सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कर—“सभ्य समाजको” मूल्य?

कर—“सभ्य समाजको” मूल्य?

कर—“सभ्य समाजको” मूल्य?

“कर भनेको हामीले सभ्य समाज निर्माण गर्न तिर्ने कुरा हो।”—वाशिङ्‌टन, डि.सी-को आन्तरिक आम्दानी सेवा भवनमा कुँदिएको शिलालेख।

सरकारहरूले कर भनेको अप्रिय तर अत्यावश्‍यक कुरा हो भन्‍ने तर्क गर्छन्‌ अर्थात्‌ “सभ्य समाजको” मूल्य हो भन्छन्‌। तपाईं यो धारणासित सहमत हुनुहोला या नहोला तर यसको लागि चर्को मूल्य चुकाउनुपर्छ भन्‍ने कुराचाहिं अकाट्य छ।

करलाई दुइटा समूहमा वर्गीकरण गर्न सकिन्छ: प्रत्यक्ष र अप्रत्यक्ष। आयकर, निगमकर र सम्पत्तिकर, प्रत्यक्ष करका उदाहरण हुन्‌। यसमध्ये सायद सबैभन्दा आक्रोश व्यक्‍त गरिने चाहिं आयकर होला। यो विशेष गरी प्रगामी आयकर लागू हुने मुलुकहरूमा साँचो हो अर्थात्‌ तपाईंले जति बढी कमाउनुहुन्छ, त्यति नै बढी कर तिर्नुपर्छ। प्रगामीकरका आलोचकहरू भने यसले कडा मेहनत र सफलताको लागि जरिवाना तिर्न लगाउँछ भन्‍ने तर्क गर्छन्‌।

आर्थिक सहयोग तथा विकासको लागि संगठनको एउटा प्रकाशन ओ इ सि डि अब्जर्भर (अंग्रेजी) हामीलाई के सम्झना दिलाउँछ भने केन्द्रीय सरकारलाई कर तिर्नुको अलावा “आय आर्जन गर्नेहरूले स्थानीय, क्षेत्रीय, प्रान्तीय वा राज्यलाई आयकर तिर्नुपर्ने हुन सक्छ। आइसल्याण्ड, कोरिया, क्यानाडा, जापान, बेल्जियम, नर्डिक मुलुकहरू, संयुक्‍त राज्य अमेरिका, स्पेन, स्वीजरल्याण्डमा यस्तो छ।

अप्रत्यक्ष करमा बिक्रीकर, रक्सी र चुरोटमा लगाइने कर र भन्सार पर्छन्‌। प्रत्यक्ष करजस्तो यो प्रस्ट देखिंदैन तर यसले खास गरी गरिबहरूलाई गह्रौं आर्थिक भार बोकाउन सक्छ। भारतको पत्रिका फ्रन्टलाइन-मा लेखिका जयली घोष, भारतको करको अधिकतम भार मध्यम वर्गीय तथा धनी करदाताहरूले बेहोरिरहेका छन्‌ भन्‍नु केवल मिथ्या हो भन्‍ने तर्क गर्छिन्‌। घोष भन्छिन्‌: “राज्य सरकारहरूले गर्ने कूल कर सङ्‌कलनको ९५ प्रतिशतभन्दा बढी अंश अप्रत्यक्ष करमा पर्छन्‌। . . . सम्भवतः धनीले भन्दा गरिबले आफ्नो आयको ठूलो हिस्सा करको रूपमा तिरिरहेको हुन सक्छ।” बहुसंख्यक व्यक्‍तिले उपभोग गर्ने वस्तुहरू जस्तै साबुन, खानेकुरामा लगाइने चर्को करले यो भिन्‍नता सृजना गर्छ।

यसरी यति धेरै पैसा सङ्‌कलन गरेर सरकारले के गर्छ?

पैसा कहाँ जान्छ

हुन त हो, अत्यावश्‍यक सुविधाहरू परिचालन गर्नुका साथै त्यसको प्रबन्ध गर्न सरकारहरूले ठूलो धनराशि खर्च गर्नुपर्छ। उदाहरणका लागि, फ्रान्समा प्रत्येक ४ जनामध्ये १ जना निजामती सेवामा छन्‌। यसमा शिक्षक, हुलाक, सङ्‌ग्रहालय तथा अस्पतालका कर्मचारी, प्रहरी र अन्य सरकारी कर्मचारीहरू पर्छन्‌। तिनीहरूलाई तलब दिन कर चाहिन्छ। करद्वारा नै सडक, स्कूल र अस्पतालहरूको खर्च चल्छ अनि फोहोर सङ्‌कलन र हुलाक सेवाजस्ता सुविधाहरूको लागि खर्च गरिन्छ।

सैनिक सेवाको लागि हुने खर्च पनि चर्को करको अर्को कारण हो। सन्‌ १७९९ मा फ्रान्स विरुद्ध युद्धको लागि खर्च जुटाउन धनी बेलाइतीहरूलाई आयकर लगाइएको थियो। तथापि, दोस्रो विश्‍वयुद्धको दौडान बेलाइती सरकारले ज्यालादारी कामदारहरूलाई समेत आयकर लगाउन थाल्यो। आज, शान्तिपूर्ण अवस्थामा समेत राष्ट्रको सशस्त्र बललाई बलियो बनाउन निकै महँगो पर्छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको अनुमानअनुसार २००० मा विश्‍वको सैनिक खर्च सालाखाला ७.९८ खरब डलर थियो।

सामाजिक इन्जिनियरिङ

करले “सामाजिक इन्जिनियरिङ”-को माध्यमको रूपमा पनि काम गर्छ अर्थात्‌ मानिसहरूलाई कुनै प्रकारको व्यवहार प्रोत्साहन वा निरुत्साह गर्ने साधन। उदाहरणका लागि, रक्सीमा कर लगाउँदा अचाक्ली मद्यपान कम गर्छ भन्‍ने गरिन्छ। तसर्थ, थुप्रै मुलुकहरूमा बियरको खुद्रा मूल्यको ३५ प्रतिशत त कर नै हुन्छ।

सुर्तीजन्य वस्तुहरूमा पनि चर्को कर लगाइन्छ। दक्षिण अफ्रिकामा एक बट्टा चुरोटमा ४५ देखि ५० प्रतिशत कर लगाइएको हुन्छ। तथापि, त्यस्तो कर लगाउनुमा सरकारको मनसाय सधैं निस्वार्थ नहुन सक्छ। केनेथ वर्नरले फरेन पलिसी (अंग्रेजी) नामक पत्रिकामा लेखेअनुसार चुरोट “एउटा शक्‍तिशाली आर्थिक बल हो र यसको बिक्रीबाट खरबौं र करबाट अझ अरबौं डलरको आम्दानी हुन्छ।”

सामाजिक इन्जिनियरिङको एउटा उल्लेखनीय उदाहरण २० औं शताब्दीको सुरुतिर भयो। सं.रा.अ.-का विधान सभाका सदस्यहरूले धनी पारिवारिक राजकुलको संरचना विस्तार हुनदेखि रोक्न खोजे। कसरी? मौजा कर सृजना गरेर। धनी मानिसको मृत्यु हुँदा तिनले जम्मा गरेको सम्पत्तिको ठूलो अंश कर स्वरूप तिर्नुपर्छ। यस्तो कर प्रणालीका समर्थकहरू यसो गर्दा “परिवार, घरानियाँको स्रोतसाधनलाई निजामती, आम जनताको लागि प्रयोग गर्न सकिन्छ” भन्‍ने तर्क गर्छन्‌। सायद धनी करदाताहरूले यस्तो करको मार कम गर्न अनेकन्‌ रणनीति अपनाएका हुन सक्छन्‌।

वातावरणजस्ता विभिन्‍न सामाजिक विषयहरूलाई समर्थन गर्न करको प्रयोग हुँदै आएको छ। दी एनभाइरमेन्टल म्यागजिन (अंग्रेजी) यस्तो रिपोर्ट गर्छ: “नौवटा पश्‍चिम युरोपेली मुलुकहरूले मुख्यतया वायु प्रदूषण कम गर्न हालै वातावरणीय कर-अन्तरण लागू गरेका छन्‌।” पहिले उल्लिखित प्रगामी आयकर पनि सामाजिक इन्जिनियरिङको अर्को प्रयास हो; यसको मुख्य धारणा गरिब र धनीबीचको अन्तर कम गर्नु हो। कुनै-कुनै सरकारले समाज सेवाको लागि अनुदान दिने वा बच्चा भएका दम्पतीहरूलाई केही कर राहत दिन्छन्‌।

किन यत्तिको जटिल?

नयाँ करको प्रस्ताव राखिंदा विधायकहरूले कर छल्ने सम्भाव्य कुनै पनि चोरबाटोहरू बन्द गर्ने प्रयास गर्छन्‌। नबिर्सनुहोस्‌: ठूलो धनराशि चुहावट हुन सक्ने खतरा छ। परिणाम? करसम्बन्धी नियमहरू जटिल र अत्यन्तै प्राविधिक हुन पुग्छन्‌। टाइम पत्रिकाको एउटा लेखले बताएअनुसार सं.रा.अ.-का करसम्बन्धी प्रायजसो जटिलताहरू “आयको परिभाषा दिने” अर्थात्‌ कर लगाउनुपर्ने कुराहरू छुट्याउने सन्दर्भमा छ। थप जटिलताहरू भने अरू तीनथुप्रो नियमबाट आउँछ जसले “विभिन्‍न किसिमको कटौती र छूट दिन्छ।” तथापि, जटिल कर नियमहरू भएको संयुक्‍त राज्य अमेरिकामा मात्र होइन। संयुक्‍त अधिराज्यको करसम्बन्धी विधानको हालैको संस्करण ९,५२१ पाना र दस खण्ड पुगेको थियो।

युनिभर्सिटी अफ मिशिगनस्थित कर नीति अनुसन्धान कार्यालय यस्तो रिपोर्ट प्रस्तुत गर्छ: “हरेक वर्ष अमेरिकी करदाताहरूले आयकर विवरण भर्न तीन अरब घण्टाभन्दा बढी समय बिताउँछन्‌। . . . जम्माजम्मी हेर्ने हो भने, अमेरिकी आयकर दाताहरूले [आय विवरण भर्न] खर्च गर्ने समय र पैसा हिसाब गर्दा वर्षेनी १ खरब डलर वा कूल करको १०% हुन जान्छ। करसम्बन्धी नियम पालन गर्दा यति धेरै खर्च हुनुको कारण आयकर नियमसम्बन्धी दिमागै खाने जटिलताले गर्दा हो।” यी लेखहरूको शृङ्‌खलाको पहिलो लेखको सुरुमै उल्लिखित रूबेन यसो भन्छन्‌: “मैले आफैले कर विवरण फाराम बनाएर भर्ने गर्थें तर यसो गर्दा निकै समय खायो अनि उल्टै आफूले बढी कर तिरिरहेको जस्तो लाग्यो। त्यसकारण, अहिले आफ्नो कर विवरण तयार पार्न लेखापाललाई काममा लगाएको छु।”—पृष्ठ ८ मा “कर नियम पालन गर्ने” भन्‍ने पेटी हेर्नुहोस्‌।

तिर्नेहरू, नतिर्नेहरू अनि छल्नेहरू

प्रायजसो मानिसहरूले आनाकानी गर्दै भए पनि करले आफ्नो समुदायमा लाभ पुऱ्‍याउँछ भनेर मानिलिनेछन्‌। बेलाइती आन्तरिक करका प्रमुखले एक चोटि यसो भने: “आयकर तिर्न कसैलाई मन पर्दैन तर यो नतिर्दा अवस्था अझ बेस हुनेछ भनेर तर्क गर्ने थोरै मात्र होलान्‌।” कुनै-कुनै अनुमानअनुसार संयुक्‍त राज्य अमेरिकामा झन्डै ९० प्रतिशत जतिले कर नियम पालन गर्छन्‌। एक जना कर अधिकृत यसो भन्छन्‌: “कर नतिर्नुको प्रायजसो कारण जानाजानी कर छल्नुभन्दा नियम र प्रक्रियाको जटिलताले उत्पन्‍न हुन्छ।”

तैपनि, थुप्रैले कर नतिर्ने तरिकाहरू पत्ता लगाउँछन्‌। उदाहरणका लागि, यु.एस. न्युज एण्ड वर्ल्ड रिपोर्ट-ले निगमकरबारे एउटा लेखमा के भन्यो विचार गर्नुहोस्‌। “थुप्रै कम्पनीहरूले कानुनी ढङ्‌गमा आफ्नो दायित्व छलिरहेका हुन्छन्‌ अनि कहिलेकाहीं त पूरै छल्छन्‌—यो तिनीहरूले कर कटौती र लेखाहिसाबको अनेकन्‌ चालबाट गर्ने गर्छन्‌।” एउटा यस्तै छट्टू तरिकाको उदाहरण दिंदै उक्‍त लेख यसो भन्छ: “सं.रा.अ.-को एउटा संस्थानले चर्को कर नभएको अरू देशमा कम्पनी खोल्छ। त्यसपछि यसले सं.रा.अ.-को कार्य सञ्चालनलाई विदेशी कम्पनीको सहायक कम्पनी बनाउँछ।” यसो गर्दा यस कम्पनीले सं.रा.अं.-को कर तिर्नु पर्दैन, जुन अर्को देशको तुलनामा ३५ प्रतिशतसम्म बढी हुन सक्छ जबकि यसको “मुख्य कार्यालयको नाउँमा एउटा दराज र हुलाक पेटी मात्र हुन सक्छ।”

अर्कोतर्फ, सरासर कर छल्नेहरू पनि छन्‌। प्राप्त प्रमाणअनुसार एउटा युरोपेली राष्ट्रमा कर छल्नुलाई “राष्ट्रिय खेलको” रूपमा लिइन्छ। संयुक्‍त राज्य अमेरिकामा गरिएको सर्वेक्षणअनुसार २५ देखि २९ वर्षबीचका ५८ प्रतिशतले मात्र आफ्नो सबै आम्दानी घोषणा नगर्नु गलत हो भन्ठाने। उक्‍त सर्वेक्षणका सर्वेक्षकहरू यसरी मानिलिन्छन्‌: “यो रिपोर्टले हाम्रो समाजको आचारसंहिता तथा नैतिकताबारे खासै राम्रो कुरा बताउँदैन।” मेक्सिकोमा ३५ प्रतिशतजतिले कर छल्ने अनुमान गरिएको छ।

तर साधारणतया हेर्ने हो भने मानिसहरूले करको खाँचो मानिलिन्छन्‌ अनि आफूले तिर्नुपर्ने कर तिर्न हिचकिचाउँदैनन्‌। तथापि, टाइबेरियस सिजरको कथन मानिने यी प्रख्यात शब्दहरू सही देखिन्छ: “असल गोठालोले बगालको ऊन काट्‌नुपर्छ, छाला खुइल्याउनु हुँदैन।” अत्यन्तै बोझिलो, पक्षपातपूर्ण र अति जटिल कर प्रणालीले निस्सासिएको महसुस गर्नुहुन्छ भने कर तिर्ने कुरालाई कुन दृष्टिकोणले हेर्नुपर्छ? (g03 12/08)

[पृष्ठ ८-मा भएको पेटी]

बसाइँ सर्नुअघि सोच्नुहोस्‌

कर प्रणालीहरू देशैपिच्छे फरक हुन्छन्‌। वास्तवमा, एउटै देशभित्र पनि स्थानीय आयकरबीच आकाश जमिनको भिन्‍नता हुन सक्छ। के कर कम भएको देशमा बसाइँ सर्ने विचार गर्नु बेस हो? हुन सक्छ तर बसाइँ सर्नुअघि तपाईंले सोच्नुपर्छ।

उदाहरणका लागि, ओ इ सि डि अब्जर्भर-ले पाठकहरूलाई आधारभूत आयकर दर मात्र विचार गरेर पुग्दैन भनेर पाठकहरूलाई सम्झाउँछ। त्यसमा यसो भनिएको छ: “व्यक्‍तिगत करदाताहरूको वास्तविक कर पुर्जीले विभिन्‍न कटौतीहरू पनि झल्काउँछ।” उदाहरणका लागि, कुनै-कुनै देशको आयकर दर कम छ। तर तिनीहरूले “आधारभूत राहत, कर कटौती र छूटको सन्दर्भमा केही पनि सुविधा प्रदान गर्दैनन्‌।” फलस्वरूप कर कटौती र छूट प्रदान गर्ने चर्को कर दर भएको मुलुकमा भन्दा ती देशहरूमा बढी कर तिर्नुपर्ने हुन सक्छ।

संयुक्‍त राज्य अमेरिकामा कोही-कोही आयकर तिर्नु नपर्ने राज्यहरूमा बसाइँ सर्ने विचार गर्छन्‌। तर के यसो गर्दा पैसा बच्छ नै भन्‍ने छ त? किप्लिंगर्ज पर्सनल फाइनान्स-अनुसार (अंग्रेजी) बच्दैन र जसले यसो भन्छ: “थुप्रै अवस्थामा हाम्रो अनुसन्धानले देखाएअनुसार आयकरमुक्‍त राज्यहरूले यसको क्षतिपूर्तिस्वरूप सम्पत्तिकर, बिक्रीकर र अन्य करहरूमा चर्को रकम असुल्ने गर्छन्‌।”

[पृष्ठ ८-मा भएको पेटी]

कर नियमहरू पालन गर्ने

हामीमध्ये थुप्रैको लागि कर तिर्नु भनेको तनावपूर्ण कुरा हो। यसकारण ब्यूँझनुहोस्‌!-ले कर विशेषज्ञसित केही व्यावहारिक सुझावहरू माग्यो।

“राम्रो सल्लाह लिनुहोस्‌। यो अत्यावश्‍यक छ किनभने कर नियम जटिल हुन सक्छ अनि कर नियम थाह नभएकोले नतिरेको हो भन्यौं भने त्यसलाई कमै मात्र कुनै वैध कारण मानिन्छ। करदाताले कर अधिकृतहरूलाई आफ्ना शत्रु ठान्लान्‌ तर कर मामिलामा कस्तो व्यवहार गर्ने भन्‍ने सन्दर्भमा सही तथा सरल जानकारीहरू दिन सक्ने तिनीहरू नै हुन्‌। कर अधिकृतहरू तपाईंले सुरुमै आफ्नो कर विवरण राम्ररी भरेको चाहन्छन्‌। तपाईंले कर नियम पालन नगरेकोमा तपाईंलाई सजाय दिन चाहँदैनन्‌।

“तपाईंका वित्तीय विवरणहरू जटिल छन्‌ भने कर पेशेवरको सल्लाह माग्नुहोस्‌। तर होसियार हुनुहोस्‌! थुप्रै कर पेशेवरहरूले तपाईंको सर्वोत्तम हित चाहन्छन्‌ तर त्यसो नचाहनेहरू पनि थुप्रै छन्‌। आफ्नो भरोसायोग्य मित्र वा व्यापारिक चिनजानबाट सिफारिस माग्नुहोस्‌ अनि त्यस पेशेवरको पत्यारपत्र हेर्नुहोस्‌।

“तुरुन्तै कदम चाल्नुहोस्‌। जानकारी ढिलो बुझाउँदाको जरिवाना चर्को हुन सक्छ।

“स्पष्ट विवरणहरू राख्नुहोस्‌। तपाईंको स्रेस्ताप्रणाली जस्तोसुकै भए तापनि नविनतम जानकारी राख्नुहोस्‌। त्यसो गर्दा कर विवरण भर्दा काम निकै कम हुनेछ। अनि तपाईंको कर परीक्षण गर्नु आवश्‍यक भएको खण्डमा पनि सजिलो हुनेछ।

“इमानदार हुनुहोस्‌। तपाईंलाई, ठगौं वा नियम अलिकता बङ्‌याऊँ जस्तो लाग्ला। तर कर अधिकारीहरूसित झूटा दाबीहरू पत्ता लगाउने थुप्रै चतुर तरिकाहरू छन्‌। त्यसैले इमानदार हुनु सधैं बेस हो।

“चासो लिनुहोस्‌। तपाईंको कर विवरण भर्नको लागि तपाईंले काममा लगाउनुभएको व्यक्‍तिले गलत जानकारी बुझाए तापनि यो तपाईंको जिम्मेवारी हो। त्यसकारण तपाईंको प्रतिनिधिले तपाईंको इच्छाअनुसार गरिरहेको छ कि छैन भनेर होसियार हुनुहोस्‌।”

[पृष्ठ ७-मा भएको चित्र]

थुप्रै मुलुकहरूमा सुर्तीजन्य उत्पादन तथा मद्य पेयपदार्थमा चर्को मूल्य लगाइन्छ

[पृष्ठ ८, ९-मा भएको चित्र]

हामीले महत्त्वपूर्ण नठानेका थुप्रै सेवाहरू करद्वारा सञ्चालन हुन्छ