सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुस्तकालय—ज्ञानको प्रवेशद्वार

पुस्तकालय—ज्ञानको प्रवेशद्वार

पुस्तकालय—ज्ञानको प्रवेशद्वार

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

पुस्तकालयहरूलाई “सभ्यताको एउटा खाँबा” भनिएको छ। वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार मानव संस्कृति र प्रविधिको विकासमा पुस्तकालयहरूको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। जर्मन कवि गोथेले पुस्तकालयहरूलाई मानिसजातिको ज्ञानको भण्डार भने।

कुन-कुन पुस्तकालयहरू “सभ्यताको खाँबाको” रूपमा महत्त्वपूर्ण साबित भएका छन्‌? पुस्तकालय  तथा साक्षरता फैलाउने कार्यमा कुन पुस्तकले सबैभन्दा बढी प्रभाव पारेको छ? अनि सबैभन्दा ठूलो आधुनिक पुस्तकालयमा कतिवटा पुस्तक छन्‌? पहिलो प्रश्‍नको जवाफ पाउनको लागि आउनुहोस्‌, अतीतमा फर्कौं अनि मानिसजातिको एउटा सबैभन्दा पुरानो पुस्तकालयमा प्रवेश गरौं।

“मानव ज्ञानको” पुरातन “विश्‍वकोश”

कल्पना गर्नुहोस्‌, तपाईं हाल इराक भनेर चिनिने मध्यपूर्वको एउटा देशमा हुनुहुन्छ। सा.यु.पू. ६५० को कुरा हो। तपाईं चारैतिर अग्ला-अग्ला पर्खालहरूले घेरिएको सहर, निनवेमा (वर्तमान समयको मोसुल नजिकै) हुनुहुन्छ। तपाईंको सामु अश्‍शूर, मिश्र र बेबिलोनियाका शासक राजा अश्‍शूरबानीपालको विशाल शाही दरबार छ। a दरबारको मूलद्वारको छेवैमा उभिनुहुँदा मानिसहरूले माटाका ठूल्ठूला भाँडाहरू गाडामा राखेर दरबारभित्र ओसारिरहेको तपाईं देख्नुहुन्छ। यी मानिसहरू अश्‍शूरी राज्यको पल्लो छेउबाट भर्खरै फर्केका छन्‌ र यिनीहरूले अश्‍शूरबानीपालको राज्यका मानिसहरूको सामाजिक, सांस्कृतिक र धार्मिक परम्पराहरूबारे उपलब्ध सबै कागजात सङ्‌कलन गर्ने कोसिस गरिरहेका छन्‌। माटोको एउटा भाँडो खोल्दा त्यसमा आठ सेन्टिमिटर चौडा र दस सेन्टिमिटर लामो माटोका चारकुने पट्टीहरू देख्न सक्नुहुन्छ।

ती मानिसहरूमध्ये एक जनाको पछि-पछि लागेर तपाईं दरबारभित्र पुग्नुहुन्छ र त्यहाँ तपाईं शास्त्रीहरू देख्नुहुन्छ जो हड्डीको लेखनी प्रयोग गरेर ओसिलो माटोका साना पट्टीहरूमा कीलो आकारका छापहरू कोरिरहेका छन्‌। तिनीहरू विदेशी भाषाका कागजातहरू अश्‍शूरी भाषामा अनुवाद गर्दैछन्‌। पछि, यी पट्टीहरू आगोको भट्टीमा सेकाइनेछन्‌ जसले गर्दा यसमा लेखिएको रेकर्ड नाश नहुने गरी ठप्प बस्नेछ। यी रेकर्डहरू तख्तैतख्ता भएका कोठाहरूमा राखिएका सयौं माटाका भाँडाहरूमा सञ्चय गरिएका छन्‌। यी कोठाका ढोकाहरूमा राखिएका पत्रीहरूमा हरेक ठाउँमा राखिएका रेकर्डहरूको विषयअनुसार लेबल पाइन्छ। यस पुस्तकालयमा भएका माटोका २०,००० भन्दा बढी पट्टीहरूमा व्यापारिक कारोबार, धार्मिक प्रचलन, नियम-कानुन, इतिहास, औषधी, मानिस तथा पशुको जीवविज्ञानसम्बन्धी जानकारी पाइन्छ अनि यसलाई एक जना शास्त्रज्ञले “मानव ज्ञानको विश्‍वकोश” भन्‍ने संज्ञा दिएका थिए।

निनवे पुस्तकालयका अघि र पछिका पुस्तकालयहरू

निनवेको अश्‍शूरबानीपालको पुस्तकालयभन्दा अघि पनि अरू ठूल्ठूला पुस्तकालयहरू थिए। राजा अश्‍शूरबानीपालको समयभन्दा हजार वर्षअघि राजा हमुराबीले बेबिलोनी सहर बोर्सिपामा एउटा पुस्तकालय निर्माण गरे। अश्‍शूरबानीपालको समयभन्दा ७०० वर्षभन्दा पनि अघि रामसेस द्वितीयले मिश्री सहर थेबेमा एउटा प्रख्यात पुस्तकालय स्थापना गरे। तर विविध जानकारी र रेकर्डहरूको विशाल संख्याले गर्दा अश्‍शूरबानीपालको पुस्तकालयले “पुरातन संसारको सबैभन्दा ठूलो” भन्‍ने नाउँ कमाएको छ। योभन्दा पनि अझ ठूलो पुस्तकालय ३५० वर्षपछि मात्र बन्यो।

त्यो ठूलो पुस्तकालय महान्‌ सिकन्दरका एक जना सेनापति, टोलेमी प्रथम सोटरले सा.यु.पू. ३०० तिर निर्माण गरेका थिए। यो मिश्रको बन्दरगाह सहर एलेक्जान्ड्रियामा निर्माण गरिएको थियो अनि यसका लाइब्रेरियन अर्थात्‌ पुस्तकालयध्यक्षहरूले तत्कालीन संसारका अधिकांश लेखोटहरू सङ्‌कलन गर्ने प्रयास गरे। b त्यतिबेलाको चलनअनुसार एलेक्जान्ड्रियामा लगभग ७० जना शास्त्रविद्‌ मिलेर हिब्रू धर्मशास्त्रलाई युनानी भाषामा अनुवाद गर्न थाले। यो अनुवाद ग्रीक सेप्टुआजिन्ट भनेर चिनियो र प्रारम्भिक मसीहीहरूले यो अनुवादको व्यापक प्रयोग गरे।

पूर्वीय पुस्तकालयहरू

अश्‍शूरबानीपालले आफ्नो पुस्तकालयमा केही सुधारहरू गरिरहेको बेला चीनमा चाऊ वंशले शासन गरिरहेको थियो। सा.यु.पू. ११२२ देखि सा.यु.पू. २५६ सम्म यस वंशको शासनको दौडान पुस्तकहरूको एउटा समूह तयार पारियो जुन फाइभ क्लासिक्स्‌ अर्थात्‌ पञ्च-कृति भनेर चिनियो। ती कृतिहरूमा भविष्यको अर्थ खुलाउने, प्रारम्भिक शासकहरूका भाषणहरूको सङ्‌कलन, कविता, धार्मिक समारोह तथा रीतिथितिसम्बन्धी निर्देशन अनि सा.यु.पू. ७२२ देखि सा.यु.पू. ४८१ सम्मको लु राज्यको इतिहासबारे जानकारी थियो। तीमध्ये अन्तिम पुस्तकमा चाहिं चिनियाँ दर्शनशास्त्री कनफ्युसियसका शिक्षाहरू छन्‌। फाइभ क्लासिक्स्‌ अनि त्यसबारे लेखिएका अनगन्ती टीकाटिप्पणीहरूले चिनियाँ सोचाइमाथि प्रभाव पाऱ्‍यो अनि दुई हजारभन्दा बढी समयसम्मको लागि शाही तथा निजी पुस्तकालयहरूको लागि प्रमुख आधार बन्यो।

जापानको शासकीय सामुराई परिवारका होजो सानतोकीले कानाजावास्थित (अहिले योकोहामाको एउटा भाग) आफ्नो निवासमा सन्‌ १२७५ एउटा पुस्तकालय स्थापना गरे। तिनले चिनियाँ र जापानी भाषामा त्यतिबेला उपलब्ध सबै पुस्तकहरू सङ्‌कलन गर्ने प्रयास गरे। यहाँ पाइने पुस्तकहरूको संख्या कम भइसके तापनि पुस्तकहरूको सङ्‌कलन भने अझै पनि छ।

बाइबल, मठहरूको पुस्तकालय अनि पश्‍चिमी संस्कृति

अ हिस्ट्री अफ लाइब्रेरीज्‌ इन द वेस्टर्न वर्ल्ड (पश्‍चिमी संसारमा पुस्तकालयहरूको इतिहास) भन्‍ने पुस्तक यसो भन्छ: “मुद्रित छापाको शक्‍ति र पुस्तकालयको महत्त्व मसीहीधर्मको उत्थान, फैलावट र स्थायित्वमा जत्तिको प्रस्ट त अरू कतै देखिएको छैन।” पुस्तकालयहरूको विकास र मसीहीधर्मको फैलावटबीच कस्तो सम्बन्ध छ?

रोमी साम्राज्यको पतनपछि अनि विशाल पुस्तकालयका पुस्तकहरूको विनाश वा ती यत्रतत्र छरिएपछि युरोपभरि नै मसीहीजगत्‌का मठहरू देखापर्न थाले अनि यिनीहरूले पुरातन पुस्तकालयबाट बचेखुचेका किताबहरू जम्मा गर्न थाले। यी प्रायजसो मठहरूको एउटा प्रमुख काम भनेको बाइबल म्यानुस्क्रिप्ट तथा अन्य म्यानुस्क्रिप्टहरू हातैले सार्नु थियो। उदाहरणका लागि, बेनिडिक्टिन मठहरू “सन्त बेनेडिक्टको नियमअनुसार” चल्थे र त्यस नियमअनुसार किताबहरू पढ्‌नुका साथै सार्नुपर्ने थियो।

कन्स्टान्टिनोपलका पुस्तकालयहरूले पुरातन म्यानुस्क्रिप्टहरू सङ्‌कलन गर्नुका साथै थप प्रतिहरू बनायो र ती पछि इटालीमा पुनः देखापरे। रेनासाँ युग सुरु गर्न यी म्यानुस्क्रिप्टहरूले महत्त्वपूर्ण भूमिका खेले भन्‍ने विश्‍वास छ। इतिहासकार एल्मर डी. जन्सन यसो भन्छन्‌: “पश्‍चिमी संस्कृतिको जगेर्ना गर्न मठहरूको पुस्तकालयले खेलेको भूमिकालाई नकार्न सकिंदैन। लगभग एक हजार वर्षको लागि यो युरोपको बौद्धिक केन्द्र थियो अनि यो नहुँदो हो त पश्‍चिमी सभ्यता एउटा बेग्लै संसार हुने थियो।”

बाइबलको प्रतिलिपि बनाउने कार्यले यस कालमा “ ‘युरोपको बौद्धिक केन्द्रलाई’ सजीव राखिराख्न मदत” गऱ्‍यो। अनि युरोपमा धार्मिक सुधारको लहड चलेको बेला बाइबल पढ्‌ने इच्छाले सर्वसाधारण जनतालाई असाक्षरताको साङ्‌ला तोड्‌न उत्प्रेरित गऱ्‍यो। स्टोरी अफ लाइब्रेरीज्‌ भन्‍ने पुस्तक यसो भन्छ: “प्रोटेस्टेन्ट धार्मिक सुधारमा हामी कस्तो धारणा सल्किएको पाउँछौं भने, समाजको प्रत्येक सदस्यले बाइबल पढ्‌न सक्ने जत्तिको शिक्षा पाएको हुनुपर्छ। धर्मसम्बन्धी विवाद चर्किंदै जाँदा अझ विस्तृत तवरमा धार्मिक लेखोटहरू पढ्‌न सक्नुपर्ने आवश्‍यकता देखियो। यसो गर्न पढ्‌न जान्‍नु मात्र होइन तर पुस्तकहरू उपलब्ध हुनु पनि आवश्‍यक भयो।”

यसरी, पश्‍चिमी संसारभरि पुस्तकालय तथा साक्षरता फैलिनुमा बाइबलले प्रमुख भूमिका खेल्यो। अनि छापाखानाहरूको आविष्कार भएपछि विभिन्‍न विषयहरूमा लेखिएका पुस्तकहरू सङ्‌कलन गरिएका ठूल्ठूला निजी तथा राष्ट्रिय पुस्तकालयहरू युरोपभरि अनि पछि संसारभरि नै देखापर्न थाले।

एक्काइसौं शताब्दीका पुस्तकालयहरू

आज कुनै-कुनै पुस्तकालयहरू अत्यन्तै विशाल भएका छन्‌। एउटा ८५० किलोमिटर लामो तख्ताको छेउमा उभिरहेको कल्पना गर्नुहोस्‌ जसमा २.९ करोड भन्दा बढी पुस्तकहरू छन्‌। संयुक्‍त राज्य अमेरिकाको लाइब्रेरी अफ कंग्रेस लगभग त्यति नै ठूलो छ र यो संसारको सबैभन्दा ठूलो पुस्तकालय हो। यस पुस्तकालयमा किताबहरूको अलावा २७ लाख जति अडियो तथा भिडियो रेकर्डिङ, १.२ करोड तस्विर, ४८ लाख म्याप अनि ५.७ करोड म्यानुस्क्रिप्टहरू छन्‌। हरेक दिन यो पुस्तकको सङ्‌कलनमा ७,००० जति सामग्री थपिन्छन्‌!

सबैभन्दा धेरै पुस्तकहरूको सङ्‌कलन भएको दोस्रो ठूलो पुस्तकालय लण्डनको ब्रिटिश लाइब्रेरी हो र यहाँ १.८ करोडभन्दा बढी पुस्तकहरू छन्‌। मस्कोको रसियन स्टेट लाइब्रेरीमा १.७ करोड पुस्तकहरू र वर्षेनी प्रकाशित हुने लगभग ६,३२,००० अखबारहरूको सङ्‌कलन छ। फ्रान्सको नेसनल लाइब्रेरी युरोपको सबैभन्दा पुरानो राष्ट्रिय पुस्तकालय हो र यहाँ १.३ करोड पुस्तकहरू छन्‌। साथै, लाइब्रेरी वर्ल्ड रेकर्डस्‌ (पुस्तकालयहरूको विश्‍वरेकर्ड) भन्‍ने पुस्तक यसो भन्छ: “आफूसित भएका पुस्तकहरूको पूरै पद इन्टरनेटद्वारा उपलब्ध गराउने पहिलो पुस्तकालय फ्रान्सको राष्ट्रिय पुस्तकालय थियो।” कम्प्युटर प्रयोगकर्ताहरूलाई भने इन्टरनेटमार्फत मानिसजातिको ज्ञानको भण्डारबाट जानकारी लिन अहिले जति सजिलो पहिले कहिल्यै भएको थिएन।

जनसाधारणको लागि उपलब्ध जानकारीको अहिले बाढी नै आएको छ। एउटा अनुमानअनुसार मानव ज्ञानको भण्डार हरेक साढे चार वर्षमा दुगुना भइरहेको छ। संयुक्‍त राज्य अमेरिकामा मात्रै हरेक वर्ष १,५०,००० भन्दा बढी नयाँ किताबहरू छापिन्छन्‌।

त्यसैले पुरातन शास्त्रविद्‌, लेखक तथा राजा सुलेमानको यो भनाइ एकदमै सान्दर्भिक छ। तिनले यस्तो लेखे: “पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) तर बुद्धिमानीपूर्वक प्रयोग गर्दा भने पुस्तकालयहरू “ज्ञानको स्थानीय प्रवेशद्वार” रहिरहनेछन्‌ भनी संयुक्‍त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले (युनेस्को) बताउँछ। (g05 5/22)

[फुटनोटहरू]

a बाइबलको एज्रा ४:१० मा उल्लिखित ओस्नापार नै अश्‍शूरबानीपाल हुन्‌ भन्ठानिएको छ र यिनी यहूदी राजा मनश्‍शेका समकालीन थिए।

b एलेक्जान्ड्रियाको पुरातन तथा आधुनिक पुस्तकालयहरूबारे थप जानकारीको लागि जनवरी ८, २००५ को अवेक! हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

पुस्तकालयाध्यक्षको भूमिका

पुस्तकालयको क्याटलगमा आफूलाई चाहिएको पुस्तक भेट्टाउनुभएन भने हरेस नखानुहोस्‌—गएर पुस्तकालयाध्यक्षलाई सोध्नुहोस्‌। पुस्तकालयाध्यक्षले दिने सहयोग अक्सर अमूल्य हुन्छ। पुस्तकालयाध्यक्षको रूपमा २० वर्ष काम गरिसकेका रडिक यसो भन्छन्‌: “मानिसहरू अक्सर पुस्तकालय र पुस्तकालयाध्यक्षहरू देखेर तर्सिन्छन्‌। तिनीहरू सुरुमै अक्सर यसो भन्‍ने गर्छन्‌, ‘यो प्रश्‍न सोध्दा तपाईंलाई कस्तो मूर्ख प्रश्‍न सोधेको जस्तो लाग्ला तर . . . ’ वास्तवमा, मूर्ख प्रश्‍न भन्‍ने हुँदैन। पोख्त पुस्तकालयाध्यक्षको दक्षता भन्‍नु नै तपाईंले सही तरिकाले सोध्न नजाने तापनि तपाईंले खोज्नुभएको पुस्तक भेट्टाउन मदत गर्नु हो।”

[पृष्ठ १९-मा भएको पेटी/चित्र]

यी संख्याहरूको अर्थ के हो?२२५.७

डिवी दशमलव प्रणाली

धेरैजसो पुस्तकालयहरूले डिवी दशमलव वर्गीकरण प्रणाली चलाउँछन्‌ जुन तिनीहरूको क्याटलग तथा किताबहरूको जिल्द वा पोथमा अंकहरू क्रमानुसार देखापर्छन्‌। एक जना प्रभावशाली अमेरिकी पुस्तकालयध्यक्ष, मेल्भिल डिवीले सन्‌ १८७६ मा पहिलो चोटि यो प्रणाली प्रकाशित गरे। यस प्रणालीमा विषय मिलाएर दसवटा प्रमुख समूह छुट्याइन्छ र क्रमशः ००० देखि ९९९ सम्म वर्गीकरण गरिन्छ:

०००-०९९ सामान्य

१००-१९९ दर्शनशास्त्र तथा मनोविज्ञान

२००-२९९ धर्म

३००-३९९ सामाजिक विज्ञान

४००-४९९ भाषा

५००-५९९ प्राकृतिक विज्ञान तथा गणित

६००-६९९ प्रविधि (प्रयोगात्मक विज्ञान)

७००-७९९ कला

८००-८९९ साहित्य तथा अलङ्‌कारशास्त्र

९००-९९९ भूगोल तथा इतिहास

हरेक समूहलाई दसवटा उपसमूहमा छुट्याइएको हुन्छ अनि त्यही उपसमूह पनि एउटा छुट्टै विषयअन्तर्गत राखिएको हुन्छ। उदाहरणका लागि, बाइबललाई २०० को (धर्म) समूहमा एउटा छुट्टै संख्या दिइएको छ। त्यो हो, २२०। बाइबलका खास विषयहरूलाई अझ विभाजन गरिएको हुन्छ। संख्या २२५ ले नयाँ नियम (युनानी धर्मशास्त्र)। कस्तो किसिमको पुस्तक हो भनेर चिनाउन थप अंकहरू हुन्छन्‌:

०१ दर्शनशास्त्र र सिद्धान्त

०२ विविध

०३ शब्दकोश, विश्‍वकोश, अनुक्रमणिका

०४ विशेष विषयहरू

०५ धारावाहिक प्रकाशनहरू

०६ संगठन तथा व्यवस्थापन

०७ शिक्षा र अनुसन्धानसँग सम्बन्धित विषयहरू

०८ सङ्‌कलन

०९ . . .को इतिहास

तसर्थ, सम्पूर्ण बाइबलको विश्‍वकोशको संख्या २२०.३ हुन्छ भने युनानी धर्मशास्त्रको टिप्पणीलाई संख्या २२५.७ दिइएको हुन्छ।

लाइब्रेरी अफ कंग्रेसको वर्गीकरण प्रणाली यस्तै किसिमको छ तर अक्षर तथा संख्याहरूको संयोजन प्रयोग गरिएको छ। प्रायजसो पुस्तकहरूमा लेखकलाई चिनाउने अक्षर तथा संख्या दुवै हुन्छन्‌। अरू मुलुकहरूमा भने बेग्लै किसिमको वर्गीकरण प्रणाली प्रयोग गरिन्छ।

[पृष्ठ १६-मा भएको चित्र]

अश्‍शूरका राजा अश्‍शूरबानीपाल, सा.यु.पू. ६५०, जसको पुस्तकालयमा माटोका कीलाक्षर पट्टीहरू थिए

[पृष्ठ १६-मा भएको चित्र]

ब्रिटिश लाइब्रेरी, लण्डन, इङ्‌गल्याण्ड

[पृष्ठ १६-मा भएको चित्र]

मठको एउटा पुस्तकालय, स्वीजरल्याण्ड, १७६१

[पृष्ठ १७-मा भएको चित्र]

एलेक्जान्ड्रियाको पुस्तकालय, मिश्र, सा.यु.पू. ३०० तिर

[पृष्ठ १८-मा भएको चित्र]

सं.रा.अ.-को लाइब्रेरी अफ कंग्रेस, संसारको सबैभन्दा ठूलो पुस्तकालय