सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बल्ल पृथ्वीभरि शान्ति!

बल्ल पृथ्वीभरि शान्ति!

बल्ल पृथ्वीभरि शान्ति!

कतिपयको धारणा हिंसाविना राजनैतिक स्वतन्त्रता वा आध्यात्मिक शुद्धता प्राप्त गर्न सकिंदैन भन्‍ने छ। उनीहरूका अनुसार क्रान्ति नगरी अलोकप्रिय शासकहरूलाई फाल्न सकिंदैन। अनि सुव्यवस्था कायम राख्न तथा जनताहरूलाई अधीनमा राख्न केही सरकारहरूले समेत आतंकको सहारा लिन्छन्‌। तर यदि आतंकवादले साँच्चिकै सुशासनमा मदत पुऱ्‍याउने वा समाजलाई राम्रो बनाउने भएदेखि शान्ति, सम्पन्‍नता र स्थायित्व छाउनुपर्ने थियो। हिंसा र भयमा कमी आउनुपर्ने थियो। के हामीले यस्तो देखेका छौं?

वास्तवमा, आतंकवादले जीवनको कुनै महत्त्व छैन भन्‍ने सन्देश दिन्छ र रक्‍तपात तथा क्रूरतातर्फ धकेल्छ। आफूले भोग्नु परेको पीडाको कारण पीडित पक्ष अक्सर प्रतिकारमा उत्रन्छ र थप दमन हुन्छ। अनि यसरी आक्रमण र प्रत्याक्रमणको कहिल्यै नटुगिंने शृंखला सुरु हुन्छ।

हिंसाद्वारा समस्या समाधान हुँदैन

मानवजातिले आफ्नो राजनैतिक, धार्मिक र सामाजिक समस्या आफैले समाधान गर्ने प्रयास गरेको हजारौं वर्ष भइसक्यो। तर तिनीहरूको सब प्रयास बेकार गएको छ। बाइबलका निम्न शब्द साँच्चै सत्य साबित भएको छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) येशूले यसो भन्‍नुभयो: “बुद्धि सफल हुने वा असफल, त्यो परिणामबाटै थाह हुन्छ।” (मत्ती ११:१९, द न्यु टेस्टामेन्ट इन मोर्डन इंग्लिश, जे. बी. फिलिप्स) बाइबलको यो सिद्धान्तको आधारमा यसो भन्‍न सकिन्छ: आतंकवाद झूटो आशा साबित भएको छ। आतंकवादले स्वतन्त्रता र आनन्द होइन; मृत्यु, कष्ट र बर्बादी मात्र दिएको छ। बीसौं शताब्दीमा आतंकवादको खराब परिणाम व्यापक मात्रामा देखियो र यसले २१ औं शताब्दीलाई पनि कायल पार्न थालिसकेको छ। आतंकवाद समस्याको समाधान नभई आफैमा एउटा समस्या हो भन्‍ने कुरामा धेरैजसो सहमत छन्‌।

आतंककारीहरूले घरमा आगजनी गरिदिएको कारण आफ्नो जन्मथलो छोडेर हिंडेकी एउटी किशोरीले यसो भनिन्‌: “मेरो परिवार र साथीभाइमध्ये कसैको पनि मृत्यु नहोस्‌ भनेर म हरेक दिन कामना गर्छु। . . . तर यसको लागि त चमत्कारै हुनुपर्छ जस्तो छ।” धेरैजसो मानिसहरू यी केटीको जस्तै निष्कर्षमा पुगिसकेका छन्‌: मानव समस्याहरूको समाधान मानिसहरूको काबुभन्दा बाहिरको कुरा हो। आतंकवादलगायत पृथ्वीका सम्पूर्ण दुःखकष्टहरू हटाउने क्षमता मानिसहरूको सृष्टिकर्तासित मात्र छ। तर हामी किन परमेश्‍वरमाथि भर पर्न सक्छौं?

हामी किन परमेश्‍वरमाथि भर पर्न सक्छौं

एउटा कारण हो, यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हामीले शान्तिसाथ सन्तुष्ट जीवन बिताएको चाहनुहुन्छ। परमेश्‍वरका अगमवक्‍ता यशैया यसरी लेख्न प्रेरित भए: “अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटा मात्र हौं, र तपाईं चाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।” (यशैया ६४:८) यहोवा सबैका पिता हुनुहुन्छ र सबै राष्ट्रका मानिसहरू उहाँको लागि उत्तिकै प्यारा छन्‌। अन्याय र घृणाको कारण हुने आतंकवादको लागि उहाँ दोषी हुनुहुन्‍न। बुद्धिमान्‌ राजा सुलेमानले एक पटक यसो भने: “जब परमेश्‍वरले मानिसलाई सृजनुभयो तब उहाँले त्यसलाई सोझो बनाउनुभयो, तर मानिस आफैले चाहिं अनेकौं छलहरू रच्दछ।” (उपदेशक ७:२९) आतंकवादको मूल कारक परमेश्‍वरको असक्षमता नभई मानिसहरूको दुष्टता र शैतानको प्रभाव हो।—एफिसी ६:११, १२.

अर्को कारण, हामी मानिसजातिलाई यहोवाले सृष्टि गर्नुभएकोले हाम्रा समस्याहरू र तिनको समाधान गर्ने उपाय उहाँलाई जति राम्ररी अरू कसैलाई थाह छैन। यो कुरा हितोपदेश ३:१९ मा यसरी बताइएको छ: “बुद्धिलेनै परमप्रभुले पृथ्वीको जग बसाल्नुभयो, र समझ-शक्‍तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो।” धेरै समय अघिका एक जना व्यक्‍तिले आफ्नो सम्पूर्ण भरोसा परमेश्‍वरमा राख्दै यस्तो लेखे: “मलाई गोहार कहाँबाट आउँछ? मलाई गोहार परमप्रभुबाटनै आउँछ, जसले स्वर्ग र पृथ्वी सृजनुभयो।”—भजन १२१:१, २.

हामी परमेश्‍वरमाथि भर पर्न सक्नुको तेस्रो कारण हो: उहाँसित हिंसा र रक्‍तपात रोक्ने क्षमता छ। नूहको समयमा “पृथ्वी . . . उपद्रवले [“हिंसाले,” NW ] भरिएको थियो।” (उत्पत्ति ६:११) परमेश्‍वरले कुनै ढिलासुस्ती नगरी न्याय ल्याउनुभयो र दुष्टहरूलाई पूर्ण रूपले विनाश गर्नुभयो। “अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा” परमेश्‍वरले प्राचीन संसारलाई सजाय दिनुभयो।—२ पत्रुस २:५.

नूहको समयमा भएको जलप्रलयबाट हामीले सिक्नुपर्ने पाठबारे बाइबल यसो भन्छ: “यसरी भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्‍नुहुन्छ।” (२ पत्रुस २:९) को-को सुखसित जीवन बिताउन चाहन्छन्‌ र क-कसले अरूको जीवन कष्टदायी बनाउँदैछन्‌ भन्‍ने कुरा परमेश्‍वरले छुट्याउन सक्नुहुन्छ। ‘भक्‍तिहीन मानिसको विनाश’ हुँदा अरूको जीवन कष्टदायी बनाउनेहरूको पनि विनाश हुनेछ। तर शान्ति चाहनेहरूको लागि भने उहाँले नयाँ पृथ्वी तयार पार्दै हुनुहुन्छ जसमा धार्मिकताले बास गर्छ।—२ पत्रुस ३:७, १३.

पृथ्वीमा स्थायी शान्ति!

मानिसजातिलाई बुझाउन बाइबलका लेखकहरूले अक्सर “पृथ्वी” भन्‍ने शब्द चलाएका छन्‌। उदाहरणका लागि, भजन ६६:४ ले “सारा पृथ्वीले” अर्थात्‌ सम्पूर्ण मानिसजातिले यहोवालाई दण्डवत्‌ गर्नेछ र भजन गाउनेछ भनी बताउँछ। “नयाँ पृथ्वी” भनेर लेख्दा प्रेरित पत्रुसले पनि मानिसजातिलाई नै बुझाउन खोजेका थिए। यहोवा परमेश्‍वरले मानव समाजलाई नयाँ बनाउनुहुनेछ। त्यसपछि हिंसा र घृणा सदाको लागि अन्त भएर पृथ्वीमा धार्मिकता र न्यायको “बास” हुनेछ। मीका ४:३ मा लेखिएको भविष्यवाणी यसो भन्छ: “उहाँले धेरै जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र टाढा टाढासम्मका सामर्थी जातिहरूको झगडाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्नो तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌। जाति जातिहरूले एकअर्काको विरुद्धमा तरवार चलाउनेछैनन्‌, नता तिनीहरूले फेरि कहिल्यै लडाइँ गर्न सिक्नेछन्‌।”

यो भविष्यवाणी पूरा भएपछि मानिसहरूको अवस्था कस्तो हुनेछ? मीका ४:४ यसो भन्छ: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” त्यस बेलाको पार्थिव प्रमोदवनमा आतंककारी आक्रमण हुने हो कि भन्‍ने डरै डरमा कोही पनि बाँच्नुपर्नेछैन। यो प्रतिज्ञामाथि भर पर्न सकिएला र? अवश्‍य सकिन्छ, “किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”—मीका ४:४.

आतंकवाद र हिंसाको त्रासले राष्ट्रहरूलाई पिरोलिरहेको छ। तैपनि शान्तिप्रिय व्यक्‍तिहरूको लागि यसको एक मात्र समाधान भनेको यहोवामा भर पर्नु हो। उहाँले समाधान गर्न नसक्ने समस्या केही पनि छैन। उहाँले दुःखकष्ट र मृत्युसमेत हटाउनुहुनेछ। बाइबल यसो भन्छ: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशैया २५:८) आतंकवादको चपेटामा परेका थुप्रै देशका मानिसहरू अहिले पीडा र डर लिएर बाँचिरहेको भए तापनि अब छिट्टै शान्तिको सास फेर्न पाउनेछन्‌। यो “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले” प्रतिज्ञा गर्नुभएको हो। अनि यस्तो शान्ति अहिले मानिसजातिको लागि अत्यावश्‍यक भएको छ।—तीतस १:२; हिब्रू ६:१७, १८. (g 6/06)

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

बम र बारुदको उपयुक्‍त विकल्प

कुनै समय हिंसाद्वारा नै राजनैतिक परिवर्तन ल्याउन सकिन्छ भन्‍ने धारणा राख्ने केही व्यक्‍तिहरूको भनाइ यस्तो छ:

◼ “इतिहाससम्बन्धी किताबहरू पढ्‌दा, राजा-महाराजा र उच्च पदमा रहेकाहरूले सधैं गरिब र सोझा जनताहरूको शोषण गरेको पाएँ। निम्न वर्गमाथि यसरी शोषण गरिएको देख्दा मलाई दुःख लाग्थ्यो। यसको अन्त कसरी गर्ने होला भनेर म सोच्थें। अन्तमा, आफ्नो अधिकार प्राप्त गर्न बन्दुकको विरुद्ध बन्दुक नउठाई हुन्‍न भन्‍ने निष्कर्षमा म पुगें।”—रामोन। a

◼ “मैले फौजी गतिविधिमा भाग लिएँ। मेरो लक्ष्य पुरानो राज्य सत्तालाई चुनौती दिनु अनि असमानता र भेदभाव मुक्‍त समाज निर्माण गर्नु थियो।”—लुचान।

◼ “अन्याय, गरिबी, अपराध, अशिक्षा र बिरामी अवस्थामा ओखतीमूलो नपाएको देखेर मलाई सानै छँदादेखि छटपटी हुन्थ्यो। हतियारले नै सबैलाई शिक्षा, स्वास्थ्य, घर र रोजगारी दिलाउँछ भन्‍ने मेरो धारणा थियो। नियमअनुसार नचल्ने र आफ्नो छिमेकीको सम्मान नगर्ने जोसुकैले पनि कारवाही भोग्नै पर्छ भनेर म ठान्थें।”—पिटर।

◼ “मेरो श्रीमान्‌ र म भूमिगत विद्रोही समूहका सदस्य थियौं। हाम्रो उद्देश्‍य समाजमा सुव्यवस्था कायम गर्ने र सबैलाई समान व्यवहार गर्ने सरकार ल्याउनु थियो। हाम्रो देशमा न्याय र समानता ल्याउने एक मात्र उपाय विध्वंसात्मक क्रियाकलाप हो भन्‍ने हामीलाई लाग्थ्यो।”—लुर्डिस।

यिनीहरूले हिंसाद्वारा नै मानिसजातिको दुःखकष्ट हटाउन खोजेका थिए। तर यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिसकेपछि अझ सर्वोत्तम उपाय त परमेश्‍वरको वचन बाइबलले पो बताएको रहेछ भनेर यिनीहरूले बुझे। याकूब १:२० यसो भन्छ: “मानिसको क्रोधले परमेश्‍वरको धार्मिकतालाई समर्थन गर्दैन।” टुडेज इंग्लिश भर्सन यसो भन्छ: “मानिसको रिसले परमेश्‍वरको धार्मिक उद्देश्‍य पूरा गर्दैन।”

परमेश्‍वरको शासनले मात्र मानव समाज परिवर्तन गर्न सक्छ। मत्ती अध्याय २४ र २ तिमोथी ३:१-५ जस्ता बाइबलका भविष्यवाणीहरूले देखाएअनुसार परमेश्‍वरको सरकारले मानव समाज परिवर्तन गर्ने समय अब धेरै पर छैन। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर यसबारे अझ बढी सिक्न हामी तपाईंलाई पनि आग्रह गर्छौं।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।