सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ

परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ

परीक्षाको बावजूद मेरो आशा उज्ज्वल रहिरहेको छ

आन्द्रे हानाकको वृत्तान्तमा आधारित

सन्‌ १९४३ को वर्ष थियो र दोस्रो विश्‍वयुद्ध मच्चिरहेको थियो। तटस्थ रहेको कारण म हंगेरीको बुडापेस्टको झ्यालखानामा थिएँ। त्यहाँ एक जना दाह्रीवाल अर्थोडक्स पादरीले मेरो तीन दिनको पाउरोटीको राशनसँग तिनको बाइबल साट्‌ने प्रस्ताव राखे। हुन त मलाई असाध्यै भोक लागेको थियो तरैपनि त्यो साटेर मैले राम्रो गरें भन्‍ने कुरामा म विश्‍वस्त थिएँ।

दोस्रो विश्‍वयुद्धको दौडान नाजीहरूले हाम्रो देशलाई कब्जा गरेपछि स्वच्छ मसीही अन्तस्करण कायम राख्नु चुनौतीको कुरा थियो। पछि, ४० वर्षभन्दा लामो कम्युनिस्ट शासनको दौडान पनि बाइबल सिद्धान्तहरूसँग सम्झौता नगरी हाम्रो सृष्टिकर्ता, यहोवा परमेश्‍वरको सेवा गर्न संघर्ष गर्नुपऱ्‍यो।

त्यतिखेर परमेश्‍वरप्रति निष्ठा कायम राख्न कत्ति गाह्रो भयो, त्यसबारे बताउनुअघि म तपाईंहरूलाई आफ्नो विषयमा केही बताउन चाहन्छु। त्यतिबेलाका यहोवाका साक्षीहरूले कुन हदसम्म सहनुपऱ्‍यो भन्‍ने कुरा जान्‍न पाउँदा तपाईंहरूलाई पक्कै रोचक लाग्नेछ। सर्वप्रथम, हाम्रो इलाकाका प्रमुख धर्महरूबारे सोच्न मलाई बाध्य तुल्याएको एउटा धार्मिक अवस्थाबारे म तपाईंहरूलाई बताउँछु।

अलमल्लमा पार्ने एउटा धार्मिक प्रश्‍न

मेरो जन्म डिसेम्बर ३, १९२२ मा स्लोभाकी सिमाना नजिकै हंगेरीको पाटसिन गाउँमा भएको थियो। त्यतिखेर चेकोस्लोभाकियाको पूर्वी भाग पनि स्लोभाकियामै पर्थ्यो। दोस्रो विश्‍वयुद्धपछि सोभियत संघले चेकोस्लोभाकियाको ठूलो भूभाग ओगटेपछि युक्रेनसँगको सिमाना पाटसिनभन्दा ३० किलोमिटरभित्र सारियो।

भक्‍त रोमन क्याथोलिक आमाबाबुको पाँच जना छोराछोरीमध्ये म माहिलो थिएँ। म १३ वर्षको हुँदा मलाई धर्मबारे गहिरिएर सोच्न उत्प्रेरित गर्ने एउटा घटना घट्यो। म आमासँगै हंगेरीको मारियापोक गाउँसम्मको ८० किलोमिटर लामो तीर्थ यात्रामा गएको थिएँ। अझ धेरै धर्म कमाउने विश्‍वासले गर्दा हामीले त्यहाँसम्म पैदल यात्रा गऱ्‍यौं। रोमन क्यालोथिक तथा ग्रीक क्याथोलिकहरू दुवैले तीर्थ यात्रा गरे। म पहिला यी दुवै चर्चहरू एउटै क्याथोलिक धर्मका भाग होलान्‌ भनी सोच्ने गर्थें। तर चाँडै मैले नौलो कुरा थाह पाएँ।

ग्रीक क्याथोलिक मास पहिले मनाइयो। त्यसैकारण मैले त्यहाँ उपस्थित हुने निर्णय गरें। पछि, म त्यहाँ गएको कुरा चाल पाएर आमाले असाध्यै नमीठो मान्‍नुभयो। जिल्ल पर्दै मैले सोधें: “जुनसुकै मासमा गए पनि के फरक पर्छ र? के हामी सबै सहभागी हुने ख्रीष्टको शरीर एउटै होइन र?”

जवाफ दिन नसकेर आमाले यति मात्र भन्‍नुभयो: “हेर छोरा, यस्ता प्रश्‍नहरू सोध्नु पाप हो।” तथापि, मेरा प्रश्‍नहरू अझै रहिरहे।

मेरा प्रश्‍नहरूको जवाफ मिल्छ

सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु भएको केही समयपछि, १७ वर्षको हुँदा म केही किलोमिटर टाढा, अहिले पूर्वी स्लोभाकियामा अवस्थित एउटा सानो शहर स्ट्रेडा नड बोड्रोगोममा सरें। एक जना स्थानीय लोहारबाट काम सिक्नको लागि म त्यहाँ गएको थिएँ। तथापि, पग्लिएको धातुबाट घोडाहरूको लागि नाल र अरू सामग्रीहरू कसरी बनाउने भनी सिक्नुका साथै त्यहाँ तिनको घरमा मैले केही बहुमूल्य कुरा सिकें।

लोहारकी पत्नी मारिया पान्कोभिच एक जना यहोवाको साक्षी थिइन्‌। त्यसकारण म दिनमा तिनको पतिबाट लोहारको काम सिक्थें भने रातमा स्थानीय साक्षीहरूसँग बाइबल अध्ययन गर्नुका साथै सभाहरूमा उपस्थित हुन्थें। सिकारु लोहार भएको कारण मैले भजन १२:६ मा भनिएका कुराहरू अझ राम्ररी बुझें: “परमप्रभुका वचनहरू पवित्र छन्‌। माटोमाथि भट्टीमा खारेको चाँदीजस्तो।” यहोवाका भनाइहरू जाँच्ने र बाइबलसम्बन्धी मेरा प्रश्‍नहरूको जवाफ पाउने ती साँझहरू कत्ति रमाइला थिए!

दोस्रो विश्‍वयुद्ध चर्कंदै जाँदा, चाँडै मेरो नयाँ विश्‍वास परीक्षामा पर्नेछ भनेर त मैले सोचेकै थिइनँ।

विश्‍वासको खातिर झ्यालखानामा

मैले लोहारको काम सिक्न थालेको केही समयपछि नै हंगेरीका युवकहरूले सैनिक प्रशिक्षणमा भाग लिनुपर्ने भयो। तर मैले यशैया २:४ मा दिइएको बाइबल सिद्धान्त पछ्याउँदै ‘अब उप्रान्त युद्ध गर्न नसिक्ने’ निर्णय गरें। मेरो यस फैसलाको कारण मलाई दस दिनको जेल सजाय सुनाइयो। त्यहाँबाट छुटेपछि मैले बाइबल अध्ययन जारी राखें। त्यसपछि, जुलाई १५, १९४१ मा मैले पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पण जाहेर गरें।

यस समयसम्ममा नाजी जर्मनीले सोभियत संघमाथि हमला गरिसकेको थियो र पूर्वी युरोप युद्धमा होमिएको थियो। युद्ध अफवाह तथा राष्ट्रवादी भावनाले व्याप्त भयो। तर यहोवाका साक्षीहरू बाइबल आधारित आफ्नो विश्‍वासअनुरूप तटस्थ रहे।

अगस्त १९४२ मा हामी विरुद्ध क्रूर आक्रमण सुरु भयो। जवान होस्‌ वा वृद्ध, सबै यहोवाका साक्षीहरूलाई जम्मा गर्न अधिकारीहरूले दसवटा ठाउँ तोके। बप्तिस्मा अप्राप्त तर हामीसँग संगत गरिरहेकाहरू भनेर चिनिएका व्यक्‍तिहरूलाई समेत हामीसँगै ती ठाउँहरूमा लगियो। मेरो गाउँ पाटसिनदेखि लगभग २० किलोमिटर टाढा पर्ने सेरोस्पाटकस्थित झ्यालखानामा लगिनेहरूमध्ये म पनि थिएँ।

सबैभन्दा सानो कैदी भनेको तीन महिने बालक थियो। उसलाई साक्षी आमासँगै कैदी बनाइएको थियो। बच्चाको लागि मात्र भए पनि केही खानेकुरा माग्दा सुरक्षाकर्मीले यस्तो जवाफ दिए: “त्यसलाई रुन देऊ। त्यसपछि पो ऊ बलियो साक्षी हुन सक्छ।” त्यो बालक देखेर हामीलाई दुःख लाग्यो तर राष्ट्रवादी लहरको कारण एक जना जवान सुरक्षाकर्मीको हृदय यतिसम्म कडा हुन सक्दो रहेछ भनेर थाह पाउँदा हामी झनै दुःखित भयौं।

पुर्पक्षमा मलाई दुई वर्षको सजाय सुनाइयो। त्यसपछि मलाई बुडापेस्टमा ८५ मार्गिट कोरूटको झ्यालखानामा सारियो। चार मिटर चौडाइ र छ मिटर लम्बाइ भएको कोठामा ५० देखि ६० जना मानिसलाई कोचेर राखिएको थियो। हामी आठ महिनासम्म स्नानगृह वा शौचालयको सुविधाविना नै बस्यौं। त्यसकारण नुहाउनै नपाएपछि लुगा धुनेको त कुरै नगरौं। हामी सबैको जीउमा स्याउँस्याउँती जुम्रा परेको थियो र रातभरि हाम्रो मैला जीउमा उपियाँहरू दौडिन्थे।

हामी बिहान चार बजे उठ्‌नुपर्थ्यो। बिहानको नास्ताको नाउँमा हामीले सानो कपको एक कप कफी मात्र पाउँथ्यौं। दिउँसो हामीले त्यति नै सुप र अलिकति खोलेको साथमा १५० ग्राम पाउरोटी पाउँथ्यौं। बेलुकी केही पनि दिइँदैनथ्यो। म २० वर्षको मात्र र एकदमै स्वस्थ भए तापनि अन्तमा गएर यति कमजोर भएँ कि म हिंड्‌नसमेत सकिनँ। भोक र संक्रमणको कारण कैदीहरू भटाभट मर्न थाले।

त्यही समयमा एक जना नयाँ कैदी हाम्रो कोठामा आए। तिनी मैले सुरुमा बताएको दाह्रीवाल अर्थोडक्स पादरी थिए। तिनलाई आफ्नो बाइबल राख्ने अनुमति दिइएको थियो। मलाई त्यो पढ्‌न साह्रै मन लाग्यो! तर मैले तिनीसँग पढ्‌नको लागि माग्दा तिनले दिन मानेनन्‌। तर पछि तिनले मकहाँ आएर यसो भने: “ए, केटा। तिमीले बाइबल पाउन सक्छौं। म यो तिमीलाई बेच्छु।”

मैले सोधें, “बेच्ने? कतिमा? मसँग त पैसा छैन।”

त्यति नै बेला हो तिनले मलाई मेरो तीन दिनको पाउरोटीको राशनको सट्टा आफ्नो बाइबल दिएको। यो साटफेर कत्ति इनामदायी साबित भयो! शारीरिक भोकको बावजूद मैले आध्यात्मिक खानेकुरा पाइरहें, जसले मलगायत अरूलाई पनि ती संकटमय समयहरूको दौडान परीक्षाहरू आउँदा सम्हाल्यो। त्यो बाइबल मैले अहिलेसम्म राखिराखेको छु।—मत्ती ४:४.

हाम्रो तटस्थताको परीक्षा हुन्छ

जून १९४३ मा हंगेरीभरिबाट हामीमध्येका १६० जना जवान पुरुष साक्षीहरूलाई बुडापेस्ट नजिकै पर्ने याजबेरान शहरमा लगियो। हामीले सैनिक टोपी लगाउन तथा आफ्नो पाखुरामा तीनरंगे पट्टी बाँध्न नमान्दा हामीलाई मालवाहक रेलको डिब्बामा हालेर बुडापेस्ट-कोबान्या रेल स्टेशन लगियो। त्यहाँ पुगेपछि सैनिक अधिकारीहरूले एक-एक गरी हाम्रो नाउँ काढ्‌दै मालवाहक रेलको डिब्बाबाट बाहिर बोलाए र आफूलाई सैनिकको रूपमा चिनाउने आज्ञा दिए।

हामीलाई यसो भन्‍ने आज्ञा दिइयो: “हाइल हिटलर” जसको अर्थ हो “हिटलरलाई महिमा।” यसो गर्न इन्कार गर्ने प्रत्येक साक्षीलाई बेस्सरी कुटिन्थ्यो। अन्ततः सास्ती दिनेहरू आफै थाके र तिनीहरूमध्ये एक जनाले यसो भने: “ठीक छ, अब हामी एक जनालाई मात्र कुट्‌छौं तर त्योचाहिं अब जिउँदो रहँदैन।”

लामो समयदेखि साक्षी रहनुभएका वृद्ध, टिबोर हाफ्नरले रेलमा भएका साक्षीहरूको नामावली प्राप्त गर्नुभएको थियो। उहाँले मलाई कानमा सुटुक्क यसो भन्‍नुभयो: “भाइ, अब तपाईंको पालो छ। साहसी हुनुहोस्‌! यहोवामाथि भरोसा राख्नुहोस्‌।” यत्तिकैमा मलाई बोलाइयो। जब म मालवाहक रेलको डिब्बाको ढोकामा उभिएँ, मलाई तल ओर्लन भनियो। एक जना सिपाहीले यसो भने: “यसलाई त कुट्‌न पनि के कुट्‌नु, हाड र छालाबाहेक केही छैन।” त्यसपछि तिनले मलाई यसो भने: “तिमीले आफूलाई सैनिक हो भनेर स्वीकाऱ्‍यौ भने तिमीलाई खान पकाउनको लागि भान्छामा खटाइनेछ। होइन भने, तिमी मर्नेछौ।”

मैले यस्तो जवाफ दिएँ, “म आफूलाई सैनिक हो भनेर स्वीकार्दिनँ। म मेरा भाइहरू भएको ठाउँ, त्यही रेलको डिब्बाभित्र जान चाहन्छु।”

ममाथि दया गरेर सिपाहीले मलाई समातेर डिब्बाभित्रै फ्याँकिदिए। मेरो वजन ४० किलोभन्दा पनि कम भएको कारण यसो गर्न तिनलाई कुनै गाह्रो परेन। भाइ हाफ्नर आएर मलाई अँगालो हालेर गाला मुसार्नुभयो र भजन २०:१ यसरी उद्धृत गर्नुभयो: “संकष्टको दिनमा परमप्रभुले तिमीलाई उत्तर दिऊन्‌। याकूबका परमेश्‍वरको नाउँले तिमीलाई उच्च स्थानमा राखोस्‌।”

श्रम शिविरमा

त्यसपछि हामीलाई एउटा डुंगामा राखेर डानुबे नदी हुँदै युगोस्लाभिया पुऱ्‍याइयो। सन्‌ १९४३ को जुलाईमा हामी युरोपको सबैभन्दा ठूलो तामा खानी भएको बोर शहर नजिकैको श्रम शिविरमा आइपुग्यौं। पछि शिविरमा विभिन्‍न देशका ६०,००० मानिसहरू थुप्रिए, जसमा ६,००० जति यहूदीहरू र १६० जना जति यहोवाका साक्षीहरू थिए।

साक्षीहरूलाई एउटा ठूलो छाउनीमा राखिएको थियो। यसको बीचमा टेबुल र बेन्चहरू थिए र त्यहाँ हामीले हप्ताको दुई पटक सभाहरू गर्थ्यौं। हामी लुकाएर शिविरभित्र छिराइएका प्रहरीधरहरा पत्रिका अध्ययन गर्थ्यौं र मैले आफ्नो भाग पाउरोटीसँग साटेको बाइबल पढ्‌थ्यौं। हामी सँगै गीत गाउने र प्रार्थना गर्ने पनि गर्थ्यौं।

हामीले अरू कैदीहरूसँग राम्रो सम्बन्ध कायम राख्ने कोसिस गऱ्‍यौं र यो लाभदायी साबित भयो। हाम्रो एक जना भाइको पेट असाध्यै दुख्थ्यो तर पालेहरू कुनै मदत गर्न इच्छुक थिएनन्‌। जब उहाँको अवस्था गम्भीर हुँदै गयो, एक जना यहूदी कैदी जो चिकित्सक पनि थिए, तिनी शल्यक्रिया गर्न राजी भए। तिनले भाइलाई साधारण खाले केही निश्‍चेतकहरू दिए र चम्चाको धारिलो बिंडले शल्यक्रिया गरे। ती भाइ निको भए र युद्धपछि घर फर्किए।

एकातिर खानीको काम असाध्यै गाह्रो थियो भने खानाको अभाव पनि त्यतिकै थियो। दुई जना भाइहरू त काम गर्दागर्दै दुर्घटनामा परेर मरे र अर्को एक जना रोग लागेर मरे। सन्‌ १९४४ को सेप्टेम्बरमा रूसी सेना अघि बढ्‌दै आएपछि शिविरलाई खाली गर्ने निर्णय गरियो। यसपछि के भयो भन्‍ने कुरा मैले आफ्नै आँखाले नदेखेको भए पत्याउनै गाह्रो हुन्थ्यो होला।

त्रासले भरिएको यात्रा

एक हप्ता लामो थकाइलाग्दो यात्रापछि, अरू थुप्रै यहूदी कैदीहरूसँगै हामी बेल्ग्रेड आइपुग्यौं। यसपछि पनि हामी निकै दिनसम्म हिंडिरह्‍यौं र चेर्भेन्को गाउँमा आइपुग्यौं।

चेर्भन्को आइपुगेपछि यहोवाका साक्षीहरूलाई पाँच-पाँच जनाको लाइन बनाउन लगाइयो। त्यसपछि हरेक दोस्रो लाइनबाट एक-एक जना साक्षीलाई लगियो। अब तिनीहरू मारिनेछन्‌ भन्‍ने लागेर हामीले आँखाभरि आँसु बनाई तिनीहरूलाई लगिंदै गरेको हेऱ्‍यौं। तर केही समयपछि नै तिनीहरू फर्किए। के भएछ त? जर्मन सेनाहरू तिनीहरूलाई चिहान खन्‍न लगाउन चाहन्थे तर तिनीहरूले एक हप्तासम्म खाना नखाएको कारण अति नै कमजोर भएका कारण तिनीहरूले काम गर्न नसक्ने कुरा हंगेरीका कमान्डरले बताए।

त्यो रात हामी सबै साक्षीहरूलाई एउटा इँटा भट्टाको मथिल्लो तलामा लगियो। एक जना जर्मन अधिकारीले हामीलाई यसो भने: “यहाँ चुपचाप बस। आजको रात कहालीलाग्दो हुनेछ।” त्यसपछि तिनले ढोका बन्द गरे। केही मिनेटपछि सेनाहरू यसो भन्दै चिच्च्याएको हामीले सुन्यौं: “छिटो आओ! छिट्टो!” त्यसपछि मेशिनगनहरू चलेको आवज सुनियो र फेरि सन्‍नाटा छायो। फेरि हामीले यसो भनेको सुन्यौं: “छिटो आओ! छिट्टो!” र फेरि बन्दुकको आवाज।

बाहिर भइरहेको कुरा हामी छानाबाट देख्न सक्थ्यौं। सेनाहरूले यहूदी कैदीहरूलाई दर्जनौंको समूहमा ल्याउँथे, खाल्डोको छेउमा उभिन लगाउँथे र तिनीहरूलाई गोली ठोक्थे। त्यसपछि सेनाहरूले लासको थुप्रोमाथि हातेबमहरू फ्याँके। सूर्योदयअघि नै आठ जनाबाहेक अरू सबै यहूदी कैदीहरू मरिसकेका थिए अनि जर्मन सेनाहरू भागिसकेका थिए। हामी मानसिक तथा शारीरिक तवरमा विक्षिप्त भएका थियौं। अझसम्म जीवित रहेका यानोश तोइरोइक र यान बोली, यस प्राणदण्डको समयमा उपस्थित साक्षीहरूमध्येका हुन्‌।

जीवितै छोडिएको

हंगेरी सेनाहरूको पहरामा हामी पश्‍चिम तथा उत्तरतर्फको यात्रामा हिंडिरह्‍यौं। सैनिक गतिविधिहरूमा भाग लिनका लागि हामीलाई बारम्बार भनिन्थ्यो तर हामी अझसम्म आफ्नो तटस्थतालाई कायम राख्न र आफ्नो ज्यान जोगाउन सफल थियौं।

अप्रिल १९४५ मा हामी हंगेरी र अस्ट्रियासँगको सिमाना नजिकै पर्ने जोम्बाथ्ले शहरमा जर्मन र रूसी सेनाहरूबीचको भिडन्तमा पऱ्‍यौं। जब हवाई आक्रमणको चेताउनी दिइयो, हामीलाई पहरा दिने हंगेरीको कप्तानले यसो भने: “म पनि तपाईंहरूसँगै लुक्न जान सक्छु? परमेश्‍वर तपाईंहरूसँग हुनुहुन्छ भनेर मलाई थाह छ।” बमवर्षा रोकिएपछि जनावरहरूको सिनो तथा मानिसहरूको लासबीच हुँदै हामीले शहर छौड्यौं।

चाँडै नै युद्धको अन्त हुनेजस्तो देखेर ती कप्तानले हामी सबैलाई जम्मा गरेर यसो भने: “मेरो आदर गर्नुभएको लागि तपाईंहरूलाई धन्यवाद छ। सबैको लागि मसँग केही चियापत्ती र चिनी छ। अरू केही दिन नसके तापनि यो राख्नुहोला।” तिनले हामीप्रति यस्तो मानवीय व्यवहार गरेको कारण हामीले तिनलाई धन्यवाद दियौं।

केही दिनपछि, रूसी सेनाहरू आइपुगे र हामी स-साना झुन्डहरूमा घर फर्कन थाल्यौं। तर हाम्रो संकष्ट यतिमै सिद्धिएको थिएन। बुडापेस्ट आइपुगेपछि रूसी सेनाहरूले हामीलाई हिरासतमा लिए र अर्को टोली अर्थात्‌ सोभियत सेनामा भर्ती हुनको लागि आज्ञा दिए।

यस कानूनी कारबाहीको प्रमुख व्यक्‍ति एक जना चिकित्सक तथा उच्च पदस्थ रूसी अधिकारी थिए। कोठाभित्र पसेपछि हामीले त तिनलाई चिनेनौं तर तिनले भने हामीलाई चिनेछन्‌। तिनी हामीसँगै बोरको श्रम शिविरमा परेका रहेछन्‌ र नाजीद्वारा गरिएको जातीयसंहारमा बच्ने थोरै यहूदीहरूमध्ये तिनी पनि एक जना रहेछन्‌। हामीलाई देखेर तिनले सुरक्षाकर्मीहरूलाई यस्तो आज्ञा दिए: “यी आठ जना मानिसहरूलाई घर जान देओ।” हामीले तिनलाई धन्यवाद दियौं तर त्योभन्दा पनि बढी त हामीलाई सुरक्षा प्रदान गर्नुभएकोमा यहोवालाई धन्यवाद चढायौं।

मेरो आशा अझै उज्ज्वल

अन्ततः अप्रिल ३०, १९४५ मा म आफ्नो घर पाटसिन आइपुगें। घर फर्केको केही समयपछि नै म सिकारुको काम सिद्धयाउन स्ट्रेडा नड बोड्रोगोममा लोहारको घर गएँ। पान्कोभिचहरूले मलाई थुप्रै कुरा दिएका थिए, जीवन धान्‍नको लागि काम मात्र होइन तर त्योभन्दा महत्त्वपूर्ण, मेरो जीवन नै परिवर्तन गर्ने बाइबल सत्य पनि दिएका थिए। पछि तिनीहरूले मलाई अर्को महत्त्वपूर्ण कुरा पनि दिए। सेप्टेम्बर २३, १९४६ मा तिनीहरूकी सुन्दरी छोरी योलाना, मेरी पत्नी भइन्‌।

योलाना र मैले बाइबल अध्ययन र प्रचार गर्ने हाम्रो नियमित क्रियाकलाप फेरि सुरु गऱ्‍यौं। त्यसपछि, सन्‌ १९४८ मा हामीले हाम्रो छोरा आन्द्रेको आमाबाबु हुने अर्को थप आशिष्‌ पनि पायौं। तथापि, धार्मिक स्वतन्त्रताको कारण हामीले पाएको आनन्द लामो समयसम्म रहिरहेन। चाँडै कम्युनिष्टहरूले हाम्रो देशमा शासन गर्न थाले र सतावटको अर्को लहर सुरु भयो। सन्‌ १९५१ मा मलाई चेकोस्लोभाक कम्युनिष्ट अधिकारीहरूले सैनिक सेवाका लागि बोलाए। फेरि त्यही क्रम दोहोरियो: पुर्पक्ष, कैद सजाय, कारावास, दास श्रम र भोकमरी। तर परमेश्‍वरको मदत पाएर म फेरि पनि बाँचे। आममाफी पाएर म सन्‌ १९५२ मा मुक्‍त भएँ र लाड्‌मोभिज, स्लोभाकियामा आफ्नो परिवारकहाँ फर्कें।

हाम्रो मसीही सेवकाईमाथि ४० वर्षसम्म लागेको प्रतिबन्धको बावजूद हामी आफ्नो पवित्र सेवामा लागिरह्‍यौं। सन्‌ १९५४ देखि १९८८ सम्म मैले परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाएँ। सप्ताहन्तहरूमा म यहोवाका साक्षीहरूको मण्डलीको भ्रमण गर्थें र आफ्नो निष्ठामा दृढ रहिरहन भाइबहिनीहरूलाई प्रोत्साहन दिन्थें। हप्ताको दौडान म आफ्नो परिवारसँग समय बिताउँथे र आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्न काम गर्थें। यी सबै समयहरूमा हामीले यहोवाको मायालु निर्देशनको अनुभव गऱ्‍यौं। मैले बाइबलका भजनहारका यी शब्दहरू सत्य साबित भएको पाएँ: “परमप्रभु हाम्रातर्फ नहुनुभएता, जब मानिसहरू हाम्रा विरुद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए जब तिनीहरूको रीस हाम्रो विरुद्धमा उठेको थियो।”—भजन १२४:२, ३.

पछि, आन्द्रेले विवाह गरेको तथा अन्ततः परिपक्व मसीही निरीक्षक बनेको देख्न पाउँदा योलाना र म असाध्यै खुसी भयौं। उसकी पत्नी एलिश्‍का र उनीहरूका दुई जना छोराहरू राडिम र दानियल पनि सक्रिय मसीही सेवकहरू बने। पछि, सन्‌ १९९८ मा मेरी प्यारी योलानाको मृत्यु हुँदा मैले ठूलो क्षति सहनुपऱ्‍यो। मैले अहिलेसम्म भोगेका परीक्षाहरूमध्ये सहनको लागि सबैभन्दा गाह्रो परीक्षा भनेकै यही हो। मलाई हरेक दिन उनको अभाव महसुस हुन्छ तर पुनरुत्थानको अमूल्य आशाद्वारा मैले सन्त्वना पाएको छु।—यूहन्‍ना ५:२८, २९.

अहिले म ७९ वर्षको उमेरमा स्लोभाकियाको स्लोभेन्सकी नोभ मेस्तो गाउँमा प्राचीनको हैसियतमा सेवा गर्दैछु। आफ्ना छिमेकीहरूलाई बाइबल आधारित बहुमूल्य आशाबारे बताउन पाउँदा म एकदमै आनन्दित महसुस गर्छु। विगतलाई फर्केर हेर्दा र यहोवाको सेवामा मैले बिताएका ६० भन्दा बढी वर्षलाई सम्झँदा, यहोवाको मदतद्वारा हामी सबै प्रकारका बाधा तथा परीक्षाहरू सहन सक्छौं भनी म विश्‍वस्त भएको छु। मेरो इच्छा र मेरो आशा भजन ८६:१२ का शब्दहरूअनुरूप नै छन्‌: “हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँको महिमा सदाको निम्ति गर्नेछु।” (g02 4/22)

[पृष्ठ १८-मा भएको चित्र]

मेरो पाउरोटीको राशनको सट्टा पाएको बाइबल

[पृष्ठ १९-मा भएको चित्र]

टिबोर हाफ्नरले मलाई परीक्षाहरू आइपर्दा प्रोत्साहन दिनुभयो

[पृष्ठ २०-मा भएको चित्र]

बोर श्रम शिविरमा साक्षीहरू

[पृष्ठ २०-मा भएको चित्र]

जर्मन सेनाहरूको उपस्थितिमा बोर श्रम शिविरमा एक जना साक्षीको अन्त्येष्टि

[पृष्ठ २१-मा भएको चित्र]

सेप्टेम्बर १९४६ मा योलाना मेरी पत्नी भइन्‌

[पृष्ठ २१-मा भएको चित्र]

यानोश तोइरोइक र यान बोली (इन्सेटमा), उहाँहरू संहारको बेला उपस्थित हुनुहुन्थ्यो

[पृष्ठ २२-मा भएको चित्र]

मेरो छोरा, बुहारी र नातिहरूसँग