सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो

मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो

मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो

लुशिया मुसानेटको वृत्तान्तमा आधारित

इटालीको उत्तरपश्‍चिमी दुर्गम इलाका, स्वीस आल्प्स र फ्रान्सको प्रख्यात मँ ब्लाँ पर्वतमाला नजिकै भाला डाओस्टा अवस्थित छ। मेरो जन्म १९४१ मा त्यहाँको शालान्ट सेन्टालसेम भन्‍ने सानो गाउँमा भयो।

म पाँच सन्तानमध्ये जेठी थिएँ; मेरा चार भाइहरू थिए। आमा असाध्यै मेहनती र भक्‍त क्याथोलिक हुनुहुन्थ्यो। बुबाको परिवारले पनि धर्मप्रति निकै आस्था राख्थ्यो। मेरा दुई जना फुपूहरू इसाई भिक्षुणी हुनुहुन्थ्यो। मैले राम्रो शिक्षा पाओस्‌ भनेर मेरा आमाबाबुले थुप्रै भौतिक त्यागहरू गर्नुभयो। हाम्रो सानो गाउँमा स्कूल थिएन, त्यसैले ११ वर्षकी भएपछि मेरा आमाबाबुले मलाई इसाई भिक्षुणीहरूले चलाइरहेको बोर्डिङ स्कूलमा पढ्‌न पठाउनुभयो।

त्यहाँ मैले ल्याटिन र फ्रेन्चलगायत अन्य विषयहरू पढें। अनि म १५ वर्षको हुँदा मैले परमेश्‍वरलाई कसरी सेवा गर्ने भनी गम्भीरतापूर्वक सोच्न थालें। इसाई भिक्षुणीहरूको मठमा भर्ना हुनु नै सबैभन्दा राम्रो तरिका हो भन्‍ने सोचें। तथापि, मेरा आमाबाबुलाई यो कुरा मन परेन किनभने आमा एक्लैले भाइहरूको हेरचाह गर्नुपर्ने थियो। शिक्षा हासिल गरेर राम्रो जागिर पाएपछि मैले परिवारलाई आर्थिक तवरमा सहयोग गर्नेछु भन्‍ने मेरा आमाबाबुको आशा थियो।

मेरा आमाबाबुको प्रतिक्रियाले मलाई दुःखी बनाए तापनि म जीवनको साँचो उद्देश्‍य बुझ्न चाहन्थें र परमेश्‍वरले प्रथम स्थान पाउनुपर्छ जस्तो मलाई लाग्यो। त्यसैले १९६१ मा म रोमन क्याथोलिक मठमा प्रवेश गरें।

भिक्षुणीको रूपमा मेरो जीवन

सुरुका महिनाहरूमा मैले चर्चका नीतिनियम सिकें अनि मठमा काम गरें। अगस्त १९६१ मा मैले सिकारुको हैसियतमा काम थालें र भिक्षुणीको औपचारिक वस्त्र लगाएँ। मैले आफ्नो लागि नयाँ नाउँको प्रस्ताव राखें, इनास र यो मेरो आमाको नाउँ थियो। यो स्वीकृत भएपछि म सिस्टर इनास भनेर चिनिन थालें।

प्रायजसो सिकारुहरू मठभित्रै कामकाज गर्ने भए तापनि मैले माध्यमिक विद्यालयको शिक्षिका हुन पर्याप्त शिक्षादीक्षा हासिल गरिसकेकी थिएँ। दुई वर्षपछि अगस्त १९६३ मा मैले शपथ ग्रहण गरेपछि एओस्टा, इटालीको सिस्टर्स अफ सान जुझेप्पाको भिक्षुणी भएँ। पछि, त्यस मठले रोमको मारिया सान्टिसिमा आसुन्टा विश्‍वविद्यालयमा थप शिक्षा हासिल गर्न मलाई पठायो।

रोममा पढाइ सिध्याएर १९६७ मा एओस्टा फर्केपछि मैले उच्च माध्यमिक विद्यालयमा पढाउन थालें। सन्‌ १९७६ मा मलाई त्यस स्कूलको प्रधानाध्यापिका हुने प्रस्ताव राखियो। मैले अझै केही कक्षाहरूमा पढाइरहेकी भए तापनि मलाई स्कूलको प्रशासन विभागमा खटाइयो र भाली डेओस्टा क्षेत्रीय स्कूल निकायको सदस्य भएँ।

मेरो साँचो इच्छा गरिबहरूलाई मदत गर्नु थियो। तिनीहरूप्रति मेरो हृदय समानुभूतिले भरिन्थ्यो। मैले परिवारको सहयोग नपाएका दीर्घ रोगीहरूलाई सहयोग गर्ने जस्ता विभिन्‍न सामाजिक कार्यक्रमहरूको आयोजना गरें। मैले आप्रवासीहरूका बालबच्चालाई पढाउने कार्यक्रम पनि सुरु गरें। साथै, मैले गरिबहरूको लागि काम र आवासको प्रबन्ध मिलाएँ अनि खाँचोमा परेकाहरूलाई चिकित्सा सहयोग दिने कार्यमा सामेल भएँ। मैले चर्चका धार्मिक सिद्धान्तहरूअनुरूप आफ्नो जीवन बिताउने प्रयास गरें।

त्यतिबेला, मैले त्रिएक, आत्माको अमरताजस्ता चर्चको शिक्षा र मानिसको अनन्त भविष्यको सन्दर्भमा चर्चको दृष्टिकोण समेटिएको धर्मसिद्धान्त स्वीकारें। त्यतिबेला क्याथोलिक धर्मविज्ञानले पनि अरू धर्मसँग मिलेर अन्तरविश्‍वासजस्ता धारणाहरू स्वीकारेको थियो।

मलाई पिरोल्न थालेका विषयहरू

यद्यपि, क्याथोलिक चर्चभित्र भइरहेका कुनै-कुनै गतिविधिहरूले मलाई पिरोल्न थाल्यो। उदाहरणका लागि, बप्तिस्मा लिएर चर्चमा स्वीकृत हुनुअघि आमाबाबु र छोराछोरीले यी कदमहरूको अर्थ के हो भनेर बुझ्नुपर्थ्यो। तथापि, धेरैजसो कहिल्यै कक्षामा आउँदैनथे अनि अरू कतिपयले अध्ययन गर्ने प्रयासै गर्दैनथे। यसबाहेक, एउटा चर्चमा बप्तिस्मा र स्वीकृति नपाएका व्यक्‍तिहरू अर्को चर्चमा गएर बप्तिस्मा लिन्थे वा स्वीकृत हुन्थे। मेरो लागि त्यो देखावटी र कपटी कार्य थियो।

कहिलेकाहीं म आफै र सँगी भिक्षुणीहरूलाई यो प्रश्‍न गर्थें, “हामी यी नानाभाँतीका क्रियाकलापमा लाग्नुको सट्टा सुसमाचारको सन्देश प्रचार गर्नुपर्ने होइन र?” मलाई दिइएको जवाफ थियो, “हामी असल काम गरेर प्रचार गर्छौं।”

साथै, आफ्ना पापहरू पादरीसामु स्वीकार्नुपर्छ भन्‍ने कुरा मलाई खासै चित्त बुझेन। यस्ता व्यक्‍तिगत मामिलाहरूमा परमेश्‍वरसित कुरा गर्न सक्नुपर्ने हो जस्तो लाग्थ्यो। यसबाहेक, प्रार्थनाहरू मुखस्त गरेर दोहऱ्‍याउने कुरा स्वीकार्न पनि मलाई गाह्रो लाग्यो। पोपबाट कुनै गल्ती हुन सक्दैन भन्‍ने कुरा स्वीकार्न पनि गाह्रो लाग्यो। समय बित्दै जाँदा, मैले यी मामिलाहरूमा आफ्नै धारणा राख्ने अनि मठको नियमहरू पनि पूरा गर्दै जीवन बिताउने निधो गरें।

बाइबल ज्ञानको इच्छा

म सधैं बाइबलको गहिरो आदर गर्थें र बाइबलको ज्ञान लिने इच्छा गर्थें। मैले कुनै निर्णय गर्नुपर्दा वा परमेश्‍वरको समर्थनको आवश्‍यकता महसुस गर्दा बाइबल पढ्‌ने गर्थें। हामीले मठमा यो कहिल्यै नपढे तापनि म आफै पढ्‌थें। यहोवा परमेश्‍वरले यशैया ४३:१०-१२ मा भन्‍नुभएका कुराबाट म सधैं प्रभावित हुन्थें, “तिमीहरू मेरा साक्षी . . . हौ।” तथापि, त्यतिबेला मैले ती शब्दहरूको पूरा अर्थ बुझेकी थिइनँ।

सन्‌ १९६० दशकको बीचतिर रोमको विश्‍वविद्यालयमा मैले भ्याटिकनबाट प्रायोजित धर्मविज्ञानसम्बन्धी चार वर्षे कोर्स लिएकी थिएँ। तर त्यसको पाठ्यपुस्तकमा बाइबल समावेश गरिएको थिएन। एओस्टा फर्केपछि मसीही एकतासित सम्बन्धित थुप्रै गोष्ठीहरूमा सामेल भएँ र कुनै-कुनै अन्तरसाम्प्रदायिक र गैर-क्याथोलिक संगठनहरूले प्रायोजन गरेका थिए। यसले गर्दा म बाइबलका शिक्षाहरूको लागि अझ भोकाएँ। एउटै पुस्तकबारे सिकाएको दाबी गर्ने समूहहरूबीच निकै गोलमाल थियो।

बाइबलबारे अझ बढी सिक्दै

सन्‌ १९८२ को कुरा हो, मैले सामाजिक सेवा गर्ने केन्द्रमा एक जना यहोवाको साक्षी आइन्‌ अनि मसँग बाइबलसम्बन्धी छलफल गर्ने प्रयास गरिन्‌। म असाध्यै व्यस्त भए तापनि बाइबलको कुरा सिक्ने भनेको सुन्दा मेरो चासो जाग्यो। त्यसकारण मैले भनें, “मेरो स्कूलमा आउनुस्‌ अनि मेरो फुर्सदको बेला कुरा गरौंला।”

ती स्त्री मलाई भेट्‌न आइन्‌ तापनि मेरो तालिकामा “फुर्सदको” समय थिएन। त्यसपछि आमालाई क्यान्सर भएको थाह पाएपछि उहाँलाई मदत गर्न घरबिदा लिएर गएँ। अप्रिल १९८३ मा उहाँको मृत्युपछि म फेरि काममा फर्कें तर साक्षीहरूको मसित सम्पर्क छुटिसकेको थियो। तथापि, त्यसको केही समयपछि लगभग २५ वर्षकी साक्षी मसित बाइबलबारे कुरा गर्न आइन्‌। म आफै बाइबलको पुस्तक, प्रकाश पढिरहेकी थिएँ। त्यसकारण मैले उनलाई सोधें, “यहाँ प्रकाशको अध्याय १४ मा उल्लेख गरिएका १,४४,००० को हुन्‌?”

मैले सबै असल मानिसहरू स्वर्ग जान्छन्‌ भनेर सिकेकी थिएँ, त्यसैले यी १,४४,००० लाई मात्र छुट्याएर स्वर्ग लैजानुको कारण बुझ्न सकिनँ। मैले विचार गरें, ‘यी १,४४,००० को हुन्‌? तिनीहरूले के गर्छन्‌?’ यी प्रश्‍नहरू मेरो दिमागमा घुमिरहे। ती साक्षीले मलाई भेट्‌ने प्रयास गरिरहिन्‌ तर म घरमा नहुने हुँदा भेट्‌न सकिनन्‌।

अन्ततः उक्‍त साक्षीले मेरो ठेगाना उनको मण्डलीको प्राचीन मार्कोलाई दिइन्‌। बल्ल फेब्रुअरी १९८५ मा मार्कोले मलाई भेट्टाए। म व्यस्त भएकी हुँदा दुई चार मिनेट मात्र कुरा गऱ्‍यौं तर हामीले फेरि भेट्‌ने प्रबन्ध मिलायौं। पछि तिनी र तिनकी पत्नी, लीनाले नियमित तवरमा मलाई भेट्‌न आए र मलाई बाइबलबारे बुझ्न मदत दिए। छोटो समयमै मैले त्रिएक, अमर आत्मा र नरकको आगोजस्ता क्याथोलिक शिक्षाहरू बाइबलमा आधारित होइन रहेछन्‌ भनेर बुझें।

साक्षीहरूसित संगति

म यहोवाका साक्षीहरूको राज्यभवनमा सञ्चालित सभामा जाँदा क्याथोलिक चर्चभन्दा बेग्लै भएको कुरा प्रस्टै देखिन्थ्यो। गायन टोलीले मात्र होइन तर सबैले गाए। अनि तिनीहरूले सभामा भाग लिए। पूरै संगठन “भाइ” र “बहिनी”-को समूह थियो। तिनीहरूले साँच्चै एकअर्काको चासो राख्थे। यी कुराबाट म प्रभावित भएँ।

त्यतिबेला मैले भिक्षुणीको पहिरनमै सभाहरू धाएँ। कसै-कसैलाई राज्यभवनमा भिक्षुणीलाई देख्दा कस्तो-कस्तो लागेको स्पष्टै देखिन्थ्यो। मायाले भरिएको ठूलो परिवारमा बस्न पाउँदाको आनन्द र सन्तुष्टि मैले महसुस गरें। साथै, अध्ययन गर्दै जाँदा मैले के थाह पाएँ भने, मैले आफ्नो जीवनको आधार मानेकी थुप्रै सिद्धान्तहरू परमेश्‍वरको वचनअनुरूप थिएनन्‌। उदाहरणका लागि, परमेश्‍वरका सेवकहरूले विशेष पहिरन लगाउनुपर्ने सन्दर्भमा बाइबलले केही पनि बताएको छैन। बाइबलले सिकाएअनुसार मण्डलीमा नेतृत्व लिने नम्र प्राचीनहरूजस्तो नभई चर्चतन्त्र र तडकभडक अर्कै थियो।

मलाई आफू बालुवाको ढिस्कोमा उभिरहेको, आफ्नो कुनै ठोस आधार नभएको जस्तो लाग्यो। म २४ वर्षसम्म गलत विश्‍वासमा अलमलिरहेको हुनै सक्दैन जस्तो लाग्यो। यद्यपि, मैले बाइबल सत्यको सत्यता स्पष्टसित चिनें। मैले ४४ वर्षको उमेरमा फेरि नयाँ जीवन सुरु गर्नुपर्ने कुरा सोच्दा डर लाग्यो। तर मैले बाइबलले सिकाउने साँचो कुरा थाह पाइसकेपछि पनि कसरी म आँखा चिम्म गरेर हिंडिरहन सक्छु र?

महत्त्वपूर्ण निर्णय

मठ छोडेपछि मैले आर्थिक तवरमा केही पनि पाउँदिनँ भनेर थाह थियो। तथापि, दाऊदले भनेझैं धर्मात्मा ‘त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको देखेको छैन’ भन्‍ने शब्दहरू सम्झें। (भजन ३७:२५) मैले केही हदसम्म भौतिक सुरक्षा गुमाउनेछु भनेर मलाई थाह थियो तर मैले परमेश्‍वरमाथि भरोसा राख्दै यस्तो तर्क गरें, ‘के म वास्तवमा डराउनुपर्ने कुनै कारण छ र?’

मेरो परिवारले म बौलाएँ भन्ठान्यो। यसले गर्दा म चिन्तित भए तापनि मैले येशूका शब्दहरू सम्झें: “बाबु अथवा आमालाई मभन्दा बढता माया गर्ने मेरो योग्यको हुँदैन।” (मत्ती १०:३७) साथै, साक्षीहरूले मसित गरेको व्यवहारबाट म प्रोत्साहित भएँ र बल प्राप्त गरें। म भिक्षुणीको लुगा लगाएर सडकमा हिंडिरहेकी बेला तिनीहरू मलाई अभिवादन गर्न आउँथे। यसले गर्दा मैले भ्रातृत्व र तिनीहरूको परिवारको सदस्यको हैसियतमा अझ घनिष्ठ महसुस गरें।

म अन्तमा मठको प्रमुख अर्थात्‌ मदर सुपिरियरकहाँ गएँ र मैले मठ छोड्‌ने निर्णय गर्नुको कारण बताएँ। मैले यस्तो निर्णय गर्नुको कारण बाइबलबाट देखाउन खोजे तापनि तिनले सुन्‍न इन्कार गर्दै यसो भनिन्‌: “म बाइबलको कुनै कुरा बुझ्न चाहन्छु भने बाइबलको विशेषज्ञको राय लिन सक्छु!”

मेरो निर्णयले गर्दा क्याथोलिक चर्च स्तब्ध भयो। तिनीहरूले मलाई अनैतिक र बौलाहा भन्‍ने आरोप लगाए। यद्यपि, मलाई चिनेकाहरूलाई ती आरोपहरू झूटा हुन्‌ भनेर थाह थियो। मसँगै काम गरेकाहरूले बेग्लाबेग्लै प्रतिक्रिया देखाए। कसैले मैले एकदमै साहसी कदम चालेको कुरा बताए। अरू भने मैले गलत मार्ग रोजेको ठानी दुःखी भए। कसै-कसैले मलाई बिचरा समेत भने।

जुलाई ४, १९८५ मा मैले क्याथोलिक चर्च छोडें। यस्तो कदम उठाएका कसै-कसैप्रति कस्तो व्यवहार गरियो भनी थाह भएको हुँदा साक्षीहरूले मेरो सुरक्षाको चिन्ता गर्दै मलाई एक महिनासम्म लुकाए। तिनीहरूले मलाई सभामा जानको लागि लिन आउँथे अनि पछि मेरो घरसम्म पुऱ्‍याइदिन्थे। अवस्था अलि शान्त नहोउन्जेल म बाहिर देखा परिनँ। अनि अगस्त १, १९८५ देखि मैले यहोवाका साक्षीहरूसित सेवकाईमा भाग लिन थालें।

पछि त्यही अगस्त महिनाको अन्ततिर यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा उपस्थित हुँदा सञ्चार माध्यमले मैले चर्च छोडेको कुरा थाह पायो र मेरो कथा छाप्यो। मैले डिसेम्बर १४, १९८५ मा बप्तिस्मा लिंदा मैले निर्लज्ज कार्य गरेको ठानी मेरो विषयमा कथा सबैले सुनून्‌ भनेर स्थानीय टेलिभिजन स्टेसन र अखबारमा प्रसारण गरे।

मैले मठ छोड्‌दा मसित भौतिक तवरमा केही थिएन। मेरो काम, घर, भत्ता केही थिएन। त्यसकारण एक वर्षजति मैले एक जना पक्षघाती महिलाको हेरचाह गर्ने काम गरें। जुलाई १९८६ मा मैले अग्रगामी गर्न थालें, यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरू त्यही नाउँले चिनिन्छन्‌। म भर्खरै स्थापना भएको सानो मण्डली भएको इलाकामा सरें। आफ्नो पढाइको सदुपयोग गर्दै त्यहाँ मैले भाषासम्बन्धी र अन्य विषयमा ट्युसन पढाउन थालें। यसले गर्दा मैले लचिलो तालिका बनाउन सकें।

विदेशी भूमिमा सेवा गर्दै

अहिले मैले बाइबल सिकिसकेकी हुँदा सकेसम्म बढी मानिसहरूलाई बताउन चाहन्थें। मैले फ्रान्सेली भाषा बोल्न सक्ने हुँदा फ्रान्सेली भाषा बोलिने कुनै अफ्रिका मुलुकमा सेवा गर्ने विचार गरें। तर १९९२ मा नजिकैको मुलुक, अल्बेनियाका यहोवाका साक्षीहरूले कानुनी मान्यता पाए। त्यो वर्षको अन्ततिर इटालीका अग्रगामीहरूको सानो समूह त्यहाँ खटाइयो। त्यो समूहमा मेरो मण्डलीका मारिओ र क्रिस्टिना फाजियो पनि थिए। तिनीहरूले मलाई त्यहाँ भ्रमणको लागि आउन र अल्बेनियामा सेवा गर्ने विषयमा सोचे कसो होला भने। त्यसैले गम्भीरतापूर्वक सोचेर प्रार्थना गरेपछि ५२ वर्षको उमेरमा, एउटा बिल्कुलै बेग्लै संसारमा सेवा गर्नको लागि आफ्नो सुरक्षित जीवन फेरि त्यागें।

त्यो थियो, मार्च १९९३ को कुरा। त्यहाँ पुगेपछि मैले थाह पाएँ कि मेरो मातृभूमिबाट भौगोलिक दृष्टिकोणबाट त्यति टाढा नभए तापनि यो बिलकुलै अर्कै संसार थियो। मानिसहरू जहाँ पनि हिंडेर जान्थे अनि मैले पटक्कै बुझ्न नसक्ने अल्बेनियाली भाषा बोल्थे। यो देशमा आमूल परिवर्तनहरू भइरहेका थिए, तिनीहरूले विभिन्‍न राजनैतिक प्रणालीहरू अनुभव गर्दै थिए। यद्यपि, मानिसहरू बाइबल सत्यको लागि भोका थिए अनि पढ्‌न र अध्ययन गर्न खुसी हुन्थे। बाइबल विद्यार्थीहरूले छिटोछिटो प्रगति गरे अनि यसले मेरो हृदय छोयो अनि नयाँ वातावरणमा घुलमिल हुन सकें।

म १९९३ मा राजधानी, टिरानेमा पुग्दा अल्बेनियाभरिमा एउटा मण्डली मात्र थियो अनि देशभरि छरिएका १०० भन्दा अलि बढी साक्षीहरू मात्र थिए। त्यो महिना, टिरानेमा आयोजित पहिलो विशेष सम्मेलन दिनमा ५८५ जना उपस्थित थिए र ४२ जनाले बप्तिस्मा लिए। मैले केही नबुझे तापनि साक्षीहरूले गाएको अनि तिनीहरूले ध्यान दिएर सुनेको हेर्दा मेरो हृदय छोयो। अप्रिलमा येशू ख्रीष्टको मृत्युको स्मरणार्थ मनाइयो र १,३१८ जना उपस्थित थिए! त्यो समयदेखि अल्बेनियामा मसीही क्रियाकलाप फस्टाइरहेको छ।

टिरानेमा मेरो चौथो तलाको कौसीबाट हेर्दा सोच्ने गर्थें, ‘यी सबै मानिसहरूलाई कहिले प्रचार गर्ने होला?’ यहोवाले त्यसबारे विचार गर्नुभयो। अहिले टिरानेमा यहोवाका साक्षीहरूको २३ वटा मण्डली छन्‌। सम्पूर्ण देशमा ६८ वटा मण्डली र लगभग २२ वटा समूहहरू गरी २,८४६ जना साक्षीहरू छन्‌। केही वर्षमै यति धेरै वृद्धि भयो! अनि २००२ को स्मरणार्थमा १२,७९५ जना उपस्थित भए!

अल्बेनियामा बिताएका यी दस वर्षको दौडान कम्तीमा ४० जनालाई बप्तिस्मा लिन मदत गर्न सक्नुलाई ठूलो सुअवसर ठान्छु। थुप्रै अहिले अग्रगामीको हैसियतमा र पूर्ण-समय सेवाको अन्य पक्षमा संलग्न छन्‌। वर्षौंको दौडान अल्बेनियाको काममा मदत दिन इटालेली अग्रगामीहरूको छवटा समूह खटाइयो। प्रत्येक समूहको लागि तीन महिने भाषा प्रशिक्षणको प्रबन्ध गरियो अनि मैले पछिल्लो चारवटा कक्षालाई पढाउने निम्तो पाएँ।

मैले चर्च छोड्‌ने निर्णय गरेको कुरा सुन्दा मेरा साथीहरूले साह्रै तीव्र प्रतिक्रिया व्यक्‍त गरेका थिए। तथापि, यति धेरै वर्षपछि तिनीहरूको मनोवृत्ति अलि नरम भएको छ किनभने तिनीहरूले मेरो आनन्द र शान्ति देखेका छन्‌। खुसीको कुरा, मेरो परिवारलगायत अझै पनि भिक्षुणी रहिरहनुभएकी मेरी ९३ वर्षीया फुपू मलाई निकै समर्थन गर्नुहुन्छ।

मैले यहोवालाई चिनेदेखि उहाँले मलाई विभिन्‍न परिस्थितिहरूमा हेरचाह गर्नुभएको छ! उहाँले मलाई उहाँको संगठनसम्म डोऱ्‍याउनुभयो। अतीतलाई फर्केर हेर्दा गरिब, विपन्‍न तथा खाँचोमा परेकालाई मदत गर्ने अनि परमेश्‍वरको सेवामा चुर्लुम्मै डुब्ने मेरो चाहनालाई सम्झन्छु। त्यसैकारण म यहोवालाई धन्यवाद दिन्छु किनभने उहाँले मेरो आध्यात्मिक तृष्णा तृप्त पार्नुभएको छ। (g03 6/22)

[पृष्ठ २३-मा भएको चित्र]

अल्बेनियाली परिवार जससित मैले बाइबल अध्ययन गरें। एघार जनाले बप्तिस्मा लिइसके

[पृष्ठ २३-मा भएको चित्र]

मसित बाइबल अध्ययन गरेका यी प्रायजसो स्त्रीहरू अहिले पूर्ण-समय सेवकाई गर्दैछन्‌