सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं निराशावादी सोचाइसित लड्‌न सक्नुहुन्छ

तपाईं निराशावादी सोचाइसित लड्‌न सक्नुहुन्छ

तपाईं निराशावादी सोचाइसित लड्‌न सक्नुहुन्छ

आफूले भोग्नुपरेका असफलताहरूलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ? तपाईं आशावादी हुनुहुन्छ या निराशावादी भन्‍ने कुरा धेरै हदसम्म यो प्रश्‍नको जवाफले निर्धारण गर्छ भनी धेरै विशेषज्ञहरू विश्‍वास गर्छन्‌। हामी सबैले जीवनमा विभिन्‍न कठिन परीक्षाहरूको सामना गर्छौं, कसैले कम त कसैले बढी। त्यसोभए किन कोही-कोही कठिनाइबाट उठ्‌दै फेरि प्रयास गर्छन्‌ जबकि कोही-कोही सानातिना कठिनाइहरूमै लत्तो छाड्‌छन्‌?

उदाहरणका लागि, मानौं तपाईं जागिरको खोजीमा हुनुहुन्छ। तपाईं अन्तरवार्ताको लागि जानुहुन्छ तर तपाईंलाई अस्वीकार गरिन्छ। अब यस घटनालाई तपाईं कसरी लिनुहुन्छ? तपाईं यसलाई अत्यन्तै व्यक्‍तिगत रूपमा लिन सक्नुहुन्छ अनि यसलाई आफ्नो स्थायी समस्या ठान्दै आफैलाई यसो भन्‍न सक्नुहुन्छ: ‘मजस्तोलाई कसैले जागिर दिंदैन। मैले कहिले पनि जागिर पाउन सक्दिनँ।’ अथवा त्यसभन्दा पनि जीवनमा एक पटक भोग्नुपरेको यस असफलतालाई आफ्नो जीवनको हरेक पक्षसित गाँस्दै यस्तो सोच्न सक्नुहुन्छ, ‘म त बेकार छु। म कसैलाई पनि काम नलाग्ने भइसकें।’ हरेक चोटि हाम्रो मनमा आउने यस्ता सोचाइहरू हाम्रा निराशावादी सोचाइका उपज हुन्‌।

निराशावादी सोचाइसित लड्‌ने

निराशावादी सोचाइसित तपाईं कसरी लड्‌न सक्नुहुन्छ? यस्ता नकारात्मक विचारहरूलाई चिन्‍नु अत्यन्तै महत्त्वपूर्ण पहिलो कदम हो। दोस्रो कदमचाहिं यस्तो सोचाइ विरुद्ध लड्‌नु हो। आफू असफल हुनुको अन्य व्यावहारिक वैकल्पिक कारणहरू खोज्नुहोस्‌। उदाहरणको लागि, तपाईं अस्वीकृत हुनुको कारण मानिसहरूले तपाईंलाई जागिर दिन नचाहेको कारणले नै हो त? अथवा जागिरदाताले अर्कै योग्यता भएको व्यक्‍तिलाई खोजेको पो होला कि?

वास्तविक तथ्यहरूमा ध्यान केन्द्रित गर्दा यस्ता निराशावादी सोचाइहरू तिललाई पहाड बनाएझैं मात्र हुन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ। एउटा क्षेत्रमा तपाईं अस्वीकृत हुनुभयो भन्दैमा के तपाईं आफूलाई पूर्णतया असफल ठान्‍नुहुन्छ अथवा आफू केही हदसम्म सफल भएका क्षेत्रहरू जस्तै आध्यात्मिक गतिविधि, पारिवारिक सम्बन्ध अथवा मित्रताबारे तपाईं सोच्नुहुन्छ? कुनै पनि कामको सम्भाव्य परिणाम ‘बरबादी’ मात्र हुनेछ भन्‍ने सोचाइ हटाउनुहोस्‌। आखिर, तपाईंले कहिल्यै जागिर पाउन सक्नुहुन्‍न भनेर के तपाईं साँच्चै थाह पाउन सक्नुहुन्छ? नकारात्मक विचारहरूलाई हटाउन तपाईंले गर्न सक्ने केही कुराहरू छन्‌।

सकारात्मक, लक्ष्यसहितको सोचाइ

हालैका वर्षहरूमा अनुसन्धाताहरूले आशाको रोचक तर साँघुरो परिभाषा दिएका छन्‌। तिनीहरूको विचारमा आशामा लक्ष्य हासिल गर्न सक्छु भन्‍ने विश्‍वास समावेश छ। अर्को लेखले आशामा समावेश अन्य धेरै कुराहरूबारे बताउने त छ नै तर अनुसन्धाताहरूले दिएको यो परिभाषा अन्य धेरै पक्षहरूमा उपयोगी देखिन्छ। आशाको यस पक्षमा ध्यान केन्द्रित गर्दा यसले हामीलाई अझ बढी सकारात्मक अनि लक्ष्यसहितको सोच विकास गर्न मदत गर्न सक्छ।

भावी लक्ष्यहरू हासिल गर्न सक्छु भन्‍ने विश्‍वास बनाउनको लागि हामीसित लक्ष्यहरू राखेको अनि प्राप्त गरेको अनुभव हुनु आवश्‍यक छ। यदि तपाईंलाई आजसम्म आफूले त्यस्तो अनुभव हासिल गरेको छैन जस्तो लाग्छ भने आफ्ना लक्ष्यहरूलाई गम्भीरतासाथ सोच्नु उपयोगी हुन सक्छ। सबैभन्दा पहिले, के तपाईंको कुनै लक्ष्य छ? जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ जीवनबाट आफूले साँच्चै चाहेको कुरा नखुट्याइ हामी जीवनका भागदौडहरूमै व्यस्त भइरहन सक्छौं। स्पष्ट प्राथमिकता निर्धारण गर्ने व्यावहारिक सिद्धान्तबारे बाइबलले फेरि एक पटक धेरै राम्रो सल्लाह दिएको छ, “जे उत्तम छ सो तिमीहरू खुट्याउन सक।”—फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण.

एकपटक प्राथमिकता निर्धारण गरिसकेपछि आध्यात्मिकता, पारिवारिक जीवन, कामधन्दा जस्ता विभिन्‍न क्षेत्रहरूभित्र पनि केही मुख्य लक्ष्यहरू छनौट गर्न सजिलो हुन्छ। यद्यपि, सुरुमै धेरै लक्ष्यहरू नराख्नु अनि कुनै पनि लक्ष्य राख्नुअघि आफूले उक्‍त लक्ष्य हासिल गर्न सक्छु भन्‍ने कुरा बुझेर मात्र लक्ष्यहरू छनौट गर्नु नितान्त आवश्‍यक छ। यदि लक्ष्य प्राप्त गर्न निकै कठिन छ भने यसले हामीलाई निरुत्साहित तुल्याउन सक्छ र हामी लत्तो छाड्‌न सक्छौं। त्यसैले, ठूल्ठूला अर्थात्‌ हासिल गर्न धेरै लामो समय लाग्ने लक्ष्यहरूलाई स-साना भाग गरी अर्थात्‌ छोटो समयमा हासिल गर्न सक्ने गरी विभाजन गर्नु अक्सर बेस हुन्छ।

एउटा पुरानो उखानले भन्छ, “जहाँ इच्छा, त्यहाँ उपाय।” यसमा केही हदसम्म सत्यता पाइन्छ। हामीले मनमा मुख्य लक्ष्यहरू निर्धारण गरिसकेपछि ती लक्ष्यहरू हासिल गर्न हामीसित इच्छा-शक्‍ति अर्थात्‌ इच्छुकता र अठोट हुनुपर्छ। आफ्नो लक्ष्यको महत्त्व तथा उक्‍त लक्ष्य हासिल गर्दा पाइने इनामहरूमा मनन गऱ्‍यौं भने हामी आफ्नो अठोटलाई अझ बलियो बनाउन सक्छौं। हो, वाधा-अड्‌चनहरू त अवश्‍य नै आउनेछन्‌ तर त्यसलाई पन्छाउनै नसकिने अवरोध नठानी एउटा चुनौतीको रूपमा लिनुपर्छ।

तथापि, हामीले आफ्ना लक्ष्यहरू हासिल गर्ने व्यावहारिक तरिकाहरूबारे सोच्नु पनि आवश्‍यक छ। आशाको महत्त्वमाथि बृहत्‌ अध्ययन गर्ने लेखक सी.आर. स्नाइडर कुनै पनि लक्ष्यलाई हासिल गर्न एउटा मात्र नभई विभिन्‍न बाटोहरू खोज्ने सल्लाह दिन्छन्‌। त्यसैले एउटा तरिकाले काम नगर्दा हामीले दोस्रो, तेस्रो अनि त्यस्तै अन्य तरिकाहरू खोज्न सक्छौं।

स्नाइडर, एउटा लक्ष्यलाई अर्को लक्ष्यसित साट्‌ने पनि सल्लाह दिन्छन्‌। कुनै लक्ष्य हासिल गर्न यदि तपाईंसामु साँच्चै वाधा-अड्‌चन छ भने त्यसलाई मनमा खेलाउँदै चिन्तित भइरहेमा यसले तपाईंलाई केवल निरुत्साहित बनाउनेछ। अर्कोतिर उक्‍त लक्ष्यको ठाउँमा कुनै अझ व्यावहारिक लक्ष्यलाई राख्दा यसले हामीलाई आशा गर्ने कारण दिनेछ।

यस सन्दर्भममा बाइबलमा एकदमै उपयोगी उदाहरण पाइन्छ। यहोवा परमेश्‍वरको लागि एउटा मन्दिर बनाउने राजा दाऊदको धोको थियो। तर उनको सट्टा उनको छोरा सुलेमानले उक्‍त सुअवसर पाउने कुरा परमेश्‍वरले दाऊदलाई बताउनुभयो। खिन्‍न हुनु र यस निराशाजनक परिस्थितिमै हठपूर्वक अडिग रहिरहनुको सट्टा दाऊदले आफ्नो लक्ष्य नै परिवर्तन गरे। उक्‍त आयोजना पूरा गर्न आफ्नो छोराको लागि चाहिने सरसामग्री तथा खर्च जम्मा गर्न उनले आफ्नो सारा शक्‍ति लगाए।—१ राजा ८:१७-१९; १ इतिहास २९:३-७.

निराशावादी सोचाइसित लडेर अनि सकारात्मक अर्थात्‌ लक्ष्यसहितको सोचाइ विकास गरेर आफ्नो आशा बढाउन हामी केही हदसम्म सफल भए तापनि—हामीमा आशाको अभाव देखिन सक्छ। किन? यस संसारमा हामीले भोग्ने धेरैजसो निराशाहरू पूर्णतया हाम्रो नियन्त्रणभन्दा बाहिरबाट आउँछन्‌। जब हामी गरिबी, युद्ध, अन्याय अनि हामीलाई सधैं लखेटिरहने मृत्युको डर जस्ता ठूलठूला समस्याहरूमा घोरिन्छौं—हामी कसरी आशावादी मनोवृत्ति राख्न सक्छौं? (g04 4/22)

[पृष्ठ ७-मा भएको चित्र]

आफूले खोजेको जागिरबाट अस्वीकृत भएमा के तपाईं कहिल्यै जागिर नपाउने अनुमान गर्नुहुन्छ?

[पृष्ठ ८-मा भएको चित्र]

लक्ष्य राख्ने सन्दर्भमा राजा दाऊदले लचिलोपन देखाए