सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आणविक युद्ध—खतरा कसबाट?

आणविक युद्ध—खतरा कसबाट?

आणविक युद्ध—खतरा कसबाट?

“आणविक विनाशको सम्भाव्यता वास्तविक भएको छ। शीतयुद्ध अन्त्य भएको एक दशक नाघिसक्दा पनि . . . यो खतरा अझै वास्तविक नै भएको छ।”—भूतपूर्व अमेरिकी रक्षामन्त्री, रबर्ट एस. म्याकनामरा र अन्तरराष्ट्रिय अध्ययनका लागि वाट्‌सन प्रतिष्ठानका प्राध्यापक जेम्स जि. ब्लाइट।

सन्‌ १९९१ मा जब शीतयुद्धको अन्त्य भयो, आणविक युद्धको सम्भाव्यता सूचित गर्ने प्रसिद्ध डुम्स्‌डे क्लक अर्थात्‌ विनाश सूचक घडीको मिनेट सुईलाई पछि सारेर “मध्यरात”-बाट १७ मिनेट पर राखी मिलाइयो। द बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌ [ अंग्रेजी] पत्रिकाको आवरणमै यो विनाश सूचक घडीको चित्र उतारिएको छ। अनि यो घडी, विश्‍व आणविक युद्धको (मध्यरात) कत्ति नजिक पुगेको छ भन्‍ने कुराको संकेत हो। सन्‌ १९४७ मा यस घडीको सुरुवात भएदेखि यता मिनेट सुईलाई पहिलो पटक यत्तिको टाढा राखिएको थियो। यद्यपि, त्यसबेलादेखि मिनेट सुई फेरि अघि बढ्‌न थालेको छ। उदाहरणको लागि, फेब्रुअरी २००२ मा घडीको मिनेट सुईलाई मध्यरातबाट ठीक सात मिनेट पर राखी शीतयुद्धको अन्त्य पश्‍चात्‌ फेरि तेस्रो पटक मिनेट सुई अघि सारियो।

विज्ञानसम्बन्धी यस पत्रिकाका प्रकाशकहरूले घडीको सुईलाई अघि सार्न किन आवश्‍यक सम्झे? तिनीहरूको लागि आणविक युद्ध किन अझै एउटा खतरा बनेको छ? शान्तिको खतरा बनेर उभिने चाहिं को हो?

“कटौती” पछाडिका कर्तुतहरू

“अझै ३१,००० भन्दा धेरै आणविक हातहतियारहरू चालु अवस्थामा सञ्चित छन्‌” भनी बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌ बताउँछ। यसले अझै यसो भन्छ: “यी हातहतियारमध्ये ९५ प्रतिशत संयुक्‍त राज्य अमेरिका र रूसमा छन्‌ अनि १६,००० भन्दा धेरै हातहतियारहरू आक्रमण गर्न तयार भएर बसेका छन्‌।” कसै-कसैलाई हाल अस्तित्वमा रहेका आणविक हातहतियारहरूको संख्या विवादास्पद लाग्न सक्छ। आखिर, के यी आणविक अतिशक्‍तिहरूले आ-आफ्ना हातहतियारहरूमा कटौती गरेर ६,००० मा सीमित राखेको घोषणा गरेका थिएनन्‌ र?

यहाँ कटौती गर्नु पछाडिका कर्तुतहरू उदाङ्‌ग हुन्छन्‌। कारनिजी इन्डोवमेन्ट फर इन्टरनेसनल पिस अर्थात्‌ अन्तरराष्ट्रिय शान्तिको लागि कारनिजी गुठी यस्तो रिपोर्ट गर्छ, “स्टार्ट [सामरिक हातहतियार कटौतीसम्बन्धी सन्धि] को सम्झौताअन्तर्गत ती राष्ट्रहरूले सीमित गर्नुपर्ने ६,००० हातहातियारमा उनीहरूको आफ्नै प्रकारको हिसाब-किताब रहेको छ। दुवै राष्ट्रले थप हजारौं रणनीतिक तथा आरक्षित हातहतियार राख्नेछन्‌।” (छड्‌के अक्षर हाम्रो) बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌-का अनुसार “आक्रमण गर्न तयार भएर बसेका थुप्रै अमेरिकी हातहतियारहरूलाई हटाएर नष्ट गर्नुको सट्टा सञ्चय (५,००० हातहतियारहरू त पहिले नै सञ्चय गरिसकिएको थियो) गरिनेछन्‌।”

एउटा महादेशबाट सीधै अर्को महादेशमा प्रहार गर्न सकिने आक्रमण गर्न तयार भएर बसेका आणविक हातहतियारहरू अझै सञ्चित अवस्थामा रहनुका साथै नजिकैका निसानाहरूलाई प्रहार गर्न बनाइएका अन्य हजारौं आणविक क्षेप्यास्त्र र हातहतियारहरू पनि रहेका छन्‌। यी दुई आणविक महाशक्‍तिहरूसँग भएको अस्त्रभण्डारमा विश्‍वको जनसंख्यालाई एक पटक मात्र होइन धेरै पटक ध्वस्त पार्न सक्ने पर्याप्त आणविक हातहतियारहरू सञ्चित छन्‌! अत्यधिक मात्रामा रहेका यस्ता खतरनाक हातहतियारलाई सञ्चित गरिराख्नाले अर्को एउटा खतरालाई पनि निम्त्याउँछ—त्यो हो, दुर्घटनावश आणविक क्षेप्यास्त्रहरू प्रक्षेपित हुनु।

दुर्घटनावश हुने आणविक युद्ध

सुरुमा उल्लिखित रबर्ट एस. म्याकनामार अनि जेम्स जी. ब्लाइटका अनुसार “अमेरिकी आणविक शक्‍तिको ‘आदेश आउने बित्तिकै आक्रमण गरिहाल्ने’ रणनीति हुन्छ।” यसको अर्थ के हो? तिनीहरू अझै यसो भन्छन्‌, “रूसी क्षेप्यास्त्रहरू आकाशमा देखापर्ने बित्तिकै प्रहार गरिहाल्ने नीति लिएर हाम्रा क्षेप्यास्त्रहरू तयार भएर बसेका छन्‌। नीतिअनुसार रूसी आक्रमणको पहिलो चेतावनी र हाम्रो क्षेप्यास्त्र प्रक्षेपणबीचको अन्तर १५ मिनेटभन्दा बढी हुनु हुँदैन।” अमेरिकी क्षेप्यास्त्र प्रक्षेपणसम्बन्धी एक जना भूतपूर्व अधिकृतको भनाइअनुसार, “जमीनमा रहेका प्रायः सबै क्षेप्यास्त्रहरू दुई मिनेट भित्रमा प्रक्षेपणको लागि तयार हुन्छन्‌।”

कहिले आदेश आउला र फुत्कूँलाझैं गरी बसिरहेका आणविक हातहतियारहरूको यस्तो अवस्थाले झूटो चेतावनीको कारण क्षेप्यास्त्रहरू प्रक्षेपित हुन सक्ने खतरा पनि त्यत्तिकै छ। यु. एस न्युज एण्ड वर्ल्ड रिपोर्टमा प्रकाशित एउटा लेख यसो भन्छ, “अमेरिकी आणविक प्रशिक्षण अभ्यासको दौडान गल्तीले धेरै चोटि साँच्चिकै प्रक्षेपण गर्ने आदेशहरू दिइएका छन्‌।” रूसमा पनि यस्तै किसिमका झूटा चेतावनीहरू दिइएका छन्‌। अनुसन्धानको लागि प्रक्षेपित नर्वेली रकेटले १९९५ मा खतराको झूटो संकेत दिंदा रूसी राष्ट्रपतिले आणविक क्षेप्यास्त्रहरू प्रक्षेपण गर्नको लागि प्रक्रिया थालिसकेका थिए।

प्रक्षेपणको लागि तयारी अवस्थामा राख्ने यस्तो नीतिले निर्णायक मण्डलमा बस्नेहरू अत्यन्तै दबाबमा हुन्छन्‌। खुसीको कुरा, विगतमा कमान्डरहरूले बेलैमा चेतावनीहरू झूटो भएको कुरा थाह पाए त्यसैले अहिलेसम्म आणविक युद्ध भएको छैन। सन्‌ १९७९ मा घटेको घटनालाई सम्झँदै एक जना अनुसन्धाताले यसो भने: “हाम्रा पूर्व-सूचक भू-उपग्रहहरूले आकाशमा कुनै रूसी क्षेप्यास्त्र नभएको संकेत दिएकोले गर्दा नै अमेरिकी क्षेप्यास्त्रहरूलाई [प्रक्षेपणबाट] रोक्न सकियो।” यद्यपि, कहिलेकहीं यस्ता पूर्व-सूचक भू-उपग्रह प्रणालीहरू बिग्रन्छन्‌। अनुसन्धाता तथा विश्‍लेषकहरू “रूसका अधिकांश पूर्व-सूचक भू-उपग्रहरूले काम गर्न छाडेको अथवा निर्धारित कक्षबाट अन्तै लागेका” कारण चिन्तित छन्‌। तसर्थ, केही वर्षअघि एक जना अवकाशप्राप्त अमेरिकी सहायक नौसेना प्रमुखले यसो भने, “गलत कुरा बुझ्नाले अथवा अयोग्य व्यक्‍तिको हातमा अधिकार पर्नाले अथवा दुर्घटनाले गर्दा शत्रु पक्षले आक्रमण गर्नु अगाडि नै आक्रमण वा क्षेप्यास्त्र प्रक्षेपित हुन सक्ने सम्भावना अहिले जत्तिको प्रबल विगतमा कहिल्यै थिएन।”

आणविक क्लबका नयाँ सदस्यहरू

प्रमुख हातहतियार निर्माण गृह तथा भण्डारहरू दुई आणविक अतिशक्‍तिहरूको पकडमा रहेको भए तापनि चीन, फ्रान्स र बेलाइतजस्ता देशहरू पनि आणविक शक्‍तिहरूको रूपमा उदय भएका छन्‌। यी राष्ट्रहरूले आणविक क्लब भनिने आणविक शक्‍तिको घोषणा गरेका छन्‌, हालै भारत र पाकिस्तान पनि यसको नयाँ सदस्य हुन पुगेका छन्‌। यी राष्ट्रहरू बाहेक इजरायललगायत अन्य धेरै राष्ट्रहरूलाई आणविक हातहतियारको खोजीमा रहेका वा सम्भवतः आणविक हातहतियार हासिल गरिसकेका राष्ट्रको रूपमा हेर्ने गरिन्छ।

नयाँ सदस्यहरू लगायत यस आणविक क्लबका कुनै पनि सदस्य सम्मिलित राजनैतिक द्वन्द्वले आणविक युद्धको रूप लिन सक्छ। बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्‌-ले [ अंग्रेजी] यसो भन्छ, “क्युबेली क्षेप्यास्त्र संकटपछि भारत र पाकिस्तानबीच उत्पन्‍न संकटले गर्दा यी दुई मुलुकहरू जत्तिको आणविक युद्धको सँघारमा अरू कुनै मुलुक पुगेको छैन।” सन्‌ २००२ को प्रारम्भमै यस्तो भयावह परिस्थिति देखेर धेरैका लागि आणविक आक्रमणको खतरा अझ वास्तविक भएको छ।

यसको अतिरिक्‍त, थप आमविनाशक हातहतियारको विकासले आणविक बमको प्रयोग हुने सम्भावना अझ बढेको छ। पेन्टागनको एउटा गोप्य रिपोर्टबारे चर्चा गर्दै न्यु योर्क टाइम्स-ले यसो भन्यो, “शत्रु पक्षको जैविक, रासायनिक तथा आमविनाशक हातहतियारहरूको सञ्चयलाई नष्ट गर्न अमेरिकाले आणविक हातहतियारको प्रयोग गर्ने सम्भावना” अमेरिकी आणविक नीतिको एउटा भाग बनेको हुन सक्छ।

सेप्टेम्बर ११, २००१ मा संयुक्‍त राज्य अमेरिकामा भएको आतङ्‌ककारी आक्रमणले सारा विश्‍वलाई अर्को एउटा आणविक खतराबारे सचेत गराएको छ। आतङ्‌ककारी संगठनहरू आणविक हातहतियार विकास गर्न प्रयासरत छन्‌ अथवा तिनीहरूको हातमा आणविक हातहतियारहरू परिसकेको कुरामा आज धेरैले विश्‍वास गर्छन्‌। यो कसरी सम्भव छ?

आतङ्‌ककारीहरू अनि “आणविक फोहोरबाट बनाइएका बमहरू”

के कालो बजारमा बेचिएका सामग्रीहरू प्रयोग गरेर आणविक बम बनाउन सम्भव छ? टाइम पत्रिकाअनुसार सम्भव छ। आणविक आतङ्‌कवादलाई रोक्न गठन गरिएको एउटा टोलीबारे उक्‍त पत्रिकाले रिपोर्ट गऱ्‍यो। अहिलेसम्ममा उक्‍त टोलीले “सामान्य इलेक्ट्रोनिक सामानहरू बेच्ने स्टोरहरूको तखतामा पाइने प्रविधि तथा कालो बजारमा बेचिने एक प्रकारको आणविक तेल[को]” प्रयोगद्वारा “दर्जनौंको संख्यामा” घरमै बनाइएका बमहरू सङ्‌कलन गरेको छ।

आणविक निःशस्त्रीकरण तथा आणविक हातहतियारका पाटपुर्जाहरूलाई फुकाल्ने कार्यले आणविक चोरीको सम्भाव्यतालाई बढाएको छ। टाइम पत्रिका यसो भन्छ, “राम्ररी सुरक्षा दिएर सञ्चय गरिएका क्षेप्यास्त्र, बमवर्षक तथा पनडुब्बीहरूलाई कम सुरक्षित स्थानहरूमा स्थानान्तर गर्नाले अतिवादी आतङ्‌ककारीहरूको लागि त्यो आकर्षक निसाना बन्‍न सक्छ।” यदि पाटपुर्जाहरू फुकालिएका हातहतियारका भागहरू कुनै विद्रोही गुटले फेला पारेर त्यसलाई पुनः जोडजाड गर्न सफल भएको खण्डमा छिट्टै त्यस्ता विद्रोही गुटहरू पनि आणविक क्लबको एक सदस्य बन्‍न सक्छन्‌!

आणविक क्लबको सदस्य बन्‍नको लागि बमका टुक्राटाक्री जोड्‌नै पर्छ भन्‍ने पनि छैन भनी पिस [ अंग्रेजी] पत्रिकाले किटेरै भन्छ। विखण्डन हुने युरेनियम अथवा प्लुटोनियम प्रशस्त भए पुग्छ। उक्‍त पत्रिका यसो भन्छ, “आधुनिक हातहतियारमा प्रयोग गरिने स्तरको युरेनियम हात पारेका आतङ्‌कवादीहरूले युरेनियमका दुई टुक्रालाई एकअर्कामा ठोक्काई सजिलै विस्फोट गराउन सक्छन्‌।” विस्फोटनको लागि यस्ता आणविक तत्त्वहरू कति चाहिन्छ? उक्‍त पत्रिकाअनुसार “तीन किलोग्राम [सात पाउण्ड] भए यथेष्ट हुनेछ।” चेक गणतन्त्रमा १९९४ मा पक्राउ परेका एक जना तस्करबाट हातहतियार बनाउन प्रयोग गरिने आणविक सामग्रीहरू यत्तिकै परिमाणको जफत गरिएको थियो!

आणविक फोहोर आणविक हातहतियारको अर्को रूप बन्‍न सक्छ। “विज्ञहरूलाई साँच्चै पिरोलेको मुख्य कुरा भनेको रेडियोधर्मी फोहोर तथा परम्परागत विस्फोटनको घातक समिश्रण हो” भनी दि अमेरिकन स्पेक्टेटर (अंग्रेजी) बताउँछ। यस्तो प्रकारको हातहतियार अनि व्याप्त रेडियोधर्मी उपकरणहरू, आणविक फोहोरबाट बनाइएका आणविक हतियार अथवा डर्टी बम भनेर चिनिन्छन्‌। तिनीहरू कत्तिको खतरनाक हुन्छन्‌? डर्टी बम-ले “निसानालाई विस्फोट गरेर अथवा जलाएर नष्ट गर्नुको सट्टा विषयुक्‍त गर्ने उद्देश्‍यले प्रशस्त्र मात्रामा रेडियोधर्मी विकिरणहरू प्रसारण गर्न परम्परागत कडा विस्फोटनहरू” प्रयोग गर्छन्‌, भनी आइ एच टी आसाही सिमबुन (जापानी) भन्‍ने पत्रिका बताउँछ। यसले अझै यसो भन्छ: “तिनीहरूले मानिसहरूमा विकिरणसम्बन्धी बिमारीहरूदेखि लिएर अत्यधिक पीडा दिने, बिस्तारै मृत्युको मुखतर्फ धकेल्ने हदसम्म असर गर्छ।” कुनै-कुनै मानिसहरूले सजिलै पाइने आणविक फोहोरले त्यति हानि गर्दैन भने तापनि कालो बजारमा रहेका उन्‍नत खालका आणविक सामग्रीहरू धेरैका लागि चिन्ताको विषय बनेको छ। हालसालै गरिएको विश्‍वव्यापी सर्वेक्षणमा जवाफ दिनेहरूमध्ये ६० प्रतिशतले आगामी दस वर्षभित्रमा आणविक आतङ्‌कवाद सुरु हुने विचार पोखे।

निस्सन्देह, आणविक खतराले विश्‍वलाई अझै छोडेको छैन। जनवरी १६-२२, २००३ मा प्रकाशित बेलाइतको गार्जियन विक्ली-ले यस्तो टिप्पणी गऱ्‍यो: “शीतयुद्धका काला दिनहरू पश्‍चात्‌ अमेरिकाले आणविक हातहतियारको प्रयोग गर्ने सम्भाव्यता आज जत्तिको प्रबल पहिला कहिल्यै थिएन। . . . अमेरिका आणविक युद्धको लागि तम्सिरहेको देखिन्छ।” त्यसैले, यस्तो प्रश्‍न सोध्नु जायज छ: के आणविक युद्धलाई रोक्न सकिएला? के आणविक खतरा-मुक्‍त संसारको आशा गर्न सकिन्छ? अर्को लेखमा यी प्रश्‍नहरूबारे चर्चा गरिनेछ। (g04 3/8)

[पृष्ठ ६-मा भएको पेटी]

दोस्रो आणविक युग?

द न्यु योर्क टाइम्स्‌ म्यागजिन-का स्तम्भकार बिल केलरले (हाल द न्यु योर्क टाइम्स्‌-का कार्यकारी सम्पादक) राष्ट्रहरू दोस्रो आणविक युगमा प्रवेश गरिसकेका छन्‌ भन्‍ने विचार व्यक्‍त गरे। जनवरी १९९४ मा युक्रेन, भूतपूर्व सोभियत संघबाट पाएका हतियारहरू परित्याग गर्न सहमत हुँदा पहिलो आणविक युगको अन्त्य भयो। उनले किन दोस्रो आणविक युगको कुरा उठाए?

केलर लेख्छन्‌, “सन्‌ १९९८ मा राजस्थानी मरुभूमिमा भारतका नवनिर्वाचित हिन्दूवादी सरकारद्वारा परीक्षणको रूपमा गरिएको पाँच विस्फोटनको ठूलो गडगडाहटले दोस्रो आणविक युगको उद्‌घोषणा गऱ्‍यो। यसको दुई हप्तापछि नै पाकिस्तानले अर्को विस्फोट गऱ्‍यो।” पूर्व आणविक युगभन्दा यी परीक्षणहरू कसरी भिन्‍न थिए? “यी यस्ता आणविक हातहतियारहरू थिए जुन कुनै एउटा निश्‍चित क्षेत्रलाई लक्षित गरेर बनाइएका थिए।”

आणविक क्लबमा दुई नयाँ सक्रिय सदस्यहरूको आगमनले के विश्‍वले सुरक्षाको अनुभूति गर्न सक्ला? केलर अझै यसो भन्छन्‌, “कुनै नयाँ राष्ट्रसित आणविक हातहतियार उपलब्ध हुँदा आणविक शक्‍ति सम्पन्‍न राष्ट्रहरूबीच युद्ध हुने सम्भावना अझ प्रबल हुन्छ”—“द थिङ्‌केबल,” द न्यु योर्क टाइम्स म्यागजिन, मे ४, २००३, पृष्ठ ५०.

उत्तर कोरियासित सम्भवतः “छवटा नयाँ आणविक बमहरू बनाउनको लागि पर्याप्त प्लुटोनियम छ भन्‍ने समाचारले . . . ” परिस्थितिलाई झन्‌ जटिल बनाएको छ। “उत्तर कोरिया नयाँ आणविक हातहतियार बनाउन सफल हुनुका साथै आफ्नो सफलता प्रमाणित गर्न कुनै एउटा आणविक हतियारको परीक्षण गर्न सक्ने सम्भावनाले दिन-प्रतिदिन खतरा बढ्‌दै छ।”— द न्यु योर्क टाइम्स, जुलाइ १८, २००३.

[पृष्ठ ७-मा भएको चित्र]

एक सरकारी अधिकारी “सुटकेस” आणविक बमको नमुना देखाउँदै

[स्रोत]

AP Photo/Dennis Cook

[पृष्ठ ७-मा भएको चित्र]

पुराना पूर्व-सूचक भू-उपग्रहहरू बिग्रँदै छन्‌

[स्रोत]

NASA photo

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Earth: NASA photo