सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा २७

मिश्रमा खराब राजाले राज्य गर्छ

मिश्रमा खराब राजाले राज्य गर्छ

हेर त मान्छेहरूलाई जबरजस्ती काम लगाइँदैछ। अनि एक जनाले त काम गर्ने मान्छेलाई कोर्राले पिट्‌दैछ! यी सबै काम गर्ने मान्छेहरू याकूबका सन्तान हुन्‌। उनीहरूलाई इस्राएली भनिन्छ। उनीहरूलाई जबरजस्ती काम गर्न लगाउनेहरू चाहिं मिश्रीहरू हुन्‌। इस्राएलीहरू मिश्रीहरूका कमारा भएका छन्‌। तर कसरी यस्तो भयो?

धेरै वर्षसम्म याकूबको ठूलो परिवार मिश्रमा शान्तिसित बस्यो। फिरऊन राजापछिको सबैभन्दा ठूलो मान्छे यूसुफले उनीहरूको हेरविचार गर्थ्यो। तर यूसुफको मृत्यु भयो। त्यसपछि इस्राएलीहरूलाई मनै नपराउने अर्को फिरऊन मिश्रको नयाँ राजा बन्यो।

यो खराब फिरऊनले इस्राएलीहरूलाई आफ्नो कमारा बनायो। उसले कठोर अनि निर्दयी मान्छेहरूलाई इस्राएलीहरूको नाइके बनायो। ती नाइकेहरूले फिरऊनको लागि सहरहरू बनाउन इस्राएलीहरूलाई खूब काम गर्न लगायो। तर यसरी धेरै दुःख पाए पनि इस्राएलीहरूको संख्या झन्‌-झन्‌ बढ्‌दै गयो। यो देखेर केही समयपछि इस्राएलीहरू धेरै अनि अति नै बलिया हुनेछन्‌ भनेर मिश्रीहरू डराउन थाले।

त्यसपछि फिरऊनले के गऱ्‍यो, तिमीलाई थाह छ? उसले मिश्री सूँडेनीहरूलाई इस्राएली आमाहरूले बच्चा जन्माउने बित्तिकै ‘मारिदिनू’ भनेर हुकुम गऱ्‍यो। तर सूँडेनीहरू असल थिए। उनीहरूले बच्चाहरूलाई मारेनन्‌।

यो कुरा थाह पाएपछि फिरऊनले आफ्नो जम्मै मान्छेलाई यस्तो हुकुम गऱ्‍यो: ‘सबै इस्राएलीहरूका छोराहरू मारिदिनू। छोरीहरूलाई मात्र बाँच्न दिनू।’ कस्तो नराम्रो हुकुम! तर मिश्रीहरूले एउटा बालकलाई भने मार्न पाएनन्‌। उसलाई के हुन्छ, हामी अर्को कथा पढौं ल।