सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ५७

परमेश्‍वर दाऊदलाई रोज्नुहुन्छ

परमेश्‍वर दाऊदलाई रोज्नुहुन्छ

ल भन त, यो केटोले के गरेको हो? यो केटोले पाठोलाई भालुबाट बचाएको हो। भालुले पाठोलाई लगेर झन्डै खान लागेको थियो। तर यो केटो दगुर्दै गयो र पाठोलाई भालुको मुखबाट खोसेर ल्यायो। भालुले उसलाई झम्टन खोज्दा त्यो केटोले भालुलाई समातेर कुटीकुटी माऱ्‍यो। यो केटोले पछि पनि भेडालाई सिंहबाट बचायो। यो केटो त कत्ति सहासी रहेछ! यो केटो को हो, तिमीलाई थाह छ?

ऊ दाऊद हो। ऊ बेतलेहेम सहरमा बस्छ। उसको बाजे रूथ र बोअजका छोरा ओबेद थिए। के तिमीलाई रूथ र बोअज को हो याद छ? दाऊदको बुबाको नाउँचाहिं यिशै हो। दाऊद आफ्नो बुबाका भेडाहरू चराउँछ। यहोवाले शाऊललाई राजा हुन छान्‍नुभएको १० वर्षपछि दाऊदको जन्म भएको थियो।

एकदिन यहोवाले शमूएललाई यसो भन्‍नुहुन्छ: ‘अलिकता विशेष तेल लिएर तँ बेतलेहेममा बस्ने यिशैको घरमा जा। त्यसको एक जना छोरालाई मैले राजा हुन छानेको छु।’ शमूएलले यिशैको जेठो छोरा एलीआबलाई देख्ने बित्तिकै मनमनै ‘यहोवाले पक्कै पनि यिनैलाई छान्‍नुभएको हुनुपर्छ’ भनेर सोच्न थाल्छ। तर यहोवा यसो भन्‍नुहुन्छ: ‘त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर। मैले त्यसलाई छानेको छैन।’

यसकारण, यिशैले आफ्नो छोरा अबीनादाबलाई बोलाएर शमूएलकहाँ ल्याउँछ। तर शमूएलले ‘होइन, यहोवाले उसलाई रोज्नुभएको छैन’ भन्छ। अनि यिशैले अर्को छोरा शम्मालाई ल्याउँछ तर शमूएलले फेरि ‘होइन, यहोवाले उसलाई पनि रोज्नुभएको छैन’ भन्छ। यसरी यिशैले आफ्ना सातै जना छोरा शमूएलकहाँ ल्याउँछ तर यहोवाले कुनैलाई पनि रोज्नुहुन्‍न। अन्तमा शमूएलले ‘के तपाईंका जम्मै छोराहरू यी नै हुन्‌?’ भनेर सोध्छ।

यिशैले यस्तो जवाफ दिन्छ: ‘कान्छो पनि छ। तर त्यो त बाहिर भेडा चराउन गएको छ।’ एकछिन पछि यिशैले एउटा सुन्दर केटोलाई कोठाभित्र ल्याएको शमूएलले देख्छ। ऊ दाऊद थियो। दाऊद आउने बित्तिकै यहोवाले शमूएललाई यसो भन्‍नुहुन्छ: ‘यही हो। तैंले यसैमाथि तेल खन्याइदिनू।’ शमूएलले त्यसै गर्छ। समय आएपछि कुनै दिन दाऊद इस्राएलको राजा हुनेछ।