सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १८

याकूब हारान जान्छ

याकूब हारान जान्छ

चित्रमा याकूबसित कुरा गर्ने मान्छेहरूलाई तिमी चिन्छौ? धेरै दिन यात्रा गरिसकेपछि याकूबले उनीहरूलाई एउटा इनारनेर भेटेको हो। त्यतिखेर उनीहरू आफ्ना भेडा चराउँदै थिए। ‘तपाईंहरू कहाँको हुनुहुन्छ?’ याकूबले उनीहरूलाई सोध्यो।

‘हामी हारानका हौं,’ उनीहरूले जवाफ दिए।

याकूबले फेरि सोध्यो: ‘के तपाईंहरूले लाबानलाई चिन्‍नुहुन्छ?’

उनीहरूले भने: ‘चिन्छौं। हेर्नुहोस्‌, उनकी छोरी राहेल आफ्ना भेडाहरू लिएर यतैतिर आउँदैछे।’ चित्रमा राहेललाई टाढाबाट आउँदै गरेको हेर त।

आफ्नो मामा लाबानका भेडाहरूसँग राहेल आएकी देख्ने बित्तिकै याकूबले गएर इनारको ढुंगा हटाइदियो र भेडाहरूलाई पानी खुवायो। त्यसपछि याकूबले राहेललाई म्वाइँ खायो अनि आफ्नो परिचय दियो। राहेल असाध्यै खुसी भएर घर गई र आफ्नो बुबा लाबानलाई सबै कुरा बताई।

लाबान पनि धेरै खुसी भयो। उसले याकूबलाई आफ्नो घरमा ल्यायो। पछि याकूबले राहेलसित बिहे गर्न चाहन्छु भन्दा लाबान झनै रमायो। तर राहेलको बिहे गर्नुभन्दा पहिले याकूबलाई लाबानले आफ्नो खेतमा सात वर्षसम्म काम गर्न लगायो। याकूब राजी भयो। किनभने ऊ राहेललाई धेरै माया गर्थ्यो। सात वर्षपछि बिहे गर्ने बेला आइपुग्दा के भयो तिमीलाई थाह छ?

लाबानले याकूबको बिहे राहेलसित गरिदिनुको साटो जेठी छोरी लेआसित पो गरिदियो। याकूबले अर्को सात वर्षसम्म काम गर्न मानेपछि लाबानले राहेलको बिहे पनि याकूबसँगै गरिदियो। त्यतिबेला परमेश्‍वरले मान्छेहरूलाई धेरै स्वास्नी राख्न दिनुहुन्थ्यो। तर अहिले एक जना मान्छेको एउटी मात्र स्वास्नी हुनुपर्छ भनेर बाइबल बताउँछ।