सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ४

उनीहरू किन बगैंचाबाट निस्कनुपऱ्‍यो

उनीहरू किन बगैंचाबाट निस्कनुपऱ्‍यो

हेर, यहाँ के भइरहेछ। आदम र हव्वा अदनको सुन्दर बगैंचाबाट बाहिर निस्कँदैछन्‌। किन? के तिमीलाई थाह छ?

किनभने उनीहरूले असाध्यै नराम्रो काम गरे। त्यसैले यहोवाले उनीहरूलाई बगैंचाबाट बाहिर निकालिदिनुभयो। आदम र हव्वाले के नराम्रो काम गरे, तिमीलाई थाह छ?

परमेश्‍वरले जे नगर्नू भन्‍नुभएको थियो, उनीहरूले त्यही गरे। बगैंचामा पाइने सबै खानेकुरा खान सक्छन्‌ भनेर परमेश्‍वरले भन्‍नुभएको थियो। तर एउटा रूखको फल खायो भनेचाहिं उनीहरू मर्नेछन्‌ भनेर परमेश्‍वरले सुनाउनुभएको थियो। त्यो रूख परमेश्‍वरले आफ्नो लागि छुट्याउनुभएको थियो। हामीले अरूको केही पनि लिनु हुँदैन नि, होइन? तर आदम र हव्वाले कसरी त्यस्तो नराम्रो काम गरे त?

एक दिन हव्वा बगैंचामा एक्लै भएको बेला एउटा सर्प ऊसित बोल्न थाल्यो। त्यसले परमेश्‍वरले नखानू भन्‍नुभएको फल हव्वालाई खाऊ भन्यो। यहोवाले सर्पहरूलाई बोल्न सक्ने गरी बनाउनुभएको थिएन। वास्तवमा, त्यो सर्पलाई अर्कै व्यक्‍तिले बोल्न लगाएको थियो। त्यो को थियो?

त्यो आदम थिएन। त्यो व्यक्‍ति यहोवाले पृथ्वी बनाउनुभन्दा धेरै पहिले बनाउनुभएका स्वर्गदूतहरूमध्ये एक थियो। हामी उनीहरूलाई देख्न सक्दैनौं। एउटा स्वर्गदूत असाध्यै घमण्डी भयो। त्यसले परमेश्‍वरजस्तै ठूलो बन्‍ने विचार गऱ्‍यो। त्यो स्वर्गदूत मान्छेले यहोवाको आज्ञा नमानेर उसको आज्ञा मानेको चाहन्थ्यो। त्यही स्वर्गदूतले सर्पलाई बोल्न लगायो।

यो स्वर्गदूतले हव्वालाई ठग्यो। त्यसले हव्वालाई फल खायो भने परमेश्‍वरजस्तै हुन्छ भन्यो। हव्वाले त्यो खराब स्वर्गदूतको कुरा पत्याई। उसले रूखको फल खाई र आदमले पनि खायो। आदम र हव्वा दुवैले परमेश्‍वरको आज्ञा मानेनन्‌। त्यसैकारण परमेश्‍वरले उनीहरूलाई अदनको सुन्दर बगैंचाबाट निकालिदिनुभयो।

तर एक दिन परमेश्‍वरले पूरै पृथ्वीलाई फेरि अदनको बगैंचा जस्तै सुन्दर बनाउनुहुनेछ। यस काममा तिमीले पनि कसरी भाग लिन सक्छौ, हामी पछि पढ्‌नेछौं। तर अहिले भने आदम र हव्वालाई त्यसपछि के भयो, पत्ता लगाऔं