सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा २

सुन्दर बगैंचा

सुन्दर बगैंचा

अब यो चित्र हेर त! सबै कुरा कत्ति राम्रो छ! घाँस, रूख, फूल अनि सबै जनावरहरूलाई हेर त। तिमीले हात्ती र सिंह पनि देख्यौ कि?

यो राम्रो बगैंचा कहाँबाट आयो होला? परमेश्‍वरले पृथ्वीलाई हामी बस्नका लागि कसरी तयार पार्नुभयो, त्यो पहिला बुझौं है।

सबैभन्दा पहिला, परमेश्‍वरले जमिनलाई घाँसले ढाक्नुभयो। त्यसपछि उहाँले थरीथरीका घाँसपात, झाडी अनि रूख बनाउनुभयो। बोटबिरुवाले पृथ्वीलाई सुन्दर बनाउँछ। तर यति मात्र होइन। बोटबिरुवाले हामीलाई मीठो-मीठो खानेकुरा पनि दिन्छ।

त्यसपछि परमेश्‍वरले पानीमा पौडिने माछा र आकाशमा उड्‌ने चराचुरुंगी बनाउनुभयो। उहाँले कुकुर, बिरालो, घोडा पनि बनाउनुभयो। उहाँले ठूला-साना दुवै खालका जनावर बनाउनुभयो। तिम्रो घर नजिक कुन-कुन जनावर छ? यी सबै कुरा परमेश्‍वरले हाम्रो लागि बनाउनुभएकोमा के तिमीलाई खुसी लाग्दैन?

अन्तमा, परमेश्‍वरले पृथ्वीको एउटा ठाउँलाई असाध्यै राम्रो बनाउनुभयो। त्यस ठाउँलाई उहाँले अदनको बगैंचा भन्‍ने नाउँ दिनुभयो। त्यहाँ कुनै खोट थिएन। त्यहाँ भएका सबै कुरा सुन्दर थिए। हाम्रो पूरै पृथ्वी यो सुन्दर बगैंचा जस्तै होस्‌ भनी परमेश्‍वर चाहनुहुन्थ्यो।

अब फेरि बगैंचाको चित्रलाई हेर त। ल भन, परमेश्‍वरले यहाँ के कुरा पाउनु भएन। हामी अर्को कथा पढेर थाह लगाऔं है