सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अश्‍लील सामग्रीहरू—के यी अहानिकारक मनोरञ्जन मात्र हुन्‌?

अश्‍लील सामग्रीहरू—के यी अहानिकारक मनोरञ्जन मात्र हुन्‌?

बाइबलको दृष्टिकोण

अश्‍लील सामग्रीहरू— के यी अहानिकारक मनोरञ्जन मात्र हुन्‌?

सन्‌ १८५० तिर देखि पुरातत्त्वविद्‌हरूले पोम्पीको पुरातन भग्नावशेषहरू उत्खनन गर्न थाल्दा त्यहाँ भेटिएका कुराहरू देखेर तिनीहरू तीन छक परे। ती सुन्दर भित्ते चित्र र कलाहरूमा यौनबारे खुलस्त देखिने थुप्रै चित्र तथा मूर्तिहरू पनि फेला परे। यी सामग्रीहरू सनसनीपूर्ण भएकोले अधिकारीहरूले यसलाई गोप्य संग्रहालयहरूमा थन्क्याए। तिनीहरूले दुईवटा युनानी शब्दहरूबाट “अश्‍लील सामग्री” भन्‍ने शब्द सृजना गरे जसको मूल अर्थ “वेश्‍याहरूबारे लेख्नु” भन्‍ने हुन्छ। अचेल अश्‍लील सामग्रीहरूलाई “यौन उत्तेजना जगाउने हेतुले तयार पारिएको कामुक पुस्तक, चित्र, मूर्ति, चलचित्र आदि” भनेर परिभाषित गरिन्छ।

आजभोलि अश्‍लील सामग्रीहरू छ्यासछ्यासती पाइन्छन्‌ र आधुनिक समाजले यसलाई सहजै स्वीकारे जस्तो देखिन्छ। पहिले-पहिले अश्‍लील कुराहरू तल्लो स्तरका चलचित्र वा वेश्‍यालयहरूमा मात्र देख्न पाइन्थ्यो भने अचेल थुप्रै समुदायहरूमा यसको प्रमुख भूमिका रहेको छ। संयुक्‍त राज्य अमेरिकामा मात्रै अश्‍लील सामग्रीहरूबाट हरेक वर्ष दस अरब डलरभन्दा बढी आय आर्जन हुन्छ!

यसका समर्थकहरू अश्‍लील सामग्री भनेको नीरस वैवाहिक बन्धनलाई रस प्रदान गर्ने माध्यमको रूपमा बढवा दिन्छन्‌। एक जना लेखिका यसो भन्छिन्‌: “यसले सक्रिय कल्पनाशक्‍ति जागृत गराउँछ। यसले यौन आनन्द प्राप्त गर्ने तरिकाहरू सिकाउँछ।” अरू भने यसले यौनको मामिलामा खुलस्त हुन प्रोत्साहित गर्छ भन्‍ने दाबी गर्छन्‌। “अश्‍लील सामग्रीहरूले आइमाईहरूलाई लाभ पुऱ्‍याउँछ” भनी लेखिका वेन्डी म्याकलरोई दाबी गर्छिन्‌।

तर यस कुरामा सबै जना सहमत छैनन्‌। अश्‍लील सामग्रीले गर्दा प्रायजसो थुप्रै हानिकारक नतिजा र मनोवृत्ति देखा परेका छन्‌। कतिपय व्यक्‍तिहरू अश्‍लील सामग्रीहरूको कारण बलात्कारका साथै महिला तथा बालबालिकाहरू विरुद्ध अन्य हिंसाहरू भएका छन्‌ भनी बताउँछन्‌। एउटै तरिका अपनाएर थुप्रै हत्या गरेका कुख्यात हत्यारा टेड बन्डी आफूमा “हिंसात्मक अश्‍लीलताको अतृप्त वासना” भएको कुरा स्वीकार्छन्‌। तिनी भन्छन्‌: “यस्तो अवस्था मानिसले सजिलै पत्ता लगाउन सक्दैन वा यो गम्भीर समस्या हो भनेर चिन्‍न सक्दैन। . . . तर यो इच्छा . . . पछि झन्‌-झन्‌ बढ्‌दै गएर हिंस्रक यौन रूप लिन्छ। म यस्तो वासना बिस्तारै बिस्तारै कत्तिको बढ्यो भनेर शब्दमा व्यक्‍त गर्न सक्दिनँ। यो थोरै समयभित्र हुने कुरा होइन।”

अश्‍लील सामग्रीबारे कहिल्यै नटुगिंने वादविवाद र यसको व्यापकता देख्दा तपाईंलाई लाग्न सक्छ, ‘के यस सन्दर्भमा बाइबलले कुनै निर्देशन दिएको छ?’

यौनको मामिलामा बाइबल खुलस्त छ

बाइबलमा यौनसम्बन्धी कुराहरू सुस्पष्ट र खुलस्त ढंगमा बताइएको छ। (व्यवस्था २४:५; १ कोरिन्थी ७:३, ४) “तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो” भनी सुलेमानले सल्लाह दिए। “त्यसकै स्तनमा तँ सन्तुष्ट बन्‌।” (हितोपदेश ५:१८, १९, नयाँ संशोधित संस्करण) यौन सम्बन्धको आनन्द उठाउन सकिने परिधिलगायत यसबारे स्पष्ट सुझाउ तथा सल्लाह दिइएको छ। विवाह बाहिरको यौन सम्बन्धलाई निषेध गरिएको छ। सबै प्रकारका विकृत तथा पतित यौन चलनहरू पनि निषेध गरिएको छ।—लेवी १८:२२, २३; १ कोरिन्थी ६:९; गलाती ५:१९.

यी परिधिभित्र पनि संयम र आदर देखाउनुपर्छ। प्रेरित पावलले यस्तो लेखे, “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌।” (हिब्रू १३:४) यो सल्लाह अश्‍लील सामग्रीको उद्देश्‍य तथा सन्देशभन्दा बिल्कुलै भिन्‍न छ।

अश्‍लील सामग्रीले यौनलाई विकृत तुल्याउँछ

यौन सम्बन्धलाई आदरणीय विवाहमा बाँधिएका पुरुष र स्त्रीबीच हुने प्रेमको सुन्दर तथा घनिष्ठ अभिव्यक्‍तिको रूपमा चित्रण गर्नुको सट्टा अश्‍लील सामग्रीले यौन क्रियालाई होच्याउँछ र विकृत बनाउँछ। गैरजिम्मेवारपूर्ण तथा भ्रष्ट यौन सम्बन्धलाई रोमाञ्चक र आकर्षक जस्तो देखाइन्छ। अरूको वास्तै नगर्ने तर आफ्नै आनन्द मात्र हेर्ने झुकाउलाई बढवा दिन्छ।

स्त्री, पुरुष र बच्चाहरू यौन सन्तुष्टिका लागि मात्र सृजिएका प्राणीहरू हुन्‌ जस्तो देखाइन्छ। “शारीरिक अंगहरूको आधारमा सुन्दरता नापिन्छ र यसले अव्यावहारिक आकांक्षाहरू जगाउँछ” भनी एउटा रिपोर्टले बताउँछ। “आइमाईहरूलाई आफ्नो कुनै पहिचान नभएका, सधैं मौका खोजिरहने र पैसा वा मनोरञ्जनका लागि पुरुषहरूको अगाडि नाङ्‌गिन तयार हुने यौन खेलौनाको रूपमा चित्रण गरिंदा समानता, प्रतिष्ठा र मानवताको पटक्कै वास्ता गरिंदैन” भन्‍ने निष्कर्ष अर्को रिपोर्टले निकालेको छ।

त्यसको विपरीत, प्रेम “बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन” भनेर पावलले लेखे। (१ कोरिन्थी १३:५) बाइबलले पुरुषहरूलाई “आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम” गर्न र ‘आदर दिन’ तथा आइमाईहरूलाई यौन सन्तुष्टि प्राप्त गर्ने वस्तुको रूपमा नहेर्ने सल्लाह दिन्छ। (एफिसी ५:२८; १ पत्रुस ३:७) चाहे पुरुष होस्‌ वा स्त्री, के खुलेआम यौन चित्रण गरिएका तस्बिरहरू सधैं हेर्ने व्यक्‍ति साँच्चै शिष्ट चालमा हिंडिरहेको हुन्छ? अनि के त्यस व्यक्‍तिले साँच्चै सम्मान तथा आदर देखाइरहेको हुन्छ? अश्‍लील सामग्रीले प्रेमको सट्टा आत्मकेन्द्रित तथा स्वार्थी भावना बढाउँछ।

यसमा अर्को कुरा पनि समावेश छ। अरू अनुचित उत्तेजनाजस्तै यो पनि सुरुमा एकदमै उत्तेजक लागेको तर पछि त्यही मामुली र सामान्य हुन धेरै बेर लाग्दैन। एक जना लेखक यसो भन्छन्‌: “समय बित्दै जाँदा [अश्‍लील सामग्रीहरू प्रयोग गर्नेहरूले] अझ खुलस्त र विकृत वस्तुहरू खोज्न थाल्छन्‌ . . . तिनीहरूले आफ्ना जोडीहरूलाई झन्‌-झनै अस्वाभाविक यौन क्रिया गर्न दबाउ दिन सक्छन्‌ . . . अनि यसले तिनीहरूको साँचो स्नेह व्यक्‍त गर्ने क्षमतालाई घटाउँछ।” के यो अहानिकारक मनोविनोद हो त? तर अश्‍लील सामग्रीहरूबाट टाढै बस्नुपर्ने अर्को महत्त्वपूर्ण कारण पनि छ।

बाइबल र कामुकता

आज धेरै मानिसहरूले यौन इच्छा जगाउनुमा कुनै खराबी वा हानि छैन भन्‍ने सोचाइ राखे तापनि बाइबल यससित सहमत छैन। हामीले दिमागमा भर्ने कुराहरू र हाम्रो कामबीच नजिकको सम्बन्ध छ भनी बाइबलले स्पष्टसँग बताउँछ। मसीही चेला याकूबले यसरी औंल्याए: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ।” (याकूब १:१४, १५) येशूले यसो भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।”—मत्ती ५:२८.

याकूब र येशू दुवैले संकेत गरेअनुसार, मानिसहरू आन्तरिक इच्छाले प्रेरित भई त्यसैअनुरुपको काम गर्छन्‌। यी इच्छाहरू बढ्‌न दिइरह्‍यो भने अन्ततः यो शक्‍तिशाली अभिलाषामा परिणत हुन्छ। यस्ता अभिलाषाहरूको प्रतिरोध गर्न निकै गाह्रो हुन्छ अनि यसले अन्ततः त्यस व्यक्‍तिलाई आफ्नो अभिलाषाअनुसारको काम गर्न धकेल्न सक्छ। त्यसकारण, हामी दिमागमा जुन कुराहरू भर्छौं त्यसले हाम्रो कामहरूमा ठूलो असर गर्न सक्छ।

यौन कल्पनाले हामीले परमेश्‍वरलाई चढाउने उपासनामा प्रत्यक्ष हस्तक्षेप गर्न सक्छ। त्यसैले त पावलले यस्तो लेखे: “यसकारण . . . तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना, उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।”—कलस्सी ३:५.

यहाँ पावलले उद्वेग र लोभबीचको सम्बन्ध देखाएका छन्‌ र लोभको अर्थ हो आफ्नो हक नलाग्ने कुरा लिनको लागि तीव्र इच्छा गर्नु। a लोभ एक प्रकारको मूर्तिपूजा हो। किन? किनभने लोभ गर्ने व्यक्‍तिले आफूले इच्छा गरेको कुरालाई परमेश्‍वरलगायत अरू सबै कुराभन्दा माथि राख्छ। अश्‍लील सामग्रीले आफ्नो हक नलाग्ने कुराप्रति कामुक भावना जगाउँछ। “तपाईं अरूको यौन जीवनको चाहना गर्नुहुन्छ। . . . तपाईंले अरू कुनै कुरा सोच्नु हुन्‍न तर आफूसँग नभएको यौन जीवनको धोको पूरा गर्नेबारे मात्र सोच्नुहुन्छ। . . . हामी जुन कुराको चाह गर्छौं, त्यसैको उपासना गर्छौं” भनी धर्मसम्बन्धी लेखक बताउँछन्‌।

अश्‍लील सामग्रीले भ्रष्ट बनाउँछ

“जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण . . . छ भने, तिनै कुराको विचार गर” भनेर बाइबलले सल्लाह दिन्छ। (फिलिप्पी ४:८) अश्‍लील सामग्रीहरू हेर्ने र त्यसैले आफ्नो दिमाग भर्ने व्यक्‍तिले पावलको यो सल्लाह तिरस्कार गरिरहेको हुन्छ। अश्‍शील सामग्री लाजमर्दो हुन्छ किनभने यसले सबैभन्दा घनिष्ठ र निजी क्रियालाई जनसमक्ष लाजै नमानिकन उदांग पारिदिन्छ। यो घृणित हो किनभने यसले मानिसहरूको इज्जत लत्याउँछ र मानिसहरूलाई अमानवीय बनाउँछ। यो निर्दयी हुन्छ किनभने यसले कोमलता वा अरूप्रतिको चासोलाई वास्तै गर्दैन। यसले स्वार्थी कामुकतालाई मात्र बढवा दिन्छ।

अनैतिक र पतित क्रियाकलापहरूलाई सनसनीपूर्ण ढंगमा चित्रण गरेर अश्‍लील सामग्रीले ‘बुराइलाई घृणा गर्नको लागि’ मसीहीहरूले गरेको प्रयत्नलाई कमजोर वा बेकम्मा तुल्याइदिन्छ। (आमोस ५:१५) यसले पाप गर्न उक्साउँछ र यो पावलले एफिससका मसीहीहरूलाई दिएको प्रोत्साहनको ठीक विपरीत छ। तिनले यस्तो प्रोत्साहन दिए: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ। औ न अशिष्टता, न . . . ठट्टा, यी उचित होइनन्‌।”—एफिसी ५:३, ४.

अश्‍लील सामग्री पक्कै पनि हानिकारक कुरा हो। यसले नाजायज फाइदा उठाउँछ र भ्रष्ट पार्छ। यसले यौन आत्मीयताको प्राकृतिक अभिव्यक्‍तिलाई केवल यौन तृप्तितर्फ धकेलेर मानव सम्बन्ध बिगार्न सक्छ। यसले यी कामहरूमा भाग लिने व्यक्‍तिको मनस्थिति र आध्यात्मिकतालाई दूषित तुल्याउँछ। यसले स्वार्थ र महत्त्वाकांक्षालाई बढवा दिन्छ र अरू मानिसहरूलाई आफ्नो कामुक इच्छा पूरा गर्ने वस्तुको रूपमा मात्र हेर्न सिकाउँछ। यसले असल गर्ने र सफा अन्तस्करण राख्ने प्रयत्नलाई बेकारजस्तो देखाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले परमेश्‍वरसँगको आध्यात्मिक सम्बन्धमा हानि पुऱ्‍याउन वा नष्ट गर्न समेत सक्छ। (एफिसी ४:१७-१९) साँच्चै, अश्‍लील सामग्री एउटा त्यस्तो महामारी हो जसबाट हामी अलग बस्नै पर्छ।—हितोपदेश ४:१४, १५. (g02 7/8)

[फुटनोट]

a यहाँ पावलले आफ्नो विवाहित जोडीसँग यौन सम्बन्ध राख्नको लागि उत्पन्‍न हुने सामान्य उद्वेगबारे कुरा गरिरहेका थिएनन्‌।

[पृष्ठ २०-मा भएको चित्र]

अश्‍लील सामग्रीले विपरीत लिंगको व्यक्‍तिप्रतिको धारणालाई विकृत तुल्याउँछ