सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १५

लूतकी पत्नीले पछाडि फर्केर हेरी

लूतकी पत्नीले पछाडि फर्केर हेरी

लूत र उसको परिवार अब्राहामसँगै कनान देशमा बस्थो। एकदिन अब्राहामले लूतलाई यसो भन्यो: ‘हाम्रा सबै गाईवस्तुका लागि यहाँ ठाउँ पुगेन। यसकारण हामी अलग-अलग बसौं। तिमी एकातिर जाऊ, म अर्कोतिर जान्छु।’

लूतले वरिपरि टाढा-टाढासम्म हेर्न थाल्यो। उसले एउटा असाध्यै राम्रो ठाउँ देख्यो। त्यो ठाउँ यर्दन जिल्ला थियो। त्यहाँ उसका गाईवस्तुका लागि धेरै पानी र राम्रो घाँस पनि थियो। यसकारण लूत आफ्नो परिवार अनि गाईवस्तु जम्मै लिएर त्यहाँ गयो। अन्तमा उनीहरूले सदोम भन्‍ने सहरमा घर बनाए।

सदोमका मान्छेहरू असाध्यै खराब थिए। यो देखेर लूतलाई धेरै दुःख लाग्थ्यो। किनभने ऊ असल मान्छे थियो। परमेश्‍वरलाई पनि सदोम देखेर धेरै दुःख लाग्यो। त्यसैकारण परमेश्‍वरले सदोम अनि नजिकै पर्ने सहर गमोरालाई नाश गर्ने विचार गर्नुभयो। अनि यो खबर लूतलाई बताउन उहाँले दुई स्वर्गदूत पठाउनुभयो।

स्वर्गदूतहरूले लूतलाई यसो भने: ‘छिटो गर! तिम्री पत्नी र दुइटी छोरीलाई लिएर यहाँबाट गइहाल!’ तर लूत र उसको परिवारले आलेटाले गरिरहे। यसकारण स्वर्गदूतहरूले उनीहरूको हात समातेर सहरबाहिर लगे। त्यसपछि एक जना स्वर्गदूतले उनीहरूलाई यसो भने: ‘आफ्नो ज्यान बचाउन भाग! पछाडि फर्केर नहेर। पहाडतिर भाग नत्र तिमीहरू मर्नेछौ।’

लूत र उसका छोरीहरूले स्वर्गदूतको कुरा मानेर सदोमबाट भागे। उनीहरू कतै पनि रोकिएनन्‌, पछाडि फर्केर पनि हेरेनन्‌। तर लूतकी पत्नीले स्वर्गदूतको कुरा मानिन। सदोमबाट अलि पर पुगेपछि ऊ रोकिई र पछाडि फर्केर हेरी। तब लूतकी पत्नी नुनको खम्बा भई। लूतकी पत्नी नुनको खम्बा बनेको तल चित्रमा हेर त।

परमेश्‍वरले उहाँको कुरा मान्‍ने मान्छेहरूलाई बचाउनुहुन्छ तर उहाँले भनेको नटेर्नेहरूले आफ्नो ज्यान गुमाउनेछन्‌ भनेर हामी यो कथाबाट राम्रो पाठ सिक्छौं।