सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?

साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?

साँचो आशा तपाईं कहाँ पाउन सक्नुहुन्छ?

तपाईंको घडी बन्द छ र कामै गर्न छोडेजस्तो देखिन्छ। बनाउन खोज्दा तपाईंसामु धेरै छनौटहरू देखापर्छन्‌। जताततै घडी मर्मत गर्ने विज्ञापन छ, सबैले घडी बनाइदिने दाबी गर्छन्‌ र कुनै-कुनै दाबी त विवादास्पद पनि छन्‌। तर वर्षौं पहिले उक्‍त घडी डिजाइन गर्ने प्रतिभाशाली व्यक्‍ति तपाईंको आफ्नै छिमेकी भएको कुरा थाह पाउनुभयो भने तपाईं के गर्नुहुन्छ? अनि, तपाईंलाई थाह छ, त्यस व्यक्‍तिले तपाईंको घडी बनाउन एक पैसा पनि लिंदैन। अब तपाईंको रोजाइ स्पष्ट छ नि, होइन र?

अब त्यो घडीलाई तपाईंको आशा राख्न सक्ने क्षमतासित तुलना गर्नुहोस्‌। यस संकटग्रस्त संसारमा अरू धेरैले जस्तै तपाईंले पनि आशा गुमेको महसुस गर्नुभएको छ भने मदतको लागि तपाईं कसको मुख ताक्नुहुन्छ? धेरै मानिसहरूले समस्या समाधान गर्ने दाबी गर्छन्‌ तर त्यस्ता धेरैजसो सल्लाहहरूले अलमल्लमा पार्छन्‌ अनि कतिपय त विवादास्पद पनि हुन्छन्‌। त्यसोभए, किन मानिसजातिलाई आशाको क्षमता राखेर सृष्टि गरिदिने सृष्टिकर्ताको मुख नताक्ने त? बाइबलले “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न” भनी बताउँछ अनि उहाँ हामीलाई मदत गर्न अति इच्छुक हुनुहुन्छ।—प्रेरित १७:२७; १ पत्रुस ५:७.

आशाको गहन परिभाषा

आशाको सन्दर्भमा आजका डाक्टर, वैज्ञानिक अनि मनोचिकित्सकहरूले राख्ने साधारण धारणाभन्दा बाइबलले राख्ने धारणा धेरै फराकिलो अनि गहन छ। “आशा” भनी अनुवाद गरिएको बाइबलको मूल शब्दको अर्थ उत्सुकतासाथ प्रतीक्षा गर्नु अनि असल कुराको अपेक्षा गर्नु हो। साधारणतया आशा दुई तत्त्वहरू मिलेर बनेको हुन्छ। यसमा असल कुराको इच्छा अनि भविष्य असलै हुनेछ भनेर भन्‍न सक्ने आधार समावेश छ। बाइबलमा दिइएको आशा मनले चिताउने इच्छा मात्र होइन। यो तथ्य अनि प्रमाणमा आधारित हुन्छ।

यस सन्दर्भमा आशा र विश्‍वास उस्तै-उस्तै हो जुन प्रमाणमा आधारित हुनै पर्छ केवल सहज धार्मिक विश्‍वासमा होइन। (हिब्रू ११:१) यद्यपि, बाइबलले आशा र विश्‍वासबीचको भिन्‍नतालाई छुट्याउँछ।—१ कोरिन्थी १३:१३.

उदाहरणको लागि: जब तपाईं आफ्नो कुनै भरोसायोग्य साथीको मदत माग्नुहुन्छ उसले तपाईंलाई मदत गर्ला भनी तपाईं आशा राख्नुहुन्छ। तपाईंको आशा आधारहीन छैन किनकि तपाईंलाई आफ्नो साथीमाथि विश्‍वास छ—तपाईं उसलाई राम्ररी चिन्‍नुहुन्छ अनि विगतमा उसले दया अनि उदारता देखाएको तपाईंले देखिसक्नुभएको छ। तपाईंको विश्‍वास र आशाको एक-अर्कामा नजिकको सम्बन्ध छ, अझ भन्‍नुपर्दा अभिन्‍न सम्बन्ध छ तर तिनीहरू फरक छन्‌। तपाईं कसरी यहोवामा त्यस्तो आशा राख्न सक्नुहुन्छ?

आशाको आधार

यहोवा साँचो आशाको स्रोत हुनुहुन्छ। बाइबलको समयमा यहोवालाई “इस्राएलको आशा” भनी सम्बोधन गरिन्थ्यो। (यर्मिया १४:८) आफ्ना जनहरूको लागि कुनै पनि भरपर्दो आशा उहाँमार्फत आउने गर्थ्यो; तसर्थ, उहाँ तिनीहरूको आशा हुनुहुन्थ्यो। यस्तो आशा केवल मनले चिताएको इच्छा थिएन। परमेश्‍वरले तिनीहरूलाई आशा राख्न सक्ने ठोस आधार दिनुभयो। शताब्दीयौंको दौडान तिनीहरूसित व्यवहार गर्नुहुँदा उहाँले प्रतिज्ञाहरू गर्नुभएको अनि ती पूरा गरेको रेकर्ड बसाल्नुभयो। तिनीहरूका नेता यहोशूले इस्राएलीहरूलाई यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन।”—यहोशू २३:१४.

हजारौं वर्षपछि पनि यो रेकर्ड अझ कायमै रहेको छ। बाइबलमा परमेश्‍वरका उल्लेखनीय प्रतिज्ञाहरू अनि ती प्रतिज्ञाहरू पूरा भएका तथ्यपूर्ण ऐतिहासिक रेकर्डहरू थुप्रै पाइन्छ। उहाँका भविष्यसूचक प्रतिज्ञाहरू यति भरपर्दा छन्‌ कि कहिलेकाहीं ती भविष्यवाणी गरिएकै समयमा पूरा भएजस्तो गरी लेखिएका छन्‌।

त्यसैले हामी बाइबललाई आशाको पुस्तक भन्‍न सक्छौं। जब तपाईं परमेश्‍वरले मानिसजातिसित गर्नुभएका व्यवहारहरूको रेकर्ड अध्ययन गर्नुहुन्छ, उहाँमाथि आशा राख्ने आधार बलियो हुँदै जानेछ। प्रेरित पावलले यस्तो लेखे: “किनकि जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।”—रोमी १५:४.

परमेश्‍वरले हामीलाई कस्तो आशा दिनुहुन्छ?

हामीलाई कतिबेला सबैभन्दा बढी आशा चाहिन्छ? के मृत्युको सामना गर्दा नै होइन र? हो, आफ्नो प्रियजनलाई मृत्युले खोसेर लाँदा नै धेरैको लागि आशा भेट्टाउन सबैभन्दा कठिन हुन्छ। आखिर, मृत्यु जत्तिको आशाविहीन अवस्था अरू के हुन सक्ला र? यसले हामी कसैलाई पनि छाड्‌दैन। केही समयको लागि मात्र हामी यसबाट पर भाग्न सक्छौं अनि यसलाई फेरि फर्काएर ल्याउने क्षमता हामीसित छैन। त्यसैले बाइबलले यसलाई “सबैभन्दा पछि[को] . . . शत्रु” भन्‍नु उपुयक्‍त छ।—१ कोरिन्थी १५:२६.

त्यसोभए हामी मृत्युको मुखमा पनि कसरी आशा पाउन सक्छौं? मृत्युलाई सबैभन्दा पछिको शत्रु भन्‍ने त्यस बाइबल पदले यो ‘नामेट हुनेछ’ भनेर पनि बताउँछ। यहोवा परमेश्‍वर मृत्युभन्दा शक्‍तिशाली हुनुहुन्छ। उहाँले असंख्य अवसरहरूमा यो प्रमाणित गरिसक्नुभएको छ। कसरी? मृत्युबाट पुनरुत्थान गरेर। परमेश्‍वरले मरेका व्यक्‍तिहरूलाई पुनः जीवित पार्न आफ्नो शक्‍ति प्रयोग गर्नुभएका नौवटा फरक-फरक अवसरहरूबारे बाइबलले बताउँछ।

एक चोटि, मरेको चार दिन भइसकेको लाजरस नाउँ गरेका येशूको एक जना प्रिय मित्रलाई पुनरुत्थान गर्न यहोवाले आफ्नो पुत्रलाई शक्‍ति दिनुभयो। येशूले यो गुप्तमा होइन तर भीडसामु खुल्लमखुल्ला नै गर्नुभयो।—यूहन्‍ना ११:३८-४८, ५३; १२:९, १०.

तपाईं सोध्नुहोला, ‘किन मानिसहरूको पुनरुत्थान गरियो? के तिनीहरू बूढा भएर पछि फेरि मरेनन्‌ र? हो, तिनीहरू मरे। तर पुनरुत्थानको यस्ता भरपर्दो विवरणहरूको कारण हामीसित हाम्रा प्रियजनहरू फेरि बाँच्नेछन्‌ भन्‍ने इच्छा मात्र होइन तर तिनीहरू पुनरुत्थान हुनेछन्‌ भन्‍ने ठोस आधार पनि छ। अर्को शब्दमा भन्‍नुपर्दा, हामीसित साँचो आशा छ।

येशूले यसो भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ।” (यूहन्‍ना ११:२५) उहाँलाई मात्र यहोवाले सारा संसारमा पुनरुत्थान गर्नको लागि अख्तियार दिनुहुनेछ। येशूले यसो भन्‍नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [ख्रीष्टको] सोर सुन्‍नेछन्‌।” (यूहन्‍ना ५:२८, २९) हो, चिहानमा सुतिरहने सबैको पार्थिव प्रमोदवनमा पुनरुत्थान हुने प्रत्याशा छ।

अगमवक्‍ता यशैयाले पुनरुत्थानको यस हृदयस्पर्शी चित्र वर्णन गरे: “मरिगाएका तपाईंका जनहरू जिउनेछन्‌। तिनीहरूको शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठेर आऊ। तपाईंको शीत ज्योतिको शीतझैं झर्छ, अधलोकमा तपाईंले त्यो झार्नुहुनेछ।”—यशैया २६:१९.

के यो प्रतिज्ञा सान्त्वनादायी छैन र? नाबालक बच्चा आमाको गर्भभित्र सुरक्षित रहेजस्तै मृतकहरू अत्यन्तै सुरक्षित अवस्थामा रहेका छन्‌। वास्तवमा, चिहानमा आराम गरिरहेकाहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वरको असीमित स्मरणमा जस्ताको तस्तै सुरक्षित रहन्छन्‌। (लूका २०:३७, ३८) नयाँ जन्मने बच्चालाई प्रतीक्षारत मायालु परिवारले स्वागत गरेजस्तै सुखी अनि स्वागतयोग्य संसारमा प्रवेश गर्न तिनीहरूलाई अब छिट्टै पुनः जीवित तुल्याइनेछ! त्यसैले, मृत्युको मुखमा समेत आशा छ।

आशाले तपाईंको लागि के गर्न सक्छ

पावल हामीलाई आशाको महत्त्वबारे धेरै कुरा सिकाउँछन्‌। उनले आशालाई आध्यात्मिक कवचको मुख्य भाग अर्थात्‌ टोप भनी बताए। (१ थिस्सलोनिकी ५:८) उनले आशालाई टोप भन्‍नुको अर्थ के हो? बाइबलको समयमा एक जना सिपाहीले लडाइँमा जानको निम्ति मोटो ऊनी कपडा अथवा छालाको टोपीमाथि धातुको टोप लगाउँथ्यो। टोपले गर्दा प्रायजसो प्रहारहरूले घातक चोट पार्नुको सट्टा ती प्रहारहरू टोपमा लागी अन्तै उछिट्टिन्थ्यो। पावलले भन्‍न खोजेको मुख्य कुरा? टोपले टाउकोको सुरक्षा गरेजस्तै आशाले मस्तिष्क अर्थात्‌ सोच्ने क्षमताको सुरक्षा गर्छ। यदि तपाईंसित बाइबल उद्देश्‍य अनुरूपको ठोस आशा छ भने कठिनाइहरूको सामना गर्नुपर्दा डर अथवा नैराश्‍यले तपाईंको मनोशान्ति खलबलिने छैन। हामीमध्ये कसलाई पो यस्तो टोप चाहिंदैन र?

पावलले परमेश्‍वरको इच्छासित गाँसिएको आशाको अर्को जीवन्त उदाहरण प्रस्तुत गरे। उनले यस्तो लेखे: “[यो आशा] हामीलाई प्राणको लङ्‌गर जस्तो छ, अर्थात्‌ . . . जो स्थिर र दृढ़ दुवै।” (हिब्रू ६:१९) एक पटक मात्र होइन धेरै पटक जहाज डुब्दा भएको दुर्घटनाबाट बचेका पावललाई लङ्‌गरको महत्त्व कत्तिको हुन्छ भनेर राम्ररी थाह थियो। आँधी आउँदा नाविकले जहाजको लङ्‌गर तल झार्नेछन्‌। यदि यो समुद्रीधरातलमा बलियो गरी अड्‌केको छ भने जहाज समुद्री तटतिर हुँइकिएर चट्टानमा बज्रदैन र आँधीबाट पनि बच्न सफल हुन्छ।

त्यसरी नै यदि परमेश्‍वरका प्रतिज्ञाहरू हाम्रो लागि “स्थिर र दृढ़” आशाको रूपमा रहेका छन्‌ भने त्यस्तो आशाले हामीलाई यस संसारको आँधीग्रस्त समयको सामना गर्न तथा त्यसबाट बच्न मदत गर्न सक्छ। त्यस्तो समय छिट्टै आउनेछ जतिबेला मानिसहरू युद्ध, अपराध, पीडा अथवा मृत्युबाट समेत मुक्‍त हुनेछन्‌ भनी यहोवा प्रतिज्ञा गर्नुहुन्छ। (पृष्ठ १० को पेटी हेर्नुहोस्‌।) त्यो आशालाई बलियो गरी पक्रिराखेको खण्डमा विपत्तिले हाम्रो स्थिरतामा कुनै हानि पुऱ्‍याउन सक्दैन अनि त्यो आशाले आजको संसारमा व्याप्त अशान्त र अनैतिक आत्मामा भुल्न नदिई परमेश्‍वरको स्तर अनुरूप बाँच्न उत्प्रेरणा दिन्छ।

यहोवाले दिनुहुने आशामा तपाईं पनि व्यक्‍तिगत रूपमा मुछिनुभएको छ। उहाँले तपाईंको लागि जुन जीवन सोच्नुभएको छ, तपाईं त्यही जीवन लिएर बाँचेको उहाँ चाहनुहुन्छ। “सबै मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने उहाँको इच्छा छ। तर यो कसरी सम्भव छ? सबैभन्दा पहिले, हामी सबै जना ‘सत्यको ज्ञानमा आउनै’ पर्छ। (१ तिमोथी २:४) यस पत्रिकाका प्रकाशकहरू परमेश्‍वरको वचनको सत्यबारे बताउने उक्‍त जीवनदायी ज्ञान हासिल गर्न तपाईंलाई आग्रह गर्छन्‌। उक्‍त ज्ञानमार्फत परमेश्‍वरले तपाईंलाई दिनुहुने आशा यस संसारमा तपाईंले पाउन सक्ने कुनै पनि आशाभन्दा कता हो कता उत्कृष्ट छ।

यस्तो आशा पाइसकेपछि तपाईंले कहिल्यै निस्सहाय महसुस गर्नुपर्दैन किनकि परमेश्‍वरले उहाँको इच्छा अनुरूप तपाईंले राख्नुहुने कुनै पनि लक्ष्य हासिल गर्न आवश्‍यक बल दिन सक्नुहुन्छ। (२ कोरिन्थी ४:७; फिलिप्पी ४:१३) के तपाईंलाई चाहिएको यस्तै आशा होइन र? त्यसैले यदि तपाईंलाई आशाको खाँचो छ अनि तपाईं यसको खोजीमा हुनुहुन्छ भने, साहस गर्नुहोस्‌। आशा तपाईंको सामने छ। हो, तपाईंले त्यो भेट्टाउन सक्नुहुन्छ! (g04 4/22)

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

आशा राख्न सक्ने कारणहरू

निम्न धर्मशास्त्रीय सोचहरूले आशा बढाउन तपाईंलाई मदत गर्न सक्छ

◼ परमेश्‍वरले आनन्दित भविष्यको प्रतिज्ञा गर्नुहुन्छ।

उहाँको वचनले पृथ्वी सुखी अनि एकताबद्ध मानव परिवारहरू बसोबास गर्ने विश्‍वव्यापी प्रमोदवनमा परिणत हुनेछ भनी बताउँछ।—भजन ३७:११, २९; यशैया २५:८; प्रकाश २१:३, ४.

◼ परमेश्‍वरको लागि झूट बोल्नु असम्भव छ।

उहाँ जुनसुकै झूटलाई पनि घृणा गर्नुहुन्छ। यहोवा पूर्णतया पवित्र र शुद्ध हुनुहुन्छ त्यसैले झूट बोल्नु उहाँको लागि असम्भव छ।—हितोपदेश ६:१६-१९; यशैया ६:२, ३; तीतस १:२; हिब्रू ६:१८.

◼ परमेश्‍वरसित असीमित शक्‍ति छ।

यहोवा मात्र सर्वशक्‍तिमान हुनुहुन्छ। यस बह्‍माण्डमा भएका कुनै पनि कुराले उहाँका प्रतिज्ञाहरू पूरा गर्नबाट उहाँलाई रोक्न सक्दैन।—प्रस्थान १५:११; यशैया ४०:२५, २६.

◼ परमेश्‍वर तपाईं सधैंभरि बाँचेको चाहनुहुन्छ।

यूहन्‍ना ३:१६; १ तिमोथी २:३, ४.

◼ परमेश्‍वरले हामीमाथि आशा राख्नुहुन्छ।

उहाँले हाम्रा गल्ती अनि असफलताहरूमा मात्र नभई हाम्रा असल गुण अनि प्रयासहरूमा पनि ध्यान केन्द्रित गर्नुहुन्छ। (भजन १०३:१२-१४; भजन १३०:३; हिब्रू ६:१०) हामीले असल गर्नेछौं भनी उहाँ आशा राख्नुहुन्छ अनि हामीले असल गर्दा उहाँ प्रसन्‍न हुनुहुन्छ।—हितोपदेश २७:११.

◼ परमेश्‍वरले ईश्‍वरीय लक्ष्यहरू हासिल गर्न मदत दिने प्रतिज्ञा गर्नुहुन्छ।

उहाँका सेवकहरूले कहिल्यै असहाय महसुस गर्नु पर्दैन। परमेश्‍वरले हामीलाई मदत गर्न उदारतासाथ आफ्नो पवित्र आत्मा दिनुहुन्छ र यो सबैभन्दा शक्‍तिशाली छ।—फिलिप्पी ४:१३.

◼ परमेश्‍वरमा राखिएको आशा कहिल्यै व्यर्थ जाँदैन।

एकदमै भरपर्दो अनि भरोसायोग्य हुनुभएकोले उहाँले तपाईंलाई कहिल्यै निराश पार्नुहुनेछैन।—भजन २५:३.

[पृष्ठ १२-मा भएको चित्र]

जसरी टोपले टाउकोको सुरक्षा गर्छ त्यस्तै गरी आशाले हाम्रो मस्तिष्कलाई सुरक्षा दिन्छ

[पृष्ठ १२-मा भएको चित्र]

लङ्‌गरले जस्तै बलियो आशाले स्थिरता दिन सक्छ

[स्रोत]

Courtesy René Seindal/Su concessione del Museo Archeologico Regionale A. Salinas di Palermo