सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १२

मान्छेहरू अग्लो धरहरा बनाउँछन्‌

मान्छेहरू अग्लो धरहरा बनाउँछन्‌

धेरै वर्ष बित्यो। नूहका छोराहरूका थुप्रै छोराछोरी भए। उनीहरूको पनि अझ अरू छोराछोरी जन्मिए। चाँडै पृथ्वीभरि थुप्रै मान्छे भए।

यिनीहरूमध्ये एक जना नूहको पनाति निम्रोद थियो। ऊ खराब थियो। उसले मान्छे अनि जनावर दुवैको सिकार गर्थ्यो। निम्रोदले आफूलाई राजा पनि बनायो। परमेश्‍वरले निम्रोदलाई मन पराउनुभएन।

त्यतिखेर सबैले एउटै भाषा बोल्थे। निम्रोद सबैलाई एकै ठाउँमा राखेर शासन गर्न चाहन्थ्यो। आफ्नो इच्छा पूरा गर्न उसले के गऱ्‍यो, तिमीलाई थाह छ? उसले एउटा सहर र अग्लो धरहरा बनाउन लगायो। चित्रमा हेर त, उनीहरू इँटा बनाउँदैछन्‌।

उनीहरूले धरहरा बनाएको यहोवालाई मन परेन। किनकि उहाँ मान्छेहरू टाढा-टाढा गएर पृथ्वीभरि फैलेको चाहनुहुन्थ्यो। तर मान्छेहरूले यसो भने: ‘आऊ! हामी एउटा सहर र स्वर्गसम्मै पुग्ने टुप्पो भएको अग्लो धरहरा बनाऔं। त्यसपछि हामी प्रसिद्ध हुनेछौं!’ उनीहरूले परमेश्‍वरलाई आदर दिनुको साटो आफै ठूलो हुन खोजे।

यसकारण परमेश्‍वरले धरहरा बनाउन रोक्न लगाउनुभयो। उहाँले के गर्नुभयो, तिमीलाई थाह छ? उहाँले अचानक मान्छेहरूलाई एउटा भाषाको साटो बेग्लाबेग्लै भाषाहरू बोल्न लगाउनुभयो। त्यसपछि त, त्यहाँ काम गर्नेहरूले एकअर्काको कुरा बुझ्नै सकेनन्‌। यसैकारण त उनीहरूको सहरको नाउँ बाबेल अथवा बेबिलोन राखियो। किनकि बाबेलको अर्थ “गोलमाल” हो।

एकअर्काको भाषा नबुझेपछि मान्छे बाबेलबाट टाढा-टाढा सर्न थाले। उनीहरू आफ्नो भाषा बोल्नेहरूसित मिलेर पृथ्वीको अर्कै ठाउँहरूमा गएर बस्न थाले।