सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ५१

रूथ र नाओमी

रूथ र नाओमी

बाइबलमा रूथ नाउँ गरेको एउटा किताब छ। त्यो किताबमा न्यायकर्ताहरूको समयमा भएको एउटा परिवारको कथा छ। रूथ मोआब देशकी तरुनी थिई। ऊ परमेश्‍वरका जन इस्राएली थिइन। तर साँचो परमेश्‍वर यहोवालाई चिनेपछि रूथले उहाँलाई धेरै माया गर्न थाल्छे। नाओमीचाहिं बूढी आइमाई हुन्‌। उसले रूथलाई यहोवाबारे धेरै कुरा सिकाउँछे।

नाओमी इस्राएली थिई। इस्राएलमा अनिकाल परेको बेला नाओमी, उसका पति र दुई छोरा मोआब देशमा सरेका थिए। तर एकदिन नाओमीको पति मर्छ। पछि नाओमीका छोराहरूले दुइटी मोआबी केटीहरूसित बिहे गर्छन्‌। उनीहरूको नाउँ रूथ र ओर्पा हो। तर लगभग १० वर्षपछि नाओमीका दुई छोरा पनि मर्छन्‌। त्यसपछि नाओमी र ती दुइटी केटीहरू असाध्यै दुःखी हुन्छन्‌! अब नाओमीले के गर्छे?

नाओमी आफ्नै देश फर्कने फैसला गर्छे। रूथ र ओर्पा नाओमीसित बस्न चाहन्छन्‌। यसकारण उनीहरू पनि नाओमीसितै जान्छन्‌। तर बाटोमा अलिकता टाढा पुगेपछि नाओमी ती केटीहरूतर्फ फर्केर यसो भन्छे: ‘तिमीहरू घर फर्केर आफ्नै आमाहरूसित बस।’

नाओमीले ती दुवै केटीहरूलाई म्वाइँ खाएर बिदा गर्छे। त्यतिमै उनीहरू रुन थाल्छन्‌। किनभने उनीहरू नाओमीलाई धेरै माया गर्छन्‌। उनीहरू यसो भन्छन्‌: ‘होइन! हामी तपाईंसितै तपाईंका मान्छेहरूकहाँ जानेछौं।’ तर नाओमी यसो भन्छे: ‘मेरा छोरीहरू, तिमीहरू माइती फर्कनै पर्छ। तिमीहरूलाई माइतीमै राम्रो हुन्छ।’ यसकारण ओर्पा आफ्नो माइती फर्कन्छे। तर रूथचाहिं जाँदिन।

नाओमी रूथतिर फर्केर भन्छे: ‘ओर्पा त गइहाली। तिमी पनि ऊसितै फर्क।’ तर रूथ यस्तो जवाफ दिन्छे: ‘तपाईंलाई छोडेर जान मलाई कर नगर्नुहोस्‌! तपाईं जहाँ जानुहुन्छ, म पनि त्यहीं जानेछु, र तपाईं जहाँ बस्नुहुन्छ, म पनि त्यहीं बस्नेछु। तपाईंका मान्छेहरू मेरा मान्छेहरू हुनेछन्‌, तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीं मर्नेछु र म पनि त्यहीं गाडिनेछु।’ रूथले यसो भनिसकेपछि नाओमीले फेरि उसलाई माइती पठाउने कोसिस गर्दिन।

अन्तमा ती दुइटी आइमाई इस्राएल पुग्छन्‌। उनीहरू त्यहीं बस्छन्‌। रूथ तुरुन्तै खेतमा काम गर्न थाल्छे। किनभने त्यतिखेर जौ काट्‌ने बेला भइसकेको थियो। बोअज नाउँ भएको एक जना मान्छेले रूथलाई उसको खेतमा जौ काट्‌न दिन्छ। बोअजकी आमा को हो, तिमीलाई थाह छ? यरीहो सहरकी राहाब बोअजकी आमा हो।

एकदिन बोअजले रूथलाई यसो भन्छ: ‘मैले तिम्रो विषयमा सबै कुरा सुनिसकेको छु। तिमीले नाओमीलाई कति दया देखायौ र तिमी कसरी आफ्नो आमाबाबु र आफ्नो देश छाडेर पहिले कहिल्यै नचिनेका मान्छेहरूबीच बस्न आयौ, सबै मलाई थाह छ। यहोवाले तिम्रो भलो गरून्‌।’

रूथले यसो भनेर जवाफ दिई: ‘हजुर, तपाईंले पनि मलाई धेरै दया देखाउनुभएको छ। मसित यति राम्ररी बोल्नुभएकोले मलाई धेरै नै सजिलो लाग्यो।’ बोअजले रूथलाई धेरै मन पराउँछ र चाँडै उनीहरूको बिहे हुन्छ। यो देखेर नाओमी असाध्यै खुसी हुन्छे! रूथ र बोअजले जेठो छोरा ओबेद जन्माएपछि नाओमी झनै खुसी हुन्छे! पछि ओबेद दाऊदको बाजे बन्छ। दाऊदबारे हामी पछि अझ धेरै कुरा सिक्नेछौं।

रूथको पुस्तक।