सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घर सफा राख्न—हामी सबैले पुऱ्‍याउन सक्ने योगदान

घर सफा राख्न—हामी सबैले पुऱ्‍याउन सक्ने योगदान

घर सफा राख्न—हामी सबैले पुऱ्‍याउन सक्ने योगदान

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

सफा र प्रदूषणमुक्‍त वातावरणमा बस्न कत्ति रमाइलो हुन्छ! तथापि, सहरहरूमा फोहोरमैला बढ्‌दै गएकोले आफू वरपरको वातावरण सफा र व्यवस्थित राख्न झन्‌झनै गाह्रो भइरहेको छ।

फोहोरमैला उठाउने व्यवस्था मिलाएर नगरपालिकाहरूले सडक सफा राख्ने प्रयास त गरेका हुन्छन्‌ तैपनि कुनै-कुनै ठाउँमा भने फोहोरको डङ्‌गुर थुप्रिएको हुन्छ अनि यसले सहरको दृश्‍यलाई नै कुरूप बनाइदिन्छ र जनस्वास्थ्यमा पनि खतरा पुऱ्‍याउँछ। फोहोरको डङ्‌गुरले मुसा, साङ्‌ला र बिरामी गराउने अन्य जीवहरूको संख्या बढाउन सक्छ। यस्तो अवस्थाबाट छुटकारा पाउन के तपाईं केही गर्न सक्नुहुन्छ? हो, आफ्नो घर र वरपर सफासुग्घर राख्नुहोस्‌।

सही मनोवृत्ति

कसैकसैको विचारमा गरिब टोल वा घर फोहोर हुन्छ। तर गरिब छ भन्दैमा फोहोर बस्नै पर्छ भन्‍ने छैन। हुन त हो सरसफाइको सामान जुटाउन गाह्रो हुने भएकोले वरपरको वातावरण सफा राख्न अलि बढी गाह्रो हुन सक्छ। तर एउटा स्पेनी उखान यसो भन्छ: “गरिब छ भन्दैमा फोहोरी हुनु पर्दैन।” अर्कोतर्फ, कसैसित पर्याप्त भौतिक सरसामानहरू छ भन्दैमा तिनले आफू वरपरको वातावरण सफा राख्नेछन्‌ भन्‍ने कुनै ग्यारेण्टी छैन।

घर वरपरको सरसफाइ मनोवृत्तिमा भर पर्छ र यस्तो मनोवृत्तिले घर सफा राख्न उत्प्रेरित गर्छ। वास्तवमा, घर सफा राख्ने कुरा धेरै हदसम्म सम्पूर्ण परिवारको मनोवृत्तिमा भर पर्छ। त्यसैले हाम्रो घरका साथै आफ्नो टोलछिमेक सफा राख्न हामी सबैले कस्तो मदत पुऱ्‍याउन सक्छौं भनेर विचार गर्नु बेस हुन्छ।

नियमित सरसफाइ कार्यक्रम

यसो हेर्दा आमाको घरायसी कामकाज कहिल्यै सिद्धिंदैन जस्तो देखिन्छ। खाना पकाउनु र स्कूल जानको लागि बच्चाहरूलाई तयार पार्नुको अलावा तिनले घर र घर वरपर सफासुग्घर राख्ने काम पनि गर्नुपर्छ। बच्चाहरूले आफ्नो कोठामा भद्रगोल छोडेको फोहोर लुगा वा तिनीहरूको अरू सामान अक्सर आमाले नै टिपेको के तपाईंले देख्नुभएको छ? सम्पूर्ण परिवारले भाग लिने गरी राम्ररी मिलाइएको सरसफाइ कार्यक्रमले आमाको बोझ कम गर्न मदत गर्न सक्छ।

केही पत्नीहरूअनुसार कतिपय कुराहरू यस्ता हुन्छन्‌ जसलाई दिनदिनै ध्यान दिनुपर्छ र सफा गर्नुपर्छ भने घरको कतिपय ठाउँहरू चाहिं हप्ताको एक पटक वा महिनाको एक पटक मात्र सफा गरे पनि पुग्छ। अझ, कुनै-कुनै ठाउँ त वर्षको एक पटक मात्र सफा गरे पनि हुन्छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूको शाखा कार्यालय, बेथेल घरको दराज राम्ररी सफा गर्ने तालिका वर्षको एक पटक मात्र मिलाइन्छ। त्यतिबेला प्रयोगमा नआएका सामानहरू फ्याँकिन्छ र कोठा चिटिक्क मिलाइन्छ। भित्ताहरू सफा गर्ने नियमित कार्यक्रम पनि मिलाइएको हुन्छ।

घरमा कतिपय ठाउँहरू यस्ता हुन्छन्‌ जसको सरसफाइ सुस्वास्थ्यको लागि अत्यावश्‍यक छ, जस्तै बाथरूम। हल्का सरसफाइ दिनहुँ गर्न सकिने भए तापनि हप्ताको एक पटक राम्ररी सफा गर्दा कीटाणुहरू जम्मा हुन पाउँदैनन्‌। कसैकसैको विचारमा शौचालयको प्यानमा कस जम्मा नभई छोड्‌दैन र कसै गरे पनि यसलाई मेटाउन सकिंदैन। तथापि, कुनै-कुनै घरमा तपाईंले एकदम सफा र टलक्क टल्किने शौचालय देख्न सक्नुहुन्छ। नियमित तवरमा सरसफाइ गऱ्‍यो र सही प्रकारको सफाइ सामग्री चलायो भने यो कुरा असम्भव छैन।

भान्साकोठा पनि राम्ररी सफा गर्नुपर्छ। भाँडा माझ्ने, स्टोभ सफा गर्ने र भान्साकोठाको टेबल अनि तरकारीहरू काटकुट गर्ने ठाउँ सफा गर्ने काम तपाईंले दिनहुँ गरे तापनि बेलाबेलामा—सायद कम्तीमा पनि महिनाको एक चोटि—स्टोभ र फ्रिजजस्ता उपकरणहरूको पछाडि अनि भाँडा माझ्ने सिङ्‌कको मुनि राम्ररी सफा गर्नुपर्छ। खाद्य सामग्री राख्ने कोठा वा भाँडा राख्ने दराज समय समयमा सफा गर्दा साङ्‌ला र अरू हानिकारक कीराहरूले डेरा जमाउन पाउँदैनन्‌।

पारिवारिक सहयोग

केही आमाबाबुले आफ्ना बच्चाहरूको लागि नियम तोकिदिन्छन्‌ र स्कूल जान बिहान घरबाट निस्कनुअघि ओछ्यान मिलाउन, आफ्नो फोहोर लुगाहरू ठीक ठाउँमा राख्न र आफ्ना सामानहरू मिलाएर राख्न तिनीहरूलाई सिकाउँछन्‌। सबैको लागि उपयोगी हुने एउटा नियम यस्तो छ: “सबै सामानको आ-आफ्नै ठाउँ हुनुपर्छ अनि सबै सामान ठीक ठाउँमा राख्नुपर्छ।”

साथै, परिवारका केही सदस्यहरूलाई एउटा खास काम वा घरको कुनै एउटा भाग सफा गर्ने जिम्मा दिन सकिन्छ। उदाहरणका लागि, ग्यारेजमा भएका सामानहरू मिलाएर राख्ने र कम्तीमा पनि वर्षको एक पटक ग्यारेज सफा गर्ने जिम्मा बुबाले लिए कसो होला? अनि कुनै एक जना छोरा वा छोरीले तिनलाई मदत गर्न सक्छन्‌ कि? आँगनमा उम्रेको झार उखेल्ने वा घाँस काट्‌ने जिम्मा चाहिं कसले लिने नि? घरको बाहिरी भाग चिटिक्क देखियोस्‌ भनेर कति समयको अन्तरालमा यो काम गर्नुपर्छ? नचाहिंदा थोत्रा सामानहरू हटाएर सफा राख्नको लागि भण्डार कोठा हेर्नुपर्ने पो छ कि? त्यसो हो भने यो काम कसले गर्नेछ? केही आमाबाबुहरूले यस्ता कामहरू छोराछोरीहरूलाई पालैपालो जिम्मा दिन्छन्‌।

त्यसैले, आफ्नो घर ठीक अवस्थामा राख्न राम्रो कार्यक्रम मिलाउनुहोस्‌। चाहे तपाईं आफैले सफा गर्नुहोस्‌ वा आफ्नो परिवासित मिलेर वा पैसा तिरेर अरू कसैलाई सफा गर्न लगाउनुहोस्‌, एउटा राम्रो कार्यक्रम मिलाउनु आवश्‍यक छ। सरसफाइ गर्न सम्पूर्ण परिवारले नै कसरी मदत गर्छन्‌ भन्‍नेबारे आफ्नो घर एकदमै चिटिक्क राख्ने एउटी आमा यसो भन्छिन्‌: “मेरा तीन जना छोरी र म घरको कामकाज बाँडेर गर्छौं। नोर्मा आड्रियनाले बैठक कोठा, दुईवटा सुत्ने कोठा, आँगन र घर अगाडिको बाटो सफा गर्छिन्‌। आना कोआकिनाले भान्साकोठाको हेरविचार गर्छिन्‌। म लुगा धुनुका साथै अरू कुराहरूको हेरविचार गर्छु भने मारिया डेल कार्मेनले भाँडा माझ्छिन्‌।”

घरबाहिर चिटिक्क

घरबाहिरको अवस्था चाहिं कस्तो छ नि? चाहे तपाईं भव्य महलमा बस्नुहोस्‌ वा सानो घरमा, बाहिर सफा गर्नु र मर्मतसम्भार गर्नु आवश्‍यक छ। उदाहरणका लागि, पर्खालको गेटको एउटा कब्जा खुस्किएको हुन सक्छ। अर्को कब्जा पनि खुस्केर गेट भुँइमा नझरुन्जेलसम्म मर्मत नगरी त्यत्तिकै छोडिराख्यो भने कति नराम्रो देखिन्छ भन्‍ने कुरा त तपाईंलाई थाहै होला। घरभित्र पस्ने ठाउँमा वा बाटो छेउमा त्यत्तिकै थुपारिएको फोहोरको डङ्‌गुर पनि यस्तै देखिन्छ। साथै, कहिलेकाहीं घरबाहिर असाध्यै नराम्रो देखिने गरी क्यान, औजार र अरू सामानहरू जम्मा भइरहेको हुन्छ र यसमा विभिन्‍न जीवजन्तुहरूले लुक्ने ठाउँ पाउँछन्‌।

कुनै-कुनै परिवारले आवश्‍यकताअनुसार दिनहुँ वा हप्ताको एक चोटि घर वरपर वा घरबाहिर, बाटो र घरअगाडिको मूल सडकसमेत बढार्छन्‌। कुनै-कुनै ठाउँमा टोलछिमेक सफा राख्न सरकारले राम्रो प्रबन्ध मिलाएको हुन्छ तर कतिपय ठाउँमा भने नगरपालिकाले यस्तो कार्यक्रम मिलाएको हुँदैन। आफू वरपरको वातावरण सफा राख्न हामीले आफ्नो भूमिका पूरा गऱ्‍यौं भने हामी बस्ने ठाउँ अझ राम्रो देखिनुका साथै स्वास्थ्यको लागि पनि राम्रो हुनेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

केही परिवारहरूले माथि उल्लिखित कामकाजहरू गर्नुका साथै यसलाई कागजमा लेखेर सम्पूर्ण परिवारले देख्न र त्यसअनुसार गर्न सक्ने ठाउँमा टाँस्छन्‌। यसो गर्दा एकदमै राम्रो परिणाम प्राप्त हुन सक्छ। निस्सन्देह, सरसफाइबारे तपाईंले थाह पाउनुपर्ने सम्पूर्ण कुरा हामीले चर्चा गरेका छैनौं। उदाहरणका लागि, तपाईं बस्नुहुने ठाउँमा कुन चाहिं सफाइ सामग्री सबैभन्दा उपयुक्‍त हुन्छ र सरसफाइको लागि आफ्नो औकातअनुसार कस्तो औजार जुटाउन सकिन्छ भन्‍ने कुरा तपाईं आफैले निर्णय गर्नुपर्छ।

यी संक्षिप्त सल्लाहहरूले आफ्नो घर र वरपरको वातावरण सफा राख्नुपर्ने आवश्‍यकताबारे सम्पूर्ण परिवारलाई सजग गराउनेछ भन्‍ने कुरामा चाहिं पक्कै दुई मत छैन। नबिर्सनुहोस्‌, घर र वरपरको वातावरण सफा राख्ने वा नराख्ने भन्‍ने कुरा तपाईंको आर्थिक स्तरमा नभई मनोवृत्तिमा भर पर्छ। (g05 6/8)

[पृष्ठ २२-मा भएको पेटी]

घर सफा गर्ने एउटा व्यावहारिक कार्यक्रम

आफूले चाहेका बुँदाहरू यस सूचीमा थप्नको लागि दिइएको खाली ठाउँ चलाउनुहोस्‌

ध्यान दिनुपर्ने कुरा: सरसफाइ गर्न चलाइने रसायनहरू आपसमा मिसाउनु अत्यन्तै हानिकारक हुन सक्छ। विशेष गरी ब्लिच र अमोनिया नमिसाउनुहोस्‌

दैनिक

सुत्नेकोठा: ओछ्यान मिलाउनुहोस्‌ र सबै सामान ठीक-ठीक ठाउँमा राख्नुहोस्‌

भान्साकोठा: भाँडा माझ्नुहोस्‌ र भाँडा माझ्ने सिङ्‌क सफा गर्नुहोस्‌। पकाउने ठाउँ र टेबलहरू सफा राख्नुहोस्‌। आवश्‍यक छ भने भुइँ बढार्नुहोस्‌ र पुछ्‌नुहोस्‌

बाथरूम: सिङ्‌क र शौचालय सफा गर्नुहोस्‌। सामानहरू मिलाएर राख्नुहोस्‌

बैठक कोठा र अरू कोठाहरू: सामानहरू मिलाएर राख्नुहोस्‌। फर्निचरहरू हल्का सफा गर्नुहोस्‌। आवश्‍यक छ भने भुइँ बढार्नुहोस्‌, पुछ्‌नुहोस्‌ वा भ्याकुम गर्नुहोस्‌

सम्पूर्ण घर: ठीक तरिकाले फोहोर तह लगाउनुहोस्‌

साप्ताहिक

सुत्नेकोठा: तन्‍ना फेर्नुहोस्‌। आवश्‍यक छ भने भुइँ बढार्नुहोस्‌, पुछ्‌नुहोस्‌ वा भ्याकुम गर्नुहोस्‌। फर्निचरमा लागेको धूलो सफा गर्नुहोस्‌

भान्साकोठा: स्टोभ, तरकारी काटकुट गर्न चलाउने सामानहरू, सिङ्‌क अनि धाराहरू सफा गर्नुहोस्‌। भुइँ पुछ्‌नुहोस्‌

बाथरूम: भित्ता र सबै सामान सफा गर्नुहोस्‌। शौचालय, तखता र अरू सतहहरू कीटाणु मार्ने औषधीले सफा गर्नुहोस्‌। तौलिया फेर्नुहोस्‌। भुइँ बढार्नुहोस्‌ वा पुछ्‌नुहोस्‌

मासिक

बाथरूम: सबै भित्ता राम्ररी सफा गर्नुहोस्‌

सम्पूर्ण घर: ढोकाको खापा र चौकोसहरू पुछ्‌नुहोस्‌। गद्दाहरू भ्याकुम गर्नुहोस्‌ वा राम्ररी सफा गर्नुहोस्‌

बगैंचा, आँगन, ग्यारेज: आवश्‍यक छ भने बढार्नुहोस्‌ र सफा गर्नुहोस्‌। फोहोर वा अनावश्‍यक वस्तुहरू जम्मा हुन नदिनुहोस्‌

अर्ध-वार्षिक

सुत्नेकोठा: निर्माताको निर्देशनअनुसार बेड-कभर सफा गर्नुहोस्‌

भान्साकोठा: फ्रिज खाली गरेर राम्ररी सफा गर्नुहोस्‌

बाथरूम: तखता र घर्राहरू खाली गरेर सफा गर्नुहोस्‌। अनावश्‍यक वा म्याद नाघिसकेका वस्तुहरू फ्याँक्नुहोस्‌

सम्पूर्ण घर: बत्ती, पङ्‌खा र बिजुलीका अन्य सामानहरू सफा गर्नुहोस्‌। ढोका सफा गर्नुहोस्‌। झ्यालको सिसा, झ्याल र झ्यालका चौकोसहरू सफा गर्नुहोस्‌

वार्षिक

सुत्नेकोठा: दराजहरू खाली गरेर राम्ररी सफा गर्नुहोस्‌। नचाहिने सामानहरू फ्याँक्नुहोस्‌। कम्बलहरू धुनुहोस्‌। डस्नामा भ्याकुम गर्नुहोस्‌ वा राम्ररी धुलो झार्नुहोस्‌। निर्माताको निर्देशनअनुसार तकिया सफा गर्नुहोस्‌

भान्साकोठा: तखता, दराज र घर्राहरू खाली गरेर राम्ररी सफा गर्नुहोस्‌। नचाहिने सामानहरू फ्याँक्नुहोस्‌। सामानहरू हटाएर त्यसको मुनि सफा गर्नुहोस्‌

सम्पूर्ण घर: सबै भित्ताहरू धुनुहोस्‌। निर्माताको निर्देशनअनुसार गद्दा र पर्दाहरू सफा गर्नुहोस्‌

ग्यारेज वा भण्डारकोठा। राम्ररी बढार्नुहोस्‌। अनावश्‍यक वस्तुहरू मिलाएर राख्नुहोस्‌ वा फ्याँक्नुहोस्‌

[पृष्ठ २४-मा भएको चित्र]

“सबै सामानको आ-आफ्नै ठाउँ हुनुपर्छ अनि सबै सामान ठीक ठाउँमा राख्नुपर्छ”

[पृष्ठ २४-मा भएको चित्र]

काम नलाग्ने चीजहरू हटाउनु राम्रो हुन सक्छ