सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आणविक युद्ध—के यसलाई रोक्न सकिएला?

आणविक युद्ध—के यसलाई रोक्न सकिएला?

आणविक युद्ध—के यसलाई रोक्न सकिएला?

“तिनीहरू खानेछन्‌ र पल्टेर बस्नेछन्‌, र कसैले तिनीहरूलाई भयभीत तुल्याउनेछैन।” — सपन्याह ३:१३, नयाँ संशोधित संस्करण

सबै जना आणविक खतरा-मुक्‍त संसारको तिर्सना गर्छन्‌। तर संसारको वास्तविकतालाई हेरेर धेरैले निराशावादी सोचाइ राखेका छन्‌। “आणविक हातहतियारहरूको नियन्त्रण, कटौती र अन्ततः निर्मूल पार्ने सोच अमेरिकी तथा अन्तराष्ट्रिय एजेन्डाबाट हराउँदैछ,” भनी दी गार्जियन विक्ली बताउँछ।

यद्यपि, कसै-कसैले, राष्ट्रहरूले गरेका प्रयासहरूलाई औंल्याउँछन्‌। उदाहरणको लागि संयुक्‍त राज्य अमेरिकाले मात्र आणविक युद्धलाई रोक्न हरेक वर्ष २.२ अरब अमेरिकी डलर खर्च गरेको अनुमान गरिन्छ। पक्कै पनि यो सानोतिनो रकम होइन। तर सोही राष्ट्रले आणविक युद्धको तयारीमा हरेक वर्ष २७ अरब अमेरिकी डलर खर्च गरेको तथ्यले धेरैलाई निराश तुल्याउँछ।

शान्तिसन्धिहरूबारे नि? के यस्ता प्रयासहरूले आशा जगाउन सक्ला?

आणविक हातहतियारहरू नियन्त्रण गर्ने सन्धिहरू

आणविक बम प्रयोगमा ल्याइएदेखि आणविक हातहतियार नियन्त्रण तथा कटौती गर्न धेरै सन्धिहरू भएका छन्‌। तिनीहरूमध्ये केही, आणविक हातहतियारको वृद्धिमा प्रतिबन्ध लगाउने सन्धि (एन पी टी), सामरिक महत्त्वका हातहतियारमा कटौती ल्याउने वार्ता, सामरिक महत्त्वका हातहतियारमा कमी ल्याउने वार्ता र आणविक हातहतियारको परीक्षण गर्न पूर्णतया निषेध गर्ने सन्धि हुन्‌। के आणविक खतरालाई निर्मूल पार्न यी सन्धि तथा वार्ताहरू प्रभावकारी भए त?

जुनसुकै सन्धि पनि त्यसमा समावेश भएका पक्षहरूबीचको आपसी वचनबद्धतामा निर्भर हुन्छ। उदाहरणको लागि डिसेम्बर २००० सम्ममा १८७ राष्ट्रहरूले हस्ताक्षर गरिसकेको १९७० मा हस्ताक्षरित एन पी टी सन्धिको सफलता यस सन्धिमा हस्ताक्षर गर्ने आणविक तथा आणविक शक्‍तिविहीन राष्ट्रहरूको इच्छुकतामा निर्भर रहेको छ। उक्‍त सन्धिले आणविक शक्‍तिविहीन राष्ट्रहरूलाई आणविक हातहतियारहरू विकास गर्न अथवा हासिल गर्न प्रतिबन्ध त लगायो तर आणविक शक्‍ति सम्पन्‍न राष्ट्रहरूले पनि आफ्नो हातहतियार नष्ट गर्ने प्रयास गर्नुपर्ने हुन्छ। के यो सन्धि प्रभावकारी भयो त? “आणविक हातहतियारबारे अक्सर सोधिने प्रश्‍न” (अंग्रेजी) भन्‍ने प्रतिवेदनमा कारी सबलेट यसो भन्छन्‌, “आणविक हातहतियारको वृद्धिमा प्रतिबन्ध लगाउने सन्धि (एन पी टी) खोटरहित नभए तापनि यो सन्धि, संरक्षणमा रहेका हस्ताक्षर गर्ने राष्ट्रहरूको आणविक प्रविधि तथा आणविक हातहतियारलाई अन्य कामकुराहरूमा लगाउनदेखि रोक्न प्रभावकारी साबित भएको छ।”

सन्धि केही हदसम्म सफल भए जस्तो देखिए तापनि “यसले . . . थुप्रै राष्ट्रहरूलाई कुनै-कुनै पक्षहरूमा आणविक हातहतियारहरूको पछि लाग्नदेखि रोक्न सकेको छैन” भनी सबलेट भन्छन्‌। उक्‍त सन्धिको संरक्षित घेरा बाहिर गएर गोप्य रूपमा सन्धि विपरीतका कामहरू गरिने भएकाले नै ती राष्ट्रहरूले त्यसो गर्न सकेका हुन्‌ भनी उनी भन्छन्‌। कुनै पनि सन्धिको प्रभावकारिता त्यसमा समावेश भएका पक्षहरूको विश्‍वासनीयतामा निर्भर हुन्छ। के हामी मानव प्रतिज्ञाहरूमा सजिलै विश्‍वास गर्न सक्छौं? मानव इतिहासका तथ्यहरू केलाउँदा उत्तर स्पष्ट भइहाल्छ।

त्यसो भए, आशाको लागि हामी कसको मुख ताक्न सक्छौं?

नयाँ तरिकामा सोच्ने

डिसेम्बर २००१ मा ११० जना नोबेल पुरस्कार विजेताले यस वक्‍तव्यलाई स्वीकृति दिंदै हस्ताक्षर गरे: “भविष्यको लागि एक मात्र आशा भनेको, प्रजातान्त्रिक मान्यता अनुरूपको अन्तरराष्ट्रिय सहकार्य नै हो। . . . हामी आफैले परिवर्तन गरेको संसारमा बाँच्न हामीले नयाँ तरिकामा सोच्न सिक्नै पर्छ।” यद्यपि, कस्तो “नयाँ तरिका[को]” सोच आवश्‍यक छ? आफ्ना आणविक हातहतियारद्वारा विश्‍वलाई त्रसित बनाइरहेकाहरूले नयाँ तरिकामा सोच्न सिक्छन्‌ भनेर विश्‍वास गर्नु कत्तिको व्यावहारिक छ?

बाइबलले हामीलाई यस्तो सल्लाह दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” (भजन १४६:३) किन? बाइबलले यस्तो जवाफ दिन्छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) हो, मुख्य कारण त शान्तिमय ढङ्‌गमा पृथ्वीको शासन गर्ने क्षमता मानिसजातिलाई दिइएको छैन। त्यसैले बाइबल यसो भन्छ, “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

यदि पृथ्वीमाथि शासन गर्न मानिसहरू योग्य छैनन्‌ भने, को चाहिं योग्य छ त? बाइबलले भरोसायोग्य अनि योग्य सरकारको शासनअन्तर्गत शान्ति हुनेछ भनी प्रतिज्ञा गर्छ। यस शासनलाई बाइबलमा परमेश्‍वरको राज्य भनी संकेत गरिएको छ अनि चालै नपाई करोडौंले प्रभुको प्रार्थना गर्दा यस सरकारको लागि प्रार्थना गर्ने गरेका छन्‌: “हे हाम्रा स्वर्गमा बस्ने पिता, . . . तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:९, १०) येशू ख्रीष्ट अर्थात्‌ शान्तिको राजकुमारले यस राज्यको राजाको हैसियतमा शासन गर्नुहुन्छ। उहाँको शासनबारे वर्णन गर्दै बाइबल यसो भन्छ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७.

“राजाहरू” अथवा राजनीतिज्ञहरू अनि मानव सरकारहरूले यस नयाँ तरिकामा सोच्ने शैली नसिके तापनि तपाईंले सिक्न सक्नुहुन्छ। यहोवाका साक्षीहरूले निश्‍शुल्क बाइबल अध्ययन शैक्षिक कार्यक्रमद्वारा लाखौंलाई बाइबल सन्देशको आशा अँगाल्न मदत गरेका छन्‌। तपाईं थप जानकारी चाहनुहुन्छ भने कृपया यस पत्रिकाका प्रकाशकहरूलाई सम्पर्क राख्न अथवा तपाईं आफ्नो इलाकामा रहेको यहोवाका साक्षीहरूको राज्यभवनमा जान सक्नुहुन्छ। (g04 3/8)

[पृष्ठ ८-मा भएको चित्र]

परमेश्‍वरको राज्य सरकारअन्तर्गत विश्‍व आणविक खतराबाट मुक्‍त हुनेछ