई प्रोत्साहन दिन एक जना रूममेट तपाईंसँग हुनु राम्रो हो।”

तथापि, रूममेटसँग बस्नु, अझ विशेष गरी पटक्कै नचिनेको व्यक्‍तिसँग बस्नु ठूलो चुनौतीको कुरा हुन सक्छ। कलेजको वातावरणबारे यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले यस्तो टिप्पणी गऱ्‍यो: “एउटै अभिरुचि भएकाहरूलाई छानेर कोठामा राख्न स्कूलले गरेको ठूलो प्रयत्नको बावजूद सधैं सन्तोषजनक नतिजाहरू प्राप्त हुन सकेका छैनन्‌।” निस्सन्देह, कलेजका रूममेटहरूबीचको मनमुटाउले हिंसात्मक रूपसमेत लिएको छ! त्यसैले रूममेटको कारण भएको नैराश्‍य पोख्न विद्यार्थीहरूका लागि इन्टरनेट वेबसाइटहरू छ्यास्छ्यास्ती निस्किएका छन्‌। रूममेटसँग बस्न किन यति गाह्रो भएको?

अपरिचित व्यक्‍तिसँग बस्ने

“अपरिचित व्यक्‍तिसँग बस्नु एक प्रकारको रमाइलो अनुभव हो” भनी मार्क भन्छन्‌। “ऊ कस्तो खालको व्यक्‍ति होला भनेर तपाईंलाई खासै थाह हुँदैन।” अलिकता मात्र वा कुनै पनि समानता नभएको व्यक्‍तिसँग सँगै बस्नेबारे सोच्दा मात्र पनि त्यसले विचलित बनाउन सक्छ। हो, मसीहीहरूबीच भने थुप्रै समानता हुन्छन्‌ र कुरा गर्ने थुप्रै विषयहरू हुन्छन्‌। तथापि, डेभिड यस्तो स्वीकार्छन्‌: “रूममेटबारे ममा थुप्रै शंका उपशंकाहरू थिए।”

तथापि, पछि डेभिडको रूममेट पनि उसको जस्तै पृष्ठभूमि भएको परेछ। तर सबै जोडीहरू एकैनासे हुँदैनन्‌। मार्क यसो भन्छन्‌: “मेरो पहिलो रूममेट त्यति कुरा गर्दैनथ्यो। मलाई एउटै कोठामा बस्दा कुराकानी गर्नुपर्छ। तर ऊ कुरा गर्दैनथ्यो। यसले गर्दा मलाई झोंक चल्न थाल्यो।”

भिन्‍ना-भिन्‍नै पृष्ठभूमिले गर्दा पनि थप दबाउ तथा मनमुटाउ हुन सक्छ। लिन यसो भन्छिन्‌: “जब तपाईं आफ्नै खुट्टामा उभिनुहुन्छ, तपाईं सबै कुरा आफ्नै तरिकाले गर्न चाहनुहुन्छ। तर अरूको पनि ख्याल राख्नुपर्दो रहेछ भन्‍ने कुरा तपाईंले चाँडै नै महसुस गर्नुहुनेछ।” पारिवारिक घरको सुरक्षित वातावरणबाट आउनुभएको कारण, अरूको भिन्‍न दृष्टिकोणबारे थाह पाउनुभएपछि तपाईं छक्क पर्नुहोला।

भिन्‍न पृष्ठभूमि, भिन्‍न शैली

आफ्ना आमाबाबुबाट राम्ररी प्रशिक्षण पाएको वा नपाएकोमा पनि धेरै कुरा निर्भर हुन्छ। (हितोपदेश २२:६) जवान फरनान्डो यसो भन्छन्‌: “म सफा-सुग्घर बस्ने व्यक्‍ति हुँ तर मेरो रूममेट सबै कुरामा लापरवाही थियो। उदाहरणका लागि, दराजलाई लिनुहोस्‌: ऊ दराजभित्र सामानहरू त्यत्तिकै कोचेर राख्थ्यो। तर मलाई भने कुनै पनि कुरा चट्ट झुन्डाएर राख्न मन पर्थ्यो।” कहिलेकाहीं स्तरहरूमा एकदमै भिन्‍नता हुन्छ।

रेने यसरी सम्झन्छिन्‌: “मेरो एक जना रूममेट थिइन्‌, जसको कोठा सुंगुरको खोरजस्तै देखिन्थ्यो! खाएपछि टेबल सफा नगर्ने वा दुई-तीन दिनसम्म पनि भाँडाकुँडा नमाझीकन त्यत्तिकै छोडिराख्ने रूममेटहरू पनि मसँग बस्थे।” हो, घरायसी कामकाजहरूको सन्दर्भमा कोही-कोही हितोपदेश २६:१४ का शब्दहरूको मूर्त रूपजस्तो देखिन्छन्‌: “ढोकाको पाटा कब्जामा यताउता फर्केझैं अल्छे आफ्नो ओछ्यानमा पल्टन्छ।”

अर्कोतर्फ एकदमै सफा-सुग्घर बस्न खोज्ने व्यक्‍तिसँग बस्नु पनि त्यति रमाइलो नहुन सक्छ। आफ्नो एक जना रूममेटबारे जवान ली यसो भन्छिन्‌: “तिनलाई घण्टैपिच्छे सफा गर्नुपर्थ्यो। हुन त म पनि फोहोरी छैन, तर म कहिलेकाहीं किताबहरू वा त्यस्तै केही चीजहरू आफ्नो ओछ्यानमा छोड्‌थें। अनि तिनले त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्‍ने सोच्थिन्‌।”

व्यक्‍तिगत सरसफाइको सन्दर्भमा पनि रूममेटहरूको बेग्ला-बेग्लै सोचाइ हुन सक्छ। मार्क यसो भन्छन्‌: “मेरो रूममेट एकदमै ढिलो उठ्‌छ। त्यसपछि ऊ धारातिर दगुर्छ, कपालमा अलिअलि पानी छर्कन्छ र निस्कन्छ।”

पृष्ठभूमि तथा व्यक्‍तित्वको भिन्‍नताले मनोरञ्जनको छनौटमा पनि असर गर्न सक्छ। मार्क आफ्नो रूममेटबारे यसो भन्छन्‌, “हामीलाई एकैनासे संगीत मन पर्दैन।” तथापि, पारस्परिक आदर छ भने, यस्ता भिन्‍नताहरू लाभदायी हुन सक्छन्‌, यसले दुवै रूममेटको अभिरुचि विस्तार गर्न मदत गर्न सक्छ। तर प्रायजसो यस्ता भिन्‍नताहरूले झगडा उत्पन्‍न हुन्छ। फरनान्डो यसो भन्छन्‌, “मलाई स्पेनी संगीत मन पर्छ तर मेरो रूममेट सधैं यसको आलोचना गर्छन्‌।”

फोन—एउटा समस्या

झगडाको अर्को मुख्य कारण टेलिफोनको प्रयोग हुन सक्छ। मार्क यसो भन्छन्‌: “म सुत्न चाहन्थें। तर मेरो रूममेट ढिलासम्म फोनमा कुरा गरेर बसिरहन्छ। त्यसले गर्दा केही समयपछि मलाई रिस उठ्‌न थाल्यो।” त्यस्तै लिन यसरी सम्झन्छिन्‌: “मेरो रूममेटका साथीहरूले कहिलेकाहीं बिहान तीन चार बजेतिर फोन गर्थे। तिनी नभएको बेला फोन उठाउनको लागि म आफै उठ्‌नुपर्थ्यो।” यसको समाधान? “हामीहरू दुवैले आफ्नै फोन राख्ने विचार गऱ्‍यौं।”

तथापि, सबै युवाहरूले आफ्नै फोन किन्‍न सक्दैनन्‌ र सबै जना मिलेर एउटै फोन चलाउन बाध्य हुन्छन्‌। यसले तनाउ निम्त्याउन सक्छ। रेने यसरी सम्झन्छिन्‌: “मेरो एक जना रूममेटको एउटा केटा साथी थियो र प्रायजसो तिनी घण्टौंसम्म फोनमा झुन्डिरहन्थिन्‌। एक महिना त ९० अमेरिकी डलरभन्दा बढीको फोनको बिल आयो। उठेको पैसा सबैले बराबर तिर्ने सम्झौता गरेको हुनाले तिनी त्यो बिल सबै मिलेर तिरेको चाहन्थिन्‌।”

फोन चलाउन पाउनु मात्र पनि अर्को विवाद हुन सक्छ। ली यसो भन्छिन्‌, “म आफूभन्दा केही जेठी उमेरकीसँग बसेको थिएँ। अनि हाम्रो एउटा मात्र फोन थियो। म सधैं फोनमा हुन्थें किनभने मेरा थुप्रै साथीहरू थिए। तिनले कहिल्यै केही भनिनन्‌। तिनलाई फोन चलाउनुपऱ्‍यो भने मलाई भनिहाल्छिन्‌ नि भनेर म सोच्ने गर्थें। तर म अविवेकशील भइरहेकी थिएँ भनेर म अहिले पो महसुस गर्दैछु।”

एकान्तताको कमी

डेभिड यसो भन्छन्‌, “सबैलाई नै कुनै-कुनै बेला एकान्तमा बस्न मन पर्छ। कहिलेकाहीं मलाई केही नगरी त्यत्तिकै पल्टेर बस्न मन लाग्छ।” तथापि, तपाईं अरूसँग एउटै कोठामा बस्नुहुँदा एकान्त समय पाउनु चुनौतीको कुरा हुन सक्छ। मार्क यस्तो सहमति जनाउँछन्‌, “म एक्लै समय बिताउन चाहन्छु। त्यसैकारण मेरोलागि सबैभन्दा गाह्रो कुरा भनेकै एकान्तताको कमी हो। मेरो र मेरो रूममेटको उस्तै तालिका छ। त्यसैकारण एकान्तता पाउन गाह्रो हुन्छ।”

येशू ख्रीष्टलाई समेत कहिलेकाहीं एकान्त समय चाहिन्थ्यो। (मत्ती १४:१३) त्यसैले रूममेटको कारण पढ्‌न, अध्ययन गर्न वा मनन गर्न गाह्रो वा असम्भव हुँदा निराश लाग्न सक्छ। मार्क यसो भन्छन्‌: “पढ्‌न असाध्यै गाह्रो हुन्छ किनभने जहिले पनि केही न केही भइरहेकै हुन्छ। उसले साथीहरूलाई कोठामा बोलाउँछ, कि त ऊ फोन गरिरहेको हुन्छ वा टिभी हेरिरहेको वा रेडियो सुनिरहेको हुन्छ।”

तथापि, रूममेटलाई सहनु जतिसुकै चुनौतीपूर्ण काम भए तापनि हजारौं युवाहरू यसमा सफल भएका छन्‌। अर्को व्यक्‍तिसँग एउटै कोठामा बसेर सर्वोत्तम लाभहरू प्राप्त गर्ने केही व्यावहारिक तरिकाहरूबारे यस श्रृंखलाका आगामी लेखहरूले छलफल गर्नेछ। (g02 4/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b यो सल्लाह युवाहरूलाई लक्षित गरेर लेखिएको भए तापनि परिवर्तित परिस्थितिहरू जस्तै, विधवा भएर रूममेटसँग बस्न थालेका वृद्धहरूका लागि पनि यो सल्लाह लाभदायी साबित हुन सक्छ।

[पृष्ठ १४-मा भएको चित्र]

संगीतप्रतिको भिन्‍न अभिरुचिले चुनौती खडा गर्न सक्छ

[पृष्ठ १६-मा भएको चित्र]

अरूप्रति विचारशील नहुँदा तनाउ उत्पन्‍न हुन सक्छ