सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ४५

इस्राएलीहरू यर्दन नदी तर्छन्‌

इस्राएलीहरू यर्दन नदी तर्छन्‌

हेर! इस्राएलीहरू यर्दन नदी तर्दैछन्‌! तर पानी खै? हरेक साल यतिबेला धेरै पानी पर्छ। इस्राएलीहरूले नदी तर्नुभन्दा एकछिनअघि मात्र पनि नदी एकदम ठूलो थियो। तर अहिले भने नदीमा एक थोपा पानी छैन! अनि इस्राएलीहरू लाल समुद्रमा जस्तै सुख्खा जमिनमा हिंड्‌दैछन्‌! त्यत्रो पानी कहाँ गयो होला?

इस्राएलीहरूले यर्दन नदी तर्ने समय आएपछि यहोवाले यहोशूलाई यसो भन्‍न लगाउनुहुन्छ: ‘पूजाहारीहरू करारको सन्दुक बोकेर हाम्रो अघि-अघि जानुपर्छ। उनीहरूले यर्दन नदीमा खुट्टा राख्ने बित्तिकै पानी बग्न बन्द हुनेछ।’

यसकारण, पूजाहारीहरूले करारको सन्दुक उठाउँछन्‌ र अघि-अघि जान्छन्‌। यर्दनको किनारामा पुगेपछि पूजाहारीहरूले नदीको पानीमा खुट्टा हाल्छन्‌। नदी धेरै गहिरो थियो र पानी पनि जोडसित बग्दै थियो। तर उनीहरूको खुट्टाले नदीको पानी छुने बित्तिकै पानी बग्न बन्द हुन्छ! कस्तो चमत्कार! यहोवाले नदीको पानीलाई मुहानैमा रोक्नुभयो। एकछिनपछि त नदी सुख्खा हुन्छ!

करारको सन्दुक बोक्ने पूजाहारीहरू सुख्खा नदीको बीचमा जान्छन्‌। के उनीहरूलाई चित्रमा देख्यौ? उनीहरू नदीको बीचमा उभिरहन्छन्‌। त्यसपछि अरू सबै इस्राएलीहरू सुख्खा जमिनमा हिंड्‌दै नदी पार गर्छन्‌!

सबैले नदी पार गरिसकेपछि यहोवाले यहोशूमार्फत १२ जना बलिया इस्राएलीहरूलाई यसो गर्न अह्राउनुहुन्छ: ‘नदीको बीचमा करारको सन्दुक बोकेर उभिरहेका पूजाहारीहरू नजिक जाओ। अनि त्यहाँबाट १२ वटा ढुंगा उठाओ र आज तिमीहरूले जहाँ रात काट्‌छौ त्यहाँ ती ढुंगाहरू राख। भविष्यमा तिमीहरूका छोराछोरीले यी ढुंगाहरू किन राखेको भनेर सोधे भने तिमीहरूले यहोवाको करारको सन्दुक लिएर यर्दन पार गर्दा पानी बग्न बन्द भएको थियो भनेर उनीहरूलाई बताओ। यी ढुंगाहरूले तिमीहरूलाई यो चमत्कार सम्झिराख्न मदत गर्नेछ!’ नदीको बीचमा पूजाहारीहरू उभिएको ठाउँमा पनि यहोशूले १२ वटा ढुंगा थुपार्छ।

अन्तमा यहोशूले करारको सन्दुक बोक्ने पूजाहारीहरूलाई यसो भन्छ: ‘यर्दन नदीबाट निस्केर आओ।’ उनीहरू निस्कनासाथै नदी फेरि पहिलेजस्तै बग्न थाल्छ।