सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ८

पृथ्वीमा राक्षसहरू

पृथ्वीमा राक्षसहरू

तिम्रो घरको छत जत्तिकै अग्लो मान्छे देख्यौ भने तिमी उसलाई के भन्छौ? हो, राक्षस! तिमीलाई थाह छ, आजभन्दा धेरै वर्ष पहिले पृथ्वीमा साँच्चै राक्षसहरू थिए। उनीहरू स्वर्गबाट आएका स्वर्गदूतका सन्तान थिए भनेर बाइबल भन्छ। तर कसरी यस्तो भयो?

शैतान भन्‍ने खराब स्वर्गदूतले नराम्रो काम मात्र गरिरहन्थ्यो भनेर के तिमीले सम्झेका छौ? त्यसले परमेश्‍वरका अरू स्वर्गदूतलाई पनि नराम्रो बनाउन खोज्यो। केही समयपछि कुनै-कुनै स्वर्गदूतले शैतानको कुरा सुन्‍न थाल्यो। त्यसपछि परमेश्‍वरले स्वर्गमा दिनुभएको काम छाडेर उनीहरू तल पृथ्वीमा आए। उनीहरूले आफ्नो जीउ मान्छेको जस्तै बनाए। किन, तिमीलाई थाह छ?

बाइबलले परमेश्‍वरका यी छोराहरूले पृथ्वीमा राम्री-राम्री केटीहरू देखेपछि उनीहरूसितै बस्न मन गरे भन्छ। पृथ्वीमा आएर स्वर्गदूतहरूले ती केटीहरूसित बिहे गरे। बाइबलले यसो गर्नु गलत थियो भन्छ। किनभने परमेश्‍वरले स्वर्गदूतहरूलाई स्वर्गमा बस्न बनाउनुभएको थियो।

स्वर्गदूत र उनीहरूका पत्नीहरूले जन्माएका बच्चाहरू मान्छेका बच्चाभन्दा बेग्लै थिए। सुरु-सुरुमा त उनीहरू हेर्नमा त्यति फरक थिएनन्‌। तर उनीहरू झन्‌झन्‌ ठूलो, झन्‌झन्‌ ठूलो, झन्‌झन्‌ बलियो हुँदै गए अनि अन्तमा राक्षस बने।

यी राक्षसहरू खराब थिए। ठूला अनि बलिया भएकोले उनीहरू मान्छेलाई सताउँथे। उनीहरू अरूलाई पनि आफूले जस्तै नराम्रो काम गर्न लगाउन खोज्थे।

हनोक त मरिसकेको थियो। तर पृथ्वीमा अझ एक जना असल मान्छे बाँकी नै थियो। उसको नाउँ नूह थियो। नूह सधैं परमेश्‍वरलाई मनपर्ने काम गर्थ्यो।

एकदिन परमेश्‍वरले नूहलाई सबै खराब मान्छेलाई नाश पार्ने समय आइसक्यो भन्‍नुभयो। तर नूह, उसको परिवार अनि थुप्रै जनावरलाई चाहिं परमेश्‍वरले बचाउनुभयो। परमेश्‍वरले यो कसरी गर्नुभयो, हामी अर्को कथा पढौ है त