सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरलाई प्रेम गर्न क्रिस्टिलाई सिकाउँदा

परमेश्‍वरलाई प्रेम गर्न क्रिस्टिलाई सिकाउँदा

परमेश्‍वरलाई प्रेम गर्न क्रिस्टिलाई सिकाउँदा

हाम्री छोरी क्रिस्टिको जन्म १९७७ मा भएको थियो। त्यसको केही समयपछि हाम्रो डाक्टरले हामीलाई मनै भरङ्‌ग हुने समाचार सुनाउनुभयो: क्रिस्टि जन्मँदै उसको श्रवणशक्‍ति एकदमै कमजोर हुनुका साथै उसलाई हल्का प्रकारको सेरिब्रल पाल्सी पनि थियो। यसले हाम्रो जीवनलाई कुन हदसम्म असर गर्नेछ भनी हामीले विचारै गरेका थिएनौं।

केही महिनापछि मेरो श्रीमान्‌ ग्यारी र म अस्ट्रेलियाको मेलबर्न सहरमा हाम्री छोरीसित कस्तो व्यवहार गर्ने र कसरी कुरा गर्ने भनी सिकाउने विशेष कक्षाहरू धाउन थाल्यौं। मेलबर्नमा रहेको नेसनल अकुस्टिक लेबोरटरी अर्थात्‌ श्रवणसम्बन्धी राष्ट्रिय प्रयोगशाला पनि हामी गयौं। त्यहाँ दस महिने क्रिस्टिको कानमा सानो श्रवण सहायक राखियो। उसलाई त्यो उपकरण पटक्कै मन पर्दैन थियो र त्यसमा तार पनि भएकोले हामीले उसको कानमा राखेर आँखा झिमिक्क गर्न नपाउँदै उसले तानिसकेकी हुन्थी! यसको ब्याट्री बोक्नको लागि उसले पेटीजस्तो पनि बाँध्नुपर्थ्यो र त्यो गह्रुङ्‌गै थियो।

सेरिब्रल पाल्सीको कारण क्रिस्टीलाई हिंड्‌न सिक्न पनि गाह्रो भयो। त्यसैकारण उसलाई व्यायाम गराउन हरेक हप्ता थेरापिस्टकहाँ लैजानुपर्थ्यो। तर तीन वर्षकी हुँदासम्ममा क्रिस्टि निकै चोटि लडे तापनि आफै हिंड्‌न थाली। ऊ पाँच वर्षकी होउन्जेलसम्म थेरापिस्टकहाँ लगेर शारीरिक व्यायाम गराउनुपऱ्‍यो। यसैको दौडान बेनेला भन्‍ने नजिकैको सहरमा हामी सऱ्‍यौं जहाँ ग्यारीको व्यापार थियो।

क्रिस्टिको शिक्षा

बहिराहरूका एक जना शिक्षकले क्रिस्टिलाई आवश्‍यक पर्ने विशेष शिक्षातर्फ हाम्रो ध्यान खिचे। त्यसको अर्थ हामी फेरि बसाइँ सर्नुपर्ने थियो, यसपालि हामी बेन्डिगो भन्‍ने सहरमा सऱ्‍यौं जहाँ बहिराहरूको लागि स्कूल थियो। तर म फेरि गर्भवती भएकीले हामी क्रिस्टि चार वर्ष र हाम्रो भर्खरै जन्मेको छोरा, स्कट पाँच महिनाको नहोउन्जेलसम्म बसाइँ सरेनौं। बेन्डिगोको एउटा अस्पतालमा स्पिच थेरापी अर्थात्‌ बोल्न सिकाउने साप्ताहिक कक्षाहरू सुरु भयो र यो उपचार अर्को दस वर्षसम्म चल्ने थियो। ग्यारी र मैले साङ्‌केतिक भाषा पनि सिक्न थाल्यौं।

हाम्रो प्रमुख चिन्ताको विषय भनेको क्रिस्टिको आध्यात्मिक शिक्षा थियो। ग्यारी र म दुवै यहोवाका साक्षी भएकोले हामी क्रिस्टिलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न कटिबद्ध थियौं। (एफिसी ६:४) तर हामीले यो कसरी गर्ने? क्रिस्टिको स्कूलका प्रिन्सिपलले यस्तो टिप्पणी गरे: “परमेश्‍वरबारे क्रिस्टिलाई सिकाउनु एकदमै गाह्रो हुनेछ। हामीले परमेश्‍वर देख्न सक्दैनौं त्यसैले तपाईंले यो कुरा उसलाई कसरी बुझाउनुहुनेछ?” यो हाम्रो लागि एउटा कस्तो चुनौतीको कुरा थियो! हामीले यसको लागि समय, अध्ययन र धीरजको खाँचो पर्नेछ भनेर चाँडै बुझिहाल्यौं।

सुरुमा हामीले चित्र तथा आकृतिहरू चलायौं र हाम्रो भाषा पनि सक्दो सरल बनायौं। क्रिस्टिले के भइरहेको छ भनी पटक्कै नबुझे तापनि हामी उसलाई मसीही सभा तथा प्रचारकार्यमा लग्थ्यौं। क्रिस्टिले साङ्‌केतिक भाषा बुझ्न थालेपछि ऊ समक्ष एउटा बिल्कुलै नयाँ संसारको ढोका खोलियो! तैपनि, बाइबलका थुप्रै शब्द, वाक्यांश तथा विचारहरू बुझाउन गाह्रो हुन्थ्यो। उसलाई असाध्यै मन पर्ने एउटा किताब बाइबलका कथाहरू भएको मेरो पुस्तक a थियो जुन विशेष गरी केटाकेटीलाई ध्यानमा राखेर तयार पारिएको थियो। त्यसका रङ्‌गीन चित्रका साथै हामीले बनाएका केही आकृतिहरू अमूल्य साबित भए। अन्ततः क्रिस्टिको हृदयमा परमेश्‍वरप्रति प्रेम बढ्‌न थाल्यो।

क्रिस्टिको स्कूलका प्रिन्सिपलले हामीप्रति दया देखाउँदै बहिरा छोराछोरी हुर्काइरहेका अन्य केही साक्षीहरूसित हाम्रो भेट गराइदिए। बहिरा व्यक्‍तिले श्रवणशक्‍ति ठीक भएका व्यक्‍तिहरूलाई कसरी प्रचार गर्न सक्छन्‌ भनी ती साक्षीहरूले हामीलाई बुझाएपछि निकै प्रगति हुन थाल्यो। एउटा तरिका, धर्मशास्त्रीय सन्देश छापिएको कार्ड उनीहरूलाई दिएर हो। त्यसैले क्रिस्टि अरूसँग बाइबल सत्य बाँड्‌न तयार भएपछि उसले पनि सजिलै यो तरिकामा प्रचार गर्न सकी! चौध वर्षको उमेरमा ऊ सुसमाचारको बप्तिस्मा अप्राप्त प्रकाशक भई। सन्‌ १९९४ मा १७ वर्षको उमेरमा उसले बप्तिस्मा लिई।

तथापि, क्रिस्टिलाई स्वास्थ्यकर संगतिको खाँचो थियो र श्रवणशक्‍ति दुरुस्त भएका साक्षीहरूसित मित्रता गाँस्न उसलाई गाह्रो थियो। त्यसैले ग्यारी र मैले बहिराहरूसँग काम गर्न इच्छुक हाम्रा मण्डलीका सदस्यहरूका लागि साङ्‌केतिक भाषाका कक्षाहरू सञ्चालन गर्न थाल्यौं। हाम्रो कक्षामा भाग लिएका कोही-कोहीले पछि बहिराहरूका दोभासेको रूपमा काम पाए। तर अझ महत्त्वपूर्ण कुरा, साङ्‌केतिक भाषा सिकेका थुप्रैले क्रिस्टिसँग कुरा गरेर आनन्द उठाउन थाले। अब उसले हाम्रो मसीही सभा तथा सम्मेलनहरूबाट अझ बढी लाभ उठाउन सकी। अहिलेसम्म पनि उसले ती गतिविधिमा सक्रियतासाथ भाग लिन्छे। भाइबहिनीहरूले उसलाई देखाएको मायालु चासोको लागि क्रिस्टि एकदमै कृतज्ञ छ।

एक दिनको कुरा हो, क्रिस्टिले हामीलाई नियमित अग्रगामी वा पूर्ण-समय सुसमाचारक हुने आफ्नो इच्छा व्यक्‍त गरी। ग्यारीले उसलाई सवारीचालक अनुमतिपत्र प्राप्त गर्न मदत गर्नुभयो र अन्य आवश्‍यक कुराहरूको व्यवस्था मिलाएपछि क्रिस्टि १९९५ मा नियमित अग्रगामी नियुक्‍त भई। सन्‌ २००० मा उसले निम्न माध्यामिक स्कूलमा आंशिक जागिर प्राप्त गरी। त्यहाँ उसले बहिरा केटाकेटीको शिक्षामा सघाउ पुऱ्‍याउँछे।

अहिले क्रिस्टि, ग्यारी, हाम्रो छोरा स्कट र म अर्थात्‌ हामी सबैले नियमित अग्रगामीको रूपमा आनन्द उठाइरहेका छौं। हाम्रो परमेश्‍वर यहोवाबारे मानिसहरूलाई सिकाउन समय बिताउन पाएकोमा हामी हर्षित छौं!

‘हाम्रो मनोरथ’

क्रिस्टिको कान नसुन्‍ने समस्या हामी सबैको लागि अहिले पनि एउटा चुनौती हो। कहिलेकाहीं मसीही सेवकाईमा जाँदा क्रिस्टिले भनेको कुरा अनुवाद गरिदिने, उसले आफ्नो विचार तथा भावना पोखाउँदा त्यो बुझ्ने कोही हुँदैन। ऊ भन्छे: “कहिलेकाहीं मलाई आफू अरू सबैले बेग्लै भाषा बोल्ने देशमा बसिरहेकी छु जस्तो लाग्छ।” तैपनि हामी सबैले उसको परिस्थितिसित राम्ररी सामना गर्न सिकेका छौं।

हामी भजन ३७:४ मा लिपिबद्ध शब्दहरूबाट सान्त्वना प्राप्त गर्छौं: “तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।” क्रिस्टिको ठूलो इच्छा, सङ्‌गीत र प्रकृतिका आवाजहरू सुन्‍ने र आफ्ना प्रियजनहरूसँग सुन्‍ने गरी कुरा गर्न सक्ने हो। क्रिस्टिले मेरो आवाज सुन्‍न सक्ने दिनको म उत्कट प्रतीक्षामा छु। बाइबलमा प्रतिज्ञा गरिएझैं हाम्रा यी मनोरथहरू चाँडै साकार हुनेछ भनी हामी विश्‍वस्त छौं।—यशैया ३५:५.—साभार। (g04 4/8)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ १८-मा भएको चित्र]

“बाइबलका कथाहरू भएको मेरो पुस्तक” समाइरहेकी १४ महिनाकी क्रिस्टि

[पृष्ठ १९-मा भएको चित्र]

छापिएको कार्ड प्रयोग गरेर क्रिस्टिले सुसमाचार प्रस्तुत गर्दै

[पृष्ठ १९-मा भएको चित्र]

स्कट, क्रिस्टि, ग्यारी र हिदर फोर्ब्स अहिले