सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ४४

राहाब जासुसहरूलाई लुकाउँछे

राहाब जासुसहरूलाई लुकाउँछे

चित्रमा हेर त। यिनीहरू इस्राएली जासुसहरू हुन्‌ र यिनीहरूलाई मदत दिने आइमाईचाहिं राहाब हो। राहाब यरीहो सहरको पर्खालमाथि बनाइएको घरमा बस्छे। यी दुई इस्राएली जासुसहरू अहिले आपत्‌मा परेका छन्‌। उनीहरू भागिहाल्नुपर्छ नत्र उनीहरू मारिनेछन्‌। तर यी मान्छेहरू कसरी आपत्‌मा परे, हामी थाह लगाऔं।

इस्राएलीहरू यर्दन नदी तरेर कनान देश पस्नै लागेका छन्‌। तर कनान पस्नुअघि यहोशूले दुई जना जासुसलाई त्यहाँ पठाउँछ। उसले यसो भन्छ: ‘गएर त्यो देश र यरीहो सहर राम्ररी हेरेर आउनू।’

यरीहो सहर पुगेपछि ती जासुसहरू राहाबको घरमा जान्छन्‌। तर कसैले यरीहोको राजालाई यो खबर दिन्छ: ‘आज राति दुई जना इस्राएली हाम्रो देशको चियो गर्न आएका छन्‌।’ राजाले यो सुनेपछि, राहाबको घरमा आफ्ना मान्छेहरू पठाउँछ र उनीहरूले राहाबलाई यो आदेश दिन्छन्‌: ‘तिम्रो घरभित्र भएका मान्छेहरूलाई बाहिर निकाल!’ तर राहाबले जासुसहरूलाई आफ्नो कौसीमा लुकाएकी छे। यसकारण ऊ यसो भन्छे: ‘मेरो घरमा केही मान्छे आउन त आएका थिए। तर उनीहरू कहाँबाट आए, मलाई थाह छैन। अँध्यारो हुनै लागेको बेला सहरको मूल ढोका बन्द हुनुअघि नै उनीहरू गइहाले। तपाईंहरू अहिले झट्टै गइहाल्नुभयो भने उनीहरूलाई फेला पार्नुहुन्छ कि।’ त्यसपछि राजाका मान्छेहरू जासुसहरूलाई समात्न जान्छन्‌।

उनीहरू गइसकेपछि राहाब हतार-हतार माथि कौसीमा जान्छे। ऊ जासुसहरूलाई यसो भन्छे: ‘यहोवाले तपाईंहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ। तपाईंहरू मिश्र छाडेर आउनुहुँदा उहाँले लाल समुद्र सुकाइदिनुभएको र राजा सीहोन अनि ओगलाई नाश पार्नुभएको हामीले सुनेका छौं। मैले तपाईंहरूलाई मदत गरें। यसकारण, तपाईंहरूले पनि मलाई मदत गर्ने वचन दिनुहोस्‌। मेरी आमा, बुबा, दाजुभाइ र दिदीबहिनीलाई बचाउनुहोस्‌।’

जासुसहरू राहाबलाई वचन दिन्छन्‌। तर राहाबले पनि एउटा काम गर्नुपर्छ। उनीहरू राहाबलाई यसो भन्छन्‌: ‘यो रातो डोरी आफ्नो झ्यालमा बाँधिराख्नू। अनि तिम्रा सबै नातेदारहरूलाई घरभित्र भेला गरेर राख्नू। हामी यरीहोलाई कब्जा गर्न आउँदा झ्यालमा यो डोरी देख्यौं भने यो घरको कसैलाई पनि मार्नेछैनौं।’ फर्केर गएपछि जासुसहरूले यहोशूलाई सबै कुरा बताउँछन्‌।