आमाबुबाका लागि
६: अनुशासनमा राख्नुहोस्
यसको अर्थ के हो?
अनुशासन भनेको डोऱ्याउनु वा सिकाउनु हो। यसमा छोराछोरीको नराम्रो आनीबानीलाई सुधार्नु पनि समावेश छ। त्यति मात्र होइन, छोराछोरीलाई नैतिक शिक्षा दिएर जीवनमा सही निर्णय गर्न मदत गर्नु पनि अनुशासनको एउटा पक्ष हो।
यस विषयमा किन चासो राख्नुपर्छ?
केही दशक यता कतिपय परिवारमा आमाबुबाले छोराछोरीलाई सुधार्नै छोडेजस्तो देखिन्छ। किनभने छोराछोरीलाई सुधार्दा तिनीहरूको आत्मबल घट्ने हो कि भनेर आमाबुबा डराउँछन्। तर बुद्धिमान् आमाबुबाले छोराछोरीका लागि केही व्यावहारिक नियम बनाउँछन् र तिनीहरूलाई त्यसैअनुसार चल्न तालिम दिन्छन्।
“के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर स्पष्टसित तोकिदिँदा छोराछोरी परिपक्व वयस्क बन्न सक्छन्। अनुशासन नपाएको छोराछोरी पतवार नभएको डुङ्गाजस्तै हो, जुन गलत दिशातिर जान सक्छ वा पल्टिन पनि सक्छ।”—पामेला
तपाईँ के गर्न सक्नुहुन्छ?
अडिग रहनुहोस्। नियमअनुसार नचल्दा कस्तो नतिजा भोग्नुपर्छ भनेर छोराछोरीलाई स्पष्टै बताउनुहोस् अनि चलेनन् भने त्यसैअनुसार गर्नुहोस्। अर्कोतर्फ, नियमअनुसार चलेमा प्रशंसा गर्न कन्जुस्याइँ नगर्नुहोस्।
“आजकलका थुप्रै केटाकेटीले भनेको फिटिक्कै टेर्दैनन्। तर मेरा छोराछोरी त्यस्ता छैनन्। तिनीहरू मैले भनेको मान्छन् अनि तिनीहरूको प्रशंसा गर्ने गर्छु। यसो गर्दा तिनीहरूलाई अनुशासन स्विकार्न सजिलो हुन्छ।”—क्रिस्टिन
बाइबलको सिद्धान्त: “मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.
व्यावहारिक हुनुहोस्। छोराछोरीको उमेर, क्षमता र गल्तीको गम्भीरता हेरेर कसरी सुधार्नुपर्ने हो, विचार गर्नुहोस्। कुनै गलत काम गर्दा कस्तो नतिजा भोग्नुपर्छ भनेर तिनीहरूलाई स्पष्टसित बताउनुहोस्। जस्तै: छोराछोरीले फोनको दुरुपयोग गरे भने केही समय फोन चलाउन पाउँदैनन् भनेर बताउन सक्नुहुन्छ। तिनीहरूले सानोतिनो कुरामा दिक्क पाऱ्यो भन्दैमा त्यसलाई ठूलो समस्या नबनाउनुहोस्।
“मेरो छोराले जानाजानी गल्ती गरेको हो कि अनजानमा गल्ती गर्न पुगेको हो, पत्ता लगाउने कोसिस गर्छु। कुनै-कुनै गल्ती औँल्याइदिए मात्र पुग्छ तर कुनै-कुनै चाहिँ सुधार्नै पर्ने खालको हुन्छ।”—वेन्डेल
बाइबलको सिद्धान्त: “आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, ताकि तिनीहरू हताश नहोऊन्।”—कलस्सी ३:२१.
मायालु हुनुहोस्। आमाबुबाले माया गरेकोले नै अनुशासन दिनुभएको हो भनेर छोराछोरीले बुझे भने तिनीहरूले सहजै अनुशासन स्विकार्छन् र त्यसैअनुसार गर्छन्।
“छोराले गल्ती गर्दा उसले पहिला-पहिला गरेको सही निर्णयले हामीलाई साँच्चै खुसी बनाएको थियो भनेर सम्झाउँथ्यौँ। गल्ती भइहाल्यो भन्दैमा ऊ हाम्रो नजरमा खराब मान्छे हुने त होइन, बरु त्यसलाई सच्याउन प्रयास गर्दा असल व्यक्ति बन्न सकिन्छ भनेर पनि बताउँथ्यौँ। अनि उसलाई मदत गर्न हामी सधैँ उसको साथमा छौँ भनेर प्रोत्साहन दिन्थ्यौँ।”—डानिएल
बाइबलको सिद्धान्त: “प्रेम धीरजी र दयालु हुन्छ।” —१ कोरिन्थी १३:४.