सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रगतले पोतिएको इतिहास

रगतले पोतिएको इतिहास

रगतले पोतिएको इतिहास

आतंकवादको नाउँ लिंदा केही वर्षअघिसम्म उत्तरी आयरल्याण्ड, उत्तरी स्पेनको बास्क इलाका र मध्यपूर्वका केही भूभागहरूको मात्र चर्चा हुने गर्थ्यो। तर विशेष गरी सेप्टेम्बर ११, २००१ मा न्यु योर्कको जुम्ल्याहा धरहरा ध्वंस्त भएपछि आतंकवादको सञ्जाल संसारभरि फैलिएको छ। सुन्दर बाली टापु, स्पेनको म्याड्रिड, इङ्‌गल्यान्डको लण्डन, श्रीलंका, थाइल्याण्ड र नेपालसमेत यसबाट अछुतो रहन सकेको छैन। तर आतंकवाद हालसालै मात्र देखा परेको कुनै नौलो समस्या भने होइन। “आतंकवाद” भनेको के हो?

“अरूलाई डर-धाक-धम्की वा त्रास पारेर हिंसाकारी विद्रोह वा उपद्रवको ढाँचाले आफ्नो-आफ्नो काम पटाउने वा प्रभुत्व कायम गर्ने मत, विचार वा सिद्धान्त” भनेर आतंकवादलाई परिभाषित गरिएको छ। (नेपाली शब्दसागर) तथापि लेखिका जेसिका स्ट्रेन भन्छिन्‌: “आतंकवादको विषयमा अध्ययन गरिरहेकाहरूलाई आतंकवादको विभिन्‍न परिभाषा थाह होला . . . तर आतंकवादलाई अरू प्रकारका हिंसाबाट छुट्याउने सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू दुइटा छन्‌।” ती के-के हुन्‌? “पहिलो, आतंकवाद निहत्था जनताप्रति लक्षित हुन्छ। . . . दोस्रो, सनसनी फैलाउनको लागि आतंककारीहरूले हिंसाको सहारा लिन्छन्‌। आतंकवादीहरूको उद्देश्‍य भौतिक क्षति पुऱ्‍याउनुभन्दा पनि जनमानसमा त्रास सिर्जना गर्नु हो। साधारण हत्या वा हिंसात्मक आक्रमणमा भने आतंकवादको जस्तो जानाजानी आतंक पैदा गर्ने उद्देश्‍य हुँदैन।”

आतंकवादको जरो

प्रथम शताब्दीको यहूदियामा, यहूदी गुरिल्लाले (जिलट) यहूदीहरू रोमबाट स्वतन्त्र हुनुपर्छ भन्‍ने धारणा राख्थ्यो। यस समूहका केही कट्टर व्यक्‍तिहरू सिकारिई वा चुपीवालहरू भनेर चिनिन्थे किनकि तिनीहरूले आफ्नो लुगाभित्र चुपी लुकाएका हुन्थे। यरूशलेममा चाड मनाउन आएका मानिसहरूको भीडमा मिसिएर तिनीहरू आफ्ना शत्रुहरूको घाँटी रेट्‌थे वा ढाडमा चुपी धस्थे। a

इ.सं. ६६ मा यी यहूदी गुरिल्लाहरूको एउटा समूहले मृत सागरनजिकै मसाडाको किल्ला कब्जा गऱ्‍यो। तिनीहरूले त्यहाँ तैनाथ रोमी सेनाको हत्या गरे अनि यो पहाडी किल्लालाई आफ्ना आधार क्षेत्र बनाए। वर्षौंसम्म यही किल्लाबाट आक्रमणहरू सञ्चालन गरेर तिनीहरूले रोमी फौजलाई आच्छु-आच्छु पारे। इ.सं. ७३ मा गर्भनर फ्लाभ्युस सिल्भाले नेतृत्व गरेको रोमीहरूको दशौं पल्टनले मसाडा फेरि आफ्नो कब्जामा लियो तर गुरिल्लाहरूलाई जित्न भने सकेन। त्यति बेलाका एक जना इतिहासकारले बताएअनुसार रोमीहरूसामु घुँडा टेक्नुभन्दा असल ठानेर दुई जना आइमाई र पाँच जना केटाकेटीबाहेक अरू जम्मै ९६० जनाले आत्महत्या गरे।

कसै-कसैले यहूदी गुरिल्लाहरूको यसै विद्रोहलाई आतंकवादको सुरुवात्‌ मान्छन्‌। कुरा जे सुकै होस्‌, त्यति बेलादेखि नै आतंकवादले संसारमा गहिरो असर पार्दै आएको छ।

मसीहीजगत्‌ अनि आतंकवाद

सन्‌ १०९५ देखि दुई सय वर्षसम्म मसीहीजगत्‌का धर्मयोद्धा, क्रूसेडरहरू बारम्बार युरोपबाट मध्यपूर्व गइरहन्थे। एसिया र उत्तर अफ्रिकाका मुसलमानहरू चाहिं उनीहरूका विपक्षी थिए। त्यति बेला दुवै पक्ष यरूशलेमलाई आफ्नो हातमा पार्न चाहन्थे। यही विषयलाई लिएर थुप्रै लडाइँहरू लडिए र यी “पवित्र योद्धाहरूले” आफ्ना विपक्षीहरूलाई छप्काए। सडक छेउमा उभिएर रमिता हेर्नेहरू समेत उनीहरूको तरबार र बन्चरोबाट उम्केनन्‌। बाह्रौं शताब्दीतिर टायरमा बस्ने विलियम नाउँका पादरीले सन्‌ १०९९ मा क्रूसेडरहरू यरूशलेम छिर्दाको घटना वर्णन गरेका छन्‌।

“हूलका हूल क्रूसेडरहरू हातमा तरबार र भाला लिएर सडकमा निस्के। बाटोमा भेटेजति पुरुष, महिला, बालबालिका कसैलाई नछोडी सबैलाई छप्काउँदै उनीहरू अघि बढे। . . . बाटो हिंड्‌न लासमाथि नटेकी धरै थिएन। . . . यति धेरै रक्‍तपात भयो, नाली र कुलो रगतले भरिएका थिए अनि सडकहरू लासै-लासले छपक्कै ढाकिएका थिए।” b

पछि गएर आतंककारीहरूले विस्फोटक पदार्थ र बन्दुकहरू प्रयोग गर्न थाले। फलस्वरूप, अझै भंयकर र घातक परिणामहरू देखा परे।

करोडौंको मृत्यु

जून २८, १९१४ लाई इतिहासकारहरू युरोपको इतिहासले नयाँ मोड लिएको दिनको रूपमा हेर्छन्‌। एक युवकले अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्सिस फर्डिनान्डको हत्या गऱ्‍यो। त्यस युवकले कतिपय व्यक्‍तिहरूबाट वीर योद्धा भन्‍ने नाउँ त कमायो तर संसार भने प्रथम विश्‍वयुद्धमा होमियो। यो महायुद्ध समाप्त हुँदासम्ममा दुई करोडको मृत्यु भइसकेको थियो।

प्रथम विश्‍वयुद्धपछि दोस्रो विश्‍वयुद्ध भयो। दोस्रो विश्‍वयुद्धमा यातना शिविरहरू र हवाइ आक्रमणमा परेर थुप्रै निर्दोषहरू मरे। अनि एकअर्कासित बदला लिने निहुँमा थुप्रै निहत्था जनताहरू मारिए। लडाइँ सिद्धिए पनि हत्याको क्रम भने रोकिएन। सन्‌ १९७० को दशकमा कम्बोडियामा दस लाखभन्दा बढी मानिसहरूको सामूहिक हत्या गरियो। अनि सन्‌ १९९० को दशकमा रूवाण्डामा ८,००,००० भन्दा बढी मारिएको घटना सम्झँदा त्यहाँका मानिसहरू अझै पनि झस्कन्छन्‌।

सन्‌ १९१४ देखि आज हाम्रो समयसम्ममा थुप्रै देशका बासिन्दाहरू आतंकवादद्वारा पिरोलिएका छन्‌। तैपनि आजका केही मानिसहरूले इतिहासबाट कुनै पाठ सिकेको देखिंदैन। आतंकवादी आक्रमणको कारण सयौं मारिने, हजारौं अपांग हुने र लाखौंको शान्ति-सुरक्षामा खलल पुग्ने क्रम जारी छ। बीच बजारमा बम पड्‌किन्छ, घर-गोठ जलेर खरानी हुन्छ, चेलीबेटी बलात्कृत हुन्छन्‌, बालबालिकाको अपहरण हुन्छ, मानिसहरू मारिन्छन्‌। आतंकवाद विरोधी नियम-कानुन र अन्तरराष्ट्रियजगत्‌को निन्दाको बावजुद जघन्य अपराधको यो दैनिकी रोकिएको छैन। त्यसो भए आतंकवादको अन्त हुने के कुनै आशै छैन त? (g 6/06)

[फुटनोटहरु]

a प्रेरित २१:३८ मा लेखिएअनुसार रोमीहरूको एउटा मुख्य कप्तानले प्रेरित पावललाई ४,००० “ज्यानमाराहरू” वा चुपीवालहरूको अगुवा भएको गलत आरोप लगाएको थियो।

b येशूले आफ्ना चेलाहरूलाई “आफ्ना शत्रुहरूलाई प्रेम गर” भनेर सिकाउनुभयो, तिनीहरूलाई घृणा गर अनि मार भनेर होइन।—मत्ती ५:४३-४५.

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

जून २८, १९१४ मा संसार युद्धमा होमियो

[पृष्ठ ५-मा भएको चित्र]

इस्तानबुल नोभेम्बर १५, २००३

[पृष्ठ ५-मा भएको चित्र]

म्याड्रिड मार्च ११, २००४

[पृष्ठ ५-मा भएको चित्र]

लण्डन जुलाई ७, २००५

[पृष्ठ ५-मा भएको चित्र]

न्यु योर्क सेप्टेम्बर ११, २००१

[पृष्ठ ५-मा भएको चित्रको स्रोतहरु]

From left to right: AP Photo/Murad Sezer; AP Photo/ Paul White; Photo by Peter Macdiarmid/Getty Images

[पृष्ठ ६-मा भएको चित्रको स्रोत]

Culver Pictures