सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पसलबाट खुसुक्क सामान चोर्ने बानी कसरी छोड्‌ने

पसलबाट खुसुक्क सामान चोर्ने बानी कसरी छोड्‌ने

पसलबाट खुसुक्क सामान चोर्ने बानी कसरी छोड्‌ने

“चोरी कम गर्नु भनेको तपाईंको मात्र समस्या होइन तर यो सबैको समस्या हो; चोरी गर्न छोडियो भने सबैको फाइदा हुन्छ।”—“एभ्री रिटेलर्स गाइड टु लस प्रिभेन्शन।”

अरू खराब बानी जस्तै पसलबाट खुसुक्क सामान चोर्ने बानीले मानिसको सोचाइलाई असर गर्न सक्छ अनि आफूले गरेको काम ठीकै हो नि जस्तो महसुस गराउँछ। त्यसैले, बगैंचेले झार जरैदेखि उखेलेझैं पसलबाट सामान चोर्ने बानीलाई हटाउन चाहनेहरूले आफ्नो गलत सोचाइलाई जरैदेखि उखेल्नुपर्छ। बाइबलको रोमी १२:२ ले यस्तो सल्लाह दिन्छ, ‘तिमीहरू मनको परिवर्तनले बदलिऔ।’ अनि १ पत्रुस १:१४ ले ‘अघिअघिका अभिलाषाअनुसार’ नचल भन्‍ने सल्लाह दिन्छ। पसलबाट खुसुक्क सामान चोर्ने बानी लागेको व्यक्‍तिलाई आफ्नो यस्तो बानी छोड्‌न तल दिइएका पाँचवटा बुँदाले मदत गर्न सक्छ।

आफ्नो सोचाइ सच्याउने मदत

◼ पहिलो, पसलबाट सामान चोर्नु भनेको कानुन विपरीत हो। आफू बसेको ठाउँमा चोर्नु सामान्य होला अनि कुनै सजाय नपाई उम्कन सकिएला तर जे होस्‌, तिनले नियम तोडिरहेकै हुन्छन्‌।—रोमी १३:१.

धेरैले नियम तोडे भने के हुन्छ? बाइबलले बताएअनुसार “व्यवस्था ढीला हुँदै” जान्छ। (हबकूक १:३, ४) अर्को शब्दमा भन्‍ने हो भने, व्यवस्था अथवा नियमले पुऱ्‍याउने फाइदाहरू धमिलिएर समाजको सुव्यवस्था भताभुङ्‌ग हुन्छ। हरेक चोटि कसैले पसलबाट सामान चोर्दा नियम कानुन पालन गर्ने समाजको जग नै धरमराउँछ। यसो हुँदा सबैले दुःख भोग्छन्‌।

◼ दोस्रो, पसलबाट सामान चोर्दा भरोसा तोडिन्छ। यस्तो बेइमानीले गर्दा मानव सम्बन्ध कमजोर हुन्छ जसले गर्दा मानिसहरूलाई एक अर्काको कुरा बुझ्न अनि निष्पक्ष व्यवहार गर्न गाह्रो हुन्छ।—हितोपदेश १६:२८.

“मेरो सबैभन्दा ठूलो गल्ती नै अरूलाई बढ्‌तै भरोसा गर्नु हो।” यो थियो एउटा कपडा पसलेको टिप्पणी जसको पसल चोरहरूले गर्दा टाट पल्ट्यो। एक ताका उनी आफ्नै ग्राहक र कामदारहरूलाई बढ्‌तै भरोसा गर्थिन्‌ र तिनीहरूले चोर्लान्‌ भनेर सोचेकै थिइनन्‌। तर अहिले भने आफूले त्यत्तिको भरोसा गर्न नहुने थियो भन्‍ने महसुस गर्छिन्‌।

मानिसले अरूसित झूटो बोलेर आफूप्रतिको भरोसालाई कमजोर बनाउन सक्छन्‌। तर पसलबाट खुसुक्क सामान चोर्ने व्यक्‍तिहरूले त्यस पसलमा छिर्ने सबै व्यक्‍तिहरूमाथि शङ्‌का उब्जाउँछन्‌। तिनीहरूले इमानदार व्यक्‍तिहरूलाई पनि सम्भाव्य चोरहरू बनाउँछन्‌। के यसो गर्ने अधिकार कसैसित छ र?

◼ तेस्रो, पसलबाट सामान चोर्ने बानीले गर्दा पछि गम्भीर अपराधहरू हुन सक्छ। समय बित्दै जाँदा यसरी पसलबाट सामान चोर्ने व्यक्‍तिहरूले अझ ठूलठूला खतराहरू मोलिरहेका हुन सक्छन्‌।—२ तिमोथी ३:१३.

पसलबाट खुसुक्क सामान चोर्ने समस्याको स्थायी समाधान

◼ चौथो अनि सबैभन्दा महत्त्वपूर्ण कारण हो, पसलबाट सामान चोर्ने व्यक्‍तिले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई पटक्कै मन नपर्ने काम गरिरहेको हुन्छ। परमेश्‍वरको वचनले “चोर्नेले फेरि नचोरोस्‌” भनी बताउँछ अनि यसले उहाँको आज्ञा उल्लङ्‌घन गर्नेहरूले कस्तो न्याय भोग्नेछन्‌ भनेर चेतावनी दिन्छ। (एफिसी ४:२७; भजन ३७:९, १७, २०) तर आफ्नो गलत मार्ग त्याग्ने चोरहरूलाई यहोवाले माफी दिनुहुन्छ। तिनीहरूले परमेश्‍वरसित मिलाप गर्न सक्छन्‌।—हितोपदेश १:३३.

◼ पाँचौं, अरू अपराधजस्तै पसलबाट सामान चोर्ने समस्या पनि चाँडै अतीतको कुरा हुनेछ। बाइबलमा प्रतिज्ञा गरिएझैं परमेश्‍वरको राज्यले यस पृथ्वीमा पूरा अधिकार जमाएपछि मानिसहरू एक अर्काप्रति निष्ठावान्‌ र इमानदार भई व्यवहार गर्नेछन्‌। यसको मतलब, पसलबाट खुसुक्क सामान चोर्दा चुकाउनुपर्ने ठूलो मोलबाट छुटकारा पाउनेछौं।—हितोपदेश २:२१, २२; मीका ४:४. (g05 6/22)

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

चोरी रोक्न अपनाउन सकिने सस्तो तरिकाहरू

कोही-कोही साना व्यापारीहरूसित महँगा सेक्युरिटी प्रणाली किन्‍ने औकात नहुन सक्छ। तर यसको मतलब पसलबाट सामान चोरी हुनदेखि रोक्न तिनीहरूले केही उपाय गर्न सक्दैनन्‌ भन्‍ने होइन। अक्सर व्यापारीहरूले केही सरल कदम चालेर आफ्नो सामान सुरक्षित राख्न सक्छन्‌।

एउटा पुस्तकका लेखक द्वय, गुप्तचरहरू माइकल ब्रो र डेरेक ब्राउन ग्राहकहरूलाई ध्यान दिनुपर्ने आवश्‍यकतालाई जोड दिन्छन्‌: “सबैलाई नियाल्नुहोस्‌। . . . तपाईं र तपाईंको पसलमा काम गर्ने सेल्सम्यानहरू नै तपाईंको सबैभन्दा बलियो सुरक्षा हुन्‌।” पसलबाट सामान चोरी गरेको शङ्‌का लागेको व्यक्‍तिलाई यस्तो प्रश्‍न सोध्ने सुझाव दिन्छन्‌. “तपाईंले खोज्नुभएको सामान पाउनुभयो? कृपया आफ्नो सामान काउन्टरमा राख्नुहोस्‌ अनि म तपाईंको लागि बिल बनाइदिन्छु।” “यो सामान पोका पारिदिऊँ कि?” “यो स्वेटरको साइज तपाईंले खोज्नुभएकै साइज हो?” “तपाईंलाई एउटा बास्केट ल्याइदिऊँ कि?” ती गुप्तचरहरू यसो भन्छन्‌: “यसो गर्दा वास्तविक ग्राहकका साथै चोरहरूलाई तपाईंले उनीहरूको याद गर्नुहुन्छ अनि ख्याल गर्नुहुन्छ भनेर उनीहरूले थाह पाउनेछन्‌।”

सामानहरू राम्ररी मिलाउने सन्दर्भमा तिनीहरू यसो भन्छन्‌: “सामानहरू टन्‍न भरेर अनि चिटिक्क मिलाएर राख्नुहोस्‌। यसरी राखिएका सामानहरूलाई सधैं ध्यान दिंदा अनि सामान चिटिक्क मिलाएर राख्दा त्यहाँबाट कुनै सामान हटाइयो वा अलि नमिलेको जस्तो देखियो भने तुरुन्तै थाह पाइहाल्न सकिन्छ।”—एभ्री रिटेलर्स गाइड टु लस प्रिभेन्शन।

अनुसन्धानकर्ता रसल ब्लिन्टिफ यस्तो सुझाव दिन्छन्‌: “पसलभित्र हिंड्‌ने बाटोमा कुनै अवरोध छैन अनि सामानहरू टन्‍न भरिएका छन्‌ भने कामदारहरूलाई ग्राहकहरूको गतिविधि नियाल्न सजिलो हुन्छ। शङ्‌कास्पद व्यक्‍ति हिंडेको ठाउँबाट आफू पनि हिंडेर कुनै सामान हरायो कि भनेर पत्ता लगाउन सकिन्छ अनि पसलको सामान चेक गरेको जस्तो गरेर उक्‍त ग्राहकको बास्केटमा के-के सामान छ, त्यसलाई ध्यान दिन सकिन्छ। . . . पसलबाट सामान चोर्ने व्यक्‍तिहरूले के हुँदैछ भनेर भेउ पाइहाल्छन्‌ भने इमानदार ग्राहकहरूलाई चाहिं आफूलाई कसैले नियालिरहेको पो छ कि जस्तो लाग्दैन।” पसलका सामानहरू कसरी मिलाउने भन्‍ने सन्दर्भमा तिनी यसो भन्छन्‌: “पसलका सामानहरू यस्तो किसिमले मिलाइएको हुनुपर्छ जसले गर्दा कामदारहरू अनि [पसलेले] ग्राहकहरूलाई स्पष्टसित देख्न सक्नुपर्छ।”— क्राइमप्रुफिङ योर बिजनेस—थ्री जिरो वान लो कस्ट, नो कस्ट वेज्‌ टु प्रोटेक्ट योर अफिस, स्टोर, अर बिजनेस।

[पृष्ठ ९-मा भएको चित्र]

इमानदारिताले आपसी भरोसा र मित्रैलो सम्बन्ध बनाउँछ