सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?

तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?

दुई व्यक्‍ति एकअर्काबाट सात समुद्रपारि बसे तापनि तिनीहरू मेसेज, इमेल, भिडियो-कल अनि सामाजिक सञ्जाल प्रयोग गरेर एकअर्कासित सम्पर्कमा रहन सक्छन्‌। तिनीहरूका लागि प्रविधि उपयोगी साबित हुन्छ।

तर केही व्यक्‍तिहरू प्रविधिमार्फत मात्र आफ्ना साथीहरूसित कुराकानी गर्छन्‌। त्यस्ता व्यक्‍तिहरूले . . .

  • आफ्ना साथीहरूको भावना राम्ररी बुझ्न सक्दैनन्‌।

  • एक्लो महसुस गर्छन्‌।

  • आफ्नै कुरामा मात्र ध्यान दिन्छन्‌।

तपाईँले के बुझ्नुपर्छ?

समानुभूति

अरूको भावना बुझ्नको लागि तिनीहरूबारे समय लगाएर सोच्नु आवश्‍यक छ। मेसेज पठाउन र पढ्‌न अनि सामाजिक सञ्जाल चलाउनमै व्यस्त भयौँ भने यसो गर्न गाह्रो हुन सक्छ।

तपाईँ प्रविधिको दास हुनुभएको छ भने मेसेजहरूको रिप्लाई दिन यत्ति व्यस्त हुनुहुनेछ कि तपाईँसित सबै मेसेज राम्ररी पढ्‌न समय समेत नहुन सक्छ र कोही साथीले मदत चाहिएर मेसेज गर्दा पनि यादै नहुन सक्छ। यस्तो अवस्थामा तपाईँको धुन केवल मेसेजहरूको रिप्लाई दिनुमा मात्र हुनेछ।

यसबारे सोच्नुहोस्‌: साथीहरूसित कुराकानी गर्न प्रविधि प्रयोग गर्दा हामी कसरी “एकअर्काको पीडा महसुस” गर्न सक्छौँ?—१ पत्रुस ३:८.

एक्लोपन

एउटा अध्ययनअनुसार सामाजिक सञ्जालमा धेरै समय बिताउने मानिसहरूले रित्तो महसुस गर्छन्‌। अरूले पोस्ट गरेका फोटोहरू र स्टेटसहरू हेरिसकेपछि मानिसहरू “आफूले केही अर्थपूर्ण काम गर्न नसकेको महसुस गर्छन्‌” भनी अनुसन्धानकर्ताहरू बताउँछन्‌।

यसबाहेक अरूले रमाइलो गरिरहेका फोटोहरू हेर्दा आफ्नो जीवन नीरस भएको महसुस हुन सक्छ। अरूको जीवनमा एकदमै रमाइलो भइरहेको अनि आफ्नो जीवनचाहिँ खल्लो भइरहेको जस्तो लाग्न सक्छ।

यसबारे सोच्नुहोस्‌: सामाजिक सञ्जाल प्रयोग गर्दा अरूसित तुलना गर्नदेखि तपाईँ कसरी जोगिन सक्नुहुन्छ?—गलाती ६:४.

आफ्नै कुरामा मात्र ध्यान दिनु

एक जना शिक्षिकाले आफ्ना केही विद्यार्थीहरू स्वार्थी भएको र आफ्नो लागि केही गरिदिनेहरूलाई मात्र साथी बनाउन चाहेको कुरा याद गरिन्‌। यस्तो प्रकारको मित्रता आफूले अरूबाट के पाउँछु भन्‍ने कुरामा मात्र केन्द्रित हुन्छ। यस्तो व्यक्‍तिले आफ्ना साथीहरूलाई मोबाइलको कुनै एपको रूप हेर्न सक्छन्‌, जुन आफूलाई मन लागेको बेला मात्र चलाउने गरिन्छ।

यसबारे सोच्नुहोस्‌: के तपाईँले पोस्ट गर्ने कुराहरूबाट तपाईँमा प्रतिस्पर्धी भावना भएको वा तपाईँले आफ्नै कुरामा मात्र ध्यान दिएको देखिन्छ?—गलाती ५:२६.

तपाईँ के गर्न सक्नुहुन्छ?

प्रविधि प्रयोग गर्ने तपाईँको बानी केलाउनुहोस्‌

प्रविधिलाई मालिक नभई आफ्नो दास बनाउनुभएको छ भने यसले तपाईँलाई आफ्ना साथीहरूसित सम्पर्कमा रहन र तिनीहरूसित अझ घनिष्ठ हुन पनि मदत गर्न सक्छ।

बाइबल सिद्धान्त: “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरिन्थी १३:४, ५.

आफूले लागू गर्न चाहेका सुझावहरूमा चिन्ह लगाउनुहोस्‌ वा आफ्नो सङ्‌कल्प लेख्नुहोस्‌।

  • मेसेज वा इमेलमार्फत मात्र नभई मानिसहरूसित भेटेरै कुरा गर्न कोसिस गर्ने

  • अरूसित कुरा गर्दा फोन नचलाउने वा साइलेन्ट मोडमा राख्ने

  • सामाजिक सञ्जाल कम प्रयोग गर्ने

  • अरूको कुरा ध्यान दिएर सुन्‍न कोसिस गर्ने

  • गाह्रो अवस्थाको सामना गरिरहेको साथीसित कुरा गर्ने