सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ३३

इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌

इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌

हेर, यहाँ के हुँदैछ? चित्रमा ऊ त्यो लाल समुद्रको छेऊमा उभिएर आफ्नो लट्ठी तेर्साउने मान्छे मोशा हो। उसको वरपर ढुक्कसित बसिरहेका मान्छेहरू चाहिं इस्राएलीहरू हुन्‌। तर फिरऊन र उसको जम्मै सेना समुद्रमा डुब्दैछ। कसरी यस्तो भयो, हामी थाह लगाऔं है त।

परमेश्‍वरले मिश्रीहरूमाथि १० औं विपत्ति ल्याउनुभएपछि फिरऊनले इस्राएलीहरूलाई मिश्रबाट पठाउन हतार गरेको थियो भनेर हामीले पढिसक्यौं। इस्राएलीहरू मिश्रबाट निस्कँदा स्वास्नीमान्छे अनि केटाकेटीबाहेक लगभग ६,००,००० थिए। यसबाहेक यहोवामाथि विश्‍वास गर्न थालेका थुप्रै मिश्रीहरू पनि इस्राएलीहरूसितै गए। उनीहरू सबैले आ-आफ्ना भेडा, बाख्रा र गाईवस्तुहरू आफूसित लगे।

इस्राएलीहरूले निस्कनुअघि मिश्रीहरूसित लुगाफाटा, सुन-चाँदीका सर-सामान मागे। आफूमाथि आइपरेको अन्तिम विपत्तिले गर्दा मिश्रीहरू असाध्यै डराएका थिए। यसकारण इस्राएलीहरूले मागेका जम्मै कुरा तिनीहरूले दिए।

केही दिनपछि इस्राएलीहरू लाल समुद्रमा आइपुगे। उनीहरूले त्यहाँ थकाइ मारे। तर उता मिश्रमा फिरऊन र उसका मान्छेहरू इस्राएलीहरूलाई जान दिएकोमा पछुताउन थाले। तिनीहरूले यसो भने: ‘हामीले बित्थामा आफ्ना कमाराहरूलाई जान दियौं!’

यसकारण फिरऊनले फेरि एक पटक आफ्नो मन बदल्यो। उसले तुरुन्तै आफ्नो रथ र सिपाही तयार पाऱ्‍यो। अनि उसले आफ्नो ६०० वटा खास रथहरूका साथै मिश्रका अरू जम्मै रथहरू लिएर इस्राएलीहरूको पिछा गर्न थाल्यो।

आफ्नो पछिपछि फिरऊन र उसका सिपाहीहरू आएको देखेर इस्राएलीहरू साह्रै डराए। उम्कने कुनै बाटो थिएन। उनीहरूको एकापट्टि लाल समुद्र थियो भने अर्कोपट्टिबाट मिश्रीहरू आइरहेका थिए। तर यहोवाले बीचमै बादल लगाइदिनुभयो। बादलले गर्दा मिश्रीहरूले इस्राएलीहरूलाई देख्नै सकेनन्‌।

त्यसपछि यहोवाले मोशालाई लाल समुद्रतिर आफ्नो लट्ठी तेर्साउन लगाउनुभयो। मोशाले लट्ठी तेर्साउने बित्तिकै यहोवाले पूर्वबाट जोडसित बतास चलाउनुभयो। बतासको जोडले गर्दा समुद्रको पानी दुई भाग भयो र दुवैतिर पानी अडेर बस्यो।

अनि इस्राएलीहरू समुद्रको बीचबाट सुक्खा जमीनमा हिंड्‌न थाले। धेरै मान्छे अनि उनीहरूका भेडा-बाख्रा र गाईवस्तु पनि धेरै भएकोले समुद्रको बीचबाट हिंड्‌दै पारिपट्टि पुग्न घण्टौं लाग्यो। अन्तमा मिश्रीहरूले इस्राएलीहरूलाई फेरि देख्न सके। तिनीहरूका कमाराहरू उम्किरहेका थिए! यसकारण इस्राएलीहरूलाई समात्न तिनीहरू हतार गर्दै समुद्रमा ओर्लन थाले।

तिनीहरू समुद्रभित्र पस्ने बित्तिकै परमेश्‍वरले रथका पांग्राहरू फुस्काइदिनुभयो। मिश्रीहरू असाध्यै डराए अनि यसो भन्दै चिच्याउन थाले: ‘यहोवाले इस्राएलीहरूलाई बचाउन हामीसित लडाइँ गर्नुहुँदैछ। हामी यहाँबाट निस्किहालौं!’ तर तिनीहरूले त्यसो गर्ने समय नै पाएनन्‌।

यहोवाले मोशालाई त्यति नै खेर लाल समुद्रमाथि आफ्नो लट्ठी तेर्साउन लगाउनुभयो। तिमीले चित्रमा अघि हेरिसक्यौ नि होइन? मोशाले लट्ठी तेर्साएको मात्र के थियो, दुवैपट्टिका पानीका पर्खालहरू मिश्रीहरू र उनीहरूको रथमाथि खस्यो। फिरऊन आफ्ना सबै सिपाहीहरू लिएर समुद्रमा ओर्लेको थियो। यसकारण एक जना मिश्री पनि उम्कन सकेन! सबै डुबे।

इस्राएलीहरू जिउँदै लाल समुद्र पार तर्न पाएकोमा असाध्यै खुसी थिए! त्यसपछि लोग्नेमान्छेहरूले यहोवालाई धन्यवाद चढाउँदै यो गीत गाए: ‘यहोवाको ठूलो जीत भएको छ। उहाँले घोडाहरू र तिनीहरूमाथि सवार हुनेहरूलाई समुद्रमा फालिदिनुभएको छ।’ मोशाकी दिदीले खैंजडी लिएपछि अरू बाँकी आइमाईहरूले पनि आ-आफ्ना खैंजडीहरू बजाउन थाले। अनि उनीहरू पनि आनन्दले नाच्दै ‘यहोवाको एउटा ठूलो जीत भएको छ। उहाँले घोडाहरू र तिनीहरूमाथि सवार भएकाहरूलाई समुद्रमा फालिदिनुभएको छ’ भनेर गाउन थाले।

प्रस्थान १२ देखि १५ अध्यायसम्म।