सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?

के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?

के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?

ऐनाअगाडि बसेर घण्टौं आफ्नो केश नियाल्ने व्यक्‍तिहरूमध्ये तपाईं पनि एक जना हुनुहुन्छ होला। महिला तथा पुरुष दुवैले आफ्नो केशप्रति उत्तिकै चासो लिने गर्छन्‌। अनि कहिलेकाहीं तपाईंको केश चिन्ताको विषय पनि बन्‍न सक्छ।

आफ्नो केशका केही तथ्यहरू थाह पाइराख्नुहोस्‌

तपाईंको टाउकोमा कतिवटा केश हुन्छन्‌ भनी के तपाईंलाई थाह छ? हाम्रो टाउकोमा सरदर १,००,००० जति केश हुन्छन्‌। प्रत्येक केश दुई देखि छ वर्षसम्म मात्र बढ्‌छ, सधैं बढिरहँदैन। त्यसपछि यो झर्छ र झरेको केशको छिद्रबाट फेरि नयाँ केश उम्रन थाल्छ। प्रत्येक केशको जीवनचक्रलाई केशचक्र भनिन्छ। (पृष्ठ २७ को पेटी हेर्नुहोस्‌।) कुनै व्यक्‍तिको केशसम्बन्धी समस्या नभए तापनि यस चक्रले गर्दा हरेक दिन ७० देखि १०० वटा केशहरू स्वाभाविक रूपले झर्ने गर्छन्‌।

केशको रंग फरक-फरक हुनुको कारण चाहिं के हो? द वर्ल्ड बूक इनसाइक्लोपीडिया यस्तो व्याख्या गर्छ: “केशको रंग धेरै हदसम्म मेलानिन नाउँ गरेको गाढा खैरो रगंको तन्तुको मात्रा अनि वितरणमा निर्भर हुन्छ।” मेलानिन एउटा जैविक तन्तु हो जुन केश, छाला अनि आँखामा पाइन्छ। तन्तुको मात्रा जति धेरै भयो केशको रंग पनि त्यति नै गाढा हुनेछ। मेलानिनको मात्रा कम भएमा कसैको केशको रंग खैरो वा फिक्का रातो वा कैलो हुन्छ। केशमा मेलानिन पटक्कै नभएमा केश पूरै चम्किलो सेतो देखिन्छ।

चायाको अलावा धेरैलाई केश झर्ने वा केश फुल्ने समस्याले चिन्तित तुल्याउँछ।

के तपाईंको केश फुलेको छ?

अक्सर केश फुल्नुलाई बुढेसकालको लक्षणको रूपमा हेरिन्छ। सेतो कपाललाई अक्सर वृद्ध मानिसको चिनारीको रूपमा लिइन्छ। हो, उमेर ढल्कदै जाँदा सेतो केश पनि बढ्‌दै जान्छ। यद्यपि, उमेर ढल्कनुको अलावा, अन्य तत्त्वहरू जस्तै वजन घटाउन खाँदै नखानुलाई केश फुल्नुको कारण मान्‍न सकिन्छ। लिंग वा व्यक्‍तिविशेषको केशको स्वाभाविक रंगले केश फुल्नुमा कुनै भूमिका खेल्दैन तर गाढा रंगको केश हुने व्यक्‍तिहरूको केश फुल्दा सजिलै देखिन्छ।

केश फुलेकोले गर्दा कोही-कोही आफ्नो वास्तविक उमेरभन्दा पाको देखिन्छन्‌ जसले गर्दा उक्‍त व्यक्‍तिलाई चिन्ता लाग्न सक्छ। अर्कोतिर, केश नफुलेका व्यक्‍तिहरूलाई आफ्नो रूप अनि वास्तविक उमेरबीचको असन्तुलनले चिन्ता लाग्ला।

केश फुल्नुको अर्थ केश मर्नु होइन। वास्तवमा भन्‍ने हो भने, केशको बाहिर देखिने भाग पहिले नै मरिसकेको हुन्छ। प्रत्येक केश छालाको भित्री सतहबाट बढ्‌छ। यो भागलाई बल्ब भनिन्छ। केशको जीवित रहने भाग भनेको पनि यही मात्र हो। बल्ब केश उत्पादन गर्ने कारखाना हो। बल्बमा तीव्र कोष विभाजनद्वारा केश बन्‍ने क्रममा यसले पिगमेन्ट कोषद्वारा उत्पादन गरिने मेलानिन सोस्छ। त्यसैकारण, कारणवश पिगमेन्ट कोषले मेलानिन उत्पादन गर्न बन्द गरेमा केश सेतै रहन्छ।

हालसम्म एक्कासि पिगमेन्ट कोषले मेलानिन उत्पादन गर्न बन्द गर्नुको कारण पत्ता लागेको छैन। त्यसैले केश फुल्नबाट रोक्ने कुनै ठोस उपचार हालसम्म पत्ता लागेको छैन। भनिन्छ, काम गर्न बन्द गरिसकेका पिगमेन्ट कोषहरूले पुनः काम थाल्ने सम्भावना हुन्छ। चाखलाग्दो कुरा के छ भने, केशको सन्दर्भमा बाइबलमा धेरै अभिव्यक्‍तिहरू छन्‌ अनि येशूले दिनुभएको एउटा उदाहरणले सेतो केशलाई संकेत गर्छ। उहाँले यसो भन्‍नुभयो: “तिमी एउटा केशलाई सेतो कि कालो बनाउनसक्‍तैनौ।” (मत्ती ५:३६) यी शब्दहरूले पुरातन समयदेखि नै केश फुल्नबाट रोक्नु वा त्यसको उपचार गर्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा हो भनी स्वीकारेको पुष्टि हुन्छ।

कसै-कसैले मेलानिनको सुई लिने जस्ता नयाँ उपचार विधिहरू प्रयोग गर्छन्‌। अरू कतिपयले चाहिं आफ्नो केश रंगाउँछन्‌ अनि केश रंगाउनुलाई हामी पक्कै पनि आधुनिक चलन भन्‍न सक्दैनौं। पुरातन युनानी अनि रोमीहरूले केश रंगाउने गर्थे। पुरातन मिश्रीहरूले आफ्नो केश रंगाउन साँढेको रगत प्रयोग गर्थे। येशूको समयका हेरोद महान्‌ले आफ्नो उमेर लुकाउन केश रंगाए भनी रेकर्ड गरिएको पाइन्छ।

यद्यपि, केश रंगाउन समय अनि मेहनत लाग्छ अनि कसै-कसैमा यसो गर्दा छालासम्बन्धी समस्या देखापर्नुकासाथै एलर्जी हुन सक्छ। तपाईंले आफ्नो केश रंगाउने विचार गर्नु भए तापनि कुनै समयमा पुगेपछि तपाईंलाई यसो गर्न मन नलाग्न सक्छ र त्यसपछि तपाईंलाई आफ्नो टाटेपाटे केश हेरेर अप्ठ्यारो लाग्न सक्छ। यसको राम्रो पक्ष भनेको फुलेको केशले व्यक्‍तित्वलाई शोभायमान बनाउन सक्छ अनि तपाईंले पहिला कहिल्यै अनुभव नगरेको गर्व महसुस गर्न सक्नुहुन्छ। बाइबलले यस्तो टिप्पणी गर्छ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।”—हितोपदेश १६:३१.

पातलो केश अनि तालुखुइलेपन

धेरैजसो मानिसहरूको अर्को समस्या पातलो केश अनि तालुखुइलेपन हो। यी पनि नयाँ समस्याहरू होइनन्‌। पुरातन मिश्रमा सिंह, जलगैंडा, गोही, बिरालो, सर्प अनि राजहंसको बोसोलाई तालुखुइलेपनको उपचारमा प्रयोग गरिन्थ्यो। आजकाल बजारमा केश र टाउकाको छालाको लागि प्रभावकारी भनी दाबी गरिएका उपचारहरू छ्यासछ्यासती पाइन्छ। अनि यसमा हरेक वर्ष ठूलो रकम खर्च गरिन्छ।

केशको चक्र अनियमित हुँदा तालुखुइलेपन देखा पर्छ। कुपोषण, धेरै लामो समयसम्म ज्वरो आइरहेमा वा अन्य चर्मसम्बन्धी रोगहरूजस्ता शारीरिक अशक्‍तताहरूले केश सामान्य ढंगमा बढ्‌न सक्दैन। गर्भावस्था अनि सुत्केरी अवस्थामा पनि केश सामान्य ढंगमा नबढ्‌न सक्छ। त्यसैले नयाँ केश बढ्‌नु ठिक्क अघि धेरै केश झर्ने गर्छ। यद्यपि, यस्ता कारणहरूले गर्दा केश झरेको हो भने, पछि केश झर्न बन्द हुन्छ र सामान्य ढंगमा बढ्‌न थाल्छ।

अर्को प्रकारको केश झर्ने समस्यालाई अलोपिसिया भनिन्छ। a यदि यो समस्याले गर्दा केश झरेको हो भने अक्सर केश झरिसकेपछि टाउकाको छालामा धब्बाहरू देखिन्छन्‌। चिकित्सासम्बन्धी हालैको अनुसन्धानले पत्ता लगाएअनुसार रोग प्रतिरोधात्मक प्रणालीमा गडबडीको कारणले गर्दा अलोपिसिया हुन सक्ने सम्भावना हुन्छ।

सबैभन्दा सामान्य केश पातलिने समस्यालाई पुरुषहरूमा हुने तालुखुइलेपन भनिन्छ। नाउँबाटै यो समस्या पुरुषहरूमा देखापर्छ भन्‍ने स्पष्ट हुन्छ। तालुखुइलेपन टाउकाको अगाडिको भागबाट सुरु हुँदै जाने हुन्छ वा तालुतिरको केश पातलो हुँदै गएर यो समस्या सुरु हुन्छ। टाउकाको प्रभावित क्षेत्रमा केश अनियमित ढंगमा बढ्‌न थाल्छ अनि अन्ततः बढ्‌नै बन्द हुन्छ। दी इनसाइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “प्रभावित टाउकाको छालाको क्षेत्रमा पहिलेको लामो, बलियो केशको ठाउँमा भेलुस नाउँ गरेको नरम पातलो केशहरू उम्रन्छन्‌।” यसको अर्थ, केशचक्रको दौडान पातलै केश मात्र उम्रन्छ र त्यसमाथि ती केश छिट्टै झर्ने हुन्छ र अन्ततः केश बढ्‌नै बन्द हुन्छ। वंशाणुगत गुण र पुरुष हर्मोन दुवैले एकैचोटि असर गर्दा यसो हुन्छ।

किशोरावस्थादेखि नै पुरुषहरूमा हुने तालुखुइलेपन देखापर्न सक्छ तर पुरुषहरूमा ३० देखि ५० वर्ष भित्रमा यस्तो तालुखुइलेपन देखा पर्ने सम्भावना धेरै हुन्छ। यस्तो किसिमको केश झर्ने समस्या अधिकांश पुरुषहरूमा देखापर्ने भए तापनि जाति अनि व्यक्‍तिअनुसार फरक-फरक हुन सक्छ। दुःखको कुरा, हालसम्म यस रोगको लागि कुनै ठोस उपचार पत्ता लागेको छैन। कसै-कसैले नक्कली केश रोज्छन्‌ वा कतिपय केश प्रत्यारोपण गर्नतिर लाग्छन्‌। धेरैको लागि, रहेको केशलाई झर्नबाट बचाउन राम्ररी स्याहार गर्नु लाभदायी हुन सक्छ।

कसैको केश पातलो छ भन्दैमा त्यस व्यक्‍तिको केश फेरि कहिल्यै पलाउँदैन भन्‍नु उपयुक्‍त नहुन सक्छ। बरु, कुनै व्यक्‍तिको केश नरम र पातलो हुँदै गएकोले केशको मोटाइ कम हुँदै गएको हुन सक्छ। केश कत्तिको मोटो हुन्छ? सर्वेक्षणअनुसार व्यक्‍तिअनुसार प्रत्येक केशको मोटाइ ५० देखि लिएर १०० माइक्रोनसम्म हुन सक्छ। b उमेर ढल्कदै जाँदा केशको मोटाइ पातलिंदै जान्छ। केशको मोटाइ केही माइक्रोन कम भएमा त्यसलाई सजिलै ठम्याउन नसकिने हुन सक्छ। तर हाम्रो टाउकोमा १,००,००० जति केश हुन्छन्‌ भन्‍ने कुरालाई नबिर्सनुहोस्‌। त्यसैले प्रत्येक केशको मोटाइमा अलिकता मात्र फरक पर्न गएमा पनि कुल परिणाममा ठूलो अन्तर आउन सक्छ।

तपाईंको केशको स्याहार

एउटा केश प्रत्येक महिना दस मिलिमिटरभन्दा बढी बढ्‌छ अनि केश नै हाम्रो शरीरको सबैभन्दा छिटो-छिटो बढ्‌ने भाग हो। एक दिनमा बढेका सबै केशहरूलाई एकै ठाउँमा राख्ने हो भने २० मिटरभन्दा लामो हुन्छ!

केश फुल्ने समस्यालाई चट्टै रोक्ने उपचार पत्ता नलागे तापनि केशको स्याहारको लागि हामीले धेरै थोक गर्न सक्छौं। पर्याप्त मात्रामा पौष्टिक आहार खानु अनि टाउकोको छालाको रक्‍त संचारलाई ठीक अवस्थामा राख्नु नितान्त जरुरी छ। अचाक्ली वा असन्तुलित खाना खाने गर्नाले केश फुल्ने तथा केश पातलो हुने समस्या झनै बढ्‌न सक्छ। विशेषज्ञहरूको सल्लाहअनुसार हामीले नियमित रूपमा केश श्‍याम्पू गर्नुका साथै टाउकाको छालाको मालिस गर्नुपर्छ र नङले टाउकोको छाला कोतर्ने गर्नु हुँदैन। यो सल्लाहलाई पालन गरेको खण्डमा टाउकाको छालामा उपयुक्‍त मात्रामा रक्‍तसञ्चार हुन्छ। केशमा श्‍याम्पू गरिसकेपछि राम्ररी पखाल्नुहोस्‌।

बेसरी बल गरेर केश नकोर्नुहोस्‌। यदि तपाईंको केश लामो छ भने, एकैचोटि जरादेखि नकोर्नु भए बेस हुन्छ। यदि तपाईंको केश लामो छ भने पहिला आफ्नो केश समात्नुहोस्‌ र केशको टुप्पोतिर लट्टा परेको भागलाई कोर्नुहोस्‌। त्यसपछि, केशको बीच भागदेखि टुप्पोसम्म कोर्नुहोस्‌। अन्तमा केशलाई बिस्तारै तल झार्नुहोस्‌। अब जरादेखि टुप्पोसम्म कोर्नुहोस्‌।

केश फुलेमा वा धेरै झरेमा तपाईंलाई चिन्ता लाग्न सक्छ। तर तपाईं आफ्नो केशको जति ख्याल गर्नुहुन्छ अक्सर अरूले तपाईंको केशको त्यति ख्याल गर्दैनन्‌ भनेर नबिर्सनुहोस्‌। केश रंगाउने, नक्कली केश लगाउने वा अन्य उपचार खोज्ने, यी सब आफ्नै छनौटको कुरा हो। तपाईंको केशको रंग जस्तोसुकै भए तापनि अनि तपाईंको केश धेरै होस्‌ या कम त्यसलाई सफा र चिटिक्क पारेर कोर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। (g02 8/08)

[फुटनोटहरु]

a अप्रिल २२, १९९१ को अवेक!-को पृष्ठ १२ हेर्नुहोस्‌।

b एक माइक्रोन एक मिलिमिटरको हजार भागको एक भाग हो।

[पृष्ठ १५-मा भएको पेटी/रेखाचित्र]

केश चक्र

केश आफ्नै चक्रअनुसार बढ्‌छ। यसको बढ्‌ने चरण, एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने चरण र विश्राम चरण हुन्छ। द वर्ल्ड बूक इनसाइक्लोपीडिया यसरी व्याख्या गर्छ: “प्रत्येक विश्राम चरणपछि केश बढ्‌न बन्द हुन्छ। अर्को बढ्‌ने चरण सुरु नभएसम्म पुरानो केश विश्राम छिद्रमा रहिरहन्छ। बढ्‌ने चरणको दौडान नयाँ केश बढ्‌दै जाँदा, त्यसले पुरानो केशलाई छिद्रबाट बाहिर धकेलेर झारिदिन्छ।” जहिले पनि ८५ देखि ९० प्रतिशत केश बढ्‌ने चरणमा हुन्छ, १० देखि १५ प्रतिशत केश विश्राम चरणमा हुन्छ अनि १ प्रतिशत केश एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने अवस्थामा हुन्छ।

[रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सुरुको वृद्धि

सक्रिय वृद्धि

छिद्र

रक्‍त नलीहरू

तेल ग्रन्थि

केश

प्रतिगमन

विश्राम

पुनः बढिरहेको

[पृष्ठ १२-मा भएको पृष्ठभरिको चित्र]