सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ११

पहिलो इन्द्रेनी

पहिलो इन्द्रेनी

जहाजबाट बाहिर निस्किने बित्तिकै नूह र उसको परिवारले सबैभन्दा पहिला के गऱ्‍यो, तिमीलाई थाह छ? उनीहरूले परमेश्‍वरलाई भेटी अथवा उपहार चढाए। तल चित्रमा नूहले भेटी चढाइरहेको हेर त। आफ्नो परिवारलाई परमेश्‍वरले ठूलो जलप्रलयबाट बचाउनुभएकोमा धन्यवाद दिन नूहले जनावरहरू उपहार चढाएको थियो।

के तिमीलाई यो उपहार पाएर परमेश्‍वर खुसी हुनुभयो जस्तो लाग्छ? हो, उहाँ असाध्यै खुसी हुनुभयो। त्यसैले यो पृथ्वीलाई फेरि जलप्रलय ल्याएर कहिल्यै नाश गर्नेछैनँ भनेर उहाँले नूहसित प्रतिज्ञा गर्नुभयो।

चाँडै जमिन पूरै सुक्खा भयो। त्यसपछि नूह र उसको परिवार जहाजबाहिर बस्न थाल्यो। परमेश्‍वरले उनीहरूलाई आशिष्‌ दिनुभयो र भन्‍नुभयो: ‘तिमीहरूले अब धेरै छोराछोरी जन्माएर पृथ्वी भर्नुपर्छ।’

तर पछि-पछिका मान्छेहरू फेरि ठूलो जलप्रलय आउला भनेर डराउन सक्थे। यसैले परमेश्‍वरले पृथ्वीमा फेरि कहिल्यै जलप्रलय ल्याउनु हुनेछैन भनेर मान्छेहरूले सम्झिराखून्‌ भनी एउटा चिह्न दिनुभयो। त्यो चिह्न के थियो, तिमीलाई थाह छ? त्यो इन्द्रेनी थियो।

पानी परेर घाम लागेपछि आकाशमा अक्सर इन्द्रेनी देखिन्छ। इन्द्रेनीमा थुप्रै सुन्दर रङहरू हुन्छन्‌। के तिमीले कहिल्यै इन्द्रेनी देखेका छौ? इन्द्रेनी कस्तो हुन्छ चित्रमा हेर त।

परमेश्‍वरले त्यसपछि यसो भन्‍नुभयो: ‘सबै मान्छे र जनावरलाई जलप्रलय ल्याएर म फेरि कहिल्यै नाश गर्नेछैन। म मेरो इन्द्रेनी बादलमा राख्दैछु। इन्द्रेनी देखा परेपछि म त्यसलाई हेर्छु र आफूले भनेको कुरा सम्झन्छु।’

अब भन, इन्द्रेनी देखेपछि तिमीले पनि के सम्झनुपर्छ? हो, परमेश्‍वरले फेरि कहिल्यै जलप्रलय ल्याएर पृथ्वीलाई नाश गर्नु हुनेछैन भनेर सम्झनुपर्छ।