सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबुको हैसियतमा तपाईंको भूमिका

आमाबाबुको हैसियतमा तपाईंको भूमिका

आमाबाबुको हैसियतमा तपाईंको भूमिका

“यदि तपाईं आफ्नो बच्चालाई माया पाएको, बलियो पारिवारिक बन्धनमा बाँधिएको, उद्देश्‍यपूर्ण र कुनै कुरा जान्‍न उत्सुक भएको महसुस गराउनुहुन्छ भने तपाईंको बच्चाको मस्तिष्कको विकास सहज किसिमले हुनेछ,” भनी हार्वड मेडिकल स्कूलका पिटर गोर्स्की भन्छन्‌। “आमाबाबुको हैसियतमा हाम्रो काम मस्तिष्कको सञ्चालनलाई चुस्त बनाउनु नभई मानसिक रूपले स्वस्थ, सन्तुलित अनि अरूप्रति चासो राख्ने मानव बन्‍ने विकासलाई गति दिनु हो।”

आफ्ना बच्चाहरू अरूप्रति विचारशील नैतिकवान्‌ व्यक्‍ति बनेर हुर्किएको हेर्न पाउनु तपाईं आमाबाबुको लागि कत्ति सन्तोषजनक हुन्छ! तपाईंले हासिल गर्न चाहनुभएको यस्तो नतिजा एक उदाहरण, साथी, उसका मनका कुराहरू पोख्न लगाउने व्यक्‍ति अनि शिक्षक बन्‍न तपाईंले लिनुहुने अग्रसरतामा निर्भर हुन्छ। सबै बच्चाहरू जन्मजात आधारभूत नैतिक क्षमतासहित जन्मने भए तापनि बच्चाहरू हुर्कंदै जाँदा आमाबाबुले तिनीहरूको हृदयमा प्रगतिशील ढङ्‌गमा नैतिक मूल्यमान्याताहरू बसाल्ने प्रयास गर्नै पर्छ।

बच्चाहरूको चरित्रलाई कसले निर्धारण गर्छ?

बच्चाहरूको चरित्र निर्धारण गर्ने सन्दर्भमा सबैभन्दा बढी कसले प्रभाव पार्छ भन्‍ने बारेमा अनुसन्धाताहरूबीच फरक-फरक धारणा रहेको पाइन्छ। कसै-कसैले बच्चाहरूको चरित्र मुख्यतः तिनीहरूका साथीहरूद्वारा निर्धारित हुन्छ भनी विश्‍वास गर्छन्‌। यद्यपि, बाल-विकास क्षेत्रका विशेषज्ञहरू डा. टि. बेरी ब्राजेलटोन र स्टान्ली ग्रीनस्प्यानअनुसार बच्चाहरूलाई समानुभूतिशील ढङ्‌गमा पालनपोषण गर्ने सन्दर्भमा आमाबाबुको भूमिकालाई हल्कासित लिन मिल्दैन।

बच्चाहरू हुर्कनुमा तिनीहरूले जीवनमा हासिल गर्ने अनुभव अनि साथीहरूको प्रभाव, दुवैको उत्तिकै भूमिका हुन्छ। परिवारमा बच्चालाई अनुकम्पा अनि समझदारी देखाउनु महत्त्वपूर्ण छ। परिपक्व ढङ्‌गमा आफ्ना भावनाहरूको सामना कसरी गर्ने भनेर सिकाउनु पनि आवश्‍यक छ। यस्तो मदत पाएका बच्चाहरू सामान्यतया अरूसित मिलनसार, दयालु अनि सहानुभूतिशील हुन अझ राम्ररी तयार हुन्छन्‌।

बच्चालाई सानैदेखि प्रशिक्षण दिन परिश्रम गर्नुपर्छ। सफल हुनको लागि अझ विशेष गरेर यदि तपाईं नयाँ आमाबाबु हुनुहुन्छ भने आफूभन्दा अझ बढी अनुभवी व्यक्‍तिहरूको सल्लाह खोज्नु अनि त्यसपछि मात्र कुनै ठोस कदम चाल्नु बुद्धिमानी हुन्छ। विशेषज्ञहरूले बाल-विकाससम्बन्धी असंख्य पुस्तकहरू लेखेका छन्‌। तिनीहरूले भनेका कुराहरूले धेरै हदसम्म बाइबलमा लिपिबद्ध भरपर्दा सल्लाहहरूलाई झल्काउँछ। यी सल्लाहहरू लागू गर्दा परमेश्‍वरको वचनका व्यावहारिक सिद्धान्तहरूले छोराछोरीलाई प्रभावकारिताका साथ पालनपोषण गर्न आमाबाबुलाई मदत गरेको छ। निम्न व्यावहारिक निर्देशनलाई विचार गर्नुहोस्‌।

प्रेम व्यक्‍त गर्ने सन्दर्भमा उदार हुनुहोस्‌

बच्चाहरू ती कलिला बिरुवाहरू जस्तै हुन्‌ जसलाई नियमित तवरमा मायालु ध्यान दिइरहेमा तिनीहरू फल्छन्‌-फुल्छन्‌। पानी र घामले एउटा कलिलो मुनालाई पोषण दिन्छ जसले गर्दा उक्‍त मुनाले रहरलाग्दो र मजबुत बिरुवाको रूपमा हुर्कन मदत पाउँछ। त्यसरी नै बोली र स्पर्शले आफ्ना बच्चाहरूमा प्रेम वर्षाउने आमाबाबुहरूले आफ्ना बच्चाहरूको मानसिक र भावनात्मक विकास र स्थायित्वलाई पोसिरहेका हुन्छन्‌।

बाइबल यसो भन्छ: “प्रेमले उन्‍नति गराउँछ।” (१ कोरिन्थी ८:१) आफ्ना बच्चाहरूलाई प्रेम देखाउन उदार हुने आमाबाबुले वास्तवमा तिनीहरूका सृष्टिकर्ता यहोवाको अनुकरण गरिरहेका हुन्छन्‌। बप्तिस्माको बेला पुत्रको रूपमा आफूलाई अनुमोदन र प्रेम व्यक्‍त गर्न पिताले दिनुभएको आवाज येशूले सुन्‍नुभएको कुरा बाइबल बताउँछ। वयस्क भए तापनि येशूका लागि यी शब्दहरू कत्ति सान्त्वनादायी थिए।—लूका ३:२२.

तपाईंले देखाउनुभएको स्नेह, सुत्नेबेला तपाईंले सुनाउनुभएको कथा अनि तपाईंले उनीहरूसित खेल्नुभएको खेल तपाईंको बच्चाको विकासमा योगदान पुऱ्‍याउने महत्त्वपूर्ण तत्त्वहरू हुन्‌। डा. जे. फ्रेजर मस्टर्ड यसो भन्छन्‌, “बच्चाहरूले गर्ने सबै कुरा उसले हासिल गर्ने अनुभव हो। यदि बच्चा बामे सर्दै छ भने तपाईंले त्यतिबेला कस्तो हौसला दिनुहुन्छ र प्रतिक्रिया देखाउनुहुन्छ भन्‍ने कुरासमेत महत्त्वपूर्ण छ।’ आमाबाबुको माया अनि ध्यानले जिम्मेवारपूर्ण अनि परिपक्व वयस्क बन्‍न र हुर्कन बलियो जग बसालिरहेको हुन्छ।

साथी बन्‍ने अनि खुलस्त कुराकानी गर्ने

बच्चाहरूसित समय बिताउँदा एउटा बन्धन स्थापित हुन्छ। यसको अतिरिक्‍त, यसले एक-अर्कासित कुराकानी गर्ने दक्षता विकास गर्छ। चाहे घरमा होस्‌ अनि जुनसुकै उपयुक्‍त ठाउँमा—यस्तो प्रकारको घनिष्ठता विकास गर्न धर्मशास्त्रले प्रोत्साहन दिन्छ।—व्यवस्था ६:६, ७; ११:१८-२१.

बाल-विकास विशेषज्ञहरूका अनुसार आमाबाबुहरूले बच्चाहरूसित बिताउने समय कुनै चमकदमकपूर्ण खेलौना अथवा कुनै निश्‍चित गतिविधिहरूभन्दा कता हो कता महत्त्वपूर्ण हुन्छ। एक पैसा पनि नपर्ने गतिविधि अनि दैनिक क्रियाकलापद्वारा तपाईंको बच्चाहरूसित यस्तो समय बिताउने मौका दिन सक्छ। उदाहरणको लागि तिनीहरूसित पार्कतिर घुम्न गएर प्रकृति अवलोकन गर्दा बच्चाहरूलाई अर्थपूर्ण प्रश्‍नहरू सोध्न अनि कुराकानीलाई बढाउने राम्रो मौका दिन्छ।

धर्मशास्त्र भन्छ, “नाच्ने एउटा समय [छ]।” (उपदेशक ३:१, ४) बच्चाहरूको बौद्धिक, भावनात्मक, अनि सामाजिक दक्षता विकासको लागि स्वच्छन्द भएर खेल्नु अत्यन्तै महत्त्वपूर्ण छ। डा. मस्टर्डका अनुसार खेल मूल्यवान्‌ मात्र होइन तर अत्यन्तै महत्त्वपूर्ण पनि छ। उनी भन्छन्‌: “मुख्यतः खेलद्वारा नै बच्चाहरूको मस्तिष्कमा विविध प्रणालीहरूको सञ्चालनको विकास हुन्छ।” स्वच्छन्द खेलमा बच्चाले प्रयोग गर्ने खेलौना एकदमै साधारण खालको हुन सक्छ जस्तै—कागजको खाली बाकस। महँगा अत्याधुनिक प्रविधिका खेलौनाहरूजस्तै दैनिक घरायसी सामग्रीहरू यदि सुरक्षित छन्‌ भने बच्चाहरूका लागि ती आकर्षक हुन्छन्‌। a

विशेषज्ञहरूको भनाइअनुसार वयस्कहरूले गर्नेजस्तै गतिविधिहरू बच्चाहरूमाथि लादेको खण्डमा त्यसले बच्चाको कल्पनाशक्‍ति अनि सृजनशीलतमा अवरोध पुग्न सक्छ। सन्तुलित हुन सुझाव दिइएको छ। बच्चाहरूलाई आफ्नै सानो संसारमा रमाउन दिनुहोस्‌ र समस्याहरूको समाधान आफै पत्ता लगाउन दिनुहोस्‌। अक्सर बच्चाले आफै रमाउने बाटोहरू भेट्टाउनेछ। तर यस कुराले आफ्नो बच्चाले के गर्दैछ अनि ऊ कहाँ खेल्दैछ भन्‍ने कुरालाई ध्यान दिने जिम्मेवारीबाट तपाईंलाई मुक्‍त गर्दैन नत्र बच्चाले आफूलाई हानि पुऱ्‍याउन सक्छ।

सिकाउन समय छुट्टयाउनुहोस्‌

बच्चालाई अनुशासित ढङ्‌गमा पालन-पोषण गर्न र हुर्काउन सिकाउनु एउटा महत्त्वपूर्ण कुरा हो। आफ्ना बच्चाहरूलाई हरेक दिन ठूलो स्वरले पढेर सुनाउन धेरै आमाबाबुले समय छुट्याउँछन्‌। यसले बच्चाहरूलाई स्वीकार्य आचरणहरूका साथै सृष्टिकर्ताले भनेबमोजिम बच्चाहरूमा नैतिक मूल्यमान्यताहरू बसाल्ने अवसर प्रदान गर्छ। विश्‍वासी शिक्षक तथा मिसनरी तिमोथीले सानैमा ‘पवित्र लेखोटहरू जानेको’ कुरा बाइबलले बताउँछ।—२ तिमोथी ३:१५.

आफ्ना बच्चाहरूलाई पढेर सुनाउँदा उसको सिन्याप्टिक कनेक्सनहरू उत्तेजित हुन सक्छ। मुख्य कुरा भनेको पढ्‌ने व्यक्‍ति सचेत अनि अरूको ख्याल गर्न सक्ने हुनु आवश्‍यक छ। शिक्षाका प्राध्यापक लिन्डा सिगल, पढिने विषयवस्तुप्रति सचेत गराउँछन्‌, “पढाइको स्तर बच्चाहरूले आनन्द उठाउन सक्ने खालको हुनुपर्छ।” साथै, नियमित रूपमा अनि हरेक दिन सधैं एउटै समयमा पढ्‌ने प्रयास गर्नुहोस्‌। यसो गरेको खण्डमा बच्चाले त्यो समयको उत्सुकतासाथ प्रतीक्षा गर्नेछ।

सिकाउनुमा अनुशासन पनि समावेश छ। बच्चाहरूले मायालु अनुशासनबाट फाइदा उठाउन सक्छन्‌। हितोपदेश १३:१ ले भन्छ, “बुद्धिमान छोराले आफ्ना बाबुको अर्तीमा [“अनुशासन,” NW] ध्यान दिन्छ।” तर नबिर्सनुहोस्‌, अनुशासनमा धेरै कुराहरू समावेश छन्‌। उदाहरणका लागि, केही शब्दहरू बोलेर अनि केही अवसरहरूबाट वञ्चित गराएर अथवा केही अन्य प्रकारका सजायहरू दिएर पनि अनुशासन दिन सकिन्छ। माथि उल्लिखित डा. ब्राजेलटोन भन्छन्‌, अनुशासन भनेको “बच्चालाई भावना अनि अनियन्त्रित स्वभावहरूलाई कसरी वशमा राख्ने भनेर सिकाउनु हो। हरेक बच्चाले सीमा निर्धारण गरिदिएको चाहन्छ। प्रेमपछि तपाईंले दिनुपर्ने मुख्य कुरा भनेको अनुशासन नै हो।”

आमा अथवा बुबाको हैसियतमा तपाईंको अनुशासन प्रभावकारी छ कि छैन भनेर कसरी निर्धारण गर्ने? एउटा कुरा, किन अनुशासन दिइँदैछ भनेर तपाईंका बच्चाहरूले बुझ्नुपर्छ। तपाईं एक जना सहयोगी र मायालु आमा अथवा बुबा हुनुहुन्छ भनेर तपाईंको बच्चाले महसुस गर्ने किसिमले सच्याउनुहोस्‌।

सफल साबित भएको प्रयास

फ्रेड एक जना त्यस्ता बाबु हुन्‌ जसले आफ्नी छोरीलाई सानैदेखि सुत्नअघि पढेर सुनाउने बानी नै बसाले। केही समयपछि आफ्नी छोरीले धेरै कथाहरू मुखस्त पारेकी र पढ्‌दा किताबमा सँगसँगै पछ्याएकी अनि शब्द तथा त्यसको उच्चारणसमेत ठम्याउन सकेकी उनले थाह पाए। आफ्ना बच्चाहरूलाई पढेर सुनाउने सन्दर्भमा एकदमै सचेत अर्का बाबु क्रिस हुन्‌। उनले आफूले पढ्‌ने जानकारीहरूमा विविधता ल्याउन प्रयास गरे। आफ्ना बच्चाहरू सानो छँदा तिनीहरूलाई नैतिक र आध्यात्मिक पाठहरू सिकाउन तिनले बाइबलका कथाहरू भएको मेरो पुस्तक-का धेरै चित्रहरू चलाए। b

अरू आमाबाबुहरूले पढाइको सँगसँगै चित्र बनाउने, रङ भर्ने, सङ्‌गीत बजाउने, क्याम्पिङ्‌गमा जाने, अथवा चिडियाखानामा परिवार नै घुम्न जाने जस्ता क्रियाकलापहरूमा भाग लिएर सन्तुलित हुने प्रयास गर्छन्‌। यस्ता मौकाहरूलाई बच्चाहरूको संवेदनशील हृदय र मस्तिष्कमा असल नैतिक मूल्यमान्यता र आचरणहरू बसाल्ने अनि सिकाउने अवसरको रूपमा प्रयोग गर्न सकिन्छ।

के यस्ता सबै कार्य र प्रयास खेर गएको छ? शान्तिपूर्ण अनि सुरक्षित वातावरणमा माथिका व्यावहारिक निर्देशनहरू पालन गर्न यथासक्दो गर्ने आमाबाबुहरूले सकारात्मक मनोवृत्तिसहित आफ्ना बच्चाहरू हुर्केको देख्न पाउने सम्भावना धेरै हुन्छ। कलिलो उमेरमै आफ्ना बच्चाहरूमा तपाईंले बौद्धिक र कुराकानी गर्ने क्षमतालाई विकास गरिदिनुभएमा तिनीहरूको नैतिक र आध्यात्मिक चरित्रमा तपाईंले ठूलो योगदान पुऱ्‍याइरहनुभएको हुनेछ।

शताब्दीयौं अघि हितोपदेश २२:६ मा बाइबलले स्पष्टसित यसो भन्यो: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” बच्चाहरूलाई प्रशिक्षण दिन आमाबाबुले पक्कै पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌। आफ्ना बच्चाहरूलाई प्रेम व्यक्‍त गर्न उदार हुनुहोस्‌। तिनीहरूसित समय बिताउनुहोस्‌, तिनीहरूको विकासलाई गति दिनुहोस्‌, अनि तिनीहरूलाई सिकाउनुहोस्‌। यसो गर्दा तपाईं स्वयम्‌ अनि तिनीहरूलाई पनि आनन्द दिनेछ।—हितोपदेश १५:२०. (g04 10/22)

[फुटनोटहरू]

a यस पत्रिकाको सेप्टेम्बर ८, २००४ अंकमा प्रकाशित “सबैभन्दा राम्रो खेलौना” शीर्षकको लेख हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित। साना बच्चाहरूलाई सिकाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित अर्को पुस्तक लर्न फ्रम द ग्रेट टिचर पनि प्रभावकारी ढङ्‌गमा प्रयोग गरिंदैछ।

[पृष्ठ ७-मा भएको पेटी]

आफ्ना बच्चाहरूसित खेल्ने

◼ बच्चाहरूले एकदमै छोटो समयसम्म मात्र ध्यान दिन सक्छन्‌ त्यसैले तिनीहरूले रमाइलो मानिरहेको जस्तो देखिन्छ भने मात्र खेल्नुहोस्‌

◼ यदि खेलौनाहरू प्रयोग गरिएका छन्‌ भने ती सुरक्षित अनि बच्चाका इन्द्रियहरूलाई उत्साहित गर्ने खालका छन्‌ कि छैनन्‌ भनेर पक्का गर्नुहोस्‌

◼ कुनै सृजनात्मक खेल खेल्नुहोस्‌। बच्चाहरू तपाईंले कुनै कुरा बारम्बार गरेको हेर्न रमाउँछन्‌ जस्तै तिनीहरूले खसालेको कुनै खेलौना टिप्नु।

[स्रोत]

स्रोत: क्लिनिकल रेफरेन्स सिस्टम्स्‌

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

आफ्नो बच्चालाई पढेर सुनाउने केही सुझावहरू

◼ स्पष्टसित पढ्‌नुहोस्‌ अनि सही उच्चारण गर्नुहोस्‌। आमाबाबुले बोलेको सुनेरै बच्चाहरूले भाषा सिक्छन्‌।

◼ धेरै साना बच्चाहरूलाई पढेर सुनाउँदा कथाको किताबमा दिइएका मानिस र चित्रलाई औंल्याउनुहोस्‌ र त्यसको नाम बताउनुहोस्‌।

◼ बच्चा ठूलो भइसकेपछि उसलाई हालै मनपर्न थालेका कुनै विषयमा केन्द्रित पुस्तक रोज्नुहोस्‌।

[स्रोत]

स्रोत: पेड्रायट्रिक्स फर प्यारेन्ट्‌स

[पृष्ठ ८, ९-मा भएको चित्र]

आफ्ना बच्चाहरूसित स्फूर्तिदायी मनोरञ्जन गर्न समय बिताउनुहोस्‌