सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँले विजय हासिल गर्न सक्नुहुन्छ!

तपाईँले विजय हासिल गर्न सक्नुहुन्छ!

तपाईँले विजय हासिल गर्न सक्नुहुन्छ!

अब तपाईँले ‘साहसी हुने र आफ्नो काम थाल्ने’ समय आएको छ। (१ इतिहास २८:१०) चुरोटमाथि विजयी हुन तपाईँले कस्ता अन्तिम कदमहरू चाल्न सक्नुहुन्छ?

मिति तोक्नुहोस्‌। अमेरिकी सरकारको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेअनुसार चुरोट छोड्‌ने निर्णय गरेको दुई हप्ताभित्र एउटा दिन तोक्नुहोस्‌। त्यही दिन चुरोट छोड्‌नुहोस्‌। दुई हप्ताभित्र मिति तोक्नुभयो भने तपाईँको जाँगर सेलाउनेछैन। क्यालेन्डरमा एउटा दिन तोक्नुहोस्‌ र साथीहरूलाई भन्‍नुहोस्‌। चाहे परिस्थिति जस्तोसुकै होस्‌, आफूले तोकेकै दिन चुरोट छोड्‌नुहोस्‌।

लेखेरै राख्नुहोस्‌। कार्डमा वा एउटा सफा पानामा आफूलाई चाहिने जानकारी लेख्नुहोस्‌:

● चुरोट छोड्‌नुको कारण

● चुरोटको तलतल लागेमा मदत गर्न सक्ने व्यक्‍तिको फोन नम्बर

● प्रोत्साहनजनक कुरा, जस्तै: गलाती ५:२२, २३ मा पाइने शब्दहरू। यसो गर्नुभयो भने तपाईँको अठोट ढलपल हुन पाउनेछैन।

त्यो कार्ड वा कागजको पानालाई हरबखत आफैसँग राख्नुहोस्‌ र बेलाबेलामा पढ्‌नुहोस्‌। तपाईँले चुरोट छोडेको धेरै समय भइसके तापनि कहिलेकाहीँ तलतल लाग्न सक्छ। त्यतिबेला त्यो कार्ड वा पानामा लेखिएको कुरा सम्झनुहोस्‌।

चुरोटको याद दिलाउने गतिविधिहरूलाई एक-एक गरी छोड्‌दै जानुहोस्‌। तपाईँले क्यालेन्डरमा तोकेको मिति अगावै आफ्नो बानीहरू हटाउँदै लैजानुहोस्‌। जस्तै, बिहान उठ्‌नेबित्तिकै चुरोट पिउने बानी छ भने एक-दुई घण्टा कुर्नुहोस्‌। खाना खाँदै वा खानेबित्तिकै चुरोट पिउने बानी छ भने पनि एक-दुई घण्टा कुर्नुहोस्‌। अरूले चुरोट पिइरहेको ठाउँमा नजानुहोस्‌। यदि कसैले चुरोट दिएमा वा मागेमा ठूलो स्वरले यसो भन्‍नुहोस्‌, “होइन ठीक छ, मैले चुरोट पिउन छोडिसकेँ।” यस्ता कदमहरू चाल्नुभयो भने आफूले तोकेको दिन नजिक आइपुग्दा तपाईँ चुरोट छोड्‌न तयार भइसकेको हुनेछ।

तयार हुनुहोस्‌। जति-जति तोकेको दिन नजिक आउँदै गर्छ चुरोटको तलतल लाग्दा तपाईँलाई खान मन पर्ने कुराहरू जम्मा गर्न थाल्नुहोस्‌। जस्तै, चुइङगम, बदाम-पिस्ता, काटेको फलफूल वा गाजर। साथीभाइ अनि परिवारका सदस्यलाई आफूले तोकेको दिन बताउनुहोस्‌ र तिनीहरूले कसरी मदत गर्न सक्छन्‌ भनेर पनि बताउनुहोस्‌। ठ्याक्क एक दिनअघि घरमा भएको आस्ट्रे, लाइटर फ्याँकिदिनुहोस्‌। दराजको माथि, खाटको मुनि, खल्तीमा वा काम गर्ने ठाउँमा कतै चुरोट लुकाएर राख्नुभएको छ भने त्यो पनि जम्मा गरेर फ्याँकिदिनुहोस्‌। यसरी सजिलै भेट्‌ने ठाउँमा चुरोट राख्नुभएको छैन भने साथीलाई माग्ने वा पसलमा गएर चुरोटको प्याक किन्‍ने जाँगर पनि कम हुँदै जान्छ। अन्तिम सर्को तानेर चुरोट मिल्काएपछि परमेश्‍वरलाई मदतको लागि खुरन्धार बिन्ती गरिरहनुहोस्‌।—लुका ११:१३.

थुप्रै मानिसहरू आफ्नो पुरानो तर खराब साथी चुरोटसितको नाता तोड्‌न सफल भएका छन्‌। त्यसैले तपाईँले पनि सक्नुहुन्छ। अन्ततः वर्षौँदेखि जकडेर राखेको कुलतको सिक्रीबाट तपाईँ मुक्‍त हुनुहुनेछ र तपाईँको स्वास्थ्य पनि राम्रो हुनेछ।

[चित्र]

आफूले लेखेको कार्ड वा कागजको पाना हरबखत आफैसँग राख्नुहोस्‌ र बेलाबेलामा पढ्‌नुहोस्‌