सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आतंकित बालबालिका

आतंकित बालबालिका

आतंकित बालबालिका

रिमरिम साँझ पर्न लाग्दा उत्तरी युगाण्डाका सडकहरूमा हजारौं बालबालिका खाली खुट्टा देखा पर्छन्‌। साँझ पर्नुअघि नै उनीहरू आ-आफ्नो गाउँ छोडेर गुलु, किट्‌गुम र लिरा जस्ता ठूला सहरहरूतर्फ लाग्छन्‌। सहरमा पुगेपछि उनीहरू आ-आफ्नो बाटो लाग्छन्‌। कोही ठूलठूला भवनहरूको शरण लिन पुग्छन्‌ भने कोही बस पार्कतिर छिर्छन्‌। अनि कतिपयचाहिं पार्क वा घरका चोकहरूतिर जान्छन्‌। बिहान जब घाम झुल्कन्छ, उनीहरू फेरि सडकमा देखा पर्छन्‌। यति बेला उनीहरू फेरि आ-आफ्नो घर फर्कंदै गरेका हुन्छन्‌। यो उनीहरूको नित्य तालिका नै भइसकेको छ। तर किन?

कसै-कसैले उनीहरूलाई रात्री यात्रुहरू पनि भन्छन्‌। तर उनीहरू रातको समयमा काम गर्न सहर पसेका भने होइनन्‌। समसाँझै उनीहरू घर छोडेर हिंड्‌छन्‌ किनभने रात छिप्पिंदै गएपछि उनीहरू घरभित्रै असुरक्षित हुन्छन्‌।

छापामारहरू गाँउबस्तीमा छिरेर बालबालिकाको अपहरण गर्न थालेको दुई दशकजति भइसक्यो। हरेक वर्ष उनीहरू सयौं बालबालिकालाई आफूसितै जंगल लैजान्छन्‌। विशेष गरी रातको समयमा यस्ता अपहरणहरू हुने गर्छन्‌। यसरी लगिएका बालबालिकालाई विद्रोहीहरूले सिपाहीको रूपमा, भरियाको रूपमा र आफ्नो यौन दासीको रूपमा प्रयोग गर्छन्‌। आफ्नो पञ्जामा परेका बालबालिकाले सहयोग गर्न आनाकानी गरेमा अपहरणकारीहरूले उनीहरूको नाक वा ओठ काटिदिन्छन्‌। भाग्न खोज्नेहरूको बीभत्स ढंगमा हत्या गरिन्छ।

आतंकवादको सिकार हुने यिनीहरू मात्र होइनन्‌। सियरा लियोनका अपांग किशोरकिशोरीहरूको हात-खुट्टा खुँडाले काटिंदा उनीहरू बामे सर्न मात्र थालेका थिए। अफगानिस्तानका बालबालिकाहरूले खेलौना ठानेर खेल्दै गरेको पुतली अकस्मात्‌ विस्फोट हुन्छ। रंगीबिरंगी “खेलौना” एक चोटि विस्फोट हुँदा क्षणभरमै उनीहरूका औंला र आँखा सदाका लागि गुम्छ।

आतंकवादको सिकार भएका कतिपय बालबालिका भने अर्कै दुर्भाग्यको सिकार हुन्छन्‌। उदाहरणका लागि, सन्‌ १९९५ मा अमेरिकाको ओक्लहोमा सहरमा भएको आतंकवादी आक्रमणमा मारिएका १६८ मध्ये १९ जना बालबालिका थिए र त्यसमा पनि कतिपय त काखे बालक। धिपधिप बल्दै गरेको मैनबत्तीलाई बतासले भ्याप्पै निभाइदिएझैं एउटा बम विस्फोटले यी कलिला लालाबालाहरूको छोटो जीवन यहीं टुंग्याइदियो। यी बालबालिकाहरूको बाँच्ने, खेल्ने र आफ्नो आमाबाबुको काखमा लुटुपुटु गर्ने अधिकार आतंककारी गतिविधिले खोसिदियो।

यी त भए हालैका घटनाहरू। तर आतंककारी गतिविधिले मानिसजातिलाई पिरोल्न थालेको सयौं वर्ष भइसक्यो। यो कुरा हामी अर्को लेखमा बुझ्नेछौं। (g 6/06)

[पृष्ठ ३-मा भएको पेटी]

छोराछोरीको मृत्युको लागि तयारी

“आज बिहान उठ्‌ने बित्तिकै मेरो एघार वर्षको छोरोले सोध्यो, ‘ड्याडी, आज आतंककारीहरूले आक्रमण गरिसके?’ ” आफू बस्ने इलाकामा व्याप्त हिंसाबारे लेखक डेभीड ग्रोस्मनले यसरी लेखे। उनले यसो पनि भने, “मेरो छोरो डरले थुरथुर थियो।”

आतंककारी आक्रमणमा मारिने बालबालिकाको संख्या हालैका दिनहरूमा आएर ह्वात्तै बढेको छ। त्यसैले केही आमाबाबुले छोराछोरीको मृत्यु भइहालेमा के गर्ने भनेर पहिल्यै तयारीसमेत गर्न थालेका छन्‌। ग्रोस्मनले लेखे: “एउटा जोडीले आफ्नो भावी योजनाबारे बताएको कुरा म कहिल्यै बिर्सन सक्दिनँ। उनीहरूले बिहे गरेर तीन जना छोराछोरी जन्माउने विचार गरेका रहेछन्‌। दुई जनाले नपुगेर तीन-तीन जना जन्माउन खोज्नुको कारण बुझ्दा, एउटा मरिहाल्यो भने पनि दुई जना त बाँकी रहन्छन्‌ भनेर पो रहेछ।”

तर दुई जनाको मृत्यु भयो वा तीनै जनाको मृत्यु भयो भने चाहिं के गर्ने, उनीहरूले बताएनन्‌। a

[फुटनोट]

a यी उद्धरणहरू डेभीड ग्रोस्मनको पुस्तक डेथ याज्‌ अ वे अफ लाइफ-बाट लिइएका हुन्‌।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

© Sven Torfinn/ Panos Pictures